विमल गुरुङ विमल गुरुङ
१
एक किलो जंगल
अब मुद्दाको कविता लेख्न लागेको छु
वर्षैँ-वर्षदेखि
आकाशतिर नियाल्दै
आफ्नो शुरमा
आफ्नै सुसाहट बोकेर
बगिरहेकी बगिरहेकी
दुधकोशीको तिरमा बसेर
लेख्न लागेको छु, लेख्न बसेको छु
फांसीको – फंन्दाको
कविता लेख्न लागेको छु ।
तीन त्रिलोक, चौध भुवनको
समस्त फूलबारीहरूको
अपूर्ब व्याख्या गर्दै थाकका थाक लेखे कविहरूले
कविहरूले महलमा बसेर
पृथ्वीका सुन्दरी अप्सराहरुका
हाउभाउ र कटाक्षका कविता लेखे
कविहरुले समुन्द्रका कविता लेखे
कविहरुले झरनाका कविता लेखे
धकै नमानी
कविहरुले
दाउरे दाईले बनजाँचको आखा छलेर
बनबाट ल्याएको दाउरले पकाएको खाना खाईरहे
क्रमश:
टेबुलमाथि
ब्राण्डी/भ्याट-६९ र स्कचका बोतलहरू लडिरहे
लडिरहे
ओँठमा याक जलिरहे जलिरहे
एष्ट्रेमा मोर निभिरहे निभिरहे
कविहरूले दाउरे दाइको भोक-प्यास-सपनाको
कबिता लेखेको कसैलाई थाहा भएन
यसैले, म बाध्य छु तलबवाला कविहरू !
म अब गोलभेडाको कविता लेख्छु
म अब तिर्खाको कविता लेख्छु
म अब न्याउरी मुसाको चाहनाको कविता लेख्छु
म अब बेसी फुर्सद पाएर बैशले पात्तिएका
महाजनहरुका छाउरा/छाउरीहरूका खिल्ली उडाउँदै कविता लेख्छु ।
कविहरूले
खोलाका एकनास-एकनास धुनहरुका कविता लेखे
कविहरूले
चांप/लालीगुराँस/ सुनगाभा र सयपत्रीका कविता लेखे
कविहरूले
आफ्नै बहिनीको चोलो च्यात्ने
मालिक साहेबको जयजयकार गर्दै कबिता लेखे
मालिक साहेबलाई रिझाइबक्सन
कविहरूले स्तुति र गुणगानका कविता लेखे
कविहरूले भक्ति र प्रसंशाका कविता लेखे ।
मैले यो भन्नै पर्छ कि
मलाई थाहा छैन
कविहरूले एकपक्षीय अत्याचारको बिरुद्धमा
युद्धका कविता लेखेर
साँझमा निस्कने मान्छेहरूका जमातमा गएर सुनाएको थाहा छैन ।
हजुर रिसाउनुहोस या खुसाउनुहोस
अर्थात
खुसाउनुहोस् या
रिसाउनुहोस चौधारी साहेब !
म अब झण्डै झण्डै बाध्य जस्तो भएको छु
दुख नमान्नुस है चौधरी साहेब !
खटिया माथिको मसीको बट्टामा
पाँच हजारवटा आकाश राखेर
अनि शिरमा चट्ट एउटा रुमाल सिउरेर
म अब टक्करको कविता लेख्छु ।
म अब झिल्काको कविता लेख्छु
लेखेनन् कविहरूले
फस्टेको पाठशालाको शुल्कबारे कहिल्यै लेखेनन्
कविहरूले
हैजाले सात दिनदेखि ओछ्यानमा परेको
रातेको बिरामी बुबाको अबर्णणीय कष्ट कहिल्यै देखेनन् ।
कविहरूले
केवल सम्राटहरूको दु:खका कबिता लेखे
कविहरूले
केवल
सम्राटहरुका आनन्दका कबिता लेखे ।
कविहरूले
केवल सुन्दरीहरूसँग नारिएर नाच्दा आउने
उत्तेजनाका कबिता लेखे
कविहरूले केवल सिताको पतिप्रेमका कविता लेखे
कविहरूले
केवल, सेतो टिनको छाना माथि
टुक्रुक्क लौरो टेकेर बसेको
स्वास्नी कुट्ने
आयोतुल्ला खुमेनीको प्रफुल्ल आँखाका कविता लेखे ।
कविहरूका हात
कहिल्यै रातेको बाबुको दु:खको कविता लेख्न चल्मलाएनन्
कविरूका हात
कहिल्यै रातेको बाबुको पसिनाको कविता लेख्न चल्मलाएनन् ।
चौधरी साहेब !
म अब हजुरलाई रातको रगना सकेर
सधैं झैं
रामायणको उत्तरकाण्ड/ बालकाण्ड र
इत्यादि, कुन्नि के के काण्डहरू पढेर सुनाउन सक्तिन
म अब संधै झैं
हरेक बर्ष स्वस्थानीको ब्रतकथा पढ्न पनि सक्तिन
म अब हजुरको
त्यो कालो हरहिसाब मिलाउन पनि सक्तिन ।
चौधरी साहेब !
साँच्ची, नरिसाउनुहोस है !
म अब रातेको बुबाको पिडाको कबिता लेख्छु
म अब माटोको कविता लेख्छु
स्वात्त …!
अगेना भित्र पसेर
म अब एक किलो जंगलको कबिता लेख्छु
म अब चोटपटकको कविता लेख्छु
चौधरी साहेब !
म अब तपाईं कै बिरुद्धमा कविता लेख्छु !
म अब जनई भिरेको ब्राम्हणले
सार्कीको होटेलमा पसेर
सुंगुर्/रांगो/भंसी/सर्प र
भ्यागुताको मासु
पड्काएको कविता लेख्छु
म अब
गिंठा र भ्याकुरको कबिता लेख्छु
म अब
चिप्लेभेण्टीको कबिता लेख्छु ।
समुन्द्र पारीको धावामा
मरेका आफ्ना छोराहरू सम्झदै
अनुहारका आकाशभरि पिडाका घाउहरू बोकेर
थुप्रै आमाहरू
आँगनमा
मुर्छा परिपरि रोएको मैले देखेको छु
म त्यसैको कविता लेख्छु !
म अब त्यसैको कविता लेख्छु !
हो म अब त्यसैको कविता लेख्छु !
२
बुद्ध
शास्त्रीय बुद्ध , बेकार, बेकार, बेकार, बेकार !
मलाई लाग्दैन
गेरुवस्त्रले
मान्छेलाई बाँधेको फलाम काट्न
हयाक्सोको काम गर्छ ।
धर्मले कुन मान्छेको घाउ निको पारेको छ !
विश्वको कुनै पनि धर्मले बादल चिरेको छैन
खुला आकाश हाम्रो आँखा अगाडि राखेको छैन
बादलबाट
आँखा हटाएको छ बरू, आँखा हटाएको छ
धर्मः सिर्फ मर्फियाको इन्जेक्सन !
बुद्ध ! सैनिक पोशाक लाउँछौ ?
३
चट्टान जस्तो आकाशमा
कहाँ हुन्छ पर्खेर त्यसरी
पर्खनुपर्छ
केही समय उभिनुपर्छ
तर, हुन्छ सिमा सबैको
बादलहरूको किनारामा बसेको
चट्टानजस्तो आकाशहरूमा बगिरहेको
सिरेटोले के साउती मार्दै छ तिम्रो कानमा?
याद भएन ?
कहाँ हुन्छ पर्खेर त्यसरी,
त्यसरी त रात पर्छ,
कामहरू अझै थुप्रै
खेतमा,करेसामा, चुलामा
कहाँ हुन्छ पर्खेर त्यसरी
ढिलो भइसक्यो
अब त
हतार-हतार डल्ला ठोक, ठोक्नुपर्छ ।
विमल गुरुङ
लेखक परिचय
वि.सं २०२८ कार्तिक १९ गते बुवा पूर्ण बहादुर गुरुङ र आमा सरस्वती गुरुङको कोखबाट स्व. विमल गुरुङको हङ्कङ्को किङ्गस पार्क अस्पतालको पोलुममा जन्म भएको थियो । बालापनका केही समयहरु र प्रारम्भिक शिक्षा हङ्कङ्ग मै गोर्खा आर्मी चिल्ड्रेन्स स्कूलबाट शिक्षा लिनु भएको थियो।वि .सं. २०३६ सालमा आमा बुबाका साथ धरान फर्किए पछि धरान – ४ स्थित सेकेण्डरी बोर्डिङ्ग स्कूलमा भर्ना भई एस.एल.सी सम्मको अध्ययन पूरा गर्नुभएको थियो । सानै उमेरदेखि विमल अरु केटाकेटी भन्दा फरक स्वभावका भएका कारण खेल, मनोरन्जन तिर भन्दा उहाको अध्ययन, चिन्तन र लेखन तिर नै बढि झुकाउ थियो।
आफ्ना सशक्त युवा अभिव्यक्तिहरु कविता मार्फत प्रस्तुत गरेर श्रोता वर्गलाई चकित तुल्साउने युवा साथीहरूसित मलेर धरान १८ स्थित बुद्ध चौकमा वि.सं. २०४५ साल तिर बुद्ध वाचनालयको स्थापना गरे । सोही वाचानालय मार्फत विमल कै सम्पादनमा वि.सं. २०४६ साल मंसिर २५ गतेका दिन इँटा नामक हस्तलिखित भित्ते पत्रिकाको प्रकाशन समेत शुरु भयो । तर इँटाको प्रकाशनले वि.सं. २०४७ साल फाल्गुण २५ गतेसम्म निरन्तरता पाई जम्मा १५ अंकसम्म प्रकाशित भयो।
१५/१६ वर्षको उमेरदेखि नै साहित्य लेखनतर्फ अग्रसर विमलले प्रशस्त कविता, लेख रचना सिर्जना गरका छन्। समाचारपत्रहरूमा प्रतिकृयाहरू छपाउँनु पर्दा “सर्वेक्षण” नामक छपाउने गर्थे । उनलाई लेख र निबन्ध तर्फ पनि विशेष रुचि थियो ।
सत्र वर्षैको उमेरमै उनी राजनीतिक रुपले सजग र कविता सृजनामा सशक्त भैसकेका थिए। उनले “एक किलो जंगल” जस्तो शस्कत कविता सत्रै वर्षको उमेरमा रचेको थिए।
राजनीतिक चेत भएका कवि गुरुङको चुनाबको प्रचारप्रसारको लागि काठमाडौँबाट धारन फर्किने क्रममा, जुकेपानी,(थानकोट र नौविसेबीच पर्ने ठाउँ)मा २४ बैशाख २०४८ मा भएको बस दुर्घट्नामा परी निधन भयो ।