हर्पे हर्पे
सोल्टिनी
फुत्लुङ्गी मेला
थुन्चे बिसाएर हजुरले ,
पटुकी फेरो कस्दै
पालैपालो झिकेको,
अलिकती, सिलाम को अचार
अलिकती फिलिङ्गेको अचार
तामाको मेसु
अमिलो याद आउछ,
फुत्लुङ्गी मेला
झलझली याद आउँछ ।
मेला छुट्टिनेबेला
हजुरले थुन्चे भित्रबाट झिक्दै ;
ल है साधु सोल्टी : एक हर्पे घ्यु, लजाउँदै ,
अलिकती सर्माउँदै दिएको
नमिठो सम्झना आउँछ,
सोल्टिनी !
फुत्लुङ्गी मेला, झलझली याद आउँछ ।
त्यही हर्पेको घ्यू खाएदेखी नै हो
सोल्टिनी !
हजुरको तिर्सना लाग्न थालेको
हजुरको झनै सम्झना बढेको ।
मेला छुट्टीएपछि
थुप्रै भएछ भेट नभाको,
सिलाम पिन्दै पो छौ कि ?
फिलिङ्गे पिन्दै पो छौ कि?
अमिलो मेसु साँध्दै पो छौ कि ?
सोल्टिनी ! फुत्लुङ्गी मेला
थुन्चेभित्रबाट सर्माउँदै मिक्तोक दिएको
हर्पेको घ्यू ,
झलझली याद आउँछ ।
नमिठो याद आउँछ ।
लेखक परिचय
इलाम जिल्लाको माङ्सेबुङका तुम्बापो व्यक्तिगत भोगाइ र समसामयिक विषयबस्तुको उठान गरी सरल ढंगले प्रस्तुत गर्न माहिर लेखक हुन् । पेशाले शिक्षक उनी लेखनमा समयको चेतलाई केलाउँदै त्यसलाई कलात्मक ढंगले प्रस्तुत गर्न सक्षम देखिन्छन् ।