सत्यमोहन जोशी सत्यमोहन जोशी
१. गुलाब
तीखा काँढा सब छ यसका,
चिर्न हर्दम् तयार ।
हावा चल्दा सिर सिर गरी,
पातको हुन्छ मार ।।
हाँगा नाच्छन् फर फर चली,
कोपिला फेरि हाँस्छन् ।
बन्दै साथी, चपल भमरा,
फूलमा चट्ट बस्छन् ।।१।।
हाँसी हाँसी सररर गरी,
फूल रोएर झर्छन् ।
बास्ना मीठा अलिकति दिंदै,
कालका गाँस बन्छन् ।।
फुल्छन्, झर्छन् सहज यसरी,
फूल मीठो र राम्रो
सारै छोटो तर बुझ यहाँ,
आयु यस्तै छ हाम्रो ।।२।।
२. खोला
डांडा कांडा वन सब डुली, भीरका खोंचबाट ।
बाटो खोज्दै हुनुहुनु, गरी फार्छ है झारपात ॥
ठक्कर खाए यदि बगरमा, भर्छ गाना रमाई।
उल्ला पाए पनि नजिकमा लान्छ बाटो बनाई ॥१॥
हाँगा बींगाहरु सब झरे फ्याँक्छः दायाँ र बायां ।
साना ताराहरु तल झरे, जान्छु खेलाइ छायाँ ॥
घुम्दा डाँडा वरिपरि डुली, मोतिको बन्छु माला ।
मर्दा नाच्तै तलतिर बमी, सर्प झै गर्छ चाला ॥२॥
ठूला साना फनन भुमरी, घट्ट जस्तै घुमाई ।
खाना फोका फरफर उस, फुट्ट राम्रो उठाई ॥
माछा कीराहरु पनि सबै, भित्रभित्रै नचाई ।
सर्द लड्दै हररर गरी, बाछु नाची, कराइ ॥३॥
साथी खोजी पुलहरु डुली, खेल्छ हाँसेर नाची ।
बारीलाई मल जल दिई, जान्छ शोभा बनाई ॥
साथी देखे. परतिर यत, हर्षले सास फेरी।
नाची हांसो सहज यसरी हिंड्छ केले नफर्की ॥४॥
लेखक परिचय
मदन पुरस्कार तीन पटक पाउने एक मात्र व्यक्ति सत्यमोहन जोशी (जन्म, वि.सं. १९७७) संस्कृतिविद् हुन् । शताब्दी पुरुष पनि भनेर चिनिन्ने सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चको संबर्द्धनका लागि अतुल्निय योगदान पुर्याउँदै आएको छन् ।