१. रुख
कवि, केही त सार्थक लेख
शब्द धेरै लेख्यौ
केही सार्थक भाव पनि लेख
तिमीले सधैँ फूलका कविता लेख्यौ
अब रूखका कविता लेख
हाँगाबिँगा र मूलका कुरा लेख
ती अझ बढी सौन्दर्यमय र यथार्थ छन्जराका कुरा लेख
ती जराले समाउने माटाका कुरा लेख
जुन माटोमा तिमी र म जन्मियौँ
जुन माटो नभए तिमी पनि हुत्रौ, म पनि हुत्रँ
त्यो माटाको अस्तित्व जोगाउने जराका कविता लेख
जराका कथा लेख
तिमीले छहरा र नदीका कविता लेख्यौ
अब कुलाका कथा लेख
ती कुला जसले तिमीले र मैले खाने अत्र फलाउँछन्
जसबिना तिमी र म बाँच्न सक्तैनौँ
ती कुलाका कुरा लेख
तिमीले केवल आफ्नो दुःखको गुनासो
र सुखको सपना लेख्यौ
अब यो देशको कथा लेख
यो हिमालको निधार निहुरिन नदिनु छ भने
यसको छातीभरि रूखका बोटका कथा रोप
लेकका थुम्कादेखि बेसीका बगरसम्म
तराईका फाँट–फाँटभरि
नेपालीको पाखुरीले सिँगारेका
टार गरा कान्ला र फाँटहरूमा
घाँस, दाउरा र काठका बोटको कथा रोप
रूखमा फूल पनि फुल्ने छ
सपना पनि फल्ने छ
चराले गुँड पनि लाउनेछन्
साँझ–बिहान बासेर तिम्रो गुन पनि गाउनेछन्
तिमी आफ्नो तुच्छ अहङ्ककारबाट निस्केर
घाँस पात बिरुवा चराचुरुङ्गी
र तिनै जस्ता सामान्य बहुसङ्ख्यक नेपालीको कथा लेख
ती भुइँमान्छे रूख हुन् रूख
तिमी आफ्ना रचनामा आफ्ना सन्तान देख्छौ
अब रूख बिरुवा लहरामा देख
हिउँको पहिरामा बन रोप
पहाडको पहिरामा बगैंचा कुँद
बगर–बगरमा बगैँचा कुँद
तराईका मैदानमैदानभरि बगैँचा कुँद
बगैँचाका बोटबोटमा आत्मा रोप
तिमी अशक्त भएपछि आफ्नै आफन्तले
तिमीलाई घरबाट निकाले भने
भुइँचालाले तिम्रो बास भत्कायो भने
बाढीपहिरामा पर्यौ भने
नदीले बगायो भने
आगलागीले डढायो भने
रूखका हाँगाबिँगा र पातमुनि तिमीले छहारी पाउने छौ
तिमी मर्यौ भने रूखले आफ्ना शरीर हात खुट्टा पोलेर
तिम्रो दाहसंस्कार गर्नेछन्
तिमीलाई दागबत्ती दिनेछन्,
तिम्रो सुकेको तालुमा यिनका पात पातले तर्पण दिनेछन्
कवि, तिम्रा कविता क्षणजीवी छन्
तिमीले लगाएको बन शाश्वत हुनेछ
कवि, रूखका कविता रोप
कवि, रूखका कथा रोप ।
२. समय
सङ्घर्षको जुवामा जोतिँदा–जोतिँदा
जब मान्छे एक छाक खान पुग्ने हुन थालेको हुन्छ
अनि तिमी उसको दाँत फुकाल्न थाल्छौ
पराजय र धोकाको अग्निपरीक्षाबाट गलेर
जब मान्छे बल्लतल्ल देख्न र चिन्न थालेको हुन्छ
तिमी उसको दृष्टि खोस्छौ
जीवन जहाँ मात्र बुझिन्छ र मात्र बाँचिन्छ
जन्मेदेखि जहाँ केवल सिकिन्छ, सिकिन्छ, सिकिन्छ
र कहिल्यैपनि जानिँदैन
जहाँ, जब अलि–अलि जान्न थालिन्छ
जहाँ, जब अलि–अलि बाँच्न थालिन्छ
तिमी ठहर गर्छौ वृद्ध भएको
अनि तिमी मृत्यु दिन्छौ
समय, तिमी कति निष्ठुरी छौ।
३. जालसाजी
उद्देश्य खोतल्दै–खोतल्दै जाँदा
म उद्देश्यको समेत उद्देश्य पाउँदिनँ र
अर्थ सोध्दै–सोध्दै जाँदा
म अर्थको समेत अर्थ देख्दिनँ
अस्तित्व पहिल्याउँदै–पहिल्याउँदै जाँदा
म अस्तित्वको समेत अस्तित्व भेट्दिनँ
यो एक मुठी सास हो— जुन सत्य हो
योएक मुठी गाँस हो— जुन ध्रुव सत्य हो
जीवन
त्यही एक मुठी सास र एक मुठी गाँसका निमित्त
गरिने जालसाजी हो
जीवन आफूले आफैप्रति गरिने अन्याय हो।
समाज छ, राष्ट्र छ, संयुक्त राष्ट्र पनि छ
वर्ण छ, वर्ग छ, उचाइ र गहिराइ पनि छ
धर्म छ, पाप छ, अर्थ छ, अनर्थ छ
काम छ, निष्काम छ, सकाम छ, अतिकाम छ
तर मोक्ष खै कुन मिसिलमा परेर हराएछ ?
जागिर छ—
जुन वेश्याको सिउँदोको सिन्दूर हो
जुन स्वाभिमान बेचेर कमाएको तलब हो
नियमावली छ
जुन गीता हो, बाइबल हो, कुरान हो
हाकिम छ
जुन दैव हो
व्यवस्थापन छ
जुन लीला हो।
मान्छे छ, चुप छ
रेडियो बोल्छ, माइक बोल्छ वा बोल्छन् चराचुरुङ्गीहरू
अथवा झर्नाहरू वा टेम्पोवा जेटका आवाजहरू ।
साहित्य छ
त्यो आङका छारो हो
नलेखे लेख्नुपर्छ
लेखे लेख्न हुन्न ।
चित्र छ—
त्यो हाम्रो व्यङ्ग्यचित्र हो
विद्रुप छ—
त्यो हाम्रो जीवनवृत्त हो
जीवन आफूले आफैसँग गरिने अन्याय हो
जीवन आफूले आफैसँग गरिने जालसाजी हो ।
लेखक परिचय
साहित्यकार जगदीश घिमिरेको जन्म वि.सं. २००२, चैत्र १८ गते रामेछापको मन्थलीमा भएको थियो । मूलत: उपन्यास र कथा विधामा कलम चलाएका घिमिरे लिलिम उपन्यासबाट नेपाली साहित्य जगत्मा प्रवेश गरेका थिए । लीलाम (उपन्यास, वि.सं. २०२७), जगदीशका कथाहरू (कथासङ्ग्रह, वि.सं. २०२७), साबिती (उपन्यास, वि.सं. २०३२), केही कथा कविता र संस्मरण (विविध, वि.सं. २०३४), सन्तान (नाटक, वि.सं. २०३५), अन्तर्मनको यात्रा (आत्मकथा, वि.सं. २०६४) अग्निसूत्र (कविता, वि.सं. २०६५), स्थान काल पात्र (विविध/गद्य, वि.सं. २०६६) र सकस (महाख्यान, वि.सं. २०६९) । साहित्यकार घिमिरेले अन्तर्मनको यात्रा (आतमकथा)को लागि २०६४को मदन पुरस्कार पाएको थिए । घिमिरेको ६८ वर्षको उमेरमा २०७० कार्तिक १४ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।