१. बग्नू तिमी
बग्नू तिमी;
नदी बन्नू
तलाउ नै भए पनि
भरिनू,
फैलनू,
फुट्नू,
पोखिनू,
तर
बग्न नछोड्नू
थोपा थोपा गाँसिनू
थोपा थोपा बाँडिनू
खुशीका पोकासरि
साटिनू
सुसाउनू,
सम्याउनू,
सम्हालिनू
ढुङ्गाका चोटहरू,
झरीका झापडहरू
बतासका आवेगहरूले
तिम्रो वेग धिम्याउन सक्छ
नडराउनू तिमी
बरु
उछिन्नू,
उछाल्नू,
पिसाल्नू,
पन्छाउनू,
सकेजति
पीडा हुल्नू
खुसी ओकेल्नू
सिउँडी बन्नू
बगरबीच फुल्नू
भिजाउनू,
रिझाउनू
सम्भावनाका लकिर
ठड्याउनू
तर, मनिषा बडु
बग्न नछोड्नू
किनाराबीच आशाको दियो बाल्नू
प्रेमका सौगातहरू यथावत राख्नु
रङ्गहीन,
आकारहीन, मनिषा बडु
तर
अर्थहीन नबन्नू
निरन्तर हिँड्नू
भावनाहरू समेट्नू
जब तिम्रा पैतालाले
सागर छुनेछ
अन्तिम समागम नै
जीवनको उत्कर्ष हुनेछ….
२. खास
मलाई कुनै
खासमा नगन
ग्लानिको आगमा जलिरहेको
जिउँदो एक लास हुँ,
लासमा गन
बरु
चुरोटको धुवाँमा बिलिन
भट्टीका
रंगिन साँझमा गन
रक्सीमा मात्तिई
बोतलमा रित्तिइरहेका माझमा गन
एस्ट्रेका जल्न बाँकी ठुटाको
निमेषभरको साथमा गन
जलेर खरानी भएको
आर्तनादमा अड्केको मुठीभर
स्वासमा गन
असफलताको झुलामा
झुल्नेहरूमा गन
कुलतको लतमा
यौवन घोल्दै
नसा हुल्नेहरूमा गन
जीवनको पहेलीमा उल्झिई
बाटो भुल्नेहरूमा गन
म त
समयको साथ छुटेर
फुटेको काँच हुँ
चकनाचूर छु
मलाई सिङ्गो नगन
बरु
टुक्राहरूमा गन
३. नामहरू
जसरी
लहरसँगै
ठडिन्छन्
अग्लिन्छ्न्
अनि विलीन हुन्छ्न्
यी छालहरू
त्यसरी नै
हराउनेछ्न्
समयसँगै
हाम्रा पदचापहरू,
के रहन सक्लान् ?
हामी नरहे पनि
यहाँ
कालान्तरसम्म
हाम्रा नामहरू !
लेखक परिचय
कैलालीकी मनिषा बडु साहित्यमा नवीन प्रतिभा हुन् । उनी भौतिकशास्त्र स्नातकोत्तर तहमा अध्ययनरत छिन् ।
Nice poems dee❤
marvellous vaanji….keep writing oftenly plz