१. बाटो
मलाई यो बाटो भएर
अब सफर गर्नु छैन ।
र,
यो चौतारीमा
थकान मेटाउँनु पनि छैन ।
यो बगर हिजो जस्तो लाग्दैन
भञ्ज्याङ् उसैगरि बदलिएको छ ।
यी सब मेरालागि
खै किन फिक्का छन्
सायद यो बाटोले
मसँगै भएर हिँड्ने
एउटा मान्छे गुमाएको छ ।
२. देशको कथा
आफ्नै आँगनमा पढेको हुँ क्रान्ति
घर भित्रबाटै बजाएको हुँ युद्धको विगुल
हिँडेको हुँ
जून घामको आँखा छल्दै
एम्बुसमाथि जीवन चढाएर
चिनेको छु
मृत्युलाई नजिकबाट
तिम्रो शीरमा लाग्ने गोली
मेरै छातीमा थापेको हुँ
त्यसैले त,
पोल्छ त्यो गोलीले भतभती
देश अझै छट्पटिरहेको छ ।
लेखक परिचय
तेह्रथुम, जलजलेको कवि ‘अज्ञात मान्छे’ पेसाले अहेव हुन् । हाल उनि धरानमा बस्छन् ।