बि पि विद्रोही बि पि विद्रोही
बिराउनुहोस् समवेदनाका खेत
खन्नुहोस् भावनाको कुलो
बगाउनुहोस् राहतको भङ्गालो
र ढड्याउनुहोस् स्वार्थको वारि
आजभोली खेती गर्न जमिन चाहिँदैन
लगाउनुहोस् स्टाटसको पर्म
पिन्नुहोस् कमेन्टको सातु
छर्नुहोस् उत्तेजनाको विकासेमल
र गोडनुहोस् अश्लील भाका गाउँदै अपराधीपन
आजभोली खेत गोडन खेतला चाहिँदैन
खाजा चाँहिदैन !
गाडनुहोस् उत्तराअधुनिकताको खलेगह्रामा
कुसंस्कारको मिंयो
र नार्नुहोस् पाखण्डको मालदाम्लोमा
अन्धभक्त लाठेहरू क्रमैसँग
आजभोली दाँईहाल्न गोरुहरू चाहिँदैन
ठड्याउनुहोस् घमण्डको राश
कुंद्नुहोस् प्रतिशोधका पाथी
थाप्नुहोस् आहारिसका बोरा
र भर्नुहोस् भ्रम र पराकाष्ठाका भकारी
आजभोली खेती थन्क्याउन दँदेरा चाहिँदैन
किसानलाई कोदालीको साट्टो
क्यामरा दिईनेछ
हलोको साटो माईक दिइनेछ
सम्बन्धबिच्छेदका जुवाहरूमा
झुण्याइनेछ घृणाका हल्लुँडोहरू
हलिहरूले टारिको बाँझो होइन अब
लाइक कमेन्ट र सस्क्राईबर जोत्नुपर्नेछ
अब माटोमा अन्न फलाएर बेच्ने दिन गए
अब माटै बेचेर धनी हुने हो
सत्तापनि कृषिलाई आधुनिकिकरण गर्ने मुडमा छ ।
लेखक परिचय
बि पि विद्रोही प्रगतिशील कवि तथा लेखक हुन् ।