नुमति राई सानुमति राई सानुमति राई
१. आधार
क्षुद्र शुष्क असहाय धारा
भरेर पूरा प्रतिमा सारा-
कल्पँदो ध्वनि व्यथाको सदा
गर्दै गाउँछ दुःख-विपदा।
मन्द बग्दछ लिई मन्द गति
शुष्क चाल गरी शुष्क प्रगति-
त्यही रूपमा नित्य त्यस्तरी
प्रतिपल अवरोध प्रतिक्षण नगरी।
खाएर ठक्कर बनेर करुण
आह्वान गर्छ गर्दै रोदन-
एक्लो केवल युग-युगदेखिन्
निराश्रय बनेर सहायताहीन।
निवेदन गर्छ भएर विनीत
र भन्छ सर्वदा आग्रहसित-
सम्पूर्ण स्रोतश्विनी मिली
स्वर्गीयताको जग बसाली,
हुन गरिएका कोरी लेखनी
सञ्चित छन् जति वाङ्मय पानी।
त्यसैलाई सहारा बनाई-
धैर्यसाथ त्यसैमा बगाई
लहर स्नेहपूरित फिँजाई
भरी सागर बनाऊ त्यसलाई।
सम्पन्न- सुधा जब बनौँला
गर्न सेवा तब पो सकौँला,
भए सहितको भाव प्रसार-
होला कर्तव्य-धर्म-प्रचार ।
२. एउटा पलायन
शान्ति प्राप्तिको निम्ति
यसरी जञ्जाल तोड़ी,
आत्तुरी र हतारसाथ
भाग्यौ तिमी यहाँबाट
यति चाँडो गरी!
किंवा
दिन शान्ति अरूलाई
हिँड्यौ बलात्
असमय-अकालमा।
छोड़ी अधुरा-अपूर्ण
यता-उता
बाहिर-भिन्न सर्वत्र।
समयको प्रतीक्षाको
वास्ता नगरी –
तिमी बिलायौ
तुरियौ शून्यको गर्भमा विलीन भयौ।
दुःख-दुःखको भेलदेखि
जीवन एउटा खेल सम्झी
कुन शक्तिले प्रेरित बनाएर
नवजन्म नवप्राण
पाइने आशामा
विरक्त -विरक्तिएर
तिमी भाग्यौ सुटुक्क
यहाँबाट?
तिमी भाग्यौ – गयो
हिँइयौ -तुरियौ
तिमी के छौ – के भयौ,
कुन रूपमा छौ,
हामी सबै-सबै अनभिज्ञ।
किन्तु-
यहाँ तिम्रो रिक्ततामा
कति-कति आत्मा,
रोइरहेछन्-तड़पिरहेछन्।
धेरै-धेरै -प्राय: प्रत्येक
तिम्रा हितैषी -साथी-सँगी
दङ्ग-दङ्ग छन् -अन्योलमा परेका छन्-
तिम्रो यस्तो बीभत्स-लीला देखेर
स्वयंसितको विकराल विप्लव सम्झेर।
यहाँ हरेकलाई जिज्ञासामा डुबाई
आफै जिज्ञासु बनी,
तिमी गयौ – गयौ तिमी
अदृश्य बनी!!
३. त्यो माग्ने
“बाजे ! कहाँ बस्छौ तिमी ! ”
यही थियो जिज्ञासा मेरो बृद्ध मागने प्रति,
जसका दुःखी निधार र अनुहारमा
दुःखै-दुखैका अगणित रेखांकनले दिइरहेथे सूचना
निकट-भावी मृत्युको !
“भिखारीको पनि” भन्न थाल्यो त्यो, “घर हुन्छ, नानी !
जसका आँगनमा रात बित्दो छ, त्यही मेरो घर,
जसको ढोकामा उभ्छु, त्यही हुन्छ मेरो द्वार,
सुत्छु राती तारा गन्दै खुला आँगनमा अर्काको आफ्नै घर ठानी
उभिन्छु यो पैट भर्नाखातिर आर्काकाो ढोकामा
आफ्नै घरको ढोका मानी !”
“के शान्ति छ तिमीलाई त्यस्ता घरमा ?”
“शान्ति ? छ अवश्य सन्तोष ! आफ्नो औकात-अनुहार !
राती-सुन्छु कहिले फटकार, अनि
बनको बिरालो भई उठेर जान्छु अरुतिर !
दिउसो-कहिले खान्छु हप्काइ; तैपनि,
सहृदय बृद्ध भै छोड्छु आशीष दिई त्यसलाई ।”
“आफ्नो त्यस्तो अवस्था प्रति के कहिल्यै
उठ्दैन तिम्रो मनमा दया ?”
भन्यो त्यसले सुस्केरासित, “दया ?”
दया गर्छ अरूले,
गर्दैन माग्नेले माग्नेलाई !
गर्दो हो माग्नेले दया माग्नेलाई त
जान्थ्यो किन अरुका द्वार ?”
“केही सम्पत्ति छ -?”
“छन् सम्पत्ति मेरा हुनुपर्छ जत्ति माग्नेको ।
एउटा ठूलो छ थैलो आशाको,
छ एउटा लठ्ठी बुढेस्कालको,
र यो जीर्ण काया र रहेको शेष प्राण ।”
धृष्टता थियो यो तै पनि मैले सोधेँ
“कसरी भयौ तिमी माग्ने, बाजे ?”
“जब काल-गतिले भकुर्यो र हान्यो लात दुर्दिनको,
भत्क्यो बाटो जुराई खाने मुखमा !
दरिद्रताको छाती र कंगालपनाको काखमा
जब रोएँ, कराएँ, पछारिएर
अनि दुर्दिनको लात बज्र्यो ममाथि अझ जोडको ।
उठ्न सकिनँ, तर पछि उठेछु घस्री-घस्री अनि बनेँ म माग्ने ।
छट्पटाएँ म निश्चय, रोएँ, कराएँ म अवश्य,
दुःख नै रोयो दुःख देखेर मेरो, तर पग्लेन, नानी,
भाग्यमा लेखिएका अक्षर ती ढुङ्गाका !”
“लागेन लाज माग्न जाँदा ?”
“लाज ! लाग्यो लाज अवश्य !!
तर जब पेटको ज्वालाले लाज मान्न बिर्स्यो,
जब शरीरका अंग-प्रत्यंगले लाजै मान्न छाड्यो,
अनि लाज आफैँ पच्यो !!
.म जान्नँ मग्न अरूका ढोका-ढोका
बोलाउँछन् ती द्वार आफैँ मलाई ।
अनि भोक जगाई सार्छु म पाइला डराई-डराई”
“छैनन् तिम्रा कोही आफ्ना परिवार, कुटुम्ब, सन्तान?”
“यो माग्नेको?”
प्रियदर्शासिवाय छैन कोही यो संसारमा ।
आफ्नो भन्नु छु म नै केवल अभागीमध्ये हजारको ।
टोकेँ सबैलाई पहिले नै केवल यो दिन देख्नलाई
केवल टोकिनँ आफैँलाई आफ्ने देखाउन यो दिन अरूलाई !
जहान मरी घरको दियो निभाई
बसेँ दुई छोरासित अन्धकारमा आफैं अन्धकार भै !
तर छोडे ती दुईले पनि मलाई
अनि आँखा नै धमिलिए, पर्यो लोती आँखामनि
अनुहार सबै चाउरियो, चल्न छाडे अंगले,
निराशामा माग्ने बनायो आशाले !
अनि बोलाएँ भगवान्लाई !!
अब केवल नजिक छ एउटै कुटुम्ब,
साइनो छ मृत्यु भनेर त्योसित !
बोलाइरहेछु उसलाई केवल, लैजाओस् उसैले यो सागर तारेर !”
भिक्षा-प्राप्तिमा, अनि त्यसको अन्तरबाटे निस्क्यो,
“भलो होस् तिम्रो ! ”
त्यो उडेर हिँड्यो ।
त्यसको अन्तिम वाक्य पनि
ढुङ्गा खसेको पानीको छाल भई अकासिंँदै विलीन भयो !
अनि फेरि मैले पुनः मौनभाषामा सोधेँ,
“बाजे, कहाँ जान्छौ तिमी ? ”
सानुमति राई
लेखक परिचय
कालेबुङ, दार्जिलिङको कवि सामुमति राई (सन् १९२९ -२०१७) नेपाली मूलको भारतीय कवि हुन् । कवि राईको उद्गार कविता सङ्ग्रह, मनपीडा कविता सङ्ग्रह प्रकाशित कृतिहरू हुन् ।