जानु काम्बाङ लिम्बु जानु काम्बाङ लिम्बु
अलिकति वसन्त उभारेर
अलिकति शिशिर दबाएर
हरेक ऋतुको सामना गर्दै
आँगन छेउमा फुलेका फूलजस्तै
हजारौँ रङ्ग मिसिएको
उज्यालो सपना आँखामा सजाएर
जून अस्ताउनु अगावै
बालसूर्यको किरण भुईँमा नखस्दै
माथि देउराली डाँडा उक्लेर
सदियौँदेखि शीत ओढेर निदाइरहेको
एउटा देउता ब्युँझाउनुँ छ ।
भन्छन्–
अचेल गाउँमा गाडी पुगेपछि
देउरालीमा पाती चढाउने बटुवाहरू
गाउँबाट हिँड्न छाडेपछि
एक थुङ्गा फूल र पाती पर्खेर बस्दाबस्दै
देउता पनि ढुङ्गो भइसकेको छ ।
कस्तो निष्ठुरी देउता !
आफ्नै आँगनमा फक्रेको
लालीगुराँसको सौन्दर्य नदेख्ने
सुनाखरी, चाँप–चमेलीको
बास्नै थाहा नपाउने,
पाती त सदियौँदेखि
प्रकृतिले नै चढाइरहेकी छिन् नि
प्रकृतिको काखमा बसेर
आफू ढुङ्गा भइरहने
एक थुँगा फूल र पातीको
सधैँ आस मात्रै गरिरहने !
अहँ !
हुन्न देउताजी यसरी त
अब त उठ÷अब त ब्यूँझ
धर्तीमा के–के भइसक्यो !
तिमीलाई पाती चढाएर
बाटो लाग्ने बटुवाहरूको
पाइला मेटियो होला
तर सद्भाव मेटिएको छैन है
आस्था डगमगाएको छैन है
कहाँ विरक्तिएर
अनाम ढुङ्गा बनिरहेको ?
संभावना बोकेका मानिस जति
कोही सहिद भइगए
कोही बेपत्ता भइगए
रहेका जति अलमल र भुलभुलैयामा
एकापसमा झैँ–झगडामा÷लुछाचुडीमा
अदृश्य भाइरसले झनै
विध्वंश मच्चाइरहेछ
आर्तहरूको चहराइरहेको घाउ
खोइ तिमीले देखेको
दुःखीहरूको विलौना
खोइ तिमीले सुनेको ?
हुन त !
ती दबिएकाहरूको आवाज
तिमीसम्म आइनपुग्न सक्छ
किनकि अस्पताल मन्दिर होइन
र त्यहाँ घन्टी र शंख बज्दैनन्
धूपबत्ती बल्दैनन्
बरु, प्राणको भिख माग्दामाग्दै
एकैचोटि उड्छ प्राणपखेरू ।
त्यहाँ न भजनकीर्तन हुन्छ
न पुराण पाठ हुन्छ
एक्कासि तप्किन्छ्न् आँसुका थोपा
आफन्त गुमाउनुको पीडामा
शोकधुनहरू गुञ्जिन्छ ।
निष्प्राण भइसकेकाहरूले
आफू लासबन्नुअघि
कति सम्झिन्छन् तिमीलाई
कति पुर्काछन् तिमीलाई
हे देउता !
हे ईश्वर !
हे माङ….।
तर, तिमी बौल्दैनौ
तिमी त एउटा ढुङ्गा
तिमी त एउटा मूर्ति
के सुन्थ्यौ दुःखीको पुकार
के सुन्थ्यौ आर्तहरूको चीत्कार !
तिमीलाई त
घन्टीको टङ…टङ…टङ…
भजनकीर्तनको महफिल
र धुपबत्तीहरूको सुगन्ध
जो मन पर्छ…।
हे देउता !
हे ईश्वर !
हे माङ !
उठ अब त÷ ब्यूँझ अब त !
लेखक परिचय
ताप्लेजुङ्, फ़क्ताङ्ग्लुङ् गाउँ पालिका ४ ईखाबूको कवि तथा लेखक जानु काम्बाङ हाल बेलायतको अक्सफोर्डबाट नेपाली साहित्य साधना गरिरहेकी छिन् । काम्बाङको अहिलेसम्म थुप्रै गीति एल्बम तथा कृति बजारमा आइसकेका छन् । शिविरमा ईश्वर (कविता सङ्ग्रह ), गीति एल्बम (अनुभब ) २०७२ ( सन् २०१५), नउघ्रेको जून ( कथा सङ्ग्रह ), गीति एल्बम ( जानु ) २०७५ ( सन् २०१८), र आँसुको लय ( गीति सङ्ग्रह) २०७६ (सन २०१९) उनका प्रकाशित कृतिहरू हुन् ।