अस्तव्यस्ततामा जोडले थिचिएर
गह्रुँगो न गह्रुँगो छ टाउको
नश्लीय घनले हानेर बेस्सरी
टङ्टङी उफ्रिरहेछ गिदी ।
घण्टाघरको ठीक अगाडि यथास्थिति उभिरहेछु
उफ् ! विचारका लाभा
र अठोटका बारुद
धूवाँ पुतपुताएर खप्परबाट
खुलामञ्चको आकाश माथि..माथि.. मडारिन्छन्
ट्वाङ् ! ट्वाङ !!
टक्राउँछ मस्तिष्कमा चेतना
आखाँ के उचालेको हुन्छु
मोटो छोटो, पातलो लामो, सबै काँटाहरू घण्टाघरका
शून्य समयमा थुप्रिएछन् !
फेरि पनि जिन्दगीले बाह्र बजाउँछ
फेरि पनि टाउकोमा यथास्थितिको
सय क्विन्टल वजन थपिन्छ
गह्रौँ जाँतो कुनै बच्चाले घुमाए झैं
टाउको उचालेर बलैले
विचारका ताता लाभाहरूमा घिसारिन्छु
हिंसाको आद्यस्थल वसन्तपुर पटाङ्गिनी पुग्छु ।
बलात्कार
हत्याहिंसा
चोरीडकैती
घुसखोरी
षड्यन्त्र
प्रतिगमन
समग्रमा एकल नश्लवादी शासन
थेग्न सक्दिन !
अहँ, थेग्न सक्दिन !!
हुर्रिँदै, ढुन्मुनिदै
हिपी मन्दिरको सिँढी उक्लिएर
मध्ययुगिन टुडाँलहरूमुनिबाट चिच्याउँछु–
प्रतिगमन मुर्दावाद !
एकल नश्लवादी शासन मुर्दावाद !!
कि यी इन्क्लावी आवाजहरू एकपछि दुई
दुईपछि चार हुँदै फैलियोस्, बढोस्
एउटा विशाल सागर उर्लियोस् विद्रोहको
सुनामी छालहरूमा उड्दै
आगोका झरझर ज्वालाहरू फाल्दै
एउटा विद्रोह सिधै सिंहदरबार मोडियोस् ।
लेखक परिचय
कवि तथा आख्यानकार अप्सरा लावती लिम्बू विगत अढाई दशकदेखी चुपचाप नेपाली साहित्य लेखनमा सक्रिय छिन्। लावतीका हालसम्म आमाको चाहना, २०५७ र लोजिमा, २०६३ गरि दुई उपन्यास प्रकाशित छन् भने विभिन्न पत्रपत्रिकाहरुमा फुट्कर कथा साथै कविताहरु पनि प्रकाशित भइसकेका छ्न्। कथा र कविता लेखनमा पनि उत्तिकै सक्रिय लावती हाल याक्थुङ लेखक संघको केन्द्रिय उपाध्यक्ष समेत रहेकी छिन्।