अझै अझै
तीन त्रिलोक
चौध भुवन घुम्नु बाँकी
नै छ ।।
घाट घाटको
पानी पिउनु थाती
नै छ ।।
लु अब भन
कोरोना
तैँले
कसरी बुत्याउँछस्
मेरो आयुको सुस्केरा ??
कारण म त
आयुको छालमा नाँच्ने
वायुको नट छोरो हुँ ।।
जति जति बुढो आयु
लौरो टेकेर हिँड्ने
दगुर्ने घस्रने प्रयत्न गर्छ
मेरो बार्दलीमा ।।
त्यति त्यति म
बालख तरूनो
बन्दै जान्छु
अनि कहिले
माताको स्तनपान
म
व्यस्त हुन्छु ।।
त कहिले
प्रेयसीका सुकोमल गाला
चाट्न र म्वाइँ खानमा
म व्यस्त होमिएको हुन्छु ।।
घर र घाटको
म्याद खुट्याउँदै
म बगेको हुन्छु
तन्मय ममताको
आग्लोमा ।।
अनि कायल मृत्यु
मेरोअघि
घायल घायल
बस् निर्निमेष नाचिरहन्छ ।
म तम्तयार सुस्केरा भरिरहन्छु,
भरिरहन्छु ।।
अनि अंकमाल गाँसिरहन्छु
कायल कायल
घायल मृत्युको
मृत कोखमा ।।
ओ कोरोना !
ओ कोरोना !
मेरो बाँच्ने र नाच्ने फर्मान
बस् यति नै छ
बस् यति नै छ
तिम्रो
फर्स्ट वेभको सर्को आवस्
कि ??
सेकेण्ड वेभ,
थर्ड वेभको लर्को सर्को
थर्कमान ताण्डव चलोस् ।।
मलाई पर्वाह छैन
कारण मेरो कवच त
अभिलाषाको स्फुटन हो
त्यही स्फुटनको आधारमा
म लड्छु कोरोनाविरुद्ध
ओ कोरोना
ओ कोरोना !!
लेखक परिचय
सिक्किम, भारतका बिपिन तिवारी धेरैजसो कविता लेख्न रुचाउँछन् । उनी शिक्षण क्षेत्रसँग पनि संलग्न छन् ।