कहीँ बूढो पैतालाका डामहरू
कहीँ तन्नेरी पैतालाले चुमेको आलो स्पर्श
यो बाटोको छातीमा कुँदिएका छन्
फरकफरक पैतालाका आकृतिहरू ।
त्यो पैताला
भविष्य किन्न आतुर कलिला बालखाहरूको हुनसक्छ
जो ‘बा’को कान्छी औँला समात्दै
विद्यालय धाइरहेछन् ।
त्यो पैताला
एउटा मजदुरको हुनसक्छ
जो कामको खोजीमा
खालिखुट्टा दिनहुँ सयौँ माइल यात्रा गर्न विवश छ ।
त्यो पैताला
डोकाभरि साग बोकेर भरेको छाकको जोहो गर्न
बजार धाइरहेकी बुढी आमाको हुनसक्छ ।
त्यो पैताला
बैंशको उनमुक्त संसारमा हराइरहेका
नव जोडीहरूको हुनसक्छ
जो बढ्दैछ प्रेमको उच्चतम समाधिको बाटोतर्फ ।
यही बाटोमा
क्रान्तिको बिगुल फुक्न योद्धाका निडर सपनाहरू
हरबखत दौडिरहेछन् ।
यही बाटोमा
आफूलाई अमर बनाउन नयाँ आयामहरू
विकसित मगजको खोजीमा भौतारिइरहेछन् ।
यही बाटो भएर
मन्दिरको ईश्वर,
हर मान्छेको हृदयको आँगनसम्म
बास माग्न आइपुग्छ ।
यही बाटो भएर
पूरा जीवन तृप्त गरेको एउटा बूढो लास
मुस्कुराउँदै आर्यघाटको यात्रा तय गर्छ ।
यसरी,
खुसी ओठहरूसँग मुस्कान साटेर
दुखी मुटुहरूसँग पीडा साटेर
हर घटना
हरेक परिवेशसँग परिचित छ यो बाटो । दीप एकल दीप एकल दीप एकल
लेखक परिचय
बर्दियाका दीप एकल कविता लेखनमा नवोदित प्रतिभा हुन् । लेखनसँगसँगै उनी अध्ययनमा पनि व्यस्त छन् । उनका लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् ।