सीवाँलीको झ्याङबाट लुक्दै–लुक्दै
हेरिरहेको छु म–
बर्षौँदेखि कसैलाई पर्खिरहेको एक्लो मानिस
बार्दलीमा बसेर टोलाइरहेको छैन आज
उक्लिरहेको छु म पनि एक्लै उकालोमा
र हेरिरहेको छु टाढा–टाढा
कुनै युद्धपछिको मैदानजस्तो सुनसान छ चारैतिर
हेरिरहेको छु– मेरै उज्यालोमा हिँड्ने ढाक्रेहरू हिँडिरहेका छैनन् आज
हेरिरहेको छु– हाट भरेर फर्किरहेका छैनन् कोही
हेरिरहेको छु– मलामी गएर फर्किसकेको रित्तो बाटोजस्तो छ मूलबाटो
सधैँ जुनेलोको बोटमा आएर खेल्ने हावा गायब छ आज
निकुवाको सुकेको ठुटोमा अबेरसम्म नाचिबस्ने ठुटेचरो देखिन्न आज
साँझको पहिलो प्रहरमै एकनाशले रुने झ्याउँकिरी समेत चुपचाप छ आज
सधैँ एकसुरले गुनगुनाइरहने सुन्तले खोला समेत मौन छ आज
थरथर–थरथर काँपिरहेका छैनन् झाँक्री स्याउलाका पातहरू
एक रुखदेखि अर्को रुख गर्दै उडिरहेको छैन लाटोकोसेरो
कतै सुनिएको छैन जङ्गली भुस्याहाका कर्कश आवाज
यति चर्को शासन गर्न थालेछ शून्यताले
कि म आफैँ पनि शून्य–शून्य भएको छु यसबेला
शून्य….. शून्य उक्लेर
अहिले त्यही सुनसान घरको शीरमाथि छु म
र हेरिरहेको छु
बर्खाभरि झरीले कुटेर छेँडिएको
क्लान्त र उदास धुरीबाट भित्र–
बर्षौँदेखि बार्दलीमा बसेर कसैलाई पर्खिरहेको एक्लो मानिस
कोही आउने पर्खाइमा
झाँक्री स्याउलाको पातजस्तो थरथर काँपिरहेको शरीर
र सुन्तले खोलाजस्तो सुसाइरहेको आँखा बिछ्याइरहेछ
सुनसान कोठाको अन्धकारमा
उता अघिजस्तै बाहिर प्रार्थना गरिरहेको छ सुनसान मूलबाटो
अघिजस्तै प्रार्थना गरिरहेको छ झ्याउँकिरी, ठुटेचरा र बतास
अघिजस्तै प्रार्थना गरिरहेको छ सुन्तले खोला, अम्लिसो र झाँक्री स्याउलाका पातहरू
तितेपाती, तुलसीको बोट
र एक्लो मानिसले रोपेको केराका पातहरू सब–सब प्रार्थनामा छन् अघिजस्तै
एक्लो मानिसका लागि
म पनि त प्रार्थनामा छु अहिले
बरु म आफैँ निभेर
मेरो जम्मै उज्यालो
एक्लो मानिसलाई मिलोस्
र त्यही उज्यालोमा भेटियोस्
बर्षौँदेखि बार्दलीमा बसेर पर्खिरहेको कोही मानिस ।
लेखक परिचय
विगत दुई दशकदेखि कविता र अखबारी लेखनमा सक्रिय हेमन यात्री मोरङमा जन्मिएका हुन् । हाल ईटहरीमा बसोबास गर्दै उनी साहित्य र अखबारी लेखनमा निरन्तर लागिरहेका छन् । गीत/गजल सङ्ग्रह "आँसुको मूल्य", २०६० र रत्न पुस्तक भण्डार काठमाडौँबाट प्रकाशित कविता कृति "पहाड मसितै यात्रा गर्छ", २०६९ उनका प्रकाशित कृति हुन् । फिनिक्स बुक्स काठमाडौँबाट उक्त कृतिको चौँथो संस्करण समेत प्रकाशित भइसकेको छ । कवि यात्री देशविदेशबाट करिब डेढ दर्जन सम्मान र पुरस्कारबाट विभूषित भइसकेका छन् ।