अग्लिँदै गएर अहंकारको गजुर
ठूलो भएपछि देशको राजनीतिभन्दा
होचिँदै गएको हो स्वाभिमानको छानो
ओझेल परेका हुन् ज्ञान विवेकका पवित्र मन्दिर
तर अहंकार निरन्तर आरोहण गरिरह्यो सत्ताको चुली र
फैलिदै गयो फेददेखि टुप्पोसम्म
उसले चिथोर्न छोडेन कुनै अङ्गप्रत्यङ्ग
कुल्चेर क्षतविक्षत बनायो सबै आदर्शका मानकहरू
सधैँ एकोहोरो अलापिरह्यो दम्भको राग
बिर्सँदै गयो मूल्य र मान्यता
भत्काउँदै गयो कर्तव्य र विवेकको सिमाना
आक्रमण गर्दै गयो व्यवस्था र संविधानमाथि
फैलाउँदै गयो अराजकताको आतङ्क
डुबाउँदै गयो ज्ञान र चेतनाको शिविर
संविधान र कानुन अपहरण गरी
मनमौजी रुपमा गरिरह्यो सत्ताको पजनी
त्यसपछि कुरुप देखिँदैआएको हो शासकको अनुहार
कमजोर हुँदैगएको हो लोकतन्त्र
उसलाई मन नपरेपछि
विवेकको जगमा उभिएको व्यक्ति
इमान र कर्तव्यले प्राप्त गरेको प्रतिष्ठा
सङ्घर्ष र मेहनतले बढाएको उचाइ
सर्वाङ्ग नाचिदियो मूल बाटोमा
र भनिदियो यी सबै सत्ताका विरोधी हुन्
थाहा छैन यिनीहरूलाई संस्कार र संस्कृति
हानी रह्यो अपमानको झटारो-बुद्धिजीवीलाई
रोप्दै गयो तिरष्कारको भाला-सगोत्रीको छातीमा
लिन थाल्यो इर्श्याको बदला -सहयोद्धासित
हत्या गरिदियो अनगिन्ती-लालुपाते सपनाको
ज्यान साटेर ल्याएको लोकतन्त्रको मुटुमा
यति धेरै अपमानको छुरा रोपिदा
कति सकस भयोहोला ? शहीदहरूलाई
आफ्नै सपना र बलिदानको तिरष्कार देख्नु पर्दा
के सोचे होलान् ? योद्धाहरूले
यो भयानक समयमा पनि
सत्ताको सङ्कीर्ण षड्यन्त्रमा डुबेर
बिथोल्दै शान्ति र सद्भाव
भाड्दै आपसी सम्बन्ध र सहयात्रा
भत्काउँदै समाज र व्यवस्था
कुल्ँचदै सपना र भविष्य
विवेकको चीरहरण गरी
को हो त्यो ?
अहंकारको राज गर्ने कुर्सीमाथिको बुख्याँचा।
लेखक परिचय
पदम प्रकाश साउद सुदुरपश्चिम विश्वविद्यालय, दुर्गालक्ष्मी क्याम्पस अत्तरियाका उपप्रध्यापक हुन् ।