१. आमाको सिमान्त दु:ख
हर समय
अनुहारमा बाह्र बजाएर
लम्पसार बाटोले आकाश हेर्दै एकोहोरो गाइरहेकोछ
प्रतीक्षाको गीत ,
त्यही बाटोको दाहिने किनारातिर
खस्न आटेको एक जोर आँखा हुँदै गुज्रिन्छ
भत्किदै गरेको मौनताको लय
र टक्क निहुरिन पुग्छ गह्रुंगो मन
बाटोको देब्रे कुनातिर …
नाजुक हावाको उकेरा लाग्दै सासले मुटु थर्थरिँदा
अचानक आवाज बाहिरिन्छ –
हे भगवान् !
उड्न खोज्दाखोज्दै
उड्न नसकेर पहाडको टाउकोमा टासिएको
बादलको टीकाजस्तो
बाटोको निधारमा टाँसिएकोछ रातो टाटा
छेवैमा देख्न सकिन्छ
बिहान उठ्दै गर्दा असरल्ल परेको कपालजस्तो
माडिएर कुरुप झाडीको अनुहार
कौतुहलताको बाँध फुट्न आँट्दा
केही तल भेटिन्छ
देब्रे खुटाबाट छुटेको फ्याट्फ्याटे एउटा चप्पल
चप्पलभन्दा पर…
जति खोजी गरे पनि नामोनिसान भेटिँदैन केही
मानौ कसैले फुमन्तर गरेजस्तो
कुनै जादुइ शक्तिले आँखा छलेजस्तो
मान्छेहरूको लस्कर बिलाउदैछन् त्यतै
याचनाका एकएक चिच्याहाट हराउँदैछन त्यतै
प्रतिशोधका एकएक आवाज दबिँदैछन त्यतै
नाराहरूको माला पहिरिएर सडक पनि टुंगिन्छ त्यही
उफ !
पोखाएर नसकिने दु:ख
बलिन्द्रा आसुँको धाराले धुन नसकिने पिडा
भगवान !
यतिबिघ्न निर्दयी परिस्थिति त शत्रुले पनि भोग्न नपरोस्
चप्पल समातेर भक्कानिदै
अर्धचेतमा आमा बर्बराउछिन –
दोषी यहीँ भिडमा छ
मेरो नजिक
मेरो आँखाको सामुने
मेरै घरमा …
अन्ततः आमाले आफै सिन्दुर पुच्छिन
पोते निकाल्छन्
र आखाँबाट आगो ओकाल्दै
पोते हुर्याउँछिन्
पर…
पहराजस्तो छातीमा अड्किएको
पोतेको लुंगबाट एकएक दाना पोते झरिरहेछन् क्रमशः
के त्यो छाती आमाकै लोग्नेको हो ?
२. फाटकमा घाम
जब ओर्लिन्छ घाम आकाशबाट
तब मानेडाँडा छेउमा फुलेको
चाँपको फूलबाट खसेर हावा
यता जाउँकी उता जाउँ हुन्छ
हाम्रो फाटकमा…
एकाबिहानै आँखा तन्काउन
घरका धुरीहरू खोजिहिड्ने
घामका मधुरा किरणहरू
प्रतेक बिहान यसरी नै अल्मलिन्छ
घरी यता, घरी उता
घरका चिसा धुरीहरू माथी
हाम्रो फाटकमा…
शीतले कक्रक्क ककृएका
टिनको छानाबाट चिम्लिएर
फेरि अल्मलिन्छ घाम
पहिला आनीको आँखामा खसुँ कि ?
मेरा यी चिम्सा आँखामा खँसु हुन्छ
हाम्रो फाटकमा..
जहिले घाम अल्मलिरहने ठाउँमा
यदि तपाईँ नै आउनुभो भने पनि
पक्कै अल्मलिनुहुनेछ
कि
इतिहासले कोरिदिएको यो सिमानामा
म कहाँनिर उभिएकोछु भनेर,
हो , तपाईँको दुई आँखाले मात्रै
कहिले छाम्न सक्दैन सिमाना
हाम्रो फाटकमा..
आफ्नै लयमा धर्तीले
जब चाल्छ सुस्तरी ..सुस्तरी पाइला
तब त्यही लयमा
घामको छाँया बोकेर भ्रमित दौडिन्छ
घामसँगै घामको छायाँ
आनी र मेरा दुई जोर चिम्सा आँखालाई
नाघेर/उछिनेर
अनि अर्को रेखा कोर्छ
तब म देख्छु
उही सिमाना
अदृश्य रूपमा
सरिरहेकोछ…सरिरहेकोछ
हाम्रो फाटकमा…।
कविता राई “गाउँले” कविता राई “गाउँले”
लेखक परिचय
इलाम, पशुपतिनगरकी कवि कविता राई "गाउँले"
सस्तो बजारे हल्लाहरूभन्दा पर रहेर निरन्तर साहित्य साधना गरिरहेकी छिन् ।