हरेक विहान सूर्य उदाएकै छ,
अनि साँझमा अस्ताइरहेकै।
जाडोमा जाडो छ अनि गर्मीमा गर्मी नै।
यावत रुपले समय आफ्नै गतिमा,
ब्यतित भइरहेकै छ।
दशैं आयो, तिहार आयो,
क्रिसमस, ल्होसार….अनि
प्रेम दिवस पनि।
तर, उनी आइनन्,
र मेरो मनबाट गइनन् पनि ।
समय सबैका लागि,
सधैँ एउटै नहुने रहेछ ।
परिचित, अपरिचित सबैलाई,
समान मुस्कानसहित इग्नोर गर्ने मैले,
उसलाई खै कुन्नि किन सकिन ?
ऊ एकान्त रुचाउने,
मलाई मास/जमात नै चाहिने ।
म प्रश्नको सिधा उत्तर दिन रुचाउने,
ऊ प्रश्न सुनेर मौन बस्ने ।
म धेरै बोल्ने,
ऊ चुपचाप सुनिरहने ।
त्यसैले त होला सुरु-सुरुमा उसलाई,
मेरो आवाज म नबोलेरै सुनिन्थ्यो अरे !
आजकल बोले पनि सुनिन्छ कि सुनिदैन ?
अचेल मलाई मेरा हरेक भावनाहरू,
विना जवाफका प्रश्नजस्तै लाग्छन् ।
यदि मैले मेरो एकोहोरो लेखनमा अंकुश लगाए भने,
मेरा प्रश्नविना नै जवाफ आउँछ कि आउदैन ?
मैले बोल्न सक्ने जति बोले,
शब्दमा लेख्न मिल्ने जति लेखेँ ।
यो भन्दा बढी लेख्दिन,
बोल्दिन पनि ।
बढी बोलेर नै होला सायद,
दुई पक्षिय झगडा हुने ।
तर, उसँग मेरो झगडा धेरै
बोलेर भन्दा पनि नबोलेरै हुन्छ कि हुँदैन ?
मलाई पनि थाहा छ,
सबै कुरा शब्दमा अभिव्यक्त हुँदैनन्,
अनि केही सम्बन्धहरू भनेर भनेजस्ता हुँदैनन् ।
तापनि, म रहरहरूको ओछ्यान हालेर,
सु-समयको बाटो ढुकिरहेछु,
त्यो बाटो ढुक्न मिल्छ कि मिल्दैन ?
अनि ती रहरहरू,
समयले आफै पुरा गर्छ कि गर्दैन ?
मेरा यी केही थान अनुत्तरित,
जिज्ञासाहरू अनि प्रश्नहरूको
जवाफ लेख्ने कष्ट
तिमिले यदि गर्छौ भने,
कृपया धेरै नलेख्नु ।
केवल हृदयको भाषा मात्र लेख्नु,
त्यति लेखे पुग्छ मलाई ।
एकोहोरो अनि एकतर्फी
प्रश्नमाथी प्रश्न राख्नु त
गलत नै ठान्छौ होला ।
तैपनि,अन्तिममा तिमीलाई
एउटा प्रश्न राख्छु;
अँ साँच्चि,
कहिले लेख्छौ हँ मलाई पात्र बनाएर
तिम्रो पहिलो प्रेम कथा ?
लेखक परिचय
नेपाल सरकारको निजामती सेवामा कार्यरत जोशी साहित्यका विभिन्न विद्या तथा अनुसन्धानात्मक लेखहरूमा कलम चलाउने गर्दछन् ।