ए ! थेत्तरो युगका
मतलबी मान्छेहरू
आत्मा गौरवले छाँतीमा
चोमोलुङमा उमारेर भन्छौ
खुट्टा भए
जुत्ता हजार
हजार टोपी
टाउको भए ।
शकुनीहरूको आदेशमा तिमी
प्रत्येक इतिहासको घिनलाग्दा मेनिफेस्टोहरू बोकेर
कुन सपनाको क्षितिज अँगाल्न हिँडेका हौ तिमी
कुन रहरको टाकुराहरू टेक्न उक्लिएका हौ तिमी
भन् ए भ्रान्तिका मान्छेहरू हो
आफ्नै करङङहरुको भर्याङ चढ्दै
आखिर कुन शिखर चुम्न हिँडेका हौ तिमी ?
एकछिन सुन,
अचेल समय आफै विद्रोहमा उर्लिएको छ
यसले कुनै दिन रगतको भोग माग्न सक्छ
के तिम्रो पत्नी हुनु जुत्ता हुनु हो ?
बाहिर जाँदा ठाँटिएर लगाउने
घर फर्किएपछि सिकुवा वा पिढीमा फुकाएर
वेवस्ता र वेपर्वाह राख्नुपर्ने ?
के तिम्रो आमा टोपी थिइन ?
मन्दिर जाँदा शिरमा ढल्काएर जाने
देवता ढोग्दा फुकालेर राख्ने
एउटा भद्दा मजाकजस्तो ।
ए ! खुनी अपराधी मान्छेहरू हो
बुढो सिमलको रुखजस्तै
अब मक्किएर धोन्द्रिसक्यो
धुजाधुजा भएर च्यातिसक्यो
तिम्रो वर्णाश्रमले निर्मित
संसारकै कुरुप लिङ्गभेद ।
तिमीले छोडेर गएको
थोत्रो काने जुत्ता
च्याङलो टोपी र
बुइँगलमा धूलिया र धमिराले
खाइसकेको तिम्रो “बधु शिक्षाको लगौटी”
च्यातिसकेका मनु स्मृतिका पानाहरूलाई
समयको आगोले भष्म बनाउने छ
परिवर्तनको आँधीबेहरीले भत्काउने छ
शताब्दी औं अघिदेखिको तिम्रो साँघुरो घर ।
होसियार !
अब बचाउँन सक्दैन तिमीलाई
संसारको अलौकिक कुनै महाशिक्तिहरूले
किनकी तिमीले टेकेको जमिनमुनिबाट
म ज्वालामुखि पढ्कन तयार भएको छु ।
लेखक परिचय
सरस्वती दुमी राई नेपाली साहित्यमा नयाँ नाम होइन । उनी पचासको दशकदेखि निरन्तर साहित्यमा साधनारत छिन् । यस अघि तीनवटा गीति एल्बम, बेहुली ढुङ्गा कविता संग्रह (२०७२), अजम्मरी अक्षरहरू (२०७७)को संकलन सम्पादन गरिसकेकी छिन् । विभिन्न पुरस्कारहरूबाट सम्मानीत अभिनन्दित राई प्रलेसको केन्द्रीय सदस्य र रवि राङकासु दुमी राई स्मृति प्रतिष्ठानको महासचिव पद सम्हालिरहेकी छिन् । अहिले पाँचथरको रविमा नै बसेर साहित्यको क्षेत्रमा धेरै गरिरहेकी छिन् ।