१
मेरी आमा स्वर्ग जाँदा पाप गरेर गइन्
बाँदल पारीको रानी बन्न
ठुलै षड्यन्त्र रचेर गइन्
हत्केलाभरिको साँस छिनी
मेरै हत्या गरेर गइन्
“छोरी यता आइजन”
नजिक बोलाइन
हल्का पहेँलो, हल्का रातो
तर प्रशान्त गहिरो आखाँहरूमा
शोक,
सपना,
पछुतो अनि बेदना पोखाइन्
ब्याकुल नयनको विवस्तालाई गगनले चुमेर नाप्न सकेन
रसाएको हृदयले दुई थोपा आँसु झर्ने सामर्थ राखेन
उनलाई लीन परलोकबाट दूत आयो रे
शरीर उनको काम्दै थियो
तरंगहरू मेरो प्राणबाट गुज्रिए
ढुकढुकी उनको रोकिदै थियो
म निसासिदै थिएँ
उनी रागताम्मे भइन्
म छटपटाउन थालेँ
निमेसभर मै उनले मुक्ति पाइन रे
मैले त आफ्नै आत्मा ख़ोक्रो पाएँ ।
२
ओइलाएको गुलाफ
कौसीमा बस्दा बगानमा
ओइलाएको रातो गुलाफलाई नीयाल्न पुगेँ,
लाग्यो,
मेरो मृदुल मानसको
न्यानो आगनमा
अझङ्ग्का गिद्धहरू
मसानको खोजमा
कोइलाजस्तो पुतलीहरूलाई साथ लिएर
मृत्युको सन्देश दीन समागत भए ।
म त कौसीमा बसेर
आफ्नै नयनमा हराएको
शताब्दी खोज्ने गर्थेँ,
जुन ममताको म महताज हुन सकिनँ,
जुनेलीसँग त्यही प्रेमको फिराद पोख्ने गर्थेँ
मुस्कानको मूल्य त आँसुलाई नै थाहा होला,
मध्यरातमा निन्द्राको वजन सिरनीसँग जोख्ने गर्ँथे।
त्यो गुलाफले
बगानलाई हैन
कौसीलाई गुलजार बनाएको थियो,
त्यो गुलाफले
बेमरम्मत मेरा पखेटाहरूमा
असीम उडानको सपना सजाएको थियो
त्यो गुलाफले
चिहानको बीचमा रहेको
मेरो खोक्रो मकानलाई घर बनाएको थियो।
नासियो गुलाफ,
भत्कियो मेरो कौसीको अस्तित्व,
नासिएँ म,
भत्कियो म घाटेको प्रतिबिम्ब,
हरेक लाससँगै आफ्नै अन्त्येष्टी गरेर फर्किन्छु,
हरेक बिहानीको रमिता फगत कङ्काल नै देख्ने रहेछु ।।
लेखक परिचय
अजाजेल कानुन तथा मनोविज्ञानका विद्यार्थी हुन् ।