१
नजरको भूगोल
चामलको पिठोमा डुबाएको
भकुण्डोजस्तै हाम्रो ब्रम्हाण्ड
न थिए साथका देशान्तररेखाहरू
न त थिए बिछोडका अक्षांशरेखाहरू
स्वयं कोरिएको थिएन
विचारको भूमध्यरेखा
कहिले तिमी नाइल बनेर
मलाई इजिप्ट हुने वरदान दियाै
कहिले म युरोप बनेर तिमीलाई
टर्की भनिरहेँ
कहिले तिमी अमेजन बनेर
हैकम जमाइरह्याै
कहिले म कंगो बनेर चुपचाप सहिरहेँ
बत्तीमुनिको अध्याँरो हटाउन
अर्को बत्ती बाल्दा
दुई बत्तीमुनिको अफ्रिका भइरह्याैँ
मैले आफ्नो आँखाको झ्यालबाट
मनको पर्दा अलिक पर सारेर
एकछिन चिहाउने हिम्मत राखिनँ
तिम्रो मनको गल्लीतिर
तिमीले आफ्नो आँखाको झ्यालबाट
एकनजर लगाउने हिम्मत गरेनौं
मेरो मनको गल्लीतिर
दुईटैको नजरबाट
दुइटै गल्लीमा दुईपटक हेरिँदा
सायद केही/ कोही नभएपनि
भएजस्तो लाग्दो हो
कोही नहिँडेपनि हिँडेजस्तो लाग्दो हो
आज तिमीले सिधै नजरमा नजर मिलाउन भन्याै
सिङ्गो ग्लोबले ‘ग्लोबल वर्मिङ्’ भनिरहेछ ।
२
विधवा पीपल
जोगी अोडारको बाटै बाटो हिँडेर पाटन आइपुग्दा
समय गोलभेडा बनिसकेको दिन
चाैताराको पीपल ठ्याक्कै देखिन्थ्यो
ठूलीआमाको अावाज बोकेको आकृतिजस्तो।
सानैमा वरलाई टोकेको बूढो पीपल
छिटुवा धानजति उत्ताउलो हुँदापनि
छिमेकिहरू माैन छन
रहरहरू हाँगामा बस्छन
चखेवा चखेवीहरू आशीर्वाद लिन आउँछन।
पटकपटक नयाँ वरको जरा सुक्दै जाँदा पनि
कसैले दोघरे भनेका छैनन्
ठूली आमालाई जस्तो
“पोइटोकुवा”को परिचयपत्र दिइदैन
परपुरुषलाई नजर लाग्लाभनि
बेलाबेला बालदुलही बनाइदैन।
सृष्टिकै विगतदेखि आगतसम्मका अनिष्टको
स्वत: जिम्मेवार हुने ठूलीआमा
कहिल्यै सुसाउन सकिनन्
डाँडाको पीपलजस्तो।
द्वन्द्वकालका सरकारी कार्यालयजस्ता ढोकामा लगाउँन नमिल्ने
राता-काला कपडाको गाता लगाएर
चुपचाप अर्को जुनिको
रङ्गिन खाका तयार पार्छिन्।
टाईवर र टिग्रीसको किनारमा भेटिएका बस्तीजस्ता बिहेका एकजोर गहना र कपडामा
आफ्नो अनुहारसमेत नदेखेको श्रीमानको
याद पोख्छिन र पोको पार्छिन्
जीवनकाे बाँझो जमिनमा नियतिकाे हलाेले एकाधिकार जमाउँछिन्।
कसैको खबर आएन उनको दैलोमा
कहिल्यै काग कराएन
उनको घरअगाडीको बाँसको खम्बामा
कहिल्यै हुलाकीले टेकेन उनको आँगन
कहिल्यै महिला सशक्तीकरणको झिल्को छिरेन उनको झुपडिको झ्यालमा
जिन्दगी डाँडाको पीपल कि ठूलीआमा?
३
माफी
पर सरेकी छोरी
भूलबस
मन्दिरछेउ हिँडेपछि,
माफी स्वरूप
बलि चढाउन गएका बालाई
देवीले पर्खाइन् र भनिन्—
रोक !
म पनि चार दिनको भएकी छु,
नुहाएर आउँछु !
४
मर्यादा
तपाईँलाई लाग्ला कि
जति तुच्छ प्रवृत्तिमा उत्रिए पनि
यसले बढी लेखे, एउटा कविता न लेख्ने हो
हर कोहीको नाममा कविता त
कहिल्यै लेखिदैन, महोदय !
लेखक परिचय
जाेशी समकालीन नेपाली साहित्यका विभिन्न विद्यामा कलम चलाउछिन् । विभिन्न स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखरचनाहरु प्रकाशित गरेकी जोशी सामाजिक तथा साहित्यिक संघ सस्थामा पनि संलग्न छिन् । उनका रचनामा सामाजको विकृती विसङ्गतिप्रतिको आलोचनात्मक चेत भेटिन्छ ।