तिमीलाई जतिपटक देख्छु,
लाग्छ, म उदाउँदो घामलाई हेर्दैछु
चेहेराको आभा हेरेर चाँदनीलाई ईर्ष्या पो हुन्छ कि ?
तिमीलाई केहि भनुँ, शब्दको अभाव छ
दुनियाँका कुनैपनि कविले लेख्न नसकेको बिम्ब,
कथाकारको चित्रणको परिधीभन्दा बाहिर,
चित्रकारका रङ्ग र रेखाहरूले बनाउन नसकेको आकृति,
संगीतकारको सिर्जनामा नअटाएको धुन,
गाइनेहरूको गलाबाट निस्किन बाँकी आलाप,
म तिम्रो वर्णन गर्नै सक्दिन, प्रिय अप्सरा !!
तिमी खित्का छोडेर हाँस्दै गर्दा एक भ्रम हुन्छ,
फूलहरूले फक्रीन तिम्रा अधरसँग सिकेका होलान ।
लाग्छ,
तिम्रै गालाको लाली चोरेर गुराँस रातै फुलेको हो ।
गुलाफका पत्रहरूमा छुटेको छ तिम्रो श्वासको केही अंश
र त मादक सुगन्ध छरिरहन सकेको छ ।
यी पुतलीहरूले
तिम्रा परेलिसङ्ग चंचलता सापटी लगेको हुनुपर्छ ,
नभए यति चुलबुल कहाँ गर्थे होलान र !
चकचक गरिरहनुपर्ने,
बोलिरहनु पर्ने अर्थहीन कुराहरू,
सोधिरहनु पर्ने बेतुकका प्रश्नाहरू,
अन्त्यहिन उत्सुकता र जिज्ञासाहरू
प्राप्तिको चाह नभएको तर कहिल्यै नमेटिने मिठो तृष्णा,
थाहा छैन, तिम्रा यी गुण कि अवगुण हुन ?
सागरझैँ गहिरा, शान्त आँखामा
बेलाबेला आइरहन्छ, बेचैनिको ज्वारभाटा
तर पनि उभिएकै छन् सपनाका स्तम्भहरू
रहरका माछाहरू पौडिन छोडेका छैनन्,
रहस्यहरू फुलेकै देखिन्छन्, किनारहरूमा
तिम्रा नजर बाणद्वारा घायल भएका
असंख्य मुटुहरू देखेर अचम्म लाग्दैन
बरु सोच्छु, तिमीलाई नहेरी कोही कसरी बस्न सक्छ र ?
प्रिय अप्सरा !
लेखक परिचय
धुर्बा तिमिल्सिना धनगढीकी हुन् । उनी स्नातकको विद्यार्थी हुन् ।