तिमीले
संविधानको धाराहरूले हराउनु पूर्व
लालमोहरको पङ्क्तिहरूले हराउनु पूर्व
बाँचेको अजेय खाम्बोङ्सा हुँ म ।
आकाश,
धर्ती,
हावा,
पानी,
आगो,
पञ्चतत्वले बनेको यो शरिर
चाहे तिमी सुली र खरानीले नै बनेको भन्नु
यो पृथ्वी रहिन्जेल रहिरहने छ ।
बुझ्नु यसरी कि
म माटोमै जन्मिएर माटोमै मिल्छु
तर छाड्दिन आफ्नो विरासत
मनातेम्बेबाट झरेर
सायद तमोरको तिरैतिर हिँड्दा
फेल्येरे फेम्पुना चरीले
पहिलोपटक दिएको हो मलाई धानको बीउ
र सिकेको हुँला बाँच्न
छुइय……. छुइय……..भन्दै
धानको बाला कुल्चँदै सायद धान खाने चरीहरू खेदाउँदा
सिकेको हुँला मैले नाच्न
भननन….. गर्दै भमराले
समुद्रपारिको रानीको खबर बोकि ल्याउँदा
सायद त्यो राजा आफै हुँ ठानेर
पालेँ हुँला मनमा प्रेम
अनि त ढुङ्गा माटोसँग
पहाड पर्वतसँग
नदी नालासँग
सत्ते वाचा गर्दै
सत्ते कसम खाँदै
बसाएको हुँला सुन्दर पृथ्वी
निर्बाध बगिहिँड्ने नदीहरू मेरो गीत
स्वतन्त्र उडिहिँड्ने चरीहरू मेरो सपना
अटल उभिरहने पहाडहरू मेरो दर्शन
उभौलीमा
हिमालतिर उडिजाने कर्याङकुरुङहरू हेर्दै
नापेँ समय
उधौलीमा
मधेसतिर उडिजाने कर्याङकुरुङहरू हेर्दै
बनाएँ जिवन लय
आफ्नै जिजिविसामा बाँच्दाबाँच्दै
अरुको बारे सोच्न सकिनँ
भयो यही एउटै कमजोरि मसँग
कि म तिमीजस्तो हुन सकिनँ
सत्ते वाचाले थामेको मेरो भूगोल
तिम्रो साम्राज्यमा
कहिल्यै फैलिन सकेन
कहिल्यै बिलाउन सकेन
तिमीले
तिम्रो ब्रह्मास्त्र र फाल्नुभन्दा पूर्व
बाँचेको अमर आख्यान हो यो
बरु मरेर जाउँला
तर कदापि मेटिने छैन यो ।
लेखक परिचय
कवि सन्जित फलाना आफ्ना कविताहरूमा सिमान्तकृत बर्गको आवाज र सांस्कृतिक पहिचानका मुद्दाहरू प्रधान विषयका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।