१
मनका अन्तर कुन्तरहरूमा जाग्ने
निर्मम वेदनाको स्मृति
अविरल स्मृतिहरूको अभिलेखमा
जब म खोज्ने गर्छु तब व्यङ्ग्यसरि
ठोक्किन पुग्छु आफ्नै विराट शून्यताको माझ
जहाँ मेरो पूर्खाहरूको कैयौँ भेल रगतमा चुर्मुलिँदै म
आफ्नो पहिचानको बोध गर्न खोज्छु
हैन यो त्यही रगतका टाटाहरू होईनन् र ?
के भन्न खोजेका होलान् यिनले
यसरी लत्पतिँदै भिरपाखाहरूमा
आफ्नै हत्याको प्रतिशोध लिन नपाउँदा
शोकमा डुब्न नपाउँदा महसुस नगरि
अलप हुने क्रोधमा बर्बराउँदा
के भनेका थिए होलान् ?
यतिका वर्षसम्म त पखालिनु पर्ने हो गन्ध
आउनु पर्ने हो मबाट मान्छेको सुवास
सभ्यताको शिखरमा मैले पनि एउटा
चुचुरोमा गाड्न पाउन पर्ने हो
म मानव भएको प्रमाण
रोप्न पाउनु पर्ने हो एउटा बिम्ब
जसले सदैव झक्झकाउँदैन मलाई
आफ्नै अनिद्राबाट र यो लोक
जसले रटाइरहन्छ महानता
गाइरहन्छ आदिमकालदेखिको गुनगान
चोखिएको हुन पर्ने हो अब त म
पोतिएको हुन पर्ने हो ममा एउटा नयाँ रङ्ग
एउटा नयाँ इतिहासको धर्सा कोर्ने स्थान
मभित्र हुनुपर्ने हो !
तर त्यही बोध हुन नपाउँदै
अबोध मृत्यु मरेर छट्पटाउँछ
विकराल सपनाहरू लम्पसार
र गिजोलिरहन्छ विगत
भागन अनेकन् प्रयास गर्ने
मेरा आपा, आखेहरूलाई
फेरि वर्तमानमा उही सांग्लाहरूले
क्रमश अठ्याउँछ
र जब हर्कमायालाई देवी पस्छ एक निष्पट रात
विरसिंग बौलाउँछ एकाएक कुनै दिन
जब पारीको माइलाको हत्या हुन्छ सुईँको नपाई
म आश्चर्य हुन बन्द गर्छु ।
२
यतिका क्रोधहरू हुर्किदै गर्दा पनि
किन सल्किएन एउटा रापिलो आगो ?
जसले डढेलो लगाउन सकेन
युगदेखि अचल, लस्करै उभेका
ती बुढोतन्नेरी रूखहरूलाई
जसको पछि रक्ताम्मे अवस्थामा
लम्पसार छ, एक नयाँ युग
मनका यी भिषण ज्वालाहरू
चैते राँकोसरि किन फैलन सकेन ?
यत्रतत्र हर दिशामा प्रतिशोधको लप्काहरू
कूरोझैँ हर युगमा टाँसिने मानवताको विकार
रातो-तातो रवाफले सायद पन्छिने थियो !
केही बेर, केही पल, केही क्षण
मडारिन सकेन वायुमण्डलमा
निस्सासिने गरि त्यो आदिम कालदेखि
परजीवी मानवताको मनोदशा
त्यो रापले , त्यो प्रतापले
बाँच्न पाउनु पर्ने थियो सायद
केहि वेर देख्न पाउनू पर्ने थियो
आफ्नो भर्भराउँदो त्यो स्वरूप
पाउनु पर्ने थियो त्यसले पनि निकाश
आफ्नो चरम सिमाको राँको
बोध गर्न पाउनु पर्ने थियो
आफ्नै प्रचण्डताको आभास
कति तीव्र गतिमा फैलिन्थे होला तब
महसुस नै गर्न नसकि थन्किएको अब
ती कल्पित विनाशहरू,
स्वयम्मै अल्प भए, विलिन
त्यो अबोध एक फिलिङ्गो क्रोधले
कति सम्भावनाको बोकेको हुँदो हो
तब त त्यो एक झिल्को अनुभूति
सलकिन नपाउँदै निभाउन
तत्पर छ युग ।
लेखक परिचय
बिए प्रथम वर्षमा अध्ययनरत् श्रेया योञ्जन साहित्य, फिल्म र दर्शनमा रूचि राख्छिन् ।
गम्भीरतामा ध्वनित हुनु श्रेया योन्जनका कविताको विषेशता ।