हे ! परमेश्वरका प्रथम आविष्कार
प्रिय आदिपुरुष
महिलालाई सजिलै मैला बनाउन सक्ने
वरदान पाएका
सफेद सफारीमा सजिएर सुकिला देखिने
ज्यूँदा सालिकहरू !
ॐ गुमाएर अहम् भएका हाम्रा मालिकहरू !
हो म आइमाई हुँ
‘आइ’को अर्थ आमा अनि ‘माई’माने देवी
देवी र माताको उच्च ओहोदाबाट
पदच्यूत गरेर मलाई
बनायौ अहिलेसम्म
I, My, अर्थात् ‘म र मेरी’ मात्रै ।
ए ! होमोसेपियन्सका भाले प्रजातिहरू
स्त्रीको शरीर, स्वरूप र स्वतन्त्रताको
एक्लो हकदार बनाएर आफैँलाई
अहिलेसम्म
सुगा बनाएर राख्यौ सुनकै पिँजडाभित्र
रटाइरह्यौ पितृसत्ताका निकै पुराना परिभाषाहरू
कहिले बुझ्छौ खै आइमाईलाई तिमीले
‘म र मेरी’को परिधिभन्दा बाहिर राखेर ।
ए ! अहम्ले उन्मत्त कामदेवहरू
पञ्च इन्द्रियभन्दा अलि माथि उठेर
छुने प्रयास गर छैटौँ इन्द्रियलाई पनि
मैनको मादक मूर्तिभन्दा अलि बढी
सम्मान गर्ने गर मन मस्तिष्कलाई पनि
गाजलु नजर, नशालु अधर र छिनेको कम्मर मात्र
हैन स्वास्नीमान्छे
योनिधारी विवेकशून्य प्रजाति मात्र पनि हैन स्वास्नीमान्छे
चेतना र चैतन्य पनि हो स्वास्नीमान्छे
अनि शारदा पनि हो स्वास्नीमान्छे ।
जब तिम्रा नजरका नक्षत्रहरू
केवल मेरा वक्षस्थलको कक्षमा परिक्रमा गर्छन्
जब अभिमानी भाले
आफ्नै घरमन्दिरको देवीलाई छाडेर
धाइरहन्छ देवालयतिर व्यर्थ
जब बिर्सन्छन् शिवहरूले
अर्धनारीश्वरको अर्थ
बिर्सन्छन् शक्तिस्वरुपा जननी र सतीको अस्तित्व
तब प्रश्न गर्न मन लाग्छ मलाई
तिमीले फेरेको पहिलो सास कसको थियो ?
तिमीले चाखेको पहिलो स्वाद के को थियो ?
भन– कहाँ उभिएको छ शिवलिङ्ग ?
भन– कहाँ फस्टाउँछ तिम्रो वीर्य ?
जब नाजबाफ भएर हेर्छौ तिमीले मलाई
आफैँले जन्माएको नादान सन्तानलाई झैँ
छातीमा टाँसेर माफी दिँदै भन्नेछु–
ए ! मैले प्रेम गर्ने प्रिय पुरुष
मलाई स्वतन्त्र आइमाई हुन देऊ
मलाई I, My मात्रै नबनाऊ ।
लेखक परिचय
बाग्लुङको गल्कोट नगरपालिकामा जन्मिएकी कवि राधिका गौतम पौडेल (साहित्यिक उपनाम: राधिका कल्पित) समकालीन साहित्यमा अलग पहिचान बनाउन सफल कवि हुन् । अङ्ग्रेजी साहित्यमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेकी उनी अङ्ग्रेजी फिक्सन र दर्शन पढ्न रुचाउँछिन् । उनी, धवलागिरी साहित्य पुरस्कार प्रतिस्ठान, बाग्लुङ सदस्य, पूर्व कार्यबाहक सचिव, गल्कोट साहित्य कुञ्ज बाग्लुङ: सचिव, सगरमाथा साहित्य प्रतिष्ठान:बाग्मती प्रदेश संयोजक, भुपी शेरचन पुरस्कार, बाग्लुङ :संस्थापक सदस्य, पर्बत साहित्य संगम, पर्बत: आजिवन सदस्य, पल्लव साहित्यिक प्रतिस्ठान, नारायणगढ, चितवन: आजिवन सदस्य र साहित्य सङ्गम नुवाकोट :आजिवन सदस्य जस्ता साहित्य सङ्घ -संस्थाहरूसँग आवद्ध छिन् । बरफका कोइलाहरू (कविता सङ्ग्रह, २०७७) उनको प्रकाशित कृति हो । कल्पित हाल काठमाडौँमा अध्यापन् गर्छिन् ।