१
दया र मनको उज्यालो
समवेदनामा गतिरोध छ हिजोआज
किन होला ?
असहायसम्म पुग्न मान्दैन यो ।
अचेल सहानुभूतिले पनि अनुहार हेर्छ
र भाग लगाउँछ ।
मुटुको माया र दयालाई
देखाउन सकिन्छ ?
– यो एउटा जटिल प्रश्न छ ।
त्यो अघि
फोहोरमा फ्याँकिएको
आधारोटी खोजिखाने
भर्खर खुट्टा लागेको
त्यो अबोधको पेटलाई
देखाउनु पर्नेछ ।
उसको भोकलाई
महसुस गर्नुपर्नेछ ।
तर खै !
निस्कनै त मान्दैन यो दया !
बरू यसले उमेरलाई टिठ्याउँछ
तर मनबाट बाहिर निस्कन मान्दैन !
तपाईँलाई म भन्छु :
एकैपल्ट यता हेर्नुहोस् न –
भित्रबाटै हरहरिएको आँतको छाया
उसका टिल्पिलाएका
आँखाहरूका पोस्टरमा हेर्नुहोस् न
तपाईँका एक छाकमा
ती भोक र प्यासहरूका नाम
मानवताको सुन्दर अक्षरहरूले
लेखिदिनुहोस् न !
तपाईँलाई थाहै हुँदैन
त्यस अर्पणमा
तपाईँलाई नसोधी
एउटा तृप्त आत्मासन्तुष्टि
तपाईँको मनको घरमा
सुटुक्क बसाईँ सर्नेछ ।
ए हजुर !
यता पनि एकपल्ट हेर्नुहोस् न
एकपल्ट दयालाई
मनको उज्यालो दिनुहोस् न ।
२
मेरो पहिचानको प्रश्न ?
छैन मेरो कुनै नाम…
नाम त उसैको मात्र हुन्छ
जसको हुन्छ आफ्नो पहिचान ?
मेरो त सुरुमै मेटाइयो अस्तित्व…
बनिएको भए पहिचान ।
मेरो पनि एक परिवार हुने थियो
एक सुखी संसार हुने थियो
यति कुरो जान्नसाथ
कति शोकाकुल बनेका थिए सबै
ममाथि हुने खर्च, जिम्मेवारी अनि सुरक्षाको
कुरो उठेको थियो ।
कठै ! कति व्याकुल बनेका थिए सबै !
काश ! यस्तो हुनसक्ने भए
छोरी मान्छेलाई संसारमा पठाउँदा भगवानले
या त पठाउन् लाखौँ रुपियाँको चेकसितै
या त रोक लगाउन् जन्ममा नै मैले जन्मलिन –
नपाऊँ
मलाई त्यति दुःख लागेको छैन
जति दुःख लागेको छ
जति दुःख मेरो हत्यामा
मेरा आफ्नैहरूको सहभागिताले लागेको छ ।
कति विरोधाभास छ –
जोहरू गर्छन् देवीका उपासना
उनीहरू गर्छन् छोरीलाई प्रताड़ना
जसको मुखमा ‘ जय माता दी ‘- को धून छ
उसैको हातमा छोरीहरूको खून छ ।
जति भए ठूला – ठूला सेमिनार अनि भाषाणहरू
जति बनाए कड़ा – कड़ा कानूनका चरणहरू
उति नै बढ़ेका छन् कन्या भ्रुणहत्या अनि
दाइजो –
कन्यादानका मरणहरू –
अब त बुझौ सबैले –
यस विषयमा कानून बनाउनु भनेकै
समाजको हार हो
हार स्वीकार हो !
मैले त बाँच्न पाइनँ –
तर पनि हतोत्साहित छैन म
मेरो चिसिएको विश्वासले घाम पाउनेछ
अनि एक दिन यस्तो निश्चय आउनेछ
हर्क बढ़ाइमा नाँच्नेछन् परिवारहरू
स्वागतमा तोरणद्वारहरू सजाइनेछन्
छोरी जन्मिँदा पनि …
छोरीलाई जन्माइँदा पनि !!
लेखक परिचय
राजनीति विज्ञानमा एम. ए गरेकी मिरिक, दार्जीलिङकी कमला तामाङ नेपाली मूलका भारतीय कवि तथा अनुवादक हुन् । नेपाली र हिन्दी दुवै भाषामा उत्तिकै कलम चलाउँने तामाङ पेशाले शिक्षीका हुन् । “अक्षरयात्रा“ ( कवितासङ्ग्रह, सन् २०१८) उनका प्रकाशित कृति हो, भने उनले दार्जीलिङ ‘काव्य सेतु’का निम्ति धेरै नेपाली कविताहरू हिन्दीमा अनुवाद गरेकी छिन् । तामाङ, अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान (सन् २०१८), विद्यावाचस्पति (विक्रमशिला हिन्दी विद्यापीठ, गांधीनगर, भागलपुर, बिहार (सन् २०१८) र, अन्तर्राष्ट्रिय तथागत विशिष्ट सृजन सम्मान (उत्तरप्रदेश) २०१९ जस्ता पुरस्कारबाट सम्मानित भइसकेकी छिन ।
शब्दसोपान डट कम वेभका सम्पूर्णमा हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्दछु । 🙏💐