पर क्षितिजमा उडेका
बादलका भुवाहरूलाई
मनको मझेरीबाट
निहालिरहेछु।
सुस्तसुस्त बनेका
बादलका भित्ताहरूमा
आफ्नै मनको कलमले,
आफ्नै देशको
मानचित्र कोरिरहेछु।
आफ्नै अनुहारझैँ,
आफ्नै जीवनको नक्साझैँ,
कहिले टुटदै, कहिले फुटदै
कहिले जुटदै, कहिले छुटदै
आकार बदलिरहेछ बादल ।
चुडेको रोटीको
टुक्राजस्तै,
कान्छीको च्यतीएको
फरीयाजस्तै,
कतै दरिलो आकार
कतै झिनो आकार
कतै धमिला किनारा
कतै गाढा किनारा।
आफ्नै अभिमान टुटेझैँ
आफ्नै ईज्जत लुटिएझैँ
धब्बाधब्बा बन्दै
टुक्रिएको बादललाई,
म आफ्नै मनको कलमले
फेरी जोडिरहेछु।
मैले बालक कालमा
कागजमा उतारेको
मेरो देशको मानचित्र
त्यही बादलमा खोजिरहेछु।
बादलको बदलिदो
आकारसँगै,
बढ़िरहेको गडगड़ाहटभित्र,
देशको लागी आहुती दिन तयार
नवजवानको
आक्रोस सुनिरहेछु।
कतै कालो रङ्गमा
कतै रातो रङ्गमा
भएका सबै रङ्ग बोकी,
मडारिदै हुईँकेको बादलमा,
म मेरो पुर्खाले जोड़ेको
उनकै रगतले कोरेको
मेरो देशको मानचित्र
खोजिरहेछु।
मैले बाल्यकालमा
इतिहासमा पढ़ेको
मेरो देशको मानचित्र
म मनको कलमले
त्यही बादलमा कोरिरहेछु।
लेखक परिचय
बौद्ध, काठमाडौँमा जन्मिएकी ममता पंत मिश्र, सानै उमेर देखि साहित्यप्रति लगाव रहेको बताउँछिन । नौं वर्ष मै आफ्नो पहिलो रचना (कविता) गोरखापत्रमा छपाइसकेकी मिश्रको लेख, रचना मधुपर्क, रचना, र अभिव्यक्ति आदि जस्ता पत्रपत्रिकामा प्रशस्त छापिसकेका छन् । हाल, अष्ट्रेलियामा बसोबास गर्दै आइरहेकी मिश्र प्रवासमा पनि उत्तिकै सृजनशील छिन ।