१
उस्ता- उस्तै लाग्छ
ढुङ्गाको धर्म के हो ?
ढुङ्गा किन बोल्दैन ?
त्यो थाहा छैन मलाई
ढुङ्गाले नबोले पनि,
ढुङ्गाको आफ्नो धर्म नभए पनि
ढुङ्गाले आफ्नो काम जिम्मेवारी पूर्वक गरिरहेको छ
त्यो थाहा छ मलाई
माटोको धर्म के हो ?
माटो किन बोल्दैन ?
त्यो थाहा छैन मलाई
माटोले नबोले पनि,
माटोको आफ्नो धर्म नभए पनि
माटोले आफ्नो काम जिम्मेवारी पूर्वक गरिरहेको छ
त्यो थाहा छ मलाई
हावाको धर्म के हो ?
हावा किन बोल्दैन ?
त्यो थाहा छैन मलाई
हावाले नबोले पनि,
हावाको आफ्नो धर्म नभए पनि
हावाले आफ्नो काम जिम्मेवारी पूर्वक गरिरहेको छ
त्यो थाहा छ मलाई
पानीको धर्म के हो?
पानी किन बोल्दैन ?
त्यो थाहा छैन मलाई
पानीले नबोले पनि
पानीको आफ्नो धर्म नभए पनि
पानीले आफ्नो काम जिम्मेवारी पूर्वक गरिरहेको छ
त्यो थाहा छ मलाई
यस्तै यस्तै प्रश्न सोच्दै जाँदा
ढुङ्गा, माटो, हावा र म उस्ता उस्तै लाग्छ ।
न मलाई मेरो धर्म थाहा छ
न म बोल्छु
तर पनि म मेरो काम जिम्मेवारी पूर्वक गरिरहेको छु
त्यसैले
ढुङ्गा, माटो, हावा र म उस्ता उस्तै लाग्छ ।
२
चितामाथि
यो चितामाथि लडिरहेको
लास खासमा को हो ?
तपाईँको
उसको
कि मेरो ?
यो चितामाथि लडिरहेको
लासको छातीभित्र
कसको तस्बिर छ ?
तपाईँको
उसको
कि मेरो ?
यो चितामाथि लडिरहेको
लासले अन्तिम चोटि
कसलाई चुम्बन गर्यो ?
तपाईँलाई
उसलाई
कि मलाई ?
यो चितामाथि लडिरहेको
लासले अन्तिम चोटि
कसको नाम लियो ?
तपाईँको
उसको
कि मेरो ?
यी सब प्रश्नहरूको उत्तर
झुटो हुने भएछ
किनकि चितामाथि लास होइनरहेछ
मनमा पिडाहरूको पहाड ,
अाँखामा समुद्र र मुखमा मौनता बोकेर
एउटा ज्युँदो लास मस्त सुतिरहेको रहेछ
त्यो ज्युदो लास
जतिखेर पनि उठ्न सक्छ
साच्चै त्यो ज्युँदो लास कसको हो ?
तपाईँको
उसको
कि मेरो ?
लेखक परिचय
धरानका कवि तिर्थराज विश्वकर्मा
रंगकर्मी पनि हुन् ।