१
किताब
आमाभन्दा विराट र
विश्वासीलो विज्ञान के होला र !
प्रेमी प्रेमिकाका नसालु आखाँहरूभन्दा
रोमान्टिक छ र
कुनै अर्को प्रेम कविता ?
इमानभन्दा
बलियो अर्को भूगोल होला कि नहोला धर्तीमा ?
मान्छेका दु:ख र सङ्घर्षभन्दा
लामो महाख्यान
लाग्छ लेख्नै बाँकी छ विश्व साहित्यमा
नेताका आँखा र ओँठमा एकै पटक
बिजुली वेगमा दौडने शकुनी राजनीतिजस्तो
छ र कुनै अर्को कन्सिपिरेसी थेअरी ?
रङ्गमञ्चजस्तो जिन्दगीको
यो पटाँगिनीमा बसेर
म अचेल किताब कम
र मान्छे बढ्ता पढ्छु
के मान्छेभन्दा रहस्यमयी
अर्को केही छ र यो दुनियाँमा ?
२
बोझ
विवेक
मट्टिएर माटो भएपछि
संवेदना
ढुङ्गा भएर जमेपछि
शासकहरूलाई
आफ्नै वरपरका ढुङ्गाहरूले समेत
आफैलाई गिज्याइरहेजस्तो लाग्छ
त्यसपछि
सिध्याउने खतरनाक भूत
सवार हुन्छ दिमागमा।
पहिले पहिलेका शासकहरूले
विकासको सप्तरङ्गी सपना देखाएर
घना जङ्गल बेचे
आकाशका तारा झार्ने आश्वासनको बेलुन उडाएर
अथाह जलराशीयुक्त नदीनालाहरू बेचे
स्वाभिमान र वीरताको गाथा भट्ट्याएर
कर्मठ जवानहरू बेचे
यद्यापि बेचिरहेछन् रेमिट्यान्सको लालसाले
यतिले पनि नआएपछि बतासे समृद्धि
आजका शासकहरू
ढुङ्गा माटो बेच्दैछन्
भावि पुस्ताको स्वाधीन सोचको बाटो बेच्दैछन्।
पहाडका ढुङ्गाहरू
केवल ढुङ्गा मात्र होइनन्
पहाडका बलिया जग हुन्
माटोका निर्विकल्प भर हुन्।
नदीका ढुङ्गा र बालुवा
केवल ढुङ्गा बालुवा मात्र होइनन्
नदीका अभेद्य अवयव हुन्
हरिया फाँट र होचा वस्तीका विश्वासिला रक्षाकवच् हुन्।
चौविसै घण्टा दिमागमा
नाफा घाटाको क्यालकुलेटर थिचिरहेका
ए शासकहरू !
मिल्ने भए तिमीहरूलाई नै बेच्न हुन्थ्यो
कौडीकै भाउमा सही
यो देशलाई अव
तिमीहरूको बोझ थेग्नै न सक्ने गरी
गह्रौँ भइसक्यो।
३
प्रवासी
दिनमा
श्रमको तातो पसिना बगाएर
बोझिलो चिसो परदेश बाँच्छ
रातमा
सम्झनाको रेशमी झझल्कोमा
न्यानो स्वदेश साँच्छ।
यता
वर्षौ सशरीर रहँदा पनि
नत परदेशले आफ्नो सम्झन्छ
उता
वर्षौँ न फर्किदा पनि
स्वदेशले भने आफ्नै सम्झेर पर्खिरहन्छ।
एक वारको जिन्दगीमा
दुई खुट्टा
दुई वटा नाउमा राखेर
सधैँसधैँ अधकल्चो जिन्दगी बाँच्छ
कठै प्रवासी!
तस्वीरकै लागि मात्र
फिस्स औपचारिकता हाँस्छ ।
लेखक परिचय
हाल टेक्सस् अमेरिकामा रहेका प्रवासी सुमन(भानु क्षेत्री)ले त्रि. वि. काठमाडौँबाट एम. ए. गरेका छन् । सुमन, कविता, गजल, मुक्तक र हाइकु लेख्छन् ।