गोदावरीको बाटो, हातमा केमिस्ट्री बुक, वन साईडमा
ब्ल्याक ब्याग…लामो कर्लि कपाल अनि गुलाबी ओंठ,
मृगनयनी चम्किला आँखा, ह्वाईट र ग्रिन कलरको कुर्ता,
अनि मिडियम-साईज्ड हिल। छेउछाउका पारिजात र
लालुपाते भन्दा मीठो उनको बास्ना,एक हुल बास्नाहरू मेरो
नाक हुँदै स्नायुसम्म पुग्छन, रूमलिन्छन भित्र कतै अनि
उब्जाईदिन्छन् स्वर्णिम प्रेम। के मेरा एक हुल प्रेमहरू उनको मुटुसम्म पुग्न सक्लान् ?? मनभरि यस्तै प्रश्नहरू खेलाउँदा
खेलाउँदै छुटिने ठाउँ आएछ,
“के सोच्न थाल्नुभयो ?” म झस्किन्छु।
‘हाइ’देखि नबोलेका हामी एकैपटक ‘बाइ, सि यु’मा मात्र बोल्छौँ!!
मन बोलिरहेछ, दिमागले असंख्य कुराहरू गर्छ,
आँखाहरू आफ्नै भाषामा कुरा गर्छन्, तर मुखबाट आवाज आउँदैन ।
धेरै दिनदेखि टाइमिङ जो मिलिराछ, भेट हुने ठाउँमा जब
उनी आउँछिन्, “हाइ!” मेरो हात उठ्छ,
उनका हातहरू काँपिरहेछन, “हेल्लो!”
कतै लजाएजस्तो, कतै डराएजस्तो, कतै भित्रभित्रै खुशी भएजस्तो ‘हेल्लो’!
उनको मनभित्रको मनस्थितिसँग म कसरी परिचित हुन सकौ….?
कुन बाटोले भेट्छ, कुन समयमा पुगिन्छ ? न उनको स्कुटर
न मेरो बाईक, पैदल यात्राको आनन्द र अनुभुती…!
बेला बेला छड्के हेराईको मज्जा अनि उनले मुख छोपेर
हाँस्दाको परिदृष्य, एक झोक्का हावाले उनको
कपाल पछितिर उडाइदिन्छ,
अनि डाह मलाई हुन्छ । कति स्वतन्त्र छ यो हावा…
यो हावाको स्वतन्त्रता मेरो मनले चाहिरहेछ….!
बाटोका अल्लारे केटाहरूले ‘नाईस कपल’ भन्दाको खुसी
हामी हिँड्दैपिच्छे ठुलो आवाजमा भनिराख है, मेरो मनले
यसै भनिरहन्छ..!
“के तिमी देख्न नसकिने वस्तुलाई अनुभव गर्न सक्छौ ?”
म उनको मनसम्मको यात्रा गर्ने बाटो खोजिरहेछु ।।
“अवश्य” उनी मुस्कुराउँछिन्, पुनः मौनता सृजित हुन्छ…!
उकुसमुकुस भएको मेरो मनले फेरि तिनै कुरा दोहोर्याउछ,
म: “मैले अनुभव गर्न सक्ने वस्तुलाई तिमी पनि महसुस गर्न सक्छौ ?”
उनी : “हजुरको कुराहरू चाहिँ राम्रोसँग बुझ्नसक्छु”
म: “के म तिम्रो मन बुझ्नसक्छु ?”
उनि : “मौनताहरू उदाहरण हुन सक्छन्।”
म: “मौनताहरूले सधैँ पोजेटिभ रिजल्ट देलान् त ?”
उनी : “यो केसमा हजुर सफल बन्न सक्नुहुनेछ ।”
लजालु मुस्कान सहितका उनका कुराले म आफैंलाई अनौठो फिल गराउँछ ।
छुटिने ठाउँ आइसक्दा पनि धेरै बेर मौन गफहरू भइरहे…
अनवरत निरन्तर….यसरी हामी एक नवीन जिवनको यात्रा
तय गर्दैछौँ । जसको शब्दहरूले बयान गर्न नसकिएला,
अनि भोगाइ सबैको समान नहोला… ।।
लेखक परिचय
नेपाली सहित्य लेखनमा नव प्रतिभाको रूपमा उदाएका पौडेल विशेषगरी कविता र गजल विद्यामा कलम चलाउने गर्दछन् ।