पख मेरो प्रिय स्वतन्त्रता पख !
म आउँदैछु ।
म मान्छे हुँ सायद एक स्वतन्त्र,
वेलगाम ।
चलिरहेका छैनन् मेरा गोडाहरू यतिबेला । शरीर बसेको छ चुपचाप । तर म आउँदैछु ।
हो मेरो प्रिय स्वतन्त्रता नगरबसको अन्तिम सिटमा बसेर । म आउँदैछु ।
सहीदगेट
सुन्धारा
रत्नपार्क
समय, असमय, बेला, कुबेला, शुभ, अशुभ खै कुन परिस्थिति छ यो बेला ? म बिल्कुल अजानकार छु । मानौ म एक लाश हुँ।
अरे म मात्र किन यो वहानमा बसेका सब लाश हुन् । अनि यो नगरबस शववहान । एकसाथ हामी सब मुर्दा हौ र यो शववहान हो।
कुलेश्वर
बल्खु
कालिमाटी
टेकु
त्रिपुरेश्वर
एक अनौठो जाम । हो त्यही जाममा छुट्यो अलिकति जिन्दगी । गरिरहेँछु हिसाब आफ्नै छुटि गएको जीवनको ।
सायद पागल सम्झिरहेका होलान् मान्छेहरु मलाई ।
टि यु गेट !
सहचालकको आवाज
म उत्रन्छु गाडीबाट । अब चलायमान छन् गोडा र शरीर पनि ।
प्रिय बाटो
म यात्री
भयानक नतमस्तकतामा लम्पसार छ बाटो
अनि त्यसैको छातिमा मेरा निर्मम् पाइला
अगाडी हेर्छु अनन्त दुरी
पछाडी फर्कन्छु उस्तै
अरे यो कस्तो मझधार ?
नितान्त जवाफहीन
म विश्वविद्यालयको गेट भित्र छिर्छु ।
‘त्रिभुवन विश्वविद्यालय यहाँलाई हार्दिक स्वागत गर्दछ’
‘हजार माइलको लामो बाटो एक पाइलाबाट शुरु हुन्छ’
अरे कहाँ बाट थालिएको थियो यात्रा?
अनि म कहाँ आइपुगेको छु यतिबेला?
फेरी जवाफहीन म कक्षाकोठामा प्रवेश गर्छु
कक्षामा पढाइरहेका छन् गुरु
‘दर्शनशास्त्र आफैँमा एउटा भिन्न र अत्यान्त व्यापक विषय हो त्यसकारण यस विषय अध्ययनको लागि विद्यार्थी साधक
समान बन्नु जरुरी हुन्छ त्यसकारण जो साधनाबाट बिचलित हुँदैन ऊ मात्रै यो विषयमा सफल बन्न सक्छ ।’
मानौंँ मानसमा इश्वर वाणी गुञ्जिरहेका छन् ।
अनि म भक्त प्रह्लाद नतमस्तक छु गुरुजीका उपर ।
नमन मेरा अदरणीय गुरुजी !
सायद यहिँबाट सुरु भयो मेरो साधनाको यात्रा । अब म नयाँ पथको यात्री बनेंँ ।हो अब सुरु भयो यात्राको अर्कै नयाँ मार्ग ।
मानौंँ पलाउँदैछ जीवनमा वसन्तको नयाँ पालुवा । हो यतिखेर म सुन्दर वसन्त बनेको छु । एक मुलायम पालुवा ।एक
सभ्य मान्छे एक सच्चा दार्शनिक ।
‘असतो मा सत् गमय’
‘तमसोमा ज्योर्तिगमय’
थाहा छैन कहाँकहाँ सम्म फैलिए मन्त्रोच्चारणहरु
कसकसले सुने ती आवाजहरु
आहा क्या साधना !
अहंका रुखहरु
साधक हुनुको भ्रममा
यो भ्रमको बादल हो भन्नेकुरा आजभन्दा धेरै अघि थाहा भएको भएपनि सायद म पछि नै हुँन्थे तर अब त धेरै ढिला
भैसक्यो झन् म अझ कति पछि छु ?
सायद नयाँ यात्राको थालनी अब शुन्यबाट हुनेछ ।
हो यतिबेला म शुन्य भएको छु
एक महाशुन्य ।
नवपथ
जसै जसै ढले आस्था छुटे साथहरु । त्यसै त्यसै अब बिस्तारै बन्नु छ मान्छे । त्यसैले आउ मेरी प्रेयशी यो वन फडानी गरौँ जो
यति घना भएकाछन् अहंका रुखहरु । किनकी यात्रा त अब पनि गर्नै छ आखिर । कहिँकतै गुञ्जिन्छ एउटा आवाज
‘हुँ यात्री एउटा रुमल्ली हिँड्ने’
सायद रुमल्लिन बाँकि छ अझै । गाउन बाँकि छ अझै यस्ता सयौँ सयौँ गीत
नत्र कसरी बन्छन नयाँ बाटो । ओ लाखौँ मान्छेहरु मेरो नयाँ बाटोमा। मन्दिरमा हुनेहरु पूजा छोडि आओ, मस्जिद, चर्च, गुम्बा
सबै छोडेर आओ । अर्थात साराका सारा ढोङ छोडेर आओ । किनकी जीवनको नयाँ मार्गमा ती सबै मरिसके ।
सत्यहरु हुन् । जो आइरहेछन् एक एक गर्दै मेरा मानस अनुभुतिहरुमा । मेरा जीवन भोगाईका मार्गहरुमा जसै जसै बने म
एउटा अनन्त बाटोको नित्ययात्री ।
लेखक परिचय
मुख्य रूपमा ढुंगानाका सिर्जनामा आध्यात्मिक चेत र शुन्यवादको प्रभाव दखिन्छ । उनी विशेष गरी कविता र निबन्ध बिधामा कलम चलाउने गर्दछन् ।