इलाम जिल्लाको दक्षिणी भेग चुलाचुली कवि सुन्दर कुरूपकाे स्थाई ठेगाना । चुलाचुली पूर्वकाे सहर दमकभन्दा ८/९ किलाेमिटर नजिकै पर्छ । सहर नजिकै भए पनि आफैँमा याैटा अर्गानिक गाउँ । न पहाड न मधेश । यसो भनौँ कछाड । कविले पहाडलाई राम्ररी भोगेका छन् अर्थात् पहाडको पानी खान्छन् । मधेसलाई राम्ररी चिनेका छन् अर्थात् समथर जमिनमा खेतीकिसानी गर्छन् । खेतीकिसानीमा रमाउनु उनको पुख्यौँली लत होे । शिक्षण गर्नु, कविता लेख्नु उनको व्यक्तिगत लत । कविको बसोबास स्थल नजिकै छ सहर । सहरमै ठुलो महल बनाएर त्यहीँ बस्न सक्ने क्षमताका पनि हुन् तर अहँ गाउँलाई छोड्न सक्दैनन् र गाउँमै बस्छन् । गाउँमै रमाउँछन् । यिनै गाउँले कवि सुन्दर कुरूपको नेपाली काव्य बजारमा भेटिने गाउँकै प्रतिनिधित्व गर्न सक्ने कविता सङ्ग्रह हाे ‘पृथ्वीको आविष्कार’ ।
‘पृथ्वीको आविष्कार’ कविता सङ्ग्रहभित्र ३७ ओटा कविताहरू रहेका छन् । ‘आफ्नै मनसँग एक छिन्’ देखि ‘बाहुन बाजेको सम्झना’ सम्म । आकारका दृष्टिले सानो र चिटिक्क परेको यस सङ्ग्रहको शीर्षक/नामले नै यो एक वैचारिक कविता सङ्ग्रह हो भन्ने झल्को पाइन्छ । जसले देशको/विदेशको समसामयिक परिवेश, राजनैतिक अवस्था, सिमान्तकृत तथा पिछडिएको समुदायको आवाज, मुन्धुमी सुगन्ध, बैँशालु प्रेम आदि विविध विषयलाई उच्च ढङ्गबाट सम्बोधन गरेको छ । सङ्ग्रहलाई फरक फरक कोणबाट अध्ययन गर्ने पाठकहरूले यी विषयवस्तुहरूलाई मज्जाले उठाउन सक्छन् । कविले रोजेको/चित्रण गरेको अर्को कविताकाे सुगन्धित पाटो हो ग्रामीण परिवेश । सङ्ग्रह प्राय गाउँ नअटाएका कविताहरू छैनन् । गाउँ नै नअटाएका कवितामा पनि गाउँ सम्झन लायक बिम्ब र प्रतीकहरू कतै न कतै आएकै छन् ।
गाउँको आफ्नै परिचय हुन्छ । सहरसँग नमिल्दा आफ्नै केही कुराहरू हुन्छन्/छन्, जो सुन्दरका कविता भित्र पाइन्छ । जस्तो कि लेकबेँसी, पँधेरी, चौतारी, आगन, फराकिलो जमिन, परिचित मान्छे, बाँढेर खाने संस्कार, मेलापर्म आदि । जो सहरमा हुँदैनन् । कवि सुन्दरले आफ्नै नाम जस्तै गाउँका कविता लेख्छन् । गाउँका कविता लेख्छन् भन्नु नै उनको गाउँप्रतिको मोह हो । प्रेम हो । जीवन हो ।
कहिलेकाँही गाउँ छोडेर अर्को गाउँ/सहर पुगे पनि घाँस/भारी देख्ने बित्तिकै आफ्नै गाउँ र आमाको सम्झना गर्छन् कवि । जो पाठकले पनि सम्झन्छन् । उनी कवितामा लेख्छन्:
परपर कतै गाउँमा
जब देख्छु घाँसको भारी बोकेर
घर फर्किरहेको बृद्ध साँझ
खुब सम्झना आउँछ आमाहरूको । (पृ.१४)
कवि आफ्नै बाबु (बाउ) लाई सम्झंँदा खेतका आली, टाँकीका रुख, डोको नाम्लो, हलो जस्ता ग्रामीण बिम्बहरूलाई कवितामा उल्लेख गर्दछन् । यो बाबुप्रतिको माया मात्र होइन गाउँप्रतिको माया पनि हो । यिनै लोप बन्दै गरेका हाम्रा बाँच्ने आधारहरूलाई बाबु जत्तिकै सम्मान गर्दछन् । उनी बाबुसँग चेतना भेट्छन् । कला खोज्छन् । जीवनको संगीत सिक्छन् । बाउ नै आफैमा एक गाउँ हुन्। गाउँका बिम्ब हुन् र त कवितामा यसरी पोखिन्छन्
लहरै खेतका आलीमा
तिमीले रोपेर छाडेका टाँकीका रुखहरू
बतास नाँच्ने तिम्रा सुसेली
तिमीले बुन्दै गरेका डोको नाम्लो हलो जोत्दै तिमीले कल्पना गरेको एउटा देश
साँच्चै बाउ,
तिमी त
एउटा चेतना
एउटा कला
एउटा विचार
एउटा गहिरो जीवनको सङ्गीत रहेछौ । (पृ.१८)
कवि प्रकृतिको सुन्दर क्रिडास्थल गाउँलाई मान्छन् । चराचुरुङ्गीहरूसँग, किराफट्याङ्ग्रासँग खेल्न मन पराउँछन् । कल्पनामा डुब्छन् । प्रकृतिसँग हराउनु र रमाउनुको आनन्द उनी गाउँमै भेट्छन् । प्रकृतिलाई मानविकृत गरी सन्देश प्रवाह गर्न खोज्नु कविको एउटा पक्ष हो भने अर्को पक्ष गाउँको प्रेम नै हो । त्यसैले कवि आफूले गाउँलाई नछोडिकन परदेशी चराहरूलाई मिठाइ किन्न सहर पठाउँछन् :
पुतलीसँग मौका कुरी खेल्थेँ
फट्याङ्ग्रा समातेर हलोजोती खेल्थेँ
बासबस्न आउने परदेशी चराका पखेटामा उनेर रहर
मिठाइ किन्न सहर पठाउँथेँ । (पृ.२२)
गाउँ सुन्दर मात्र छैन । गाउँका आफ्नै केही विवशताहरू छन् । बाध्यताहरू छन् । विकृतिहरू छन् । गाउँ प्रकृति मात्र नभएर मानव सभ्यता पनि हो । मानिसका असल र खराब पक्षहरू पनि छन् । कवि सुन्दर कुरूप गाउँभित्रको सुन्दर पक्ष र कुरूप पक्ष दुवैलाई आफ्ना कवितामा स्थान दिन्छन् । अनि कुरूप पक्षहरूलाई केलाएर उज्यालोको परिकल्पना गर्दछन् :
खरानी चोक जहाँ
जुवामा खरानी भएका
तन्नेरीहरू /देश प्रेमीहरू भेला हुन्छन्
दिनभर बाघ चाल खेल्छन्
सपना देख्छन् स्मार्ट गाउँको
र अन्त्यमा
व्यर्थै एकदिन बुढी भएको पश्चातापमा
मनमनै नमिठो गरी बिउँझने गर्दछन् । (पृ.३८)
कवि प्रेमिका/सोल्टिनीको पूर्व सम्झनामा डुब्छन् । भेट गर्दछन् । पूर्ववत् भलाकुसारी गर्दछन् । यात्रा सम्झन्छन् । जतिबेला त्यही गाउँका भीरपाखा, पेरुङ्गे बाटो, त्रिसाली मेला, पालामको भाका, तीन दोभाने जङ्गलको घाँसको भारी आदि थुप्रै कुराहरू सम्झन्छन् र पाठकलाई पनि आफ्नो प्रेम सम्झाउँदै गाउँमै पुर्याउँछन् । कहिले मिलन कहिले विछोडका कुरा गर्दछन् । विछोड भइसकेकी आफ्नी प्रेमीकासँग अझै आशा राखेर पृथ्वीको आविष्कार गर्ने कुरा गर्दछन् । पृथ्वीको आविष्कार पनि गाउँमै सम्भव देख्छन् ।
गाउँ भन्ने वित्तिकै भञ्ज्याङ, देउराली, चौतारी हाम्रो मानसपटलमा आउँछन् । हुन त गाउँ नदेख्नेहरू/नभोग्नेहरू पनि छन् । उनीहरूलाई लोभ लाग्न सक्ला । आश्चार्य लाग्न सक्ला, यी सबै कुरा गाउँमा हुन्छन् भन्ने सुनेर । कविले कवितामा देउराली, चौतारी लेख्न भुलेका छैनन् । हरेक कविता पूरै राख्न मन लाग्छ, तर समीक्षात्मक बाध्यताले अंशमात्र राख्न सकिन्छ । पङ्तिकारलाई पुरै अशं राख्न नपाउँदा पछुतो लागेको छ । त्यति प्रिय कविताहरू छन् सुन्दरका । केही पङ्क्ति हेरौँ:
कहाँ छौ साथी ?
भेटौ न कतै न कतै,
त्यो बाँस झ्याङ छेउको चौतारी
त्यो देउराली
या साँझहरू ओहोर दोहोर गरिरहने बाटाहरूमा । (पृ.९५)
सहरमा बस्नेहरूलाई गोठालो जानुको आनन्द के थाहा ? पिरती गाँसेपछि मात्र विभिन्न पार्क, चोभार, गोदावरी डुल्नेहरूलाई आफैँ पिरती गाँसिदिने पाखाहरूको कथा के थाहा ? कथित जातभन्दा माथि हुन्छ प्रेम, त्यहीँ छ जीवनको सुन्दर चित्र । जो गाउँमा छ भन्ने कुरा देखाउन आफू लिम्बु (प्रेमी) र बाहुनी (प्रेमिका) को प्रेम प्रसङ्गलाई गोठाले जीवनको चित्रण कवितामा गर्दछन् र गाउँलाई लेख्छन्:
म पनि तिमीलाई
काली, बाहुनी, नाकचुच्ची
यस्तै यस्तै भनेर जिस्क्याइ रहन्थेँ
कम्ती रमाइलो थिएन
हाम्रो त्यो गोठालो जाँदाको उन्मुक्त समयहरू (पृ.९७)
कवितामा ग्रामीण परिवेशका बिम्ब र प्रतीकहरूलाई कुशल ढङ्गबाट बुन्न सक्नु कवि सुन्दर कुरूपको एउटा महत्त्वपूर्ण विशेषता हो । गाउँमै जन्मिएका, गाउँमै हुर्किएका र एउटा गाउँले जीवन बाँच्दै गरेका यी कविले सहरलाई पनि नजिकैबाट चिनेका छन् । बुझेका छन् । त्यसैले त सहरमा बस्नेहरूलाई गाउँको लोभ देखाइरहन्छन् । गाउँमा बोलाइ रहन्छन् । जिस्क्याइ रहन्छन् । लेकबेँसी, खोल्सी, देउराली, पँधेरी, उकाली, ओराली, खेतबारी, पाखा, खोला, पहाडी परिवेश, डोकानाम्ला, जाँतो, ढिकी, थुन्चे, मानापाथी, पाली, आली, डबका, आँगन, दाम्लो, गोठ, संस्कार, वेशभूषा आदि चिनाइरहन्छन् । उनी साच्चिैकै गाउँले कवि हुन् । आँफैले पनि सङ्ग्रहभित्रको ‘आफ्ना कुरा’मा स्वीकारेका छन् – ‘गाउँमा जन्मिए, हुर्किँए । मेरा लागि लेखेर कहिल्यै नसकिने कविताको अर्को नाम हो गाउँ । किनकि गाउँमै बस्छिन् मेरी आमा । गाउँमै छन् उनले राेपेका आरुका बोटहरू । मेरा बालापनका स्मृतिहरू, मेरा सुख, दुःखहरू, मेरा दौतरी साथीहरू सबैसबै गाउँमै छन् । गाउँ माथि माथि पहाड, जङ्गलहरूलाई स्पर्श गर्दै उड्ने बादलका टुक्राहरू लाग्छ मैले नै लेख्ने बाँकी कविताका जलवाष्पहरू हुन्’ । सँधै गाउँ लेखिरहून् । पाठकले कवि सुन्दर कुरूपबाट गाउँ नै पढ्न पर्खिरहेका छन् ।
लेखक परिचय
विशेष गरी गजल र कविता लेखन तथा प्रस्तुतीकरणमा सशक्त भट्टराई समालोचनामा पनि उत्तिकै दख्खल राख्छन् । नेपाली भाषाको अध्ययन अध्ययापनमा पनि उनी सक्रिय रहेका छन् ।