पूर्वी एसियाको दाहिने छातीमा ढुकढुकी बनेर धड्किरहेको मेरो देश अमरावतीजस्तै सुन्दर छ । विविधताको इन्द्रेणी रङ्ले सजिएको सानो भए पनि आफैँमा पूर्ण, मानौँ– ब्रह्माजीले फुर्सदका समयमा कल्पना गरेर सृष्टि गरेजस्तै । प्रभातमा सगरमाथाको कोमल वक्षमा रविको स्पर्श, स्पर्शको चरमोत्कर्षले मैनजस्तै पग्लिरहेका हिमालका मुटुहरू र कञ्चन जल बनेर ओरालो झर्दै गरेका हिमनदीहरू । यी दृश्यहरू हेरेर कहिल्यै अघाउँदैन न्नेपाली मनहरू । यिनै दृश्य, पर्यावरण र प्रकृति हेर्न मनमा कति ठुलो उत्साह बोकेर आउँछन्विदेशी पर्यटकहरू । सत्ययुगमा प्रकृतिका यस्तै मनोरम दृश्यहरू हेर्ने लालचले हिमशिलामा बसेर तपस्या गर्थे होला ऋषिमुनिहरू । हिमालयको छेउमा खुसीले उफ्रँदै बुर्कुसी मार्दै रमाइरहेका हिमजन्तुहरूको प्राकृतिक जिन्दगी देखेर साँच्चै लोभिन्छ मन । हिमाल र हिमनदीले कहाँ प्राकृतिक सुन्दरता मात्र बोकेका छन्र यसभित्र त समृद्धिको पञ्च रङ्गी ऐश्वर्य छचल्किएको छ । वसन्त ऋतुको आगमनसँगै नवपालुवा फेरेर मुस्कुराइरहेका हरिया वृक्षहरू, वासन्ती पवनको प्रभावले उत्तेजित भएर फक्रिरहेका लालीगुराँस, इन्द्रकमल र हजारौँ हजार पुष्पहरूले रङ्गीबिरङ्गी देख्दा रानीवनमा मिठामिठा कविता लेख्न हतारिन्छन् कविमन । मुग्ध भएर प्रकृतिको सुन्दरतामा एकैछिन हावाको वेग पनि रोकिन्छ । माथि जुरे पर्वततिर फुलेको देखेर चाँपका फूलहरू तल तराईबाट भुन्भुनाउँदै जान्छन् सयौँ हुल मौरीहरू । पुष्पको सुहागले उत्तेजित बनेका भ्रमरहरू होस गुमाएर झुम्मिन्छन् पुष्परस पान गर्नलाई । मौरीहरू पर्वततिर खोजिगरिरहेका हुन्छन् सञ्जीवनी फूल र ल्याइरहेका हुन्छन् लाखौँ करोडौँ वनौषधहरू । आयुर्वेदमा सबैभन्दा ठुलो औषधि मानिने मह बनाउनमा तल्लीन देखिन्छन् उनीहरू । नेपालका वनमा कहाँ सुन्दरता र हराभरा मात्र छ र ? यहाँ त मृतसञ्जीवनी बुटीहरू र तरुलताहरू छन्, अमृतजस्ता वनौषधहरू छन्। यसैमा अडिएर त ‘समृद्ध नेपाल, सुखी नेपाली’ को योजना तय गर्छन्नेपालीहरू । हामी राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताप्रति दृढ भएर एकसाथ देख्छौँ नेपालको समृद्धिको अभिनव सपना । गुणस्तरीय शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति, यातायात, आर्थिक उन्नति, सामाजिक, सांस्कृतिक विकास, अपराधनियन्त्रण, रोजगारी, उच्चस्तरीय जीवनयापन तथा ग्रामीण क्षेत्रको विकास, सेवासुविधा नै समृद्धिका आधारहरू हुन्। समृद्ध नेपाल निर्माणको सपना साकार पार्नका लागि देशका युवाहरूको उत्साहपूर्वक सक्रियता, अन्तःप्रेरणा, दृढता र सक्रियता अपरिहार्य छ नेपालमा । १६ वर्षदेखि ४० वर्ष उमेर समूहका मानिस युवा हुन्। युवावस्था नै मानवजीवनको सबैभन्दा महŒवपूर्ण र सक्रियताको स्वर्णिम अवधि हो । युवामनले चाहने हो भने असम्भव भन्ने कुरा केही छैन । असफलता र असम्भव भन्ने शब्द त मुर्खहरूको शब्दकोशमा मात्रै हुन्छ । यहाँ स्वामी विवेकानन्दको कुनै पनि देशको समृद्धि देशको युवाशक्तिले निर्धारण गर्छ भन्ने भनाई स्मरणीय छ । युवाहरू देशको मुहार चम्काउने शक्ति हुन् । जुन देशमा युवाको सङ्ख्या धेरै छ, युवा ऊर्जाको समुचित सदुपयोग भएको छ त्यस देशको विकास र समृद्धि निश्चित छ । विश्वका अधिकांश विकसित राष्ट्रहरूको विकास र समृद्धिको जड युवाहरू नै हुन्। वास्तवमा युवावस्था उमेर मात्र होइन, उत्साह, जाँगर र हौसला पनि हो। युवाहरूको आँखाले देखेको सपना कतिसम्म सम्भव हुन्छ भन्ने कुरा हामी नेपालमै जन्मिएका बुद्धको जीवनलाई हेरेर बुझ्न सक्छौँ । २९ वर्षका युवक बुद्ध आफ्नो दृढता र एकाग्रतापूर्वक प्राप्त गरेको ज्ञानामृतले नेपालमा मात्र नभएर विश्वको आकाशमा नै तारा बनेर चम्किए । उनको युवाजोस युवासपना र युवाविवेकले नै नेपाल शान्तिको देश भनेर विश्वको इतिहासमा सुपरिचित छ अनि बुद्ध ‘द लाइट अफ एसिया’ भनेर । मनमा आँट ऊर्जा र शक्ति बोकेका द्द युवाहरू राष्ट्र विकासका पहरेदार हुन् । युवाले मरुभूमिलाई हराभरा बनाउन सक्छन्। टाकुरा फाँट बनाएर बाँझो जमिनलाई शस्य शालिनी बनाउँछन् । युवा शरीरको नसामा रगत मात्र होइन, रगतका थोपाथोपामा साहस र उत्साहको सम्मिश्रण हुन्छ । उनीहरूले लिने पलपलको अक्सिजनमा सर्वोच्च साहस हुन्छ । यस्ता होनहार युवाहरूले नै राष्ट्रनिर्माण र राष्ट्रको समृद्धिका लागि उल्लेख्य प्रगति गर्न सक्छन् । हरेक मानिसले जे गर्न सक्छ त्योयुवावस्थामा नै गर्न सक्छ । राइट ब्रदरले बनाएको जहाज आकाशमा उड्नु पछाडिको कारण उनीहरूको युवा जाँगर र युवा साहस है हो । माइकल फराडे हुन् या ग्यालिलियो ग्यालिले, अल्वा एडिसन हुन् वा अल्बर्ट आइन्स्टाइन, न्युटन हुन् चाहे निकोला टेस्ला आजसम्म जति वैज्ञानिकहरूले खोज, अनुसन्धान, निर्माण र आविष्कार गरेका छन्ती सबै युवावस्थामा गरेका छन् । त्यसैले त युवावस्थालाई प्लास्टिक रबरका रूपमा मानिन्छ, जसलाई जति तन्कायो त्यति नै तन्किन्छ । यस्तै युवावस्थामा पनि जति जाँगर र साहस भयो त्यति नै बढी काम र सम्पन्न गर्न सकिन्छ । नेपालका सन्दर्भमा हेर्ने हो भने पनि युवाशक्ति र राष्ट्रिय समृद्धि एकअर्कामा परिपूरक छन् । कुल जनसङ्ख्याको ४० प्रतिशत हिस्सा ओगटेका युवाहरू वर्तमान समयमा सामाजिक, आर्थिक, शैक्षिक र खासगरी राजनीतिक क्षेत्रमा बढी क्रियाशील छन् । उनीहरूका आँखामा देशविकासको प्रमुख ध्येय छ जसलाई सङ्घीयताले ठुलो टेवा पु¥याएको छ । आफ्नो गाउँको विकास आफैँ गर्न पाएका छन्स्थानीय जनप्रतिनिधि बनेर । ग्रामीण क्षेत्रको विकास र स्थानीय स्रोत साधनको भरपूर प्रयोग गरी आर्थिक उपार्जन गर्नका लागि स्थानीय तहले घरेलु तथा साना उद्योग व्यवसायलाई प्रोत्साहन, घरेलु उद्योग सञ्चालनका लागि सहुलियत ऋण कर्जाको व्यवस्था, स्वरोजगारमूलक कार्यक्रमहरूको सञ्चालन, आधुनिक कृषिप्रविधिको प्रयोगजस्ता कार्यक्रमहरूलाई अगाडि बढाएको छ । यसका लागि ग्रामीण क्षेत्रमा युवाहरूलाई परिचालन र सदुपयोग गरेको छ । यसमा सरिक भएर राष्ट्रिय आयलाई उकास्नु युवाहरूको दायित्व हो। नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । युवाहरू प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै नेपालको अर्थतन्त्रकोविकासका लागि प्रमुख सर्त हुन् । पर्यटकहरू नेपालका वनजङ्गल, हरियाली र हिमशृङ्खलालाई अथाह प्रेम गर्छन् । शुभ्र हिउँसँग खेल्दै, रमाउँदै हिमालका चुचुरामा पुगेर गर्व गर्न हतारिन्छन् । यस्तो अवस्थामा नेपाली युवाहरूले व्यवस्थित, समयसापेक्ष र पर्यटकको रुचिलाई बुझेर होमस्टे सञ्चालन गर्नु र राष्ट्रिय समृद्धिको यात्रामा साझेदारी गर्नु प्रमुख कर्तव्य हो । एकपटक ढिँडो, खोले र गुन्द्रुकको स्वाद लिएर गए भने पटकपटक त्यही अभिलाषाले आइरहन्छन् पर्यटकहरू नेपालमा । नेपालको मौलिकतामा जिन्दगी बिताउन तत्पर हुन्छन्उनीहरू । वसन्तमा प्रकृति नवदुलही जस्तै हराभरा बनेर सजिएका बेला, सुनाखरीको बोटमा सुनगाभाहरू फक्रिएका बेला, घुम्टोभित्र प्रकृतिको सुदीप्त मुहार लुकेका बेला कुन प्रकृतिप्रेमीलाई मन लाग्दैन र मन्द पवन बनेर प्रकृतिका सुललित सुकोमल अधरमा स्पर्श गरेर स्वर्गीय सुख अनुभूत गर्न ? मयुर बनेर कसलाई नाँच्न मन हुँदैन र पुष्पोद्यानमा ? मृग बनेर उफ्रिँदै नाँच्दै वनवन घुम्न कसलाई मन लाग्दैन र ? त्यसैले त नेपालको पर्यावरणमा प्रकृतिमा र मौलिकतामा अर्थतन्त्र सुदृढीकरणको बलियो सम्भावना छ । विश्वमा कतै पैसाको बोट छ भने त्यो नेपालको प्रकृतिमा छ नकि अरबको मरुभूमिमा । पहाडका खोचबाट उफ्रँदै छङछङ गर्दै, सङ्गीत भर्दै, लयात्मक ताण्डव नाच्दै बगिरहेका मन्दाकिनीका उपज खोलानालाहरू, झरनाहरू यिनीहरूमा कहाँ स्वच्छता मात्र छ र यहाँ त जलविद्युत् उत्पादनको अमाप्य सम्भावना छ । यिनीहरूलाई सदुपयोग गरेर, युवावर्गको श्रमशक्तिको प्रयोग गरेर जलविद्युत्उत्पादन गर्ने हो भने नेपालले समृद्धिको सुदीर्घ फड्को मार्ने कुरामा दुईमत छैन । नेपाल अहिले प्रविधिसँग परिचित बन्दै गएको छ । आधुनिक विज्ञान तथा प्रविधिलाई आत्मसात्गरेर नेपाललाई समृद्धिका मार्गमा अगाडि बढाउनु युवाहरूको प्रमुख दायित्व हो। संसारमा हुने कुन कुरा छैन र नेपालमा अकबरे, अम्रिसो, अलैँची, अदुवा, चिया, उखु, आलु जस्ता नगदेबाली लगाएर विश्वबजारमा निर्यात गर्ने हो भने आज कुनै मदनलेआफ्नी प्राणप्यारी मुना र बुढी आमालाई घरमा एक्लै छोडेर रगत पसिना र जवानीसँग पैसा साट्न ल्हासा जानुपर्दैन । युवाहरू अरबको मरुभूमिमा पसिना घ बगाउँन जानाले बाँझो रहेको गैरीखेत अब युवाहरूले नै पौरख गरेर हराभरा बनाउने समय आएको छ । आफ्नो माटोमा पसिना बगाउने हो भने सुन फल्छ । त्यसैले त नेपालको समृद्धिका लागि पहाड बनेर दुःखका आँधीहरू सामना गर्नु, बाँध बनेर अभावका सुनामीहरू छेक्दै ढाल बनेर गरिबीका प्रहारहरू सहने दायित्व युवावर्गको छ । नेपालमा रहेका विभिन्न जडीबुटी तथा कच्चा पदार्थहरूको प्रयोग गरेर औषधि उत्पादन गर्नु, उद्योगहरू सञ्चालन गर्नु, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी निरक्षता उन्मूलन गर्नु, चेलीबेटी, तथा प्रौढशिक्षा सञ्चालन गर्नु विद्यालय, अस्पताल, आवास गृह, कलकारखाना निर्माण तथा सञ्चालन गर्नु, सडकसञ्जाल विस्तार गर्नु, वन संरक्षण ग्रामीण तथा सहरी विकास कार्यक्रमहरू सञ्चालन गर्नु युवाहरूको प्रमुख दायित्व हो। वर्तमान समयमा युवाहरूको क्षमता विकास, राष्ट्रिय हितका लागि उनीहरूको सही परिचालन, रोजगारी र हरेक पक्षमा युवाहरूलाई सक्रिय बनाउनका लागि सरकारले योजनावद्ध तबरले नीतिगत कार्यक्रमहरू थालनी गरेको छ । युवा सरोकारका विषयलाई व्यवस्थित रूपमा सम्बोधन गरी नेपालमा दिगो शान्ति तथा आर्थिक, सामाजिक रूपान्तरणका लागि विशेष आवश्यकता महसुस गरी २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको छ । युवाशक्ति राष्ट्रको अनमोल सम्पत्ति हो । युवा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका र समाज परिवर्तनका संवाहक हुन् । कुनै पनि युवा अरबमा श्रम बेच्न जानु नपरोस्, राष्ट्रको समृद्धिका लागि देशमै बसेर हातेमालो गर्न सकुन्भनेर युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित कार्यक्रम तथा योजनाहरू ल्याइरहेको छ । सरकारले युवानीति २०६६ लागु गरेको थियो । जसमा युवाहरूमा उद्यमशीलताको विकास, नैतिकता, चारित्रिक गुण तथा अनुशासनको विकास, शिक्षाआर्जन तथा वृत्तिको अवसर, हरेक हिसाबले युवा सशक्तीकरण, युवामा रहेका अन्तरनिहित क्षमताको प्रस्फुटन, सिप र कौशलको उत्पादनशील क्षेत्रमा प्रयोग, युवाहरूमा सकारात्मक र वैज्ञानिक सोचको विकास, प्रतिभावान युवालाई देशमै वृत्तिविकासको अवसरजस्ता नीतिहरू रहेका थिए । त्यसपछि सरकारले राष्ट्रिय युवानीति २०७२ लागु गरेको छ । यस नीतिमा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहभागिता तथा परिचालन, लागुपदार्थ दुव्र्यसन नियन्त्रण, मानवतस्करी तथा बेचबिखन नियन्त्रण, अपराध तथा हिंसाबाट युवालाई मुक्त गर्ने, विज्ञान तथा सूचना प्रविधिमा युवाहरूको पहुँच विकास गर्ने, शान्ति स्थापना र द्वन्द्व समाधानमा युवा सहभागिता, समानता, समावेशीकरण र समविकासजस्ता कुराहरू स्पष्ट रूपमा उल्लेख गरेको छ । राष्ट्रिय विकास र समृद्धिको रथ हाँक्ने सारथी युवाहरू हुन् । आज त्यो लगाम युवाहरूका हातमा छ । समृद्ध नेपाल निर्माणको महायज्ञमा चरु बनेर होमिनुपर्ने दायित्व युवावर्गको छ । जीवनको सबैभन्दा ऊर्जाशील समय र सम्भावना बोकेका युवाहरूले राजनीतिमा कुशल नेतृत्व गर्न सक्छन्। युवामा भएको जोस, जाँगर, सिप र उत्साहलाई देशकै स्रोतसाधन प्रयोगमा लगानी गरेर पनि सजिलै जीवनस्तर, आर्थिक समृद्धि र राष्ट्रिय आयमा वृद्धि गर्न सकिन्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियान पूरा गर्नका लागि नयाँ सोच र ऊर्जाले भरिएको दक्ष र प्रविधियुक्त मानवस्रोत प्रमुख सर्त हुन् । हरेक प्रकारको श्रमलाई सम्मान गर्ने, देशमै नयाँ अवसरको खोजी र सिर्जना गर्ने काम युवाको हो । देशविकासका लागि प्राणको बाजी लगाउनु युवाको दायित्व हो ।
लेखक परिचय
रेजिना आपगाईँ साहित्य लेखनमा नव प्रतिभाको रुपमा उदाएकी छिन् । उनले राष्ट्रब्यापी निबन्ध प्रतियोगितामा द्वित्तिय स्थान समेत हासिल गरेकी छिन् ।