३५ बर्षपछाडी ऊ मेरो आँखा अगाडि आउँदै थियो । परबाट आइरहेको उसको त्यो चाक्लो निधारको सानो काटेको खत म प्रष्ट देख्न सक्थेँ । उसका फुलेका केशहरूले बताउँदै थिए जिन्दगीको एउटा लामो यात्रा उसले पनि पार गरेछ। हल्का कुप्रो परे जस्तो देखिने उसको शरीरले बताउँदै थियो जिन्दगीका धेरै बोझहरू उसले पनि उठाएछ। आखाँको चस्माले बताउँदै थियो सायद संसार हेर्दाहेर्दै ऊ पनि थाकेछ । तर जति बदलाव भए पनि के साच्चिकै ऊ थियो त भनेर ठम्याउन मलाई कत्ति गाह्रो परेन । यो बुढेसकालमा यत्तिका बर्षहरू पछाडि देख्दा पनि मैले उसलाई उही नै पाएँँ । पछिल्लो पटक उसलाई मेरो बिहेको कार्ड दिँदा देखेकी थिएँँ । त्यो कार्ड दिदा उसलाई अन्तिम पटक हेरेकी थिएँँ । विशेष गरेर उसका आँखा । कार्ड समाउँदै मुस्काउँदै उसले भन्यो, “बधाई छ सुस्मिता”। मैले धन्यवाद भन्दै जोडेँ “आउ है” । स्विकार्यताको इसारा उसले आखाँले दियो ।
तर ऊ आएन । मैले नि किन आएनौ भनेर सोधिन । के छ भनेर सोधिन । त्यस दिन देखी मैले आँखा चिम्लिएँँ। यो पछिल्लो ३५ वर्षको यात्रामा ऊ कतै पनि थिएन । यी वर्षहरुमा उसको सम्झना आयो कि आएन सायद म सम्झन चाहन्न । तर उसको याद आउनुले नआउनुले मेरो नयाँ जिवनमा केही फरक परेन । कमसेकम मैले पर्न दिइन । ३५ वर्ष अगाडि म मुस्कुराउँदै उनको घर भित्रिएँँ । मेरो वैवाहिक जिवनको सुरुवात मैले मुस्कानले गरेँ कुनै गुनासो बिना । नयाँ थपिएका सम्बन्ध नयाँ थपिएका प्रत्येक जिम्मेवारी निभाउँदा मेरो साथमा उनी थिए। हर अवरोधलाई पार गर्दा उनी थिए । म हाँस्दा उनी थिए म रुँदा उनी थिए । जिन्दगी एक हिसाबले कुनै गुनासो बिना बित्यो ।
तर आज । आजको दिन हिजो भन्दा फरक अस्ति भन्दा फरक यी ३५ वर्षका दिनहरू भन्दा फरक किन कि आज ऊ अगाडि थियो । परबाट आउदै गरेको ऊ अलि वर आइसकेछ। एक्कासी शरीर कामेजस्तो भयो । कतै दुखेजस्तो भयो कतै पोलेजस्तो भयो । मन अमिलो भयो आँखा धमिला भए। सर्लक्क आँखा चिम्लिन पुगेँ । परेली भिजाउँदै गाला हुँदै छाती सम्म आँसु पुगेको महसुस गरेँ । एकछिन चिम्लिएँँ फेरि खोलेँ फेरि चिम्लिएँँ फेरि खोलेँ । सायद कतै कुनामा लुकेको गुनासो छचल्किन खोज्दै थियो “यदि त्यस दिन, यदि त्यस दिन उसले त्यो कार्ड नसमातेको भए । कार्ड लिँदा ऊ नमुस्काएको भए । मलाई विदा नदिएको भए। मेरो बाटो छेकेको भए। ‘नजाउ न सुस्मी’ भनेको भए। यदि…”। आखिर प्रेम त मैले उनलाई भन्दा अगाडि उसैलाई त गरेकी थिएँँ । सायद असन्तुष्टिको सानो पाना फर्फराउँदै थियो कतै । मेरा आँखाले आउँदै गरेको उसको प्रतिबिम्ब हेरिरहेका थिए। एक्कासी बजेको फोन उठाउदा बुहारी भन्दै थिइन्, “आमा कता निस्कनु भयो र? चिया सेलाइसक्यो, आइहाल्नु ल”। फोन राखेर म फरक्क फर्किएँँ। आखिर प्रत्येक घाउ कहाँ निख्रने रैछन् र। आखिर प्रत्येक गुनासा पोखिने खालका कहाँ हुँदा रैछन् र!!!
लेखक परिचय
त्रि.वि. बाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी शर्मा लघुकथा र कविता लेखनमा सक्रिय छिन् । उनका लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् ।