अल्छीलाग्दो एक अपराहन । पसलमा बसेको छु सोथमा डेनिस एक चित्रकार छ । ऊ झन्डै बर्ष दिनदेखि काठमाडौमा रुमल्लिरहेछ। यहाँको साहित्यिक तथा सांस्कृतिक वातावरणमा अलमलिएर । गरीब छ यस कारण चित्रकारिता अपनाएको छ, अथवा भनौं चित्रकार भएकोले नै गरीब छ ।
यस्तैमा आउँछिन सुकन्या, यो उपन्यासकी लेखिकाकी बहिनी ।एउटा चिट्ठी छ र छ पाणडुलिपि ।
पढ्छु-
“पुतलीसडक
पौष २५,२०२२
शङ्करदाइ,
दु:ख दियो नभन्नुहोला । एउटा उपन्यास लेखेकी छु र यसको भूमिका किन-किन तपाईबाट नै बाँधिनुपर्छ भन्ने अठोट लागिसकेको छ मलाई ।छाप्ने प्रयत्नमा छु। कृपया निराश नर्फकाउनुहोला।
सधन्यबाद!
तपाईकी
पारिजात”
सम्पूर्ण चिट्ठीमा मलाई आकर्षित गरे दुई शब्दले ‘किन-किन’ र ‘अठोट’ले ।
पारिजातलाई म प्रेम गर्छु । कसो-कसो एउटी बहिनीभन्दा बढी नै शायद प्रेमिका जत्ति नै जोसँग
आत्मीय संसर्ग होओस, जोसँग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस् । र यौनलाई नअँगालेर यदि प्रेमको अर्गाजम (चरमसीमा)
को कल्पना सम्भव छ भने, मैले उसलाई गरेको परिभाषा त्यहि मात्र हुन सक्ला ।
अहँ, म मान्दिनँ ।
यति आधुनिक उपन्यासकी लेखिकाका लागि मैले स्वयं दिएको परिभाषा खिइसकेका उपमाहरूमा आधारित छ । म एकदमै नयाँ उपमा दिन्छु । भन्छु मास्सिन लागेको आफ्नो speciesको अन्तिम कडीप्रति अघिल्लो कडीको प्रेम हो मेरो । त्योसँग यत्ति आफन्ती सम्बन्ध छ कि न त प्रजनन नै सम्भव छ न त पर्याप्ति नै । एक मनले चाहान्छ यही मेरो स्वप्नको साकार रुप र अर्को मनले भन्छ यही नै हो पूर्णविराम। र ‘शिरीषको कथा’ पख एक छिनपछि भन्छु । हतार के छ ?
पारिजात आई पनि मेरो जीवनमा अनौठोसँग ।
लाइब्रेरियन भएको मेरो अवतारमा ऊ साथी-सङ्गाती लिएर उपस्थित भई। र भनी, ‘नेपालका लेखकहरूलाई, निश्चय पनि सबैलाई चिन्नुभएको छ । हामीलाई एक पटक शङ्कर लामिछानेसँग परिचय गराइदिनुहोस् ।’ मैले भन्ठाने यो मेरो जीवनको ठूलो ठट्टा हो तर ठट्टा होइन रहेछ, उनीहरूले साँच्ची नै लामिछानेलाई चिन्न खोजेका रहेछन् । म तीनछक परेँ । त्यसवेला पारिजात-पारिजातभिसकेकी थिइन । ऊ विष्णु वाइवा थिई
अनि ऊ पारिजात भई । यस ‘हुनु’ मा अनेक मानसिक, शारीरिक र रोमान्टिक (जसको मलाई पटक्र ज्ञान छैन !) घटना भेए, उसको जीवनमा। ऊ कवि बनी, प्रतिष्ठा पाई; ऊ रोगी बनी, अस्पताल भर्ना भई । (ऊ निराश बनी प्रेममा? -त्यो म जान्दिनँ ।)
मेरो जीवनमा पनि हेरफेर आए । म लेखकबाट जागीरे, जागीरेबाट साहित्यिक, साहित्यिकबाट साहित्य प्रमी र साहित्य-प्रेमीबाट व्यापारी बन्न पुगेँ । यत्ति हो– पैसा भएको बेला, नेपाली साहित्यको प्रगति र ह्रास बुझ्न म पत्रिका खूब किन्थेँ र गतिको बोध सकभर राख्ने प्रयास गर्थे ।
डेनिस चित्रकारले सोध्यो— “यो त पाण्डुलिपिजस्तो छ नि ?”
मैले भनेँ— “हो । यो पाण्डुलिपि हो ।”
“अहिले आउनेले लेखेको ?”
“होइन, उसको दिदीले ।”
“यो के, कथा ?”
“होइन, उपन्यास ।”
“छोटो देखिन्छ नि ?”
“छाप्दा झन्डै ८०-९० पेज हुन जान्छ कि
कि ?”
“के उनी राम्री लेकीका हुन् ?”
(अङ्ग्रेजीमा उसको प्रश्न थियो— Is she a beautiful writer ? विशेषणको प्रयोग कुन अर्थमा भएको हो भनी बुझ्न मैले उसको अनुहार हेरेँ । उसको अनुहार प्रश्नचिह्नको प्रतीक थियो ।)
यहाँनिर, झ्वाट्ट बोल्न म असमर्थ भएँ । गुनेँ, उसको प्रश्नमा कुनै व्यङ्ग्य मैले पाइनँ । भनेँ— “हो, उनी मेरो युगकी अन्तिम लेखिका हुन् ।”
“अर्थात्…?”
“तिमीले यहाँ केही काल राम्ररी बिताएका छौ भने र यहाँको वातावरण बुझ्न सकेका रहेछौ भने, तिमी युग छुट्टयाउन सक्छौ ।”
“त्यो त म सक्छु ।”
“उनी मेरो युगकी अन्तिम लेखिका र प्रथम कवयित्री हुन् ।”
“उनको चर्चा मैले कहिले सुनिनँ ”
“मैले पनि क कहिले गरिनँ । नेपाली चर्चा गर्दैनन्, कटुता मात्र पोख्छन् ।”
“हो, त्यो त मलाई पनि राम्रो थाहा भिसक्यो । ‘बार’हरूमा यही त हुन्छ र साँच्चै भनूँ भने शङ्कर म नेपालका साहित्यकारहरू देखेर निराश भइसकेँ ।”
मैले व्यापारी मुस्कान प्रसारित गरिदिएँ । के भन्न सक्छु र ?…
शायद मैले लेखिरहेको यो कुरा भूमिका भएन । असलमा, म भूमिका लेख्नै दान्दिनँ । मेरो कुनै किताब अझ छापिएको छैन, तसर्थ भूमिकाको समस्या अझ मेरो सामु परेको छैन ।
र, मलाई लाग्दछ, मानिसले भूमिका कमै पढ्छन् ।कमसेकम मैले आजसम्मन् पढेका किताबहरूमध्ये अन्दाजी सयकडा पच्चीसको मात्र भूमिका हेरेँ हुँला- पढेको म भन्दिनँ !…
…त, पाण्डुलिपि मेरो हातमा पर्यो । साथै एक उत्साह पनि । एउटा औपन्यासिक कौमार्य समर्पण गरिएको छ मलाई !
किताबको नाम छ ‘शिरीषको फूल’ । र मचाहिँ शिरीषको फूल नै नचिनेको मान्छे । किताब पढुन्जेल मेरो आँखा जराकाण्ड आइरह्यो— पछि थाहा पाएँ अङ्ग्रेजीमा यसलाई Mimosa Sirisaभन्दा रहेछन् । यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे ।
र किताब पनि पत्याइनसक्नु किसिमले राम्रो छ । लेखिकाले मलाई अनुमति दिन्छिन् भने म यसलाई उपन्यास नभन्र काव्यन्यास भन्छु । यत्ति हो, यसमा कतैकतै गध्य छिर्न पुगेको छ— बस ।
पारिजात कविको रुपमा (अँ, कवयित्री मैले जानीजानी भनिनँ । यो के वाहियात कुरा…सृष्टिकारको पनि लिङ्ग हुन्छ र ? लिङ्ग हुने त निर्माता मात्र ।)
अँ, भन्दै थिएँ पारिजात कविको रुपमा आइन् हाम्रो समक्ष ।उनका सृजना बराबर आँखाअघि आउँथे— गद्य
पनि । गद्यहरूमा कयन मन पराइनँ कसो-कसो ! शायद
कोमल पारिजातबाट सुकुमारीपन नै चाहेर होला ।
तर शिरीषको फूलबाट म तीनछक परेँ । (पारिजातै dwaraजीवनमा दोस्रो पटक ।)
- स्वास्नीमान्छे भएर, कुमारी भएर, ४५-४६ वर्षको अधबैसे भूतपूर्व सैनिकको चित्रण उसले कसरी गर्न सकी, खास गरी त्यसको यौनजीवन र अन्तर्द्वन्द्व ! उपन्यासका प्रत्येक शब्द पढुन्जेल यस भावनाले मलाई अँगालिरह्यो ।
- भाषा बहाव र छनौट भन्ने कुरा उसले पहिले नै भनिसकेको हुन्छ, तर हमी बहावमा चिप्लिन्छौं र जब छनौटमा पर्छौं अनि लाग्छ, मलाई धुकधुकी भएको एक उदाहरण दिन्छु म ।
सुयोगवीर भन्छ— “भाँवरा बस्नै नपाएपछि यो फूलको के अर्थ ?”
सकमबरी भन्छे— “फूल बिग्रँदैन, सुरक्षा हुन्छ ।”
यसपछि कथामा, कान्छी बहिनी पोइल जान्छे । मेरो मनमा सबभन्दा ठूलो इच्छा छ सकमबरीको प्रतिक्रिया बुझ्ने । अन्तिम लाइनमा पुगेर म अढ्छु र मनमा गुन्न थाल्छु, के भन्ली सकमबरीले भनी । भनिएको कुराले चाहेकै रुपमा छरितोपन बोक्यो— मात्तिएकी ठिटी, कत्रो हतार पर्यो बिहे गर्नलाई ।यसकारणयस एक वाक्यले सकमबरी सम्पूर्ण चरित्र चित्रण गर्न सक्छ । असलमा गौण रूपमा देखापरेकी छ सकमबरी यस उपन्यासमा । तर पनि षस उपन्यासकी मुख्य नायिका उही छ— कमसेकम नामको सार्थकताका दृष्टिले । ‘कुमारसंभवम्’ मा शिरीषको फूलको वर्णन गर्दा कालिदास भन्दथन्— “पर्द सहेत भ्रमरस्य पेलवं शिरीषपुष्पं न पुन: पतत्रिण: पतत्रिण: “ कथाको सार पनि यहि । तर पढिसकेर मात्र सार बुझिन्छ चाहे कुमारसंभवम् ७०० वर्षअगाडि नै किन नलेखिएको होस्, शिरीषको फूलले आफ्नो धर्म छाडेको छैन— कालिदासका लागि पनि पारिजातका लागि पनि !
३. यत्ति सानो क्यानभास सारै कम स्ट्रोक्सहरूमा जसरी पारिजातले चित्र बनाएकी छ तियो सारै ईखलाग्दो भएको छ । मैले यस्तै अचम्मित पारने एक जापनी उपन्यास पढेको थिएँ— ओसामू दजाइको ‘द सेटिङ्ग सन ।’ त्यो यत्ति राम्रो लागेको थियो, उल्था गर्ने विचार गरेको थिए, र सोचेको थिएँ त्यसले नेपाली साहित्यलाई केही उपलब्धि हुनेछ । अब त्यसको आवश्यकता रहेन ।
शिरीषको फूलले हामीलाई विश्व-साहित्यको उपन्यासका क्यालेण्डरमा १९६६ मा पुर्याएको छ । उन्नाइसौं शताब्दीको ‘रूपमती’बाट बीसौं शताब्दीको प्रथम युद्दकालमा ‘मुलुकबाहिर’ले हामीलाई लाग्यो, अनि द्वितीय बिश्वयुद्वोत्तर कालमा पुर्याइन् ‘अनुराधा’ले । ‘शिरीषको फूल’ निश्चय पनि यही वसन्तमा फुलेको छ । मलाई खुशी छ अब हामी निर्धक्क अन्य भाषामा आफ्नो कृति उल्था गरेर हंसीका पात्र बन्ने छैनौं ।
पाण्डुलिपि फूलस्केप साइजमा छापिंदा यो कत्ति पेजको हुने हो तर यो सवा सवालीस पेजले मलाई चौरासी लाख जुनीको कष्ट दियो । प्रत्येक वाक्य पढ्नुअघि र पढिसकेपछि म दुई पटक हुरुक्क हुन्थे । ‘अब के भनिने हो’ भन्ने भावना अधिल्लो वाक्यको खमारीमै जन्मी आउथ्यो । आह, अघिल्लो दिनको Hangover मा ब्रेकफास्टअघि नै ब्रेन्डी खाएझै प्रत्येक पेज पल्टाउँदा एक पीडा हुन्थ्यो अज्ञात अवश्यम्भावी अन्ततिर म लम्कदैछु भन्ने । मलाई पारिजातसँग रिस पनि उठ्यो । उपन्यास नै लेख्नु थियो भने किन उसले चार सय चवालीस पेजको लेखिन !
मेरोपीडा एक आनन्दमय परिपूर्णतातिर बहेको र मैले स्वयं चाहि एक वेदना बोकेको अनुभव गरे । असलमा पारिजातले मलाई एक अनौठो अनुभूति दिई । यो लेखिरहँदा म स्वयंलाई एक पूर्ण यौवना नारी अनुभव गर्दैछु । यस्ती पूर्ण यौवना नारी, जसले भरखरै प्रथम पटक पुरुषको संसर्ग प्राप्त गरेकी छ र अब जो कुमारी रहिन । अप्राप्तिको पीडा त मेटियो, तर प्राप्तिको आनन्द पनि कम कष्टपूर्ण छैन । र, अब इतिहास , त्यही छैन, जो अघिसम्म थियो ।
अघिसम्मन, मैले सोचेको थिए म अत्याधुनिक शैलीमा यस्तो अक उपन्यास (भनौं काव्यन्यास नै ?) लेख्नेछु जसबाट म स्वयं त अमर हुन्छु नै मेरो उपन्यासले अरूको समेत आँखा उघारिदिनेछ । पारिजातले त्यही गरी, र म स्वयं पराजित भएको अनुभव गर्दैछु । अब, उसलाई उछिन्म कि मैले बढी मेहेनत गर्नुपर्यो कि त्यो विचार नै चटक्क छाड्नुपर्यो । के हुने हो, त्यो भविष्यले नै भन्ने छ ।
वर्तमान त पारिजातको हो !
वर्तमान त पारिजातको हो, तर पारिजात त वर्तमानलाई पनि सुयोगवीरको मुखबाट यसरी मन परिभाषा गर्न लगाउँछे — “मेरी सकमबरी हो, यो जीवन दुर्भाग्य हो, मानिस यसै पनि दु:खी छ, उसै पनि दु:खी छ।”
असफलता दर्शन सफलतासाथ देखाएको भविष्य पनि पारिजातको हो ।
तर, पारिजात त भविष्यको परिभाषा पनि यसरी दिन्छे— “यो दु:खद जीवनको अन्त्य मृत्यु हो र त्यसपछि हाम्रा भावनाहरूको कुनै पनि अस्तित्व छैन । हामी एकअर्कामा स्पष्ट हुन सकेनौं र कहिल्यै सक्दैनौं पनि । यो जीवनपछि एउटा महाशून्य छ; अब केही पनि चिताउननँ, सव निरर्थक छन् । तिमी एउटा अन्धकारमा निसास्सिएर मर्यौ र कुनै दिन म पनि मर्छु, यही हो तिम्रो र मेरो जीवनको मुल्य ।”
मलाई लाग्दछ, पारिजतले शिरीषक फूल पनि आसन बाँधेर शून्यबोध गरेकी छ । उसले बुझेकी छ— ज्ञान उपलब्धिको पथमा मानवमस्तिक कहिले पनि थकाइ मार्दैन । स्थिरता अपनाउनुको अर्थ हो— निष्क्रियपन, विनाश र मृत्यु । हाम्रो सम्पूर्ण चेतनाको यहू धर्म हो । यो नियम हो त्यस आत्माको जसबाट जीवन र चेतना प्रसारित हुन्छन् ।
गणित-दर्शनमा जस्तो प्रत्येक आयामले आफूभन्दा उच्चतर एक अर्को आयामको अपेक्षा गर्छ नै, हुँदाहुँदा एक अनन्त आयामको क्रमबद्वता अवश्य पनि होला भन्ने निष्कर्ष हामीले अन्त्यमा अपनाउन बाध्यै हुनुपर्छ, उसै गरी हाम्रा भावानात्मक क्षितिजका प्रत्येक नवीन विस्तारले एक नयाँ अचिन्तित आयाम इङ्गित छन् ।
प्रत्येक अनुभूतिले स्वयंभन्दा पर एक अन्य बाह्य रूपलाई औंल्याउँछ । यसैकारण, यसलाई स्वत: स्वयं व्याख्या गर्न सकिन्न, न त यस अनुभूतिलाई अन्य आधारद्वारा अनुप्रेरित एक स्वचालित उद्वेग भन्न सकिन्छ । र शून्यताको दर्शन यही नै तथ्यमा आधारित छ । शून्यता जो सबै सङ्कल्पभन्दा पर छ, र छ एक अनन्त, अनादि अनुभूतिको अभिन्न अङ्ग । र यो ‘अतिसापेक्षितता’मा ‘सहज र प्राणवान् विश्वको योगजन्य तत्त्व पनि समाहित रहेको हुन्छ, किनभने अपरिचित यू सम्बन्ध परिपूर्ण हुन जान्छ । यो यस्तो एक परिपूर्णता हो जसलाई न त ‘जीव’ न त नीर्जीन’ न त ‘वेग’ न त ‘स्थिरता’ नै भन्न सकिन्छ ।
यस अवस्थामा पुगेपछि हामी पुग्छौ दर्शनको सिमानामा, शोचनीय र विचारणीय वस्तुको अन्तिम छेउमा । गतिझौँ जो आफ्ना बेगको अतिसीमामा, एक पूर्ण विश्राम र स्थिरताबाट पृथक गर्न सकिदैन । ‘चिरस्थायीलाई अस्थायीमा मात्र उदधृत गर्न सकिन्छ; सदा परिवर्तनीयलाई स्थायित्वमा मात्र, सम्पूर्णतामा मात्र, तत्कालमा मात्र ।’
यिनै कारण गर्दा शून्यता र तथ्यता स्वभाजन्य रुपले एकनास छन् । शून्यताले यथार्थ निर्गुण रूप लिएको छ भने तथ्यले सगुणको । अघिल्लोको बोधबाट अनित्यताको, क्षणिकताको, सामयिकताको अनुभव सापेक्ष— रूपमा हुन्छ भने, पछिल्लो अनुभूति असामयिकता, पूर्णता, सम्पूर्णता र नित्यताबाट हुन्छ । यहाँनिर एउटा कुरा भनिदिइहालूँ, सापेक्षितताको गुणले गर्दा शून्यताले स्वयंलाई अनुकूलित पार्यो भन्ने ।
यसैको सन्दर्भमा डी. टी. सुजुकीको एक कथनको सम्झाना हुन आउँछ मलाई । सर्वथा तार्किक -स्तरमा गरिएको शून्यप्रतिको आधुनिक सापेक्षितताको आधारलाई उनको बौद्विक खोक्रोपन भनी अबहेलित गरेका छन् । उनको भनाइ छ — “शून्यता भनेको अन्तर्ज्ञानबाट जन्म्ने वस्तु हो, तर्कको प्रक्रियाबाट होइन । शून्यताको बोध अनुभूतिबाट उम्री आउँछ, र त्यस बोधलाई शिलान्यास गर्नका लागि नै सापेक्षतताको भूमि अपनाइन्छ । तर तर्कका लागि तर्क नै गर्ने हो भने, सापेक्षका र शून्यताबीच ठूलो अन्तर छ । सापेक्षताको माध्यम अपनाएर हामी त्यो खाडल फड्किन सक्तैनौ; सापेक्षताको आढ लिइरहुन्जेल हामी एक घेरामा हुन्छौ भन्ने र त्यसबाट उम्किने चाहाना हुनुको अर्थले नै स्वत: स्पष्ट गर्छ, यो लक्षण हो एक पटक, क्षणका लागि,
उम्रिसकेको र बाहिरबाट रूपको निरीक्षण गरिसकेको छ ।”
हाम्रो बौद्विक स्तरीय चेतना एवं स्वभावजन्य अतिव्यक्त्तिगत गहन-चेतनाबीच मुख आँ गरिरहेको यस खाडललाई फड्किने साधनका रूपमा हाम्रा धर्ममा अभिव्यक्त्त भएका छन् रत्तावत्त अनेक देवदेवीहरूको मदोन्मत्त नृत्य-मुद्राहरू । वज्रयान सम्प्रदायका डाकिनीहरू प्रेरणात्मक प्रवृत्तिलै हामीलाई अरक्षित पारिदिन्छ एक झीनो स्वप्नमयी व्यत्तिबाट— (सुयोगवीरलाई सकमबरीले यही त अनुभूति दिई ।)- र हामीले त्यो झीनो अावरण नआफलुन्जेल, र सोप्र्हँका भावानालाई चरमोत्कर्षी आवेगमा नहुत्त्याउन्जेल हामी पूर्णताको बोध गर्न असमर्थ हुन्छौ । (आह ! सुयोगवीरको चुम्बन कसरी प्रस्ट हुन जान्छ; अब !) चरमोत्कर्षी यही सारा बन्धन, सारा सांसारिक अनुबन्ध, सारा बन्धन, सारा सांसारिक अनुबन्ध, सारा पूर्वधारहरू र सारा मरीचिकाहरू ध्वंस हुन्छन्, र सम्बन्धको त्यान्द्रो च्वाट्टै चुँडिन्छ, विगत– आगत सबै निभाइन्छ, कर्म–शक्ति ह्रास हुन्छ र महाशुन्यताको त्यो अनुभूति एक आदि अनन्त निरन्तर प्रवाहमान यथार्था र तथ्यताको रुपमा हुन्छ । ‘परिमोक्ष’का लागि जुन शक्ति तथा आक्रोशमय आवेगको आवश्यकता हुन्छ, त्यसलाई बज्रयान तन्त्रवादीहरूले एक अति–मानव, अनेक आयाममा अनेक शिर तथा बाहु भएको अमानवयि, सर्वद्रष्टा, सबै दिशामा एक साथ पुग्न सक्ने, त्रिकाललाई कालहीन वर्तमानमा परिणत गर्न सक्ने एक देवीको रुपमा चित्रित गरेका छन् । (शिरीषको फूल की नायिका सकमबरीको यही रुपको दर्शन पाउँछ सुयोगवीर ! र उसका भावनात्मक अनुभूति शून्यवादका यिनै माथि भनिएका धारणाहरू अँगालेर चित्रित गरिएको लाग्दछ मलाई !)
मैले अघि कतै भनेको थिएँ– ‘ज्ञान उपलब्धिको पथमा मानवंमस्तिष्क कहिले पनि विश्राम गर्दैन । स्थिरता अपनाउनुको अर्थ हो – निष्क्रियपन, विनाश र मुत्यु ।’ शिवराजका चरित्रचित्रणद्वारा पारिजात यहि भन्छे । बहिनीको मृत्युको आशङ्कामा शिवराज आत्महत्यासम्म गर्ने कुरा गर्छ, तर साँच्चै नै बहिनी मरेपछि, ऊ अलि बढी खाएर जीवन गुज्रान नै गरिरहन्छ ।
शिवराजको यही साधारणपनाको पृष्ठभूमिमा अन्य चित्र प्रष्ट हुन्छन् । एक किसिमले शिवराजलाई हामी शिरीषको फूल को क्यानभास भन्न सक्छौँ । शिवराज आरम्भमा पनि हुन्छ र अन्त्यमा पनि, तर आँखाहरू दौडिन्छन् रङ्ग र रेखाहरूमै तथा चित्र अरुहरूको अनुहारबाटै परिपूर्ण हुन्छ । र यदि पोन्टिङ हेर्दा, क्यानभासलाई सम्झन सकिन्छ र यदि माया गर्न सकिन्छ भने, शिवराज निश्चय पनि मायाको पात्र हो ! ( यो मोरो कस्तो कमजारी ! एउटा कलाकृति बुझाउन मैले आर्को कलाको माध्यमको सहारा लिनुपर्ने ! मैले यसलाई यसो भने हुन्न ? – वज्रयान सम्प्रदायकै तान्त्रिक–शब्द लिएर – शिवराज ‘मूलधार’ हो । )
अनि सकमबरीको रङ्गलाई गाढा बनाउन दुई विभिन्न अमिल्दा रङ्गहरू टिपेकी छ पारिजातले, मुजुरामा र सानुमा । सानुको चर्चा उपन्यासमा दुई–तीन पटक मात्र आउँछ, तर त्यसले आफ्नो कर्तव्य पूरा गरेकी छ र मुजुरालाई अलि बढी प्रयोग गरिए पन उसले सकमबरीको रुपरेखालाई तिक्खरपन मात्र दिएकी हो ।
अब रह्यो उपन्यासको नायक, सुयोगवीर । सारा कथानक उसैको वरिपरि केन्द्रित छन् । तथापि सुयोगविर के हो भन्ने कुरा अरु सबैको चरित्रचित्रण गरिसकेपछि लडाइँका यामको फ्लासब्याकमा, पारिजात अन्त्यमा गर्छे । यसबाट हाम्रो उत्सुकता चरम सीमामा पुगिसकेको हुन्छ । एउटै फ्लासब्याकमा सुयोगवीर प्रस्ट हुन आउँछ – मानैं एउटै स्ट्रोकमा कसैको अनुहार उतारियोस् । तर, पारिजात यहाँ चार फ्लासब्याक दिन्छे – मलाई लाग्दछ शायद आवश्यकताभन्दा बढी नै ! सुयोगवीरका आँखाले हामीले विश्वलाई यत्ति राम्ररी निहारिसकेका हुन्छौँ त्यस बेलासम्मन्। बस एउटा हाते ऐनाको मात्र आवश्यकता थियो उसको अनुहार हेर्ने । त्यसबेला ऊ प्रस्तुत गरिदिन्छे तीनखण्डे एन भएको ड्रेसिङ टेबुल ! यो अनावश्यक गिहगचथ का रुपमा मुटुमा घोचिन्छ ।
र सम्पूर्ण उपन्यासको पेन्टिङलाई फ्रेम गर्न पारिजातले छानेको छ साहुनीको प्रेमलीलाई । असलमा पेन्टिङ फ्रेमविना पनि पूर्ण हुन्छ । तथापी सुहाउँदो फ्रेमको छनौट पनि कलाकारको परिमार्जित सफलताको घोतक हो ।
शून्यवादको मुख्य अभिव्यक्ति पारिजातले सकमबरी र सुयोगवीरका माध्यमद्वारा गरेकी छ, अझ भनौँ, सुयोगवीरलाई त्यो अनुभूति प्राप्त गर्न सकमबरी एउटा साधनमात्र बनेकी छ । यसै सन्दर्भमा, सकमवरीको मृत्यु प्रत्यक्ष रुपमा वर्णन नगरी, एउटा कहिल्यै देखा नपरेकी बाहुनीको मुखबाट सुनाइदिएको पनि मीठो हुन आएको छ । प्रतीकको रुपमा यो बढी सफल भएको छ ।
उपन्यासमा केही त्रुटि नहुनु अस्वभाविक हुन्थ्यो होला कारण आखिर त्यो जीवनको प्रतिबिम्बै न हो ! जे होस् उपन्यासको असफलता कोट्याउनु पर्नेछ र सफलताको सवयं आफूलाई तर्साएका छन् ।
उपन्यास पढिसकेपछि मैले आँखा चिम्ले, तर त्यसका माध्यमद्वारा पारिजातलाई नयाँ पर्सपेक्टिभमा हेर्ने प्रयास गरें । पाएँ, यो उसको प्रथम प्रयास हो । र, यसको माध्यमद्वारा ऊ समाजमा कत्ति अवतरित भई, हँ ? म ठान्दछु, शून्यवाद दर्शनको गम्भीर र गहन सिद्धान्त यत्ति सहज, सुन्दर र सुकिलो रुपमा, उपन्यासको रुपमा ब्यक्त गरिएको मैले आजसम्म् थाहा पाएको छैन यस २००० वर्षको जीवनमा । त्यसैले, त्रिकाललाई कालहीन वर्तमानमा परिणत गर्न सक्ने क्षमता पारिजातमा देखेर नै, अघि कतै मैले भनेको थिएँ –‘ वर्तमान त पारिजातको हो । ’
अँ, पारिजात शून्यवादी निश्चिय पनि हो र हो एक बोध पाईसकेकी शून्यावादी– तर, पारिजात निराशावादी होइन । सतहमा जस्तै झझल्के पनि उसलाई हामले चिन्न नसक्नु हाम्रो सव्यंको कमजोरी मात्र ठहरिनेछ । पख – यसलाई म एक उदाहरणद्वारा प्रष्ट गर्छु ।
उपन्यासको अन्त्यतिर सुयोगवीर सकमबरीको मृत्यु सुनेर फर्किन्छ । पढ्दा मलाई लागेको थियो, यही नै उपन्यासको सुन्दर अन्त्य हो । यो पङ्क्ति – तर म छिटो–छिटो हिँडिरहें । ’यहाँनिर पुग्दा, र उपन्यास अझै पङ्क्तिहरू रहेको देख्न मलाई लागेथ्यो पारिजात पनि लेखकीय रोग दोहो¥याउन चाहने, व्याख्या गर्न खोज्ने प्रवृत्तिको शिकार भइछ ।
तर होइन रहेछ । जसरी अनेकरुपी तत्वसँग साक्षात्कार गरिसकेपछि त्यसको परिपूर्णता स्वयं आफैँमा सन्निहित भएको अनुभव गुर्न नै बुद्धत्व प्राप्ती हो, जसरी विलयनको अनुभव आफैँभित्र, याहाँ नै र अहिले नै हुन्छ, उसैगरी सुयोगवीरले गिलासभित्र दुईटा गहिरा आँखा र एक मुडुलो टाउको, देख्नै पर्दछ । उसका औंलाहरू निकोटिनले पहेलिएका हुनै पर्दछन् र ती सधैँ उसले हेरिरहनै पर्दछ र सन्तुष्ट भइरहनु नै पर्दछ । र एउटा निस्सार संसारभित्र। एउटा महाशून्यभित्र, ‘बााँचेको’ अनुभव उसले गर्नै पर्दछ ।
निस्सार संसारभित्र, एउटा महाशून्यभित्र ‘बाँचेको’ अनुभव गर्नेहरू कत्ति छन् हँ, यहाँ ? र जति छन् ती आशा नरिाशाबाट पर छन् । र जति छन् तिनको अभिव्यक्ति यसरी गरे हुन्छ –
‘चिताको अग्निका लागि ब्रह्म, राखिनँ दाउरा केही,
मभित्र स्वयं जल्दैछ, हुरुरु बालेको ज्योति,
अग्नि छ सदा प्रज्वलित छ आत्मा मेरो
र मनस नै त हो चिता,
र अग्नि, त्यो अग्नि हो आत्मा अंकुशित मेरो ।’
(संयुक्त निकाय)
मलाई तिमीसंग सोध्न मन लागेको छ एउटा कुरा, पारिजात ! के शिरीषको फूल पनि द सेटिङ्ग सन जस्तै हाम्रो शब्दकोशमा एक विशेषण बन्न जाने कुरा तिमीलाई थहा छ ? तर म जान्दछु, तिमी आफ्ना आँखामाा हाँसो सोहरेर मौन बस्नेछयौ । म जान्दछु, तिमीले उत्तर दिइसकेकी छ्यौ उपन्यासका पङ्क्तिहरूमाझ । म स्वयं पनि जान्दछु, मैले उत्तर पाइसकेको छु यिनै पङ्त्तिहरूमाझ । तापनि, पारिजात ! तिमीलाई सोध्न मन लाग्यो रे मलाई ! केसैको केही लाग्छ ?
०००
आज मेरो आमाको श्राद्धको दिन । घरमा पुरेतले श्राद्ध गर्दै होलान् । म चाहिं यहाँ टुरिस्ट पर्खेर एक मनले, र एक मनले आत्मविभोर भई यो भूमिका लेख्दै छु । मेरो कथनमा कत्रो नास्तिकता झल्कँदै छ । तर नेपाल अधिराज्यमा यस वर्तमान क्षणका लागि म जस्तो धर्मात्मा कोही व्यक्ति छैन होला – कारण, म र मेरी एउटी बहिनी मिलेर आमालाई शिरिषको फूल भेटी चढाउँदै छौं । यसभन्दा बढी के हुन सक्छ, एक सुपुत्र र सुपुत्रीका लागि ?
काठमाडौं
मार्ग ४। २०२२
शङ्कर लामिछाने
(माथि परेको शून्यवादको व्याख्या गोविन्द लामाबाट सभार )
लेखक परिचय
शङ्कर लामिछाने चर्चित नेपाली निबन्धकार थिए। उनलाई साहित्यका विशिष्ट साधको रूपमा लिइन्छ। उनका गौंथलीको गुँड, बिम्ब प्रतिबिम्ब, गोधूली संसार, एब्स्ट्रयाक्ट चिन्तन प्याज र शङ्कर लामिछाने लगायतका निबन्ध सङ्ग्रहहरू प्रकाशित छन्। उनले निबन्ध सङ्ग्रह एब्स्ट्रयाक्ट चिन्तन: प्याजका लागि मदन पुरस्कार प्राप्त गरेका थिए।