प्रगति राई बेली कुकुर उफ्रँदै गेटतिर गएको आवाज आयो । छतमा कुखुराहरूलाई चारो हाल्दै गरेको सुशान्तले गेट बाहिर हेर्यो । नुमा होइन, कान्छी छोरीलाई क्रिकेट सिकाउने सर (प्रशिक्षक) आएका रहेछन् । प्रगति राई
छोरीको नजिक आउने पुरुषजति सबै आफ्नो शत्रु ठान्ने सुशान्तको पुरानै बानी छ । नजिक आउने पुरुषले कुनै दिन छोरी भगाइ लैजाला भन्ने त्रासले उसलाई सधैँ सताइरहन्छ । “शत्रु आँखै अगाडि नाच्दै हिँड्छ ।” सुशान्त गनगन गर्दै फेरि चारो हाल्न लाग्यो । गिरिप्रसाद भालेले हातमा एक ठुङ् र एक लात बजार्यो । सुशान्तले पनि त्यो सरको समेत रिस भालेलाई पोखेर एक मुड्की दियो । भाले सुत्यो ।
आवेशमा हान्दा ढलेको भालेलाई बचाउन खोरबाट निकालेर सुशान्तले जानेजति प्राथमिक उपचार गर्न खोज्यो । खुट्टामा पक्रेर उधो मुन्टो पार्यो । थुत्नामा फुक्यो, आफ्नो हात फुक्यो । खुट्टाले टेकाएर उभाउन खोज्यो, पानी पिलाउन खोज्यो; तर भालेले केही गर्न खोजेन । अन्ततः सुशान्तले भाले थैलोमा हालेर कमानी तराजुले जोख्यो, झण्डै पाँच किलो रहेछ ।
सुशान्तले भाले छानामाथि राखेर झर्यो । चूरोट सल्कायो । पिठ्यूमा पर्श छामेर पत्रिका किन्न निस्कियो ।
‘बुबा, नमस्कार !’ प्रगति राई
सिटिङ रुममा बसिरहेको सरले सुशान्तलाई उठेर अभिवादन गरे । तर सुशान्तले नसुने झैं गरेर सरासर बाहिर निस्कियो ।
नुमा रुखका सुकेका हाँगाहरू सलले बाँधेर सकिनसकी तान्दै आउँदै थिई । सुशान्त नुमासँग ठुस्केर छिटोछिटो पत्रिका पसल जाने बाटो छड्किन लाग्दा नुमाले देखि हाली र बोलाई, “कान्छा !”
बिहान बिहानै चिसो ओछ्यानमा पतिलाई एक्लै छोडेर हिंड्ने पत्नी कस्ती ? सुशान्त कठोर भएर केही पाइला अगाडि सार्यो । यसरी छोडिइएर पनि फेरि उही पत्नीसँग खुरुक्क बोल्ने पति पनि कस्तो ? सुशान्त पुरुषार्थको इज्जत राख्न नुमासँग नबोली हिँड्न खोज्यो । प्रगति राई
“कान्छा !”
आवाजले पाइला बाँधियो । सुशान्त पत्नीतिर नहेरी बोल्यो “के ?”
“कस्तो हात गल्यो के।”
“त्यही बिसाइराख ।” दिमागले बोल्न चाहेकै थिएन; मनले उछिनेर बोलिहाल्यो ।
पुरुषार्थ भन्ने संस्कार मान्छेले बनाएको न हो, बलमिच्याई/जबरजस्तीले पनि संस्कार चल्न सक्दो रहेछ । तर मन प्रकृतिले बनाएको हो, यसमा मान्छेको जबरजस्ती नचल्दो रहेछ । यसैले मनको अघि पुरुषार्थ टिक्न सकेन र सुशान्तले पत्नीलाई मायालु गाली गर्यो, “के दुःख गरिरा’को होला ?”
“अनि, सिमी करेला लहराएर बराहरू कति ठाँक्रा खोज्छ । ठाँक्रा भए पो लहराओस् । यस्तो घारा बोकेर हिँड्न दिउँसो लाज लाग्छ अनि अँधेरैमा लिएर आ’को नि ।”
“ठाँक्रा होइन; थाँङ्ग्रा ।” सुशान्तले भाषा शुद्ध बनाइदियो ।
“म ता उइलेदेखि ठाँक्रै भन्छुको ।” नुमा झन् प्याउलो पल्टेर पतिसँग ज्वाप लागी ।
पत्नीको स्वर किशोरी प्रेम भएर सुशान्तको कान मस्तिष्क हुँदै मुटुमा लडिबुडी खेल्न लाग्यो । ऊ माया नगरी रहनै सकेन र भन्यो, “कति दुःख गर्नु परेको तिम्लाई चैं ? त्यै बस । म पत्रिका किनेर आउँछु ।”
सुशान्त हिँड्दै सोच्यो, जीजु–हजुरबाहरूले पत्नीलाई कस्तरी अदपमा राख्न सकेका थिए । जीजु–हजुआमाहरूले पतिका गोडाको पानी खान पनि डराइ–डराइ माग्नु पर्थ्यो रे । बारीमा घाँस काट्दै गर्दा, झिसमिसेमा पँधेरा जाँदै गर्दा, गोठमा भकारो सोहोर्दै गर्दा हजुरमाहरू पतिसँग जम्काभेट हुन्थे रे । सिंहको पञ्जामा परेको मृग झैं केहीबेर छटपटाएपछि, पुनः गर्भिनी हुन्थे रे । पतिहरू मालिक हुन्थे रे आफ्नै पत्नीहरूका र पत्नीहरू नोकर हुन्थे रे आफ्नै पतिका ।
पुर्खाहरूको वास्तविक कथा पनि हाँसउठ्दो दन्त्य कथा लागेर हाँस्दै सुशान्त हिँड्यो । पसल पुगेर पनि पसलेले पत्रिका दिइवरी पैसा थापिरहेको पत्तै पाएन ।
‘पैसा’ पसलेको बोलीले बल्ल होसमा आएर हाँस्दै पैसा तिरेर फर्कदा फेरि अघिको सोचाइ निरन्तर गर्यो,- ‘सायद, हजुरबाहरू पुरुषार्थको वैशालु युगमा थिए । त्यति नगरे, उहाँहरूलाई समाजले दपेट्थे, कानूनले निम्छरो बनाउँथ्यो । धर्मले वहिष्कार गर्थ्यो । तर आजको युगमा त्यस्तो पुरुषार्थलाई धर्म, समाज र कानूनले साथ छाडेको छ । त्यस्ता जीजु–हजुरबाका हामी नाति पुस्ताले पत्नीलाई प्रेमिका मान्न पाएका छौं । साथी मान्न पाएका छौं । पत्नीको स्तुतिगान गाउन पाएका छौं । पपूर्खाहरूले पुरुषार्थ देखाउने जमाना त पाए तर जीवनसाथी पाएनन्, प्रेमिका पाएनन्, साथी पाएनन्, यसो भनौं, प्रेम के हो, चिन्ने अवशर नै पाएनन् । सिर्फ, खेतालोसँग जीवन बिते उहाँहरूको ।’
“कता चैं गाको हौ, हना ?” आफूलाई बिर्सेर खुरुखुरु घर जाँदै गरेको पतिलाई नुमाले गाली गरी । प्रगति राई
“ए !” सुशान्त आफ्नो बहुलट्ठीपन देखि लजाएर ङिच्च हाँस्यो ।
पत्रिका नुमालाई बोक्न दिएर भन्यो, “थत्तेरी ! किन लानु हौ यो जङ्गल, यही छोडिदिऊँ ।” सुशान्तले वाक्यसँगै भारी पनि ऊठायो । प्रगती राई
“सिमीलाई ठाँक्रा नै । ठाँक्रा पाए हिउँदोबर्खा फलिबस्छ । जुगाति हुन्छ ।” नुमाले पछ्याउँदै भनी ।
“थाङ्ग्रा भन्नुपर्छ भन्छु; झन् ।”
नुमा झन् पुल्फिुलिएर ‘ठाँक्रा ठाँक्रा ठाँक्रा’ भनी र हाँस्दै सोधी, ‘घरमा कोको छ ?’
“एउटा ढाडे बिरालो आइरथ्यो ।”
“ढाडे बिरालो ? त्यसलाई रत्याउनुपर्छ ।”, नुमा उत्तेजित हुँदै पतिको अनुहार हेर्न अगाडि गएर भनि, “मुसाले घर बोक्नु लागेको छ ।”
सुशान्त फिस्स हाँस्यो ।
“के ना हाँसेको ?” नुमाले सशंकित भएर सोधी । प्रगती राई
सुशान्त बोलेन । बरु केही क्षणपछि गनगन गर्यो, “यो सुकेको थाङ्ग्रा र छोरी सन्तानको भर नपर्नु भन्छन् । दुईचार दिने पाहुना सुखको लागि, के हत्ते गर्नु ?”
सोमा गेटमा ठिङ्ग उभिएकी थिई । कान्छी छोरीलाई देखेर सुशान्तले बोली फेर्यो, “मान्छे त कति दिन बाँचिन्छ, सिमिको कुरा ।”
सुशान्तले घररर घाराहरू तान्दै बारीतिरै लग्यो । सोमा फरक्क फर्किई । घरभित्र पस्दै सोमालाई अह्राइ, “कान्छा तँ आज ठाँक्रा गाड् है ।”
“मुमा नमस्कार !” सरले अविवादन गरे, “म पो आ’छु ।”
सुशान्तले ढाडे बिरालो भनेर त छोरीको सरलाई पो भनेको रहेछ । नुमाले बल्ल बुझेर हाँस्दै नमस्कार फर्काई ।
छोरीका संगतमा आउने पुरुषजति सबैलाई शत्रु देख्नु, ‘मेरी छोरी खोस्न आए’ भनेर डराउनु, तिनीहरूमाथि झम्टिन खोज्नुजस्ता खराब बानी सुशान्तको मात्र हो कि अरुको पनि हुन्छ कुन्नि ? नुमाले मनमनमा सोचीे । पतिको यस्तो बानी जति गर्दा पनि छुटाउन नसकेर ऊ आजित थिई ।
सुशान्तले बाथरुम पसेर ऐना अगाडि बोल्यो, ‘सायद म मानसिक रोगी हुँ । छोरीका सबै पितालाई यस्तो हुँदैन होला ।’
मनलाई भुलाउन ऊ घरबाट निस्केर सरासर हिँड्यो । दोबाटोमा पाइला रोकिए । त्यो ‘सर’ आकृति मनमा बेस्सरी बिझाइ नै रह्यो । प्रगती राई
लेखक परिचय
प्रदेश नं.१ साकेला गाउँ पालिकामा जन्मिएकी प्रगति राईका प्रकाशित कृतिहरू कविता संग्रह बादी विज्ञप्ति, उपन्यास लेखककी स्वास्नी, उपन्यास बिर्सिएको मृत्यु र उपन्यास थाङ्ग्रा हुन् । थाङ्ग्रा उनको नयाँ उपन्यास हो ।