री. . . नबिथोलिदेऊ, नबिटोलिदेऊ
मर्यादापूर्ण प्रज्वल्ल अतीत
पराजयमा पनि जीत
नालापानीका युद्धमय स्मृति
कुष्ठित प्राणलाई मेरो
घच्घचाउँछ निरन्तर
नेपालीत्वको जिउँदो अभिमान लिएर
म युद्ध सम्झेर घोरिन्छु जब
वीरहरूका महान् उत्सर्गमा
वीरंगाणहरूका उच्च आत्म – वलिदान
युग – युगान्तर
जाज्वल्य रहने प्रदीप्त आदर्श
देश – प्रेमको विशुद्ध दृष्टान्त
वारत्वपूर्ण इतिहास
स्वत्वको अपूर्व समर्पण
स्वर्णिम र स्मृतिपूर्ण अध्याय एक
अनि – निस्तब्ध खलंगाभित्र
युद्धरत नालापानीको
मृत्युशैय्यामा अन्तम
मर्यादा देशको अंगालेर
रगतका ताता भलमा
विह्वल बनेर छटपटाइरहेथे
मृत्युसँग तर
रोएका थिएनन् ती लत्रिदिएर
स्वत्वको उच्च अभिमानलाई
मृत्युले निलेको थिएन
प्राणोत्सर्गलेनै देशको
अखण्ड स्वतन्त्रता बचाउने
थिए अविस्मृत चाहाना
समरांगणको मृत्युलाई
परम सौभाग्य को
महान् स्वागत जनाएका थिए तिनले
गौरवपूर्ण समाप्तिलाई जीवनको
रणको अभिन्नदन जनाएका थिए तिनले
तिनैको युद्ध थियो त्यो
आत्म – प्रतिष्ठाको युद्ध
तिम्रै माटाको – मुटुको
अगात ममता बोलेको युद्ध
आफ्नै युद्ध थियो त्यो
जीउँदो बलभद्रले
छातीमा नेपाल
बोकेर लडेको गौरवपूर्ण
युद्ध थियो त्यो
स्वाभिमानको युद्ध
आत्म – प्रतिष्ठाको युद्ध
आमाहरूले बालखलाई
दुध चुसाउन छोडेर
शत्रुमाथि अाघात खसाउन
सुरिएका एउटा विचित्र
युद्ध थियो त्यो
नारीका महान् उत्सर्गले
थियो स्वर्णिम अंकित
मर्यादाशालीको एेतिहासिक वैभव तिम्रो
युद्ध – प्रांगण बीच
वीर पतिको अवसानमा
अश्रुमय आँखाहरूमा
वियोग – विह्वलता थिएन किञ्चित्
माथाका सिन्दूर पनछिंदा
छातीका पोते चुडिंदा
हातका चुराहरू फुट्दा
उद्विग्न बनेर छाती पिटीपिटी
रोएर शत्रुलाई हँसाएनन् तिनले
रूदनमय तीव्र आर्तनादले युद्धलाई
विह्वल आँशुमा डुबाएनन् तिनले
बरू मुटुको पीडापूर्ण भक्कानो
मुटुमै बाँधी राखे
सहिष्णुता युद्धको बोकेर
जीउँदो आदर्श उज्ज्वल उभाइदिए
रणभूमिको विध्ंवसता बीच
पूजामथ स्मृति आजका तिनका
हृदसको आलोक बन्छ हाम्रो
ती अविस्मृत अवशेषहरू
विषादयुक्त हाम्रो यो वर्त्तमान
थकित भइसकेको
विकराल युद्ध बोकेर
जीर्णप्राय : अस्तित्व हाम्रो
श्रद्धाले निहुरिन्छ आफै
भक्तिले ब्यूँझिन्छ अझै
अभिमान जन्माएर छातीमा
हेर्छ इतिहासको चिर उज्ज्वल अध्यायलाई
अवच्छिन्न प्रहारहरूका बीच
तोपको मोहरीतिर छाती फर्काएर
मृत्युको हाँक स्वीकार गरे
शक्ति – सत्ताको सम्पन्नतालाई
नांगो खुकुरीको धाकले
विसर्जन माटोको निम्ति थियो
उत्सर्ग हिमालको निम्ति थियो
वलिगान तिम्रै जन्म – भूमि
नेपालके निम्ति थियो
बलभद्रले निर्भयी गोरखालीको निम्ति
गर्विला स्वप्नहरू बोकेर
नेपालीको स्वत्वको सपना वोकेर
गौरवको सुनौलो प्रतिष्ठा देशको लिएर
लडोको स्मरणीय युद्ध थियो त्यो
रक्तपूर्ण जाज्वल्य समर्पणले
पारेर इतिहास आलोकित
अतीतको अभिमानी उज्यालो
हाम्रो अशक्त वर्त्तमानलाई ताप्न दिए
बोकेर छातीमा गर्वमय विगत
हामी रगत – रगतको
तातो – ताता परम्पराले
जिन्दगीको विध्वस्त वर्त्तमानलाई हाम्रो
रंगाईरहेछौं, उचालिरहेछौं
धमिला अस्तित्वमा
कुत्सा कुण्ठाहरूमा
पूर्व गौरवका
सबल आभासहरू समेटेर
हो वीर अमरसिंहको
हिमाञ्चलको अपूर्व सपनाले
एक स्वतन्त्र विपनाको
हिमाली उज्यालो पाएन
युग – स्थितिको कुठाराघात
सहनुपर्यो निर्धा समयको
अमरसिंहको हृदयमा
बसेको स्वभिमानी नेपालले
थुम्का – थुम्का उत्तरको
ध्वजा विजयको उन्मुक्त पवनमा
फ्रफराइरहेको नेपाली गर्वले
अमूर्त सपनाहरूलाई आफ्ना
चम्किला निर्भयी
आँखा – आँखामा बोकेर
सतलज पारीसम्म पुर्याएका थिए दक्षिणमा
पोतिएका खुँडा रगतले
पखालेको थिए अघिनै
पूर्व रण – प्रांगणमा
टिस्टासम्म आएर वीरहरू
साकार गराउन विशाल सपना
आह्वान गरेर
वीर सपूतहरूलाई जन्मभूमिको
युद्धको समर्पणपूर्ण
निमन्त्रण बोकेर अमरसिंहले
हिमाञ्चलको सपना, हिमाञ्चलको ललकार
मुटुमा रोपेर अमरसिंहले
जातित्वको सपना – विपनाहरू भिजेका
रगत – रगतको आह्वान र आहुति बोकेर वीरले
सेताम्मे फुलेका सत्तर वर्षीय
बूढा भक्ति थापा
अमरसिंहका अमूर्त आकांक्षालाई
यौवनमय परिणति दिन
युवक बनेर उभिए
युद्ध – प्रांगणमा
उत्तेजना युवकको बोकेर
कोठाको अँध्यारो एकाकी
रोगी मृत्यु, पीडापूर्ण समाप्ति
मरण – शैय्यामा घिट्घिटो लिएर
शमशानको शून्यता बोकेर कुर्न चाहेनन्
लासलाई आफ्नै रङ्न चाहेनन्
जीवन – अवशेषको
अल्छे उपस्थिति डाकेर
तुलसी जलको घुट्काहरूले
गीताका कर्मयोगका वाणीहरूले
अल्छे समाप्तिपछिको
कल्पानतीत स्वर्गलाई
उज्यालो पार्न झिलिमिलि
विश्वास र आस्थाहरू
चल्मलाएनन् किञ्चित तिनका
“जन्मभूमिश्चय स्वर्गदपि गरियसी….
माटोको पुकार
छातीमा भिरेको थिए भक्ति थापाले
युद्धको ललकार
मुटुमा बेह्वेका थिए अमरसिंहले
देश -प्रेम आँखा -आँखामा
प्रज्वल्लित पारेको थिए तिनले
अन्त्यमा मृत्यु दिए युद्धलाई
निदाइदिए निर्धक्क अनि
मलाउ किल्ला मन्तिरको समाधिमा
नेपाली माटोमा
नेपाली मुटुको
रगत अर्पेर युद्धलाई
इतिहासको गरिमा माथि उचालिदिए
बलिया नेपाली काँध हालेर
वीर याद्धाहरूको
वीर योद्धाहरूले
युद्ध तिम्रै थियो त्यो
तिम्रो माटोको आकांक्षा बोलेको युद्ध
तिम्रै धर्तीको प्रत्याशा ब्यूँझेको युद्ध
तिम्रै बलिदानको रगत मागिरहेको युद्ध
तिम्रौ गौरवको तिम्रै स्वाधीन युद्ध
कोलहलमय समरांगणमा
डाँडा – काँडा वन – पर्वतहरूमा
हिमाच्छादित पहाडहरूमा
मरूभूमिको उतप्त रण – प्रांगणमा
तिमीले आफूभित्रको
वीर अमरसिंहलाई चिनेनौं
वीर भक्ति थापालाई नै देख्नसक्यौ
नाला पानीका वलभद्रलाई
संग्रामको सपनामा
पीएनौ कहिल्यै कदाचित्
किनभने युद्ध त्यो
थिएन आफ्नै स्वाधीन युद्ध तिम्रो
तिम्रै आकांक्षाको युद्ध थिएन त्यो
तिम्रै अनागत सन्ततिका निम्ति
गरिएको भीषण धावा थिएन त्यो
जन्मभूमिको लाज ढाक्न
बिथोलिएका आँखा
नियास्रा आँशुहरू पुछ्न
सीमा – साँधका निम्ति आफ्नै
लडेको मर्यादापूर्ण युद्ध थिएन त्यो
स्वअस्तित्वको युद्ध थिएन त्यो
लडी मात्र दिनु थियो वहाँ
अर्पेर आफूलाई स्वत्व गुमाउनु थियो
युद्ध तिम्रो नहुँदा – हुँदै पनि
योद्धा युद्धभूमिको बनेर
बीसौं शदीको उपेक्षा
दासत्वको सहनु थियो
वीरत्वको र समर्पणको
जाज्वल्य अज्ञात संस्कारहरू
पिढीपछिका पिढीबाट तिमीले
थाप्दै आएको मात्र थियौ
परम्पराले युद्धको विकरालतातिर
घचेट्दै ल्याएको थियो
युद्ध इतिहासको अनुप्रेरणा
युद्ध नशा नशाको अथाह संकेत
युद्ध एक घातक परम्परा
दासत्वपूर्ण वर्त्तमानलाई तिम्रो
मुटुमा उद्धिग्नता लिएर सोध्छु
छातीमा विक्षोभ बोकेर सोध्छु
सन्तान हुननै जानेनौ कि कदाचित्
वीर वलभद्र र अमरसिंहको ?
हो इतिहासका पाना पल्टाएर
स्व अस्तित्वका गौरवशाली संघर्षहरू
हेरेनौ कहिल्यै तिमीले
देखेनौ कहिल्यै तिमीले
अहो! तिमी अपरिचित आफ्नै गौरवसित
अहो, तिमी अनभिज्ञ अस्तित्वको इतिहाससँग
वीर – वीरंगणाहरूका आफ्ना
सहासिला कथाहरू
सुनेनौ कहिल्यै तिमीले
इतिहास कहिल्यै जान्दैनौ
इतिहास तिमी चिन्दैनौ
घटनाहरूले इतिहासको तर
तिम्रो समर्पणपूर्ण अतीतलाई चिन्दै आएको छु
तिम्रो गौरवपूर्ण अस्तित्वलाई चिन्दै आएको छ
वीर पूर्वजहरू नचिनेर तिमीले के गर्नु
तिमीले त तिम्रा
गोरखाली मुटुमा
पिढी – पिढीका
अज्ञात संस्कारहरू सितै
पूर्वजलाई थुनिरहेकाछौ
युद्ध वोकेरै प्राणपनमा
हिंडीरहेछौ यसैले तिमी
दापको खुकुरीमा
खिया पर्दै जानु
शरीर जीर्णताले मक्किंदै रहोस्
स्व – अस्तित्व र पर अस्तित्वका
गुजुल्टिएका व्याख्याहरू
तिमीले बुझ्दैनौ, युद्ध बोकेरै हिंडीरहेछौ यसैले अगमसिंह गिरी
रणभूमिका हे वीर योद्धा
तिमीले स्वप्नको विचूर्णताले भरिएको
तिम्रो आकांक्षाको हावाले रंगिएको
सिंगो अतीतलाई आफ्नो हेर्यौ भने
अभिमान सबै लंगडा
गौरव जति खोरण्डा पाउने छौ
सुगौली – सन्धिको पर्खाल – मन्तिर अगमसिंह गिरी
गौरव र अभिमानको
लास भेट्टाउनेछौ अनि
इतिहासको विक्षोभपूर्ण अध्याय
कलंकको एउटा मार्मिक युद्ध – कथा
युगको विषादयुक्त युद्ध – कथा
माटाहरूले बोलिदिनेछन्
सुगौलीका हावाका सुसेलीहरूले भनिदिनेछन्
युद्धले थकित तिम्रा क्लान्त पथहरूमा
टुक्रिएका हजार आकांक्षा
नांगिएका लाखन अभिलाषा
युग – विषमताको निराशा
खिजाउन तिमालाई ब्यूँझनेछन् . . .
क्रमश. . .अगमसिंह गिरी
लेखक परिचय
नेपाली साहित्यका धरोहर स्व. अगमसिंह गिरी (सन् १९२७- १९७१)को जन्म दार्जीलिङमा भएको थियो । नेपाली मुलका भारतीय साहित्यकार उनी स्वच्छन्दतावादी र जीवनवादी कविका रूपमा चिनिन्छन् । उनका छान्दिक र गद्य दुवै किसिमका कविताहरूमा अलंकार, बिम्ब र प्रतीकको प्रयोगबाट मानवीय संवेदनाको उच्चतम प्रस्तुती भएको पाइन्छ । उनका प्रकाशित कृतिहरूमा, याद(सन् १९५५), आंसु(सन् १९६८) र युद्ध र योद्धा(वि.सं. २०२५) खण्डकाव्य हुन् भने आत्मव्यथा(वि.सं. २०१६), जीवन गीत (वि.सं. २०२४) र जलेको प्रतिबिम्ब - रोएको प्रतिध्वनि (वि.सं. २०३६) कविता संग्रह रहेका छन् । यसका साथै फुटकर रूपमा उनका अन्य कविता, गीत, निबन्ध, नाटक, समालोचना आदि विभिन्न सञ्चार माध्यमहरूमार्फत प्रकाशित/प्रसारित भएका पाइन्छन् । कवि गिरी रत्नश्री स्वर्णपदक, भानु पुरस्कारका साथै तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको स्वर्णपदकबाट विभूषित छन् ।