बच्चेको घरमा चिन्ता थियो ।
गजे धामी थाल ठटाएर गाउँलेहरूको जोखाना हेरिरहेको थियो । स्याउला, बाँसका सिक्रा, रँगिन टालाहरूको ध्वजाहरूले थान बनाएको थियो । एक छेउमा सानो बाँसे मान्द्रोको मोहोलोमा स–साना केही माटाका मूर्तिहरूमा सिन्दूर रँगाइएका थिए । गोमा, इष्टकुमारी, जर्कटे साइँला, वरबोटे आफ्नो जोखाना हेराउने पालो कुरिरहेका थिए । धामीले बाँसको छेस्कोले थाललाई ताल फेरीफेरी पिटिरहेको थियो । उसका तिघ्राहरू कमाउदा जीउमा भिरेका घण्टीहरू बज्थे । छेउमा धुपौरेले धुप लगाउने, चल्ला निमोठ्ने वा भक्तहरूले नवुझेका कर्तव्यहरू वुझाइदिने गर्थ्यो ।
“हे…… हे चरी झैं उडिहिँड्ने तिमी शिकारी….. लौ आज यो बाला मनुवा …बालकै वुझिकन्…।”
“लौ परमेश्वर !! दुधको दुध, पानीको पानी छुट्टाई दिनु पर्यो !” अबोध भक्तहरूबाट सामूहिक सभक्ति विश्वास प्रकट हुन्थ्यो । हरिमायाले भान्साघरबाट एउटा गिलासमा घरेलु रक्सी ल्याएर इष्टकुमारीलाई खुसुक्क दिइन् । इष्टकुमारीले यताउता हेरिन् र एकैसासमा घुट्काएर मुख विगारिन् । “मिठ्ठो रहेछ । साह्रै चिसो लाग्यो । अर्को एक गिलास पनि ल्याउन साइँली ।” त्यहीबेला अर्को हल्लाले सवैको ध्यान त्यतै तान्यो । त्यो धामीकै एउटा धुपौरे साने थियो । रक्सी वेस्कन पिएछ । लरबाउदै थियो । हल्ला गरेर वखेडा गर्न थाल्यो । तीन जनाले समातेर एकातिर लगे । फुत्केर आएको थियो । फेरि लगे ।
“के साह्रो धोकेको ?” जसुले भनिन् ।
महिलाहरूको खासकखुसुक सुरु भयो ।
“स्वास्नी पनि उस्तै रहिछ । समाएर लानु नी ।”
“थला बस्ने गरी पिटेपछि कसरी लाने ?”
इष्टकुमारी उठिन् – “ल मेरो जोखाना सकियो । भोलि सबेरै हिँड्नुछ । म हिँडे । ए बीरे भाइ, मलाई आँगनसम्म पुर्याइदेऊ त ।”
बीरे गुन्द्रीमा झकाउँदै थियो । अल्छी मानेर उठ्यो । अनि इष्टकुमारीको पछि लुरुलुरु हिड्र्यो । पानी पर्ला झै थियो ।
“यसपाली त खेती आफै उठायौ, हगि ?”
“के गर्नु भाउजु, गर्नै पर्र्यो । नानीचाहिँ खोई ? ”
“दिउँसो मलाई लिन भाइ आएको थियो, उसको मामालाई पछ्याई ।”
आँगन आइपुग्यो । पश्चिमतर्फको कोठामा बुढेस सासुससुरा सुत्दथे । खोकी सुनिरहन्थ्यो । पोहोरदेखि त यो गाउँमा बत्ती वलेको थियो । इष्टकुमारीले वाहिरको बत्ती वालिन् ।
दुवैजना तर्सिए । इष्टकुमारीको ढोकानेर कोही लम्पसार थियो । वीरे विस्तारै गएर नियाल्यो ।
“ए सानेलाई वजिया पो रहेछ ।”
दुवैले सानेलाई झकझकाए । साने फतफतायो मात्र । वरु उठ्नु भन्दा खुट्टा पो तन्कायो । वरिपरी घरेलु रक्सीको गन्ध व्याप्त थियो । सानेलाई नाघेर इष्टकुमारीले आफ्नो ढोकाको चाबी खोलिन् । बत्ती बल्यो ।
“भाइ, यहीँ सुते भयो । अव रात कति नै वाँकी छ र ?”
वीरेका घरमा पाहुनाहरू आएका थिए । ऊ चिन्ताघरमा नै रात कटाउने विचारमा थियो । आँखाहरू भतभति पोलिरहेका थिए । उसले मनासिब संझियो र यतै सुत्ने विचार गर्यो ।
सानो कोठामा दुईवटा खाटहरू टाउका एकातिर पारेर राखिएका थिए । ओछ्यानमाथि हातले वुनेका पोशहरूले ढाकिएर सिरकहरू छोपिएका थिए । सानोचाहिँ खाटमा वीरे अप्ठ्यारो मान्दै पल्टियो । इष्टकुमारीले ढोका बन्द गरेर वत्ती निभाई अनि ठूलो खाटमा पल्टीइन् ।
“साला राँडी, तँ अहिले निस्किहाल । तेरो थुतुनो अगुल्टाले झोसिन भने म पनि साने होइन ।”
साने घरैमा छु भनेर निन्द्रामा स्वास्नीलाई गाली गर्दैथियो ।
“यसले झकाउँन नदिने भयो ।” इष्टकुमारीले कोल्टे फेरिन् ।
“भाउजू, दाइ विदेशबाट कहिले आउनुहुने ?”
“त्यसको मलाई केही मतलब छैन । त्यहाँ कसको जार भएर बसेको छ अरे । म पनि हेरौँला ।”
वेलावेलामा साने फतफताएकोले हो वा नौलो ओछ्यान भएकोले हो, वीरेलाई निन्द्रा नै लागेन । इष्टकुमारीले वीरेको टाउको तिर खुट्टा परेकोले सिरानी फर्काएर सुतिन् । उनका कपाल झन वीरका अनुहारमा पर्यो । वीरेले कपालहरू विस्तारै विचार्यो । पाताल, लामा कपालहरू स्याम्पूको गन्ध थियो । वीरेले हातले कपाललाई पन्छाउन चाह्यो । पहिला यती लामा कपालहरू कहिल्यै छोएको थिएन । अप्ठ्यारो लाग्यो ।
“भाउजूका कपाल कति लामा ?”
“ए ! कहाँ हुनु नी । स्याहार्न फुर्सदै हुँदैन । त्यसमाथि झरेर झरेर ।”
वीरेलाई कपाल पन्छाउन मन लागेन । थाकेकोले होला इष्टकुमारीले पनि जाँघर देखाइन । वरु झकाउँदै पुराना सपनाहरू पो आउन थाले ।
“भाउजूका निधार कति चिसो ?”
“खै तिम्रो ? ” इष्टकुमारीले पनि हात फर्काइन्,“अपुई, कति तातो ?”
वीरेले निधार अनि पछि डराउदै गालामा हात पुर्यायो । इष्टकुमारी साँच्चै थाकेकीले केही भन्न सकिनन् । कहिलेकाही साने फतफताएको बाहेक चिन्ताघरको थाल सुनिन्थ्यो । अरु चकमन्न थियो । वीरे सैलानी भयो । चिसो तातो खोज्न जाँघर देखाउन थाल्यो । ऊ कति खस्रो र इष्टकुमारी कती नरम छे भन्ने थाहा पायो । इष्टकुमारीले चाहिँ अल्छी मानिरहीन् ।
“ढोका खोल् ।” सानेले भित्तामा लात्ती बजार्यो । वीरे र इष्टकुमारी निदाएकै थिएनन् ।
“ढोका खोल सुन्तली ।”
वीरे दिक्दारी मानेर उठ्यो । इष्टकुमारीले वत्ती बालिन् । छरिएका कपालहरू मिलाइन् । वीरेले ढोका खोल्यो ।
“भाइ, यसलाई चिन्ताघरमा पुर्याऊ त ।”
“उठ् ! साने, ए साने । लौ हिँड ।” वीरेले कठालो सामात्यो । धुपौरे साने फेरि पस्रिउला झैं गर्दै थियो तर वीरेले लर्छादै हिँडायो । इष्टकुमारीले झ्याल खोलिन् । टाउको झ्याल बाहिर निकालेर भनिन् – “भाइ, चाँडै आइहाल है । मलाई एक्लै डर लाग्छ ।”
लेखक परिचय
साहित्यमा छोटो कथा लेख्ने सुरेन्द्र कुमार राई २४ वर्षदेखि सामाजिक यथार्थमा टेकेर कथाहरू लेख्दैछन् । इलाममा भाषा प्रशिक्षक तथा होटल व्यवसायी रहेका राई अहिले "इलाम साहित्य समाज”सँग आबद्ध रहेका छन् ।
हनहा