हर्क बहादुर लामगादे ‘रोहित’
समयानुसार मान्छेको विचार, परिकल्पना, समाज, साहित्य र परम्परा परिवर्तन हुँदै जान्छ । यथार्थमा यही सृष्टिको नियम हो । हाम्रो सनातन धर्मको साहित्य वेद हो र पवित्र साहित्य वेदमा रचिएका ज्ञान अति उदारभाव औ निष्कपट हुनाले प्राचीन समाज लाभान्वित थियो जहाँ प्रत्येक मानिस जीवनमूल्यलाई सहज तरिकाले व्यतीत गर्थे । यही सनातन एवं प्राकृतिक परम्परालाई हाम्रा पुर्खाले अनुसरण गर्दै गए । उहाँहरूको हृदयबाट जे उदित हुँदै गयो त्यो उपनिषद् भयो । समाजको परिक्रमा अघि बढ्दै गयो र मान्छेहरूका विचारमा, रीति-नीतिमा परिवर्तन हुँदै गयो । आफ्नो रीति-नीति, नियमलाई बाँधेर अनुशासित राख्न नवीन साहित्य र संहिताको जन्म भयो । वेदपश्चात् रामायण र महाभारत साहित्यको मुख्य अङ्ग बन्यो । रामायण र महाभारतको आंकलन गर्दा, यी दुई कालमा धैरे अन्तर पाईन्छ । रामायणमा जहाँ दाजु-भाइमा भएको भातृप्रेमले राजसिंहासनमा मोह आएन भने त्यही महाभारतमा सिंहासनका निम्ति दाजु-भाइको ईर्ष्या, कलहले गर्दा महाभारतजस्तो विध्वंसकारी युद्ध हुन पुग्यो ।
साहित्य परिवर्तनको कस्तो अनौँठो महिमा छ- महाभारत उपरान्त बौद्ध धर्मले समाजमा नयाँ विचार लिएर आयो। यी वेद र ब्राम्हणका विरोधी थिए। बौद्ध उपरान्त एक जमानामा पुराण साहित्यको प्रचलन आरम्भ भयो । पुराण, उपपुराण पूर्ण हुन चार वर्षजति लाग्यो । वर्तमानमा हामीले जे रीति-नीति अपनाएका छौँ, यो सबै पुराणको देन हो जो शुद्ध वैदिक नियम होइन । पुराणले समाजमा परिवर्तनको हुरी चलाउनाले मान्छेहरूमा मत-मतान्तरको जन्म भयो । समाजमा असन्तोषले ठाउँ लिन लाग्यो, समाज छिन्न-भिन्न हुन लाग्यो । परिणामत: काली, देवी-देवता, धामी, झाँक्री, मसानजस्तो पूजनको प्रचलन आरम्भ भयो । पुराण र भूत-पिशाचको होडले समाजलाई क्षतिग्रस्त गर्न लाग्यो । समाजका कथित उच्च कोटिका मान्छेले आफ्नै स्वार्थ हेरेर पुराण, साहित्यमा फेर-बदल गर्नाले समाजलाई जातिवाद र हिंसाले घेर्न लाग्यो । अनेक प्रकारका सामाजिक अन्धविश्वासको सूत्रपात भयो । हिन्दू धर्म र साहित्य शाखामा बाँडिन गयो । यस्तै परिवर्तनले मान्छे हिंसा र घृणाको कुवामा पस्तै गए ।
समाज परिवर्तनको यो लामो बाटोमा कति साहित्य, परम्परा र रीति-नीति फेरिए जसले समाजलाई लाभान्वित गराउनको साथै समाजलाई सर्प झैँ डसे पनि । वर्तमानमा तिनै परम्परा अझै देख्न पाइन्छ । परम्परा पुर्खाको देन हो, पुर्खाको अनुभव हो जसले बाटो देखाउँछ, गलत गर्नबाट सचेत गराउँछ । परिवर्तनको बाटोमा, समाज, धर्म र साहित्यका प्रतिष्ठित मान्छेले समयको माग अनुसार अनि उनीहरूको आफ्नो स्वार्थ पूर्तिका निम्ति रीति-नीति, नियम बनाउँदै गए । समाजले कर्तव्य सम्झेर धर्मको नाम दिँदै गयो । यस्तै प्रथाले समाजमा, मान्छेमा, जातिवाद, सानो-ठूलो, छुवाछुतजस्तो अन्धविश्वासको स्थान दह्रो हुँदै गयो ।
वर्तमान समाजमा पनि परिवर्तनको हुरी थामिएको छैन । मान्छेका विचार फेरिँदैछन्, सबै शिक्षित हुँदैछन् । तर अझै पनि समाजलाई कुपरम्पराले डसिराखेको छ । मुख्य कुराको आंकलन गर्दा छुवाछुतजस्तो चलनले हाम्रो धर्म र संस्कृति, नाशको सीमाछेउमा पुगिसकेको छ । हाम्रा प्राचीन विद्वान एवं पुर्खाले कर्तव्य र योग्यतानुसार मानिसलाई विभाजन गरे । कोही विद्वान थिए- उनीहरूले शिक्षक र ब्राम्हण भएर उद्धारको काम गरे । जो युद्धनीतिमा कुशल थिए तिनीहरूले राज्यको शासन सम्हाल्ने काम गरे, केहीले व्यापार त कसैले विश्वकर्माको कार्य समाजमा सुचारू रूपले गरे । यी सबै एउटै भगवानका सन्तान, एउटै रूखका हाँगा हुन् । तर समाजको स्वार्थी परिर्वतनमा कुप्रथालाई धर्मको नाम दिएर समाजको ठुलो शत्रु र आघात दिने नियम बनाए ।
अझै पनि समाजमा सानो-ठुलो जाति सम्झेर पानी-खाना सानो जातले छोएको नखाने, एकै कुवाको पानी नचल्ने, घरमा पस्न नहुने, मन्दिरमा भगवानको पूजा गर्न नहुने, शास्त्र अध्ययन गर्न नहुने जस्ता नियम जीवित छन् । हामी किन जान्न, बुझ्न असमर्थ भएका छौँ कि यी सब नियम समाज परिवर्तनको अङ्ग हो । हाम्रो हृदय किन यथार्थ जान्नलाई अघि सरेको छैन कि शबरीको जुठो फल पुरूषोत्तम श्रीरामले प्रेमपूर्वक खानुभएको थियो । दासीपुत्र विदुरको घरमा गई श्रीकृष्णले केराका बोक्रा प्रेमपूर्वक खानुभयो । हामी अझै हृदयले किन अन्धा छौँ कि प्राचीन कालमा भगवानको भक्ति गर्न जाति-पातिको नियम थिएन । किन जानेर अबुझ छौँ जब जुत्ता चप्पल सिउने भक्त संत रैदासको नामले उनको अमृतवाणी पालन गर्छौँ । किन हामी जान्न असमर्थ छौँ कि सबै भगवानको सन्तानलाई उहाँको हृदयमा सबैलाई एकै स्थान छ । यस्ता उदाहरण हाम्रो प्रत्येक युग र साहित्यमा भएर पनि किन अन्धविश्वासको जालमा अल्झिराखेका छौ ? के गङ्गा नदी दर्शन एवं स्नान गर्दा कसैलाई दुष्प्रभाव भएको छ ? कुन शास्त्रमा छ कि सानो जातले भक्तिको बाटो लिन सक्दैन ? हामी किन भुल्छौँ कि हामी भिन्न-भिन्न हाँगा भएतापनि जरो त एकै हो ? किन अन्जान बन्छौँ कि भगवान रामले वानर सेनाको सहायता लिनुभयो ? किन बुझ्दैनौँ कि श्रीरामले असुर जातको विभीषणलाई मित्र बनाएर अङ्गालो हाल्नुभएको थियो ? कुरा विचार गर्न योग्य छ र हामीले गर्नुपर्छ ।
समाजमा यो चलनले परिणाम त कथित सानो जातलाई सायद मनको पीडा मात्र होला जो उसले भुलिहाल्छ । तर कसैले सोचेको छ यसको परिणाम उहिलेबाट आइराखेको हाम्रो संस्कृतिलाई कति क्षति पुर्याउँदैछ ?समाजमा मान-सम्मान, प्रतिष्ठा नपाएर सानो वर्गका कति हाम्रै दाजुभाइ विदेशी धर्मको शरणमा गइराखेका छन् । कति हाम्रै सीधा, सोझा दाजुभाइले आफ्नो धर्ममा ज्ञान र सम्मानको अभावका कारण धर्म त्यागिरहेका छन्। हाम्रो धर्मको दृष्टिमा यो कति दुखद कुरा हो । यस्तै कुप्रथाको कारणले हाम्रो शान्त समाजमा भिन्न धर्मको आगमन भएर अशान्ति छाइराखेको छ । यो पनि मन पोल्ने कुरा हो कि हामी भिन्न धर्मको मानिसलाई अङ्गालो हाल्न सक्छौँ, यतिको उदार भाव राख्छौँ तर आफ्नै दाजुभाइलाई छुन धर्मको विरूद्ध गएको सम्झिन्छौँ । कति पीडाको कुरा हो कि हाम्रो समाजमा यस्तो नियम बाँचिरहेको छ । आज सम्पूर्ण विश्वको सोच एवं कार्यशैलीमा नवीनता वृद्धि हुँदैछ । मानिस चन्द्रमामा घर बसाउन पुगिसके तर हामी त्यही सानो-ठुलोजस्ता कुराको उल्झनमा अल्झिराखेका छौँ । समाजमा यस्तो नियमको पालन धर्म सम्झेर गरेको देख्दा कष्ट लाग्छ । भगवान पनि कति दुखी होलान् कि उनकै सन्तानको स्वार्थी कर्मले धर्म नष्ट-भ्रष्ट हुन पुगेको छ ।
यथार्थमा हामी सब भगवानका एक सन्तान हौँ । सबैजना प्रभुको प्रेमका पात्र हौँ । हाम्रो योग्यतानुसार कर्तव्य भिन्न छ । हामीले सत्य बुझौँ र आफ्नो दाजु-भाइलाई साथ-साथ लिएर अगाडि बढौँ । यस्ता कुप्रथालाई छोडेर धर्मको, संस्कृतिको रक्षा गरौँ । एउटा नवीन समाजको निर्माण गरौँ जहाँ प्रेम र सत्यको बास होस्, जहाँ फूलको अलग-अलग सुगन्ध र रङ भएतापनि एउटै बगैँचाको सम्झिँऊ र मिलेर भगवानको चरणमा अर्पण हौँ । यही दैवको ईच्छा हो । यही पीडित वर्गको चाहना हो। भविष्यमा कसैले यस्तो लेख लेख्ने आवश्यकता नपरोस् । समयले एउटा स्वच्छ, सत्य, समानतामुखी र निर्मल समाजको माग गरेको छ । सबैजनाले आफूले सकेसम्मको योगदान दिऔँ । हर्क बहादुर लामगादे ‘रोहित’
लेखक परिचय
भारत मणिपुरका हर्क बहादुर लामगादे ‘रोहित’ भारत सरकारको केन्द्रिय कानुन एवम् न्याय मन्त्रालयमा कार्यरत छन् । विभिन्न अनलाइन पत्रपत्रिकामा आफ्ना रचनाहरू प्रकाशित गरिसकेका उनी त्रिगुण फाउन्डेसनका अध्यक्ष, सुर्या फाउन्डेसनका सदस्य रहनुका साथै राष्ट्रिय स्वयंसेवक सङ्घसँग पनि आबद्ध छन् । उनले हिन्दी दिवस २०२०को अवसरमा पूर्वोत्तर हिन्दी अकादमीद्वारा आयोजित आलेख प्रतियोगितामा द्वितीय स्थान हासिल गरेका छन् ।
Wow great work mama