“मैले मेरो जीवन शुरू गरेँ जसरी कि यसलाई शेष गर्नेछु : किताबहरूको माझमा”, साहित्यलाई आफ्नो चरम उत्कण्ठा र लालसा बनाउने प्रसिद्ध फ्रेञ्च नाट्यकार, राजनैतिक सैद्धान्तिक, औपन्यासिक, अस्तित्ववादी दार्शनिक जाँ पल सार्त्र (Jean-Paul Sartre) आफ्नो भर्खरै प्रकाशित आत्मकथा शब्दहरू (Les Mots) -मा लेख्छन् । स्वतन्त्रताको भावनाले पूरा, अनि सत्यको अन्वेषणमा निरन्तर संघर्षशील तिनको लेखाइले हाम्रो युगलाई बडो गहिरो प्रभाव पारेको हुनाले स्वेडिश अकादमीले सन् १९६४- को साहित्य नोबल पुरस्कार सार्त्रलाई प्रदान गर्ने घोषणा गर्यो । त्रिपन्न हजार डलरको नोबल पुरस्कार तिनले ग्रहण गरेनन्, कारण “राजनीतिक, सामाजिक, साहित्यिक कुनै पनि क्षेत्रमा आफ्नो विशिष्ट दृष्टिकोण राख्ने एउटा लेखक सधैँ आफ्नो निजी माध्यम वा लेखाइको माध्यमबाट मात्र अघि आउनुपर्छ । उसलाई दिइएका बाँकी समस्त आदर, सम्मानले ऊ बाहिरी दबाउहरूद्वारा पनि प्रभावित हुनसक्दो रहेछ भन्ने प्रमाण दिन्छ । यो कहिले वाञ्छनीय हुन सक्दैन । मैले जाँ पल सार्त्र अथवा जाँ पल सात्र, नोबल पुरस्कार विजेता
भनेर सही गर्नु एउटै कुरो होइन ।”
उपन्यासकार आइरिश मुर्डोच भन्छन्, “जाँ पल सार्त्रलाई बुझ्नु वर्तमानकालको बारेमा केही महत्त्वपूर्ण कुरा बुझ्नु हो ।” कुनै युगमा सिर्जना गरिएको कलामा त्यही युगको मान्छेको विम्ब प्रतिलक्षित हुन्छ । मानव आत्माको गम्भीरताबाट प्रेरित हुने आधुनिक साहित्यकार वा कलाशिल्पीले हाम्रै युगलाई दर्शाउँछ साहित्य र कलामा । साँचो साहित्यिक कृतिमा गन्न सकिने धेरजसो आधुनिक उपन्यासहरूमा हामी देख्छौँ पात्रको विशेषता हराउँदै गइरहेको । अचेलको पात्र विशेष कोही नभई सबैजना हुनसक्छ- ‘every man’ तर ‘nobody’ । त्यहाँ हामी पाउँछौँ मान्छेलाई नङ्ग्याएर टुक्र्याएको हुन्छ, अनि कहिले ता हामी एउटा प्रगाढ शून्यको मात्र दर्शन पाउँछौँ । आधुनिक चित्रकलामा चित्रको आकार र बस्तुलाई बिगारेर नाङ्गो, शुष्क, क्लिष्ट र अप्रत्यक्ष बनाइएको हुन्छ : नयाँ नयाँ आकृतिहरू जो वस्तु निरपेक्ष भई सतह र समयलाई चेप्ट्याउँछन् । आजको प्रत्येक कला सिर्जनामा, चाहे त्यो उपन्यास होस् वा कथा, कविता, संगीत, चित्र वा मूर्तिकला होस्, एउटा इमानदार र साहसी दृष्टिभंगीको उपस्थिति पाउँछौँ । यी बौद्धिक अभिव्यक्तिहरूले आफ्नो उद्गम कुन दार्शनिक घडेरी हो हामीलाई देखाउँ ।
यो आणविक युगमा जतिको शायद अघि कहिल्यै मान्छे सचेतन भएको थिएन । आज आफ्नो ऐतिहासिक अस्तित्वभित्र, आफ्ना उपलब्धिहरू माझ मान्छे के कस्तो छ ? “मान्छे आफूबाहेक अरू कसैमा भर पर्न सक्दैनः ऊ एक्लो छ, असीम उत्तरदायित्वहरूको माझमा कसैले यो विश्वमा एक्लै परित्याग गरिदिएको, आफूले जुन लक्ष्य निधो गर्छ त्योबाहेक अरू लक्ष्यविहीन, संसारमा आफैले स्थिर गरेको गम्य स्थानबाहेक अरू उद्देश्यविहीन ।” सार्त्रले निर्धारित गरेको अस्तित्ववादको मूल यही हो । देकार्त (१५६६-१६५०)-ले “म सोच्छु, त्यसैले म छु” भनेर मान्छेलाई बौद्धिक प्राणी बनाएर पाश्चात्य दर्शन इतिहासको आधुनिक युग प्रारम्भ गरे भनिन्छ । तर तिनको दर्शनले ‘सम्पूर्ण मान्छे’-को चित्र दर्शाउँदैन । आधुनिक मान्छेले आफैँलाई बौद्धिक सचेतनाले काबूमा ल्याउन नसक्ने संकटग्रस्त जीव भन्ने बुझेको छ । विश्वास र बुद्धिको माझमा एउटा चिरन्तन पार्थक्य हुन्छ भन्ने आधारमाथि आफ्नो दर्शन बनाएर अस्तित्ववाद आरम्भ गर्ने दार्शनिक हुन् डेन्मार्कका सोरेन किर्केगार्द (१८१३-५५) । पहिलो विश्वयुद्धपछि किर्केगार्दका विचारहरूलाई अझ विकसित र प्रणालीबद्ध बनाए जर्मन दार्शनिकहरू कार्ल जास्पर्स र मार्टिन हिडेगरले । १९३० तिर किर्केगार्दले फ्रान्सका बुद्धिवादीहरूमाथि ठूलो प्रभाव पारिसकेका थिए । दोस्रो महायुद्धपछि मान्छेको अवस्था अझ संकटग्रस्त भएपछि अस्तित्ववादको प्रमुख प्रणेता भए जाँ पल सार्त्र । सार्त्रको जन्म भएको थियो २१ जून १९०५-को दिन पेरिसमा । बाबुको मृत्यु सार्त्र सानै हुँदा भएकोले आमाको देखरेखमा र बाजे(आमाको बाबु चार्ल्स श्वित्जर, जो विश्व प्रसिद्ध अल्बर्ट श्वित्जरका काका थिए)-को लाडप्यारमा हुर्किए । चार वर्षको उमेरमा सार्त्रले आफैँ पढ्न सिके अनि कितापमै एउटा स्वतन्त्रता पाए : “किताप नै मेरो चरा थियो, किताप नै गुँड; किताप नै मेरो पाल्तु जनावर, मेरो भण्डार, मेरो बस्ती थियो अनि पुस्तकालय ऐनामा प्रतिविम्बित संसार थियो ।” आठ वर्षको उमेरदेखि तिनले लेख्न थाले । स्कूल भर्ना भए दश वर्ष पुगेर मात्र । दर्शनशास्त्रको स्नातक परीक्षामा पहिले अनुत्तीर्ण भए, दोस्रो वर्ष प्रथम । द्वितीय भएकी थिइन् सिमोन द’ बोउवा, सार्त्रको जीवनभरकी साथी ।
सिमोन बोउवाले सार्त्रसँग अविवाहित विवाह गरेकी छन् । तिनी आफैँ पनि एउटा असल अस्तित्ववादी लेखिका हुन् । सार्त्रले सानैदेखि आफ्नो कर्मक्षेत्र छाने : साहित्य । तिनी लेख्छन्, आफ्नो “अस्तित्वको निम्ति क्षमा गरिनलाई ।” कारण अस्तित्व स्पष्ट एवं अपरिहार्य रुपले निरर्थक छ। तिनको प्रथम उपन्यास (१९३८) La Nausee (वमन इच्छा वा रिङ्गटा)-मा सार्त्रले सजीव र निर्जीव दुवैको अस्तित्वको निर्थकता देखाएका छन् । यसको मुख्य पात्र एउटा लेखक रोक्वेन्तिनलाई एउटा विचारले च्याप्दै ल्याउँछ : चीज, वस्तु, घटना- हाम्रा वरिपरिका वस्तुहरू केवल त्यहाँ छन्
ठूला, साना, कडा- तर अर्थविहीन । रोक्वेन्तिन आफ्ना वरपरका वस्तुहरूदेखि छुट्टै, बाहिरिँदै जान्छ । अघि उसले प्रत्येक वस्तुलाई श्रेणी विभाजन गरेर, त्यसको प्रकार निर्देश गर्थ्यो, तर अब उसले आफ्नो आँखाअघि असम्बन्धित चीजहरू रहेको मात्र पाउँछ । त्यति मात्र होइन, रोक्वेन्तिनले पत्ता लाउँछ कि यहाँ घटना भन्ने कुरो पनि हुँदैन रहेछ । कारण घटना भनेको त कथा हो, जुन पछि गएर भन्न सकियोस् वा वर्णन गर्न सकियोस् शुरूदेखि शेषसम्म । एकजनाले एउटा कथा कि भन्न मात्र सक्छ कि बाँच्न (जिउनु) मात्र सक्छ । दुवै सँगसँगै गर्न सक्दैन कारण जहिले म एउटा घटना जिइरहेको हुन्छु त्यो घटनालाई आकार र अर्थ दिने भविष्य त्यहाँ आइपुगेकै हुँदैन । हठात् रोक्वेन्तिनले आविष्कार गर्छ जीवन उसले चाहेको जस्तो हुँदैनः एउटा घटनाले अर्कोलाई अनिवार्य रूपले पछ्याइरहेको लगातार चीज यो होइन कुनै किताबमा पढिने जीवनकथाजस्तो । उसो भए स्पष्ट रूपले एउटा कुरो देखा पर्छ: हाम्रो विगतको अस्तित्व हुँदैन । हामी सबै संदिग्ध र अनिश्चित वा contingent हौँ- पराश्रित अनि फेरि जीवनलाई अर्थ दिन आफ्नै श्रममाथि पनि आश्रित । अन्त्यमा रोक्वेन्तिनले निर्णय गर्छ: यदि उसले केही सृष्टि गर्न सक्यो भने, मानिलिऊँ एउटा उपन्यास, उसको सिर्जनात्मकताको अर्थ हुनेछ प्रतिवद्धता वा (commitment) । यसको अर्थ हुनेछ कार्यव्यस्तता (engagement) । अनि उसको अस्तित्वको पनि अर्थ लाग्नेछ, उसले आफ्नो विगतलाई अरूचि वा घृणाबिना हेर्नसक्नेछ । यसरी शेष हुन्छ सार्त्रको ‘रिङ्गटा’ (La Nausee), रिङ्गटा लाएर ।
पिकासोले एकपल्ट भनेका थिए, “कला सत्यतिर डोर्याउने असत्य हो ।” कलात्मक सिर्जनाले सत्य र मुक्तितिर सार्त्रलाई डोर्यायो त ? सार्त्रले यसको उत्तर पछि-पछिको कृतिमा दिन्छु भनेका थिए । त्यो उत्तर दिन तिनलाई पनि छब्बीस वर्ष La Nausee (१९३६) देखि Les Mots (१९६४) लाग्यो ।
यो छब्बीस वर्षको अवधिभित्र सार्त्रले साहित्य, अर्थ, सत्य र
प्रजातन्त्रलाई जोड्ने कोसिस गरिरहे । तिनको मुख्य दार्शनिक कृति L’Etre et le Neant (भविता र शुन्यता वा Being and Nothingness)-लाई कसैले हेल्चेक्रयाइँ गरिदिन सक्दैन । कारण अस्तित्ववाद सम्बन्धी सार्त्रका स्थापनाहरू यसैमा अभिव्यक्त छन् ।
सार्त्रभन्दा धेरै अघिदेखि दार्शनिकहरूले अस्तित्व (existence) र मूल तत्त्व (essence) सम्बन्धी विचार गरेका हुन् । अस्तित्व माने ‘लगातार भइरहनु होइन तर अक्रियतादेखि उठ्नु हो । यहाँ होऊ मात्रै होइन- केही गर! बाँच! मूल तत्त्व एउटा प्राणी प्रजाति (species) का सदस्यहरू जम्मैमा हुने साधारण प्रकृति हो । विभिन्न प्रकारका अस्तित्ववादीहरू भन्छन् मान्छे बाँचेर आफ्नो अस्तित्वलाई एउटा आकार दिन्छ अनि आफ्नै सचेतन रूचिले अस्तित्वलाई एउटा मूल प्रकृति प्रदान गर्छ । सचेतन रूचि जस्तो कि ह्यामलेटको थियो ‘हुनु कि नहुनु’ (To be or not to be) । सार्त्र भन्छन् मूल तत्त्वभन्दा अस्तित्व अघि आउँछ । अर्थात् मान्छेको तत्त्व, गुण वा धारणालाई पहिले दृष्टिकोणमा राखेर मान्छेको सृष्टि भएको होइन, तर मान्छेको अस्तित्वलाई सामने राखेर धारणाहरू निर्मित भएका हुन् । सचेतन हुनु कुनै कुराको बारेमा चेतनशील हुनु हो; त्यसर्थ चेतनाले त्यो बुझाउँछ अनि आफूलाई अलग पार्छ त्योदेखि जो चेतना होइन । अनि सचेतन हुनु कुनै कुरोप्रति चेतनशील भइरहेको चेतना राख्नु हो । चेतनामा जुन कुराहरू आउँछन् तिनलाई हामी भविताका दुई रूपमा विभक्त गर्न सक्छौँ- जड भविता (en-soi) जो आफैँमा निहित रहन्छन्, जस्तै चौकी, टेबल: चित्-भविता (pour-soi) जो आफू स्वयंलाई जान्दछ, जस्तै मान्छे । यी भविता भिन्नै हुन् । मान्छे टेबलदेखि भिन्नै हो कारण टेबलको पदार्थत्वता उसमा छ नै, अझ उ चित्-भविताको अंश भएर त्योमाथि सोचविचार पनि गर्न सक्छ । उसो भए मान्छे के हो त ? ऊ त्यही हुनसक्छ जो उसले आफैँलाई बनाउँछ । आफ्नो निर्माणको निम्ति ऊ सबै प्रकारले उत्तरदायी हुन्छ । मान्छे पहिले अस्तित्वमा आउँछ अनि परिभाषित हुन्छ, पहिले परिभाषा दिएर त्यही अनुसार मान्छेको निर्माण हुँदैन ।
मान्छे आफ्नो सबै स्थितिको निम्ति स्वयं उत्तरदायी छ, त्यसर्थ
अस्तित्वको मुख्य अर्थ हो स्वतन्त्रता । मान्छेले आफू जे हुन सक्छ त्यही बनाउने प्रयत्न गर्छ । तर संसार मृत छ; यो अतीतको, परम्पराको, मिथ्या धारणाहरू लादिएको विश्व हो; त्यसैले जीवनको अर्थ हो “जो छ वा थियो”-देखि छुटेर अलग हुनु । संसारका अधिकांश वस्तुहरू जो हामीलाई उपलब्ध छ, ती पहिले नै परिभाषित हुन्छन्, अनि एउटा विशेष धारणासँग
संयुक्त हुन्छन् । आफ्नो विचार अनुसार तिनीहरूको अर्थ लाउनु सम्भव हुँदैन । यी वस्तुहरू ता हामीलाई आदेश दिन्छन्, अनि यी आदेश यति सार्वजनिक हुन्छन् कि हामी एउटा क्षुद्र निर्वैयक्तिक सत्तामा परिणत हुन्छौँ ।
यो जीवनको चरम ध्येय जीवनको अतिरिक्त अरू केही होइन । मानव जीवनमा मूल्यहरू पनि मूल प्रकृति (एसेन्स)-सँगै सम्बन्धित छन्, मान्छेले पूरा उत्तरदायित्वसँग आफ्नो मूल्यको चुनाउ गर्नुपर्छ । ऊ आफैँ आफ्नो पथको निर्माता हो । यो चुनाउ र त्याग अथवा ग्रहण र वरणको स्वतन्त्रता मान्छेलाई प्राप्त हुनुपर्छ । अनि यो स्वतन्त्रता के हो ? केवल आत्म-उत्तरदायित्वको इच्छा । सार्त्रका उपन्यास ‘द एज अफ रिजन’ र ‘रिप्रिव्’-मा मुख्य पात्र मेथ्यू आफ्नो स्वतन्त्रतालाई सुरक्षित राख्न प्रत्येक परिस्थिति र संघर्षदेखि बाँच्न चाहन्छ, अनि जीवनमा पाउँछ केवल शून्य र व्याकपन । मान्छेको वरपर कुनै मूल्य, आदर्श, संकेतहरू उसलाई निर्देश गर्न बसेका छैनन् । मान्छे परिस्थितिभित्रै सधैँ आफ्नो स्वतन्त्रता र उत्तरदायित्वसँग संघर्षरत छ अथवा ‘कमिटेड्’ छ- समर्पित वा प्रतिवद्ध छ ।
सार्त्रले बेलाबखत राजनैतिक विषयहरूमाथि निबन्धहरू लेखेका छन् । तिनले कम्युनिष्टहरूलाई प्रशंसा गरेका छन् अनि सार्त्र कम्युनिष्ट हुन् भन्ने आरोप लगाइएको छ । १९५७-मा प्रकाशित ‘क्रिटिसिज्म अफ डायलेक्टिकल रिजनिङ्ग’-मा सार्त्रले मार्क्सवादको डायलेक्टिक्सलाई आलोचना गर्दै मार्क्सवादले हाम्रा आवश्यकताहरू बुझ्ने शक्तिहरू हराइसकेको तथ्य पेश गरेका छन् । सार्त्र चाहन्छन् एउटा नयाँ मार्क्सवाद (neo-Marxism) जहाँ आर्थिक समतासँग व्यक्ति स्वतन्त्रता र अस्तित्वको योग होस् ।
कला सत्यतिर डोर्याउने असत्य हो भने सार्त्रको आत्मकथा ‘शब्दहरू’ देखाउन खोज्छः साहित्य र दर्शन पनि असत्य हुन्, सत्यको नगिचसम्म पुग्ने मात्र । दार्शनिक र कवि आफ्नो आवश्यकताले लेख्छ, विश्वका नीतिहरूसँग ती मेल खाँदैनन् । खूब बेसी भनौँ हामी यिनीहरूबाट पाउन सक्छौँ कुञ्जीहरू, विम्ब र छायाँहरू, प्रतीकहरू । मान्छे र उसको अस्तित्व आज पनि सामञ्जस्यमा छैन । सार्त्र आज सिर्जनाबाट मुक्तिलाभ हुन्छ भन्ने तथ्यमा विश्वास गर्दैनन् । ‘म राक्वेन्तिन थिएँ’, आज सार्त्र लेख्छन्, ‘सँगसँगै म मै थिएँ’ राक्वेन्तिनको दृष्टिबाट संसार बुझ्न खोजेर सार्त्रले अरूहरूका जीवनको अर्थविहीनताबाट आफ्नो जीवनको अर्थ र अनिवार्यता निकाल्ने स्वार्थ रचेका मात्र थिए’ रे, आज तिनी भन्छन् । ‘म परिवर्तित भएको छु…भ्रम टुक्रिएको छ; शहीदत्व, मुक्ति र अमरता सबै टुक्रेर झरेका छन्,” सार्त्र भन्छन्,”दश वर्षदेखि बिस्तारै म यो लामो, तीतो, मीठो पागलपनदेखि जागिरहेको छु ।”
१९६४-को प्रारम्भमा Les Mots प्रकाशित भएपछि सार्त्रले अघि लेखेका कृतिहरू आज रद्द सम्झन्छन् भन्ने होहल्ला फ्रान्समा मच्चिएको थियो । फ्रान्सको प्रसिद्ध पत्रिका ला माद (La Mond) -सँगको वार्तालापमा गत वर्षको माझतिर सार्त्रले भनेका थिए, “मैले लेखेको कुनै कृति आज म रद्द गर्दिनँ । तर तिनीहरू जम्मै राम्रो छ भन्ने पनि होइन । La Nausee लेख्दा यथार्थको ठीक धारणा (सेन्स अफ रियलिटि) थिएन । त्यहाँदेखि म बदलिएको छु । यथार्थलाई अनुभव गर्दैछु । भोकले मरिरहेका नानीहरू मैले देखेको छु, त्यसको विरुद्ध मेरो किताबको केही
ओजन छैन ।” सार्त्र भन्छन्, “साहित्यले पनि राजनीतिले जस्तै मोक्ष दिन सक्दैन हामीलाई । मोक्ष कतै छैन । कारण मोक्षको विचारभित्र एउटा चरम सत्यको भाव निहित रहन्छ । त्यो एउटा न्यूरोसिस हो । चरम सत्य पनि ढल्यो ।” सार्त्रका अरू आदर्श झैँ ।
भोक र दु:खको विरोध कुन कुरोले गर्न सक्छ त ? ‘एउटा लेखकको समस्या त्यही हो’, सार्त्र भन्छन् । बीस करोड भोकाएको जनताको पक्षमा हुनु, मुट्ठीभर ठूलाठालूको निम्ति नलेख्नु हो । एउटा अविकसित देशमा हामी ठूलो साहित्य पढ्न सक्दैनौँ । तर जाँ पल सार्त्र लोकप्रिय साहित्य, जसको ध्येय निम्न हुन्छ, को पक्षमा छैनन् । “जनताले पनि लेखकलाई बुझ्ने चेष्टा गर्नुपर्छ, कारण उसले सधैँ ऊभित्र लुकेका विचारहरूलाई सरलतासँग, माधुर्यसँगै पोख्न सक्दैन । अनि लेखक सबैसम्म पुग्न सक्नुपर्छ ।” सार्त्रको वार्तालाप प्रकाशित भएपछि यूरोपको साहित्य क्षेत्रमा उठेको मतभेदको झञ्झा अझै साम्य भएको छैन । दुई करोड क्षुधित मान्छेको पक्षमा नहुनु लेखक पनि शोषक हुनु हो, लेखक सबैले पढ्न सकिने हुनुपर्छ भन्ने सार्त्रका विचारहरूले फ्रान्सका केही साहित्यिकहरू क्षुब्ध छन् । फ्रान्सको ला एक्सप्रेस भन्ने पत्रिकामा दुईजना प्रख्यात वामपन्थी लेखक क्लड सिमोन र बेस बर्जरले सार्त्रलाई प्रत्युत्तर दिएका छन् । सिमोन स्पेनको गृहयुद्धमा नाजीहरूका कैदी भएका थिए; समाजवादको नैतिकता तिनी बुझ्छन् । तिनको भनाइ छ, “मैले भोकको चरम सीमा कस्तो हुन्छ त्यो अनुभव गरेको छु ।” त्योबेला पनि, तिनी आज स्मरण गर्छन्, ” किताब मेरो निम्ति बहुमुल्य वस्तु थियो । पढाइले भोक मार्दैन, त्यसलाई पन्छाउँदैन पनि, भोकलाई विस्मृत पनि पार्दैन । तर पढाइ अर्कै, भिन्नै चीज हो ।” तिनी मात्र होइनन्, तिनका साथीहरू पनि किताब देख्दा त्यतिकै हर्हर् हुन्थे । क्लड सिमोनले सार्त्रलाई गणना गरेका छन् प्युरिटन नैतिकवादीहरूमा जो साहित्यलाई उपयोगिता (utility)-को दृष्टिकोणबाट हेर्छन्, जो केवल आर्थिक मूल्य (economic value) मात्र बुझ्छन्, जो साहित्य सिर्जनामा उब्जने आत्मिक सन्तुष्टिको माधुर्य बुझ्ने क्षमता राख्दैनन् । फेरि सार्त्रको भनाइमा “जनता”-प्रति एउटा भर्त्सना छैन ? अविकसित देशका अर्धक्षुधित जनता त्यति निकम्मा छन् कि ती कला र साहित्यलाई प्रशंसा गर्नै सक्दैनन् ?
सार्त्रको मत अनुसार एउटा अविकसित देशको लेखकले के गर्ने त ? सम्भवतः अझ महत्त्वपूर्ण कामको निम्ति उसले केही कालको निम्ति कलम त्याग्न पर्यो । सार्त्रकै आफन्त अल्वर्ट श्वित्जरले पीडित संसारमा त्यसै बस्न नरूचाएर, संगीत र साहित्यलाई त्यागेर अफ्रिकाका ज्यादै पीडित मानिसहरूका माझमा डाक्टर भएर सेवा गर्न गएका थिए । सार्त्रका समालोचकहरू प्रश्न गर्छन्, सार्त्र किन त्यसै गर्दैनन् ? जाँ पल सार्त्र सायद चाहन्छन् कि अविकसित जनता आफैँ जागून्, आफैंँ मुक्तिलाभ गरून् । तर कस्तो मुक्ति ? सार्त्रको मुक्तिमा सायद स्वतन्त्रतालाई ठाउँ छैन: कारण तिनका राजनैतिक लेखाइहरूमा तिनी साह्रै कम्युनिष्टहरूका पक्षपाती देखापरेका छन् । सम्भवतः तिनी कम्युनिष्ट दर्शनबाहेक कम्युनिष्ट राजनीति चाहन्छन् । तिनी अल्जेरियाको मुक्तिकामना गर्दा तिब्बतलाई भुल्छन्, पश्चिम यूरोपका राजबन्दीहरूको छुट्कारा चाहन्छन् तर कम्युनिष्ट देशका बन्दीहरूको होइन । साहित्य र कलामा जुन सत्यहरू अभिव्यक्त हुन्छन् ती सबै क्षुधा मार्ने हुँदैनन्, क्षुधितका निम्ति हुँदैनन् ।
किर्केगार्दको अस्तित्ववाद आस्तिक भए, सार्त्रको अस्तित्ववाद नास्तिक हो । तर मानिसहरू सार्त्रलाई अतिधार्मिक मान्न थालेका छन् । एउटा फ्रेञ्च समालोचक जाक्वेस हूबर्टले सार्त्रलाई अझै एउटा मेटाफिजिशियन देख्छन् अनि धार्मिक भन्छन् भने अर्काले मान्छेको कल्याणको निम्ति सार्त्रको संवद्धता वा (engagement) देखेर तिनलाई धार्मिक भनेका छन् । हेनरी- सिमोन भन्ने अर्का आलोचक भन्छन् कि सार्त्र र प्यास्कल (१९२६-९२)- मा एउटा समानता छ । दुवैको विचार छ जुन कुरोले हामीलाई मुक्तिको बाटोदेखि पथभ्रष्ट बनाउँछ त्यो अनैतिक विलास हो । प्यास्कल पापीको मुक्ति चाहन्थे, जाँ पल सार्त्र क्षुधितको मुक्ति चाहन्छन् । तर विश्वबाट अभाव भन्ने वस्तु कहिल्यै हराएर नजाला । त्यतिञ्जेल, प्रत्येकको भुँडी नभरुजेल लेखकको कर्तव्य के हुने ? उसले के गर्ने ? आफ्नो आत्मकथाको माझमा जाँ पल सार्त्र लेख्छन्, “मैले अहिले जे लेखेको छु ती सब झूठ हुन् । साँचो । न सत्य न असत्य, जस्तो कि प्रत्येक लेखाइ हुन्छ मान्छेको बारेमा लेखेको, पगलाको बारेमा लेखेको ।” जे होस्, आधुनिक संकटमा, मूल्यहीन विश्वमा जन्मेका मान्छेको एउटा गम्भीर र महान चिन्तक हुन् सार्त्र ।
सं० कुमार प्रधान
सार्त्र: ‘एउटा लामो, तीतो, मीठो पागलपन’
मालिङ्गो, संकलन ३, नेपाली साहित्य परिषद्, दार्जीलिङ,
जनवरी १९६५, सं० कुमार प्रधान
लेखक परिचय
नेपाली मूलका भारतीय इतिहासकार, अनुवादक, शिक्षक र लेखक, कुमार प्रधान (७ मई, सन् १९३७ - २२ दिसम्बर २०१३)को नेपाली साहित्य र शैक्षिक क्षेत्रमा अतुलनीय योगदान रहेको छ ।लामो समयसम्म सुनचरी समाचार र अन्य नेपाली पत्रिकामा प्रधान सम्पादकको पद सम्हालेका प्रधानले प्रशस्त अनुसन्धानत्मक : शोध-पत्र, अनुवाद र पाठ्यक्रमहरू निर्माण गरेका छन् । वार्ताहरू : निबन्ध सङ्ग्रह (सन् १९७१), पहिलो प्रहर (सन् १९८२), नेपाली साहित्यको इतिहास (सन् १९८४), र विद्यालय पाठ्यक्रमका लागि : भारत वर्षको एेतिहासिक परिचय (सन् १९७४), प्राचीन सभ्यताहरू ( सन् १९८०), मानव सभ्यता : मध्य युग ( १९८२), मानव सभ्यता : आधुनिक युग (सन् १९८३), आधुनिक कालको इतिहास (सन् १९९२) आदि प्रधानका कृतिहरू हुन ।
कुमार प्रधानको बौद्धिकता बेजोड छ। उनले लेखेको समालोचनात्मक निबन्धहरुले अन्तराष्ट्रिय साहित्य बुझ्न सजिलो हुन्छ् सन् साठीको दशकमा ने लेखिएको यो निबन्धले सात्र बुझ्न सहज हुन्छ