साँझपख
‘सर सेवारो’
मोबाइल उठ्नासाथ
सारङ्गी धुन झैं
बोलिन् कान्छीले
फेन्चे खोला अविरल
कलकल प्रश्नहरूले
सुसुवाको हावासरी
सुसाइको प्रश्नहरूले
एकोहोरो
एकोहोरो
त
ल
थि
मा
थि
मा
त
ल नभई
किरिङ्मिरिङ
बाङ्गो टिङ्गो
नभई
प्रश्नका वेगहरू
अनि झोक्काहरू
मेरो तारहरूमा ठोकिरहे निरन्तर
म नाजवाफ
मन्साइएका बाटाका मूर्ति झैं
थथा (ठिङ्ग)…..
अनि प्रेमिल भावसागरमा
चुर्लुम्म मन डुबाएर
शिथिल पहाडसरी
एकोहोरिएँ
…… एकोहोरिएछु
सेवारो सम्झौता भित्र
श्रीवथान याक्सामा
फेन्चे खोला साँची राखेर
नयाँ एसएमएससँगै
जूनेली सुन्दरतामा
धान बयेँली खेल्दै
प्राकृत प्रेम मन्थन
शुरु थियो कान्छीको
थाहा पाएँ,
फेन्चे खोलाको कलकलमा ।
यसरी यसरी नै
लब्रेडाँडा शीरको सिन्दुर
सिलौटी जंगलमुनी धसेर
जीवन
मेरो र तेरो गाँठोमा
फेन्चे गँठ्याएर
कहिले
हाङ्फाबुङ् (भालुबाँस)को झ्याङ्मा
माङ्जोःक्तेÞन्को डाँडामा
कहिले
फेÞदेÞनको घरबगैँचामा
ईलामको चियावारी बिस्तारामा
कान्छीको मोबाइलभित्र
नया प्रोफाइल ढुकढुकीले
प्रेमघर्षण हुन्थे एसएमएसको ।
हुन्थे …..
एसएमएस ढुकढुकीमा
कुनै बेला उनी चित् हुँदा
बोट हुन्थेँ म
म चित् हुँदा
बोट हुन्थी ऊ
जीवनको चितबोट सयरमा
म
थि
मा हुँदा
उ
त
ल हुन्थी
उ
थि
मा हुँदा
म
त
ल हुन्थेँ
लजालु प्रकृतिलाई
सेतो वादलले घुमुक्क छोपेर
युक्ना धुनहरू
साटिन्थे प्रेमहरूको ।
अथवा,
आकाश तानेर
फेन्चे खोलापछि
प्राकृत मन्थन
भइरहे कान्छीसँग ।
कहिले
फेन्चे नकल्कलाउँदा
सुसुवा नसुसाउँदा
कान्छी टहलाउथिन्
मेरो अनुपस्थितिमा
र शून्य थोप्लानेर
लेख्थिन् मोबाइलमा
‘ए,
तिर्खाले पानी धाइरन्छ
हजुरको माया आइरन्छ ।
हाङ्फाबुङ् पारी मत वारी
वारी र पारी मनै सारी ।
दुःखीको मुटु ढुकढुकिन्छ
खालीमन किन सुक्सुक्किन्छ ।
सारङ्गी धुनमा रेटी हालुँ
मनले भन्छ भेटी हालुँ ।
.
ख्याली मनहरू
फेन्चे खोला रोए झैं
सुसुवा विलापे झैं
लाग्दथे कान्छीमा
हो
म पनि
उस्तै पग्लिन्थेँ हरेकपल
फेन्चे विलाए झैं
सुसुवा निष्प्राण झैं
लाग्दथे उनको अनुपस्थितिमा
अनि लेख्थेँ कागतमा
‘हौ कान्छी,
के .पो, गर्नु .. र
तिम्रो मुटु ढुकढुकिन्दा मेरो पनि हुन्छ
तिम्रो फेन्चेखोला नवग्दा मेरो पनि वग्दैन
तिम्रो माया लाग्दा नि, मेरो पनि लाग्छ
तिम्रो प्राण नहुँदा मरो पनि हुँदैन
तिमी रुँदा म पनि रुन्छु
कत्ति. गाह्रो हो
छ्या !’
र
बेसरी
अक्षर बोलीहरूभित्र
तरङ्गिएर बोल्थ्यौँ
खेल्थ्यौँ कान्छीसँग
प्राण एक झैं
मुटु एक झैं
निरन्तर एकै थियौँ संवेगमा
अनि न
हातमा
हिमाल ब्रासलेटको
कानजुलीमा
तराई पिँजडाको
स्क्रिनहरूमा
सुनौलो मटक्कल्लिको
प्रेममय चुम्बनले
साटिन्थे ति दिनहरू ।
…..
अचेल
बिर्सिए प्रेमील यात्राहरू
उनको र मेरोलागि
फेन्चेखोला बग्दैन्
सुसुवा सुसाउँदैन्
लब्रे सिन्दुर देखिँदैन्
होला नि
कान्छीको प्रेमसतही मात्रै त्यो
म जाँन्दिन
होला नि
कान्छीका श्लीलविनिमय मात्रै त्यो
म जाँन्दिन
तर
श्रीवथान साँचिको
लब्रे सिँदुरको
फेन्चे बगाइको
सुसुवा सुसाइको
एउटा
सत्यप्रेम छ
कान्छीको निरिक्वा ।
(निरिक्वा : कान छेँडेर लगाउने सुनको सानो रिङ्)
लेखक परिचय
समाजसेवा, निर्देशन, अभिनय, सम्पादन र सक्रिय लेखन् गरिरेहेका मलिसा याक्थुङ्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ्) बहुआयमिक व्यक्ति हुन् । उनले सुम्हालुङ् (२०५२ सह), पक्कन्दि (२०५४), युगान्तर सन्देश (२०५६-०५९) जस्ता पुस्तक सम्पादन गरेका छन् भने आनि साक्थिम (२०५४), मासेमी (२०५७), नुमाफुङ (२०५७), सपनाकी फूल (२०६०), माराम (२०६२), अरूणपूर्व लिम्बुवान (२०६४) जस्ता चलचित्रमा अभिनय पनि गरेका छन् । त्यसैगरि सपनाकी फूल (२०६०) र करिब डेढ दर्जन भन्दा बढि याक्थुङ नाटकहरूमा निर्देशन गरेका छन् ।
विद्वान श्री रनधोज नेम्बाङ्को जीवनी (२०५६), किरात धर्मको एकता (२०५७) पुस्तिका, खामाक् पाङ्भे लेन् तुङ्हा (याक्थुङ् नाटक संग्रह) (२०६८), याक्थुङ् पा: न्दाङ् नु साप्सक् (कक्षा ११ र १२का लागि (२०६९), लिम्बुवानमा पाँचथरको ईतिहास (२०७१), र केयुक्ना नु आयुक्ना (आधुनिक निवन्ध संग्रह) (२०७७) आदि याक्थुङ्बाका प्रकाशित कृतिहरू हुन् । याक्थुङ्बालाई myakthungba@gmail.com ठेगानामा पत्राचार गर्न सकिन्छ ।