प्मीला राई प्रेमीला राई प्रेमीला राई प्रेमीला राई
आफ्नो जीवनकालभरी बेहिसाब घर बनाए । तर जहाँ बनाए त्यहीँ छोडेर गए । न हिउँदको शिशिरले छेक्थ्यो न वर्षादको झरीले रोक्थ्यो । उनीहरू अनवरत श्रम गरिरहे । दिन रात नभनी पसिना बगाइरहे । उनीहरूले घर बनाए, मन्दिर बनाए, सडक बनाए, भवन बनाए । जति जे बनाए ति कुनै पनि आफ्ना लागि बनाएनन् । खाली अरूका लागि बनाए ।
एकाध बाहेक काठमाडौँ आउनु मजबुरी हो रहर होइन । जति पनि काठमाडौँ छिर्छन् एउटा एउटा बाध्यताले घिसारेर, दुःखले लखेटेर, व्यवस्थाले चेप्टाएर आइपुगेका हुन्छन् । काठमाडौँमा केही छैन जो गाउँमा छ । यहाँ त स्वार्थ छ, ढोङ छ, विकृति छ । यहीँ भएर त काठमाडौँमा राज्य छ । अस्पताल छ, विश्वविद्यालय छ, मन्दिर छ, घर छ, शासन केन्द्र छ । हो यहीँ भएर काठमाडौँ सुन्दर छ । यहीँ भएर काठमाडौँ कुरुप छ । न यहाँ संस्कार छ न सभ्यता । न त अपनत्व छ न आत्मियता। न त समाज नै छ । फेरी पनि काठमाडौँ एक्लै छ । एक्लै काठमाडौँमा सबै एक्ला एक्लै बाँचिरहेका छन् । त्यहीँ भएर त काठमाडौँ आउनुपर्छ काठमाडौँबाहिरकाहरू ।
काठमाडौँमा गाउँको जस्तै पर्म चल्दो हो त गाउँमा जस्तै अपनत्व बोध हुँदो हो त कसले दिन्थ्यो काम ? धन्न काठमाडौँ स्वार्थी छ र मजदुरहरूले यहाँ रोजगार पाएका छन् । यो ढोङ्गी सहर एक्लै साम्रज्य ठान्छ । हुन पनि हो, हाँ दरबार छ । राजाहरू छन् । त्यसैले त सडक छ, बत्ती छ । होटल, रेस्टुरेन्ट, सबै छ । नबिर्सिनु पर्ने हो काठमाडौँले दरबारको भित्ता भित्ता मजदुरको पसिना छ । सडकमा मजदुरको छाला छ ।
यो काठमाडौँ सम्झन्छ ऊ नै एउटा पूर्ण संसार हो । काठमाडौँबाहिर पनि दुनियाँ छ कल्पनासम्म गर्दैन । चाहँदैन । ऊ चाहन्छ जे छ काठमाडौँमा होस । ऊ सम्झन्छ जे छ काठमाडौँमा छ । हुन पनि हो सताब्दीऔँदेखि काठमाडौँ एउटा केन्द्र हो । त्यहीँ केन्द्रले काठमाडौँबासीहरूलाई यहीँ पोखरीभित्र मात्र हेलिरह्यो । पोखरीबाहिरको संसार देख्न नपाउनु देख्न नजान्नु उसको दुर्भाग्य हो । काठमाडौँमा विकास छ जो काठमाडौँबाहिर छैन त्यसैले त काठमाडौँबाहिरकाहरू कठमाडौँ आउन विवश छन् ।
काठमाडौँ आफैमा फेरी पनि शून्य हो । काठमाडौँलाई काठमाडौँ काठमाडौँबाहिरकाहरूले नै बनाए । चाहे सडकमा गिट्टी ओछ्याइरहेका मजदुर होस या मन्दिरमा इटा उठाइरहेको श्रमिक होस् या कुनै घरको लागि मसला मुछिरहेको या त इँटा बालुवालाई तहत ह मिलाइर संरचना दिइरहेको कादार सबै काठ बाहिरका हुन् ।
शासकलाई शासन गर्नु जतिको आनन्द के हुन्छ र ? दुःख दिइरहनु, सताइरहनु, समस्या खडा गरिरहनु अनि कोलाहल हेरेर आनन्द लिनु । निमुखाहरू सधैँ बाध्यताहरूले तानिरहेका घचेटिरहेका, लखेटिरहेका हुन्छन् । त्यहीँ बाध्यताको फेरो समातेर घुच्चुकमा हान्नु कम्ता मज्जा हुँदैन मालिकलाई । काठमाडौ समय समयमा मौका छोपेर काठमाडौँबाहिरकाहरूलाई घुच्चुकमा हानिरहन्छन् । टेकिरहन्छन्, ठोकिरहन्छन् । एक्लै काठमाडौँमा एक्लै बाँचेकाहरूका लागि चुपचाप सहनुको अर्को विकल्प छैन ।
काठमाडौ बनाउने काठमाडौँका निर्माताहरू काठमाडौँमा सुकुम्बासी हुन् । यति ठुलो काठमाडौँ बनाए तर काठमाडौँको कुनै पनि छेउ आफ्नो नाममा बनाएनन न त काठमाडौँले नै आफ्नो बनायो । उनीहरूले आफ्नै सम्झिएर निरन्तर बनाइरहे । यदि यी मालिहरूले उनीहरूले आफ्नै सम्झिएर निरन्तर बनाइरहे जस्तै आफ्नो नसझिदिएको भए ? समय चलिरह्यो । चलिरह्यो ।
समयले कतिबेला के बोकी ल्याउँछ पत्तै नहुने । जनयुद्धको आँधी आयो काठमाडौँलाई फाइदा भो । आन्दोलनको हुरी चल्यो काठमाडौँलाई नाफा भयो । महाभूकम्प आयो काठमाडौँ ठिकठाकै रह्यो । खाली अप्ठ्यारो त काठमाडौँबाहिरकालाई भयो जसले काठमाडौँ बनाएर जीविका चलाइरहेका थिए । उनीहरुको काम ठप्प रोकियो । कामसँगै रोकिन्थे हातमुखको सम्बन्ध । दुरी बढिहाल्थ्यो । पेट गन्गनाइरहन्थ्यो । बिचराहरू चुपचाप टोलाइरहन्थे । यस्ता विपत्तिहरूले काठमाडौँबाहिरकालाई जति दुःख दिए त्यो भन्दा बढी काठमाडौँबासीहरूको गिज्याहटले दुःखी भए । मानवता नभएको दुनियाँ हो काठमाडौँ । जहाँ एउटाको दुःखमा अर्कोलाई खुसी मिल्छ ।
समय आफ्नै गतिमा बगीरह्यो । समयको बहावसँगै २०७६ मा कोरोना नाम गरेको महामारी फैलियो । सुरु भयो काठमाडौँबाहिरकाहरुको दुःखका दिन । काठमाडौँका मालिकहरूलाई त केही फरक पर्नेवाला थिएन । फरक त त्यहीँ मजदुरहरूलाई पर्यो । त्यहीँ पिँधमा रहेकाहरूलाई पर्यो । रोजीरोटी खोसियो । सरकार कहिले पो जनताप्रति जिम्मेवार थिए र ? सरकारले काठमाडौँ छोड्न २ दिन समय दियो । अन्यथा भोकसँग लड्न तयार हुनु भनेर उर्दी जारी गर्यो । कहिलै भोक अनुभुत नगरेकाहरुलाई के थाहा भोक युद्ध ? त्यसैले धेरैले काठमाडौँ छोड्ने निधो गरे । आफ्नो पुरै उमेर चढाएर उनीहरुले पाए के त ? उनीहरु भन्दा बढी जानकार अरू हुनै सक्दैन । अनुमान भने लगाउन सकिन्छ । दुःख, अभाव र थोत्रो जीवन घिसारेर कारोनाको पहिलो लहरमा गाउँ फर्किनेहरूको लाम निकै लामो थियो । अलिअलि रुपैयाँ हुनेहरू बसमै हुइकिए । बसमा नअट्नेहरू खाली पैताला आफैले बनाएको सडक नाप्दै फर्किए । फर्कि जानेलाई रोकेन काठमाडौँले बरु लखेटिरहे ।
पुरै जीवन काठमाडौँलाई सुम्पनेहरू फर्कन त फर्के तर गाउँ नै पनि बिरानो भयो । लगभग गाउँलाई पनि उनीहरू बिरानो लाग्यो । सक्नेले बाँझो फुटाए । नसक्नेहरू खाली जीवन घिसारिरहे । यता काठमाडौँमै छुट्नेहरु भोकयद्धको रणभूमिमा उत्रिए । कहिले भोकले जित्थ्यो । कहिले जीवनले जित्थ्यो । सूर्य तामाङ जस्ताहरू भोकसँग हारेर गए । जित्नेहरू लडिरहे । नौ महिनासम्मको बन्दाबन्दी तोडेर फेरि काठमाडौँ हल्ला गर्न थाल्यो । कामदारहरूको विज्ञापन गर्न थाले । अभाव, दुःख, गुजारा चलाउन फेरि उनीहरू फर्किए । गाउँमा अस्पताल, विश्वविद्यालय, ठूला ठूला कार्यलय भइदिएको भए उनीहरू काठमाडौँ आउनै पर्ने थिएन ।
उनीहरु फर्केर गएपछि शून्य मसानघाट जस्तै बनेको काठमाडौँ फाट्टफुट्ट गर्दै भरिँदै गयो । बिर्सिएका होइनन् दसौँ, पन्ध्रौँ दिन खाली खुट्टा, भोको पेट गाउँ फर्केको । भोकसँग लडेको । फर्कनेहरू कतिले त बाटोमै जीवन बिश्राम लिए । घर पुग्नेहरू कोही फर्के कोही फर्केनन् । २/३ महिना नबित्दै दोस्रो लहरको आतंक मच्चियो । निरिह मान्छेहरू निधारमा हात राखेर निहुरिन बाहेक केहि गर्न सकेनन् । दुनियाँमा जीवनको जति माया कसैको नलाग्दो रहेछ । जीवन बचाउने आशमा उनीहरू फेरि फर्किए दुःको झोला झ्याम्टा भिरेर ।
काठमाडौँबाहिरबाट श्रम गर्न आउने मजदुरहरूले के नै हरेर लगेको थियो र काठमाडौँबाट ? बरु आफ्नो उमेर, पसिना, जीवन चढाएका थिए । दोश्रो लहरसँगै मजदुरहरू फेरि गाउँ फर्किरहँदा काठमाडौँका मिडिल क्लास पिपलहरूले नमज्जाले गिज्याए । “सक्छौ भने आफ्नो ठाउँलाई काठमाडौँ बनाएर देखाऊ ।” काठमाडौ एक्लो साम्राज्य सम्झनेहरूले देशको संरचना कहिलै बुझेनन् ।
काठमाडौँमा सत्ता छ । त्यही सत्ताले काठमाडौँ काठमाडौँ भएको किन बुझ्दैनन् यिनीहरू ? काठमाडौँ सम्झेर यसपाली धेरैले कहिल्यै नफर्किने बाचा गरेर गए । जति फर्के फर्किसके । नर्फकिनेहरू अहिले काठमाडौँको चोक, गल्ली, सडक कुनातिर भौतारिरहेछन् ।
काठमाडौँसँग धेरै थोक भएर पनि बोध गर्ने हृदय छैन । दुख्ने दिल छैन । काठमाडौँबासीहहरू मुटुबिनाको सग्लो प्राणी हुन् । सदियौँदेखि काठमाडौँ बनाउनेहरू कहिलै काठामाडौँको भएनन् । काठमाडौँ त सिर्फ जाली, छली, ठगहरूको भयो । जसले गाउँ बनाउँछु भनेर कसम खाए उनीहरू पनि काठमाडौँको गुलाम भए । काठमाडौँ र काठमाडौँबाहिरकाहरूको यस्तो कथा कहिलेसम्म दोहोरिरहने हो कुनै ठेगान छैन । थाहा छैन कहिलेसम्म लेखिरहनुपर्ने हो काठमाडौँ र काठमाडौँबाहिरको कथा ?
प्रेमीला राई
लेखक परिचय
खोटाङ जिल्लामा जन्मिएकी कवि राई, आदिवासी जनजाति साहित्यकार/लेखक सङ्घका सचिव हुन् ।