लेखक तायुछाङ लामा “किरण”ले नेपाली इतिहास र भारतीय इतिहासका विभिन्न पुस्तकहरूको अध्ययन साथै पेकिङ पुरातात्विक संग्रहालय र छिङ्गहाई पुरातात्विक संग्रहालयबाट सूचना संकलन गरी तयार पार्नुभएको आलेख:
अपरेसन खम्पा अपरेसन खम्पा अपरेसन खम्पा
जब सन १७२० देखि १९१२ सम्म तिब्बतमा छिङ्ग राजवंशीले राज गर्थ्यो त्यै बीचमा अङ्ग्रेज (डिसेम्बर १९०३–१९०४ सेप्टेम्बर) र दलाई लाम बीचमा “दलाई लामालाई तिब्बतको शासक बनाउने” सम्झौता भएको थियो र अन्ततः १९१२ मा छिङ्ग राजवंशीबाट तिब्बतको शासनसत्ता दलाई लामाको हातमा आइपुग्यो ।
दलाई लामाको शासन सुरु भएदेखि नै चीनको पश्चिमी क्षेत्रमा पर्ने तिब्बतको खाम राज्यमाथि दलाई लामाले चिनियाँ सरकारसँग साँठगाँठ गर्ने गरेको आरोप लगाउन थाले । तर खाम राज्यको व्यापारी पाण्डत्साङ्ग परिवारका २ दाजुभाइ पाण्डत्साङ्ग तोग्ब्ये र पाण्डत्साङ्ग तोप्ग्याय भने तिब्बती सरकार र चिनियाँ सिचुवानका वार लर्ड ल्यू विन हुइको विरोधी थिए । सन् १९३० देखि १९३२ मा चीन-तिब्बतको युद्ध भयो र खाम राज्य चीनको नियन्त्रणमा गयो । तिब्बत नराम्ररी हारेपछि हारको दोष खामबासीहरूलाई थोपरेर तिब्बती सेनाहरू सिखांगबाट फर्किए । सन् १९३३ मा १३औँ दलाई लामाको मृत्यु भयो तर पनि १४औँ दलाई लामाले खामबासीलाई निरन्तर दमन गरी रह्यो । सन् १९३४ मा मध्य खाम राज्यको सिखांगमा पाण्डत्साङ्ग परिवारको नेतृत्वमा खामका नागरिकहरूले विद्रोह गरे र यही विद्रोहदेखि खामका मानिसहरूलाई खम्पा भनिन थालियो र त्यो विद्रोहलाई खम्पा विद्रोह भनियो । तर तिब्बती र चिनियाँ सेनासँग युद्ध गर्नुपर्ने बाध्यता भएपछि विद्रोह असफल भयो । यसरी असफल पाण्डत्साङ्ग कान्तिङ्ग हुँदै भागेर कालिम्पोङ पुगे । धेरै खामहरू मारिए । खामहरूसँगै तिब्बती मूलका मुस्लिम हरू समेत विस्थापित भए र तिब्बत तर्फ भागे । खाम राज्य याङ्गसी नदीको वहाव र हिमालहरूको उतार चढावले उत्तर र दक्षिण भागमा विभाजित थियो । उत्तरलाई १९३९ मा चीनले आधिकारिक रूपमा सिखांग आफ्नू रहेको घोषणा गर्यो भने दक्षिण क्षेत्र अन्तर्गत आसाम अरुणांचल १९१४ मै इस्ट इन्डिया कम्पनीले तिब्बतसँग सम्झौता गरेर कब्जा गरिएको थियो । यसरी तिब्बतभित्र धार्मिक र राजनैतिक फोहोरी खेल खेल्न सुरु भएको थियो ।
मुख्य चीनको गृहयुद्धमा आम जनताहरूको विजय हुँदै गर्दा तिब्बतमा भने दलाई लामा र उनका आसेपासेहरूले आम जनतालाई धार्मिक दमन र शोषणको चरम सीमामा पुर्याएका थिए । १९३५ मा सिचुवानको तातूँ नदीको लुतिङ्ग पुलमा युद्ध हुनु अगाडिबाटै तिब्बती आम जनताले चिनियाँ कम्युनिस्ट पार्टीलाई समर्थन गर्न सुरु गरेका थिए । खम्पा विद्रोह असफल भएपछि पाण्डत्साङ्ग भागेर कालिम्पोङ गए तर बचेका खम्पाहरू चिनियाँ कम्युनिस्ट पार्टीमा समावेश भैसकेका थिए । तिब्बतमा दलाई लामालाई अमर, ईश्वरीय मान्नु पर्ने, अन्न, फलफूल र सम्पत्ति चढाउनु पर्ने भयो भने दलाई लामाको पिसाबलाई पञ्चामृत र दिसालाई समेत खानयोग्य रहेको र गरिब र रोगी जनताले खाएर रोग भाग्ने भन्ने लगायतका अत्यन्तै अमानवीय चरम दमन खासगरी आम्दो र खामहरूमाथि हुँदै गयो ।
तिब्बतमा आम जनताहरू शोषणको चरमबिन्दुमा पुगेका थिए तर चिनियाँ जनमुक्ति सेनाले १९४९ मा चीनमा विजयको झन्डा गाड्यो । यो विजयसँगै दलाई लामासँग रुष्ट आम तिब्बती जनताले चिनियाँ कम्युनिस्ट पार्टीसँग हात मिलाए । १९५० अक्टोबर ६ देखि १९५१ मे २३ सम्म चिनियाँ जनमुक्ति सेनाले तिब्बती शासक र सामन्तीहरूमाथि कारबाही गर्यो र धेरै खेम्पो लामाहरू मारिए । गुम्बाहरू ध्वस्त भए र तिब्बतले चीनसँग १७ बुँदे सम्झौता गरेर तिब्बतलाई चीनमा समाहित गरे । उक्त १७ बुँदे सम्झौता गर्न तिब्बत पक्षबाट सहभागी ङ्वाङ्ग सुङ्ग्राब थुतोब , नवाङ्ग जिग्मे र लालु छेवांग दोर्जे थिए भने माओ, लिउ पोछेङ्ग , चाङ्ग कुवा ह्वा र फान मिंग चिनियाँ कम्युनिस्ट पार्टीबाट समावेश थिए ।
यसरी तिब्बत चीनसँग समाहित भएको केही समयसम्म तिब्बती धार्मिक गुरुहरूले अमेरिका र भारतसँग गोप्य भेटघाटहरू गरे । खाम र आम्दोबाट भागेर तिब्बततिर आएका दलाई लामाका चेलाहरू (खम्पा) ले फेरि फ्री तिब्बतको आन्दोलन गर्नुपर्ने कुरा गर्दै थिए तर स्वयं दलाई लामाले उपयुक्त सुरक्षित ठाँउको खोजी र दोस्रो विश्वयुद्धमा प्रयोग गरिएका हतियारहरूको व्यवस्था गर्ने जिम्मा आफ्नू निकट खेम्पो र खम्पाहरूलाई दिए । खम्पाहरूले भारी बोकाएर हतियारहरूको मर्मत गराउन खामबाट तिब्बत भागेर आएका मुसलमानहरूलाई पनि साथै लिएर सिगात्से वरिपरि को विभिन्न भूभागमा बसे । चीनमा कम्युनिस्ट सत्ता स्थापना भएसँगै अमेरिकीहरूले दलाई लामा र खम्पाहरूलाई आधुनिक हतियार र सैन्य तालिम दिने गोप्य सम्झौता गरे र १९५६ देखि १९५८ सम्म करिब ९००० स्वयंसेवक लडाकुहरू सहित छुसी गाङ्गद्रुग (चार नदी र छ राज्यको भूमि) विद्रोही समूहको निर्माण गरे । आधुनिक हतियार र सैन्य तालिम अमेरिकाको गुप्तचर एजेन्सी ‘सी आइ ए’ बाट गरियो र त्यही ‘सी आइ ए’ को सहयोगमा १९५९ मार्च ३० तारिखमा दलाई लामा भारततर्फ भागे ।
छुसी गाङ्गद्रुग समूहले तिब्बतमाथि रहेका चिनियाँ जनमुक्ति सेना र गुम्बाहरूको महँगा सामान ,सुन लुट्न थाले । लुटेर ल्याएको चिजले अमेरिकासँग हतियार खरिद गरेर आफ्नू सैन्य शक्ति सन्तुलन गर्न लागी परे तर बाहिरी दुनियाँमा चिनियाँ कम्युनिस्ट पार्टी र जनमुक्ति सेनाले तिब्बतका हजारौँ गुम्बाहरू तोडफोड गरेर सुन र बहुमूल्य मूर्तिहरू पश्चिमाहरूलाई बेच्ने गरेको आरोप लाग्यो । १९५९ अप्रिल १८ तारिख दलाई लामा आसामको तेजपुर पुगे र धर्मशाला (यस धर्मशालालाई मिनी लाह्सा भनिन्छ) को स्थापना गरे । त्यसपछि क्रमशः तिब्बतबाट धार्मिक गुरु, सामन्ती तथा दलाई लामाका आसेपासेहरू अनुमानित करिब ७० हजारले तिब्बत छोडेर मिनी लाह्सा बसाई सरे ।
यता खम्पा विद्रोही र चिनियाँ जनसेनाबीच युद्ध हुँदै थियो । १९६० को मध्य राति पेकिङ (बेइजिङ्ग) बाट आएका बीसौँ हजार जनसेनाले लाह्सामाथि भारी आक्रमण गर्यो र विद्रोही खम्पाहरू नेपालको भूभाग (मुस्ताङ, मनाङ, ओलाङ्चुङगोला, रसुवागढी , गोर्खाको सुम) तिर भागे । यसरी विद्रोहीहरू भागे पनि ‘सी आई ए’ को सहयोग स्वरूप अमेरिकी सेनाको २ युद्ध विमानले १९६१ अप्रिल र डिसेम्बरमा भारी मात्रामा हात हतियार नेपाल-चीन सिमानामा खसाल्यो र आसामबाट तालिम प्राप्त तिब्बतीहरूलाई नेपालको मुस्ताङमा ल्याइयो । त्यो बेला मुस्ताङमा नेपाल सरकारको उपस्थिति ज्यादै न्यून थियो ।
यसरी आसामबाट आउने विद्रोहीहरू करिब १० हजार थिए र यसको नेतृत्व बाबा यशीले गरेका थिए । यिनै यशीलाई दलाई लामाद्वारा मुस्ताङ पूर्ण रूपमा कब्जा गरी तिब्बतमा चीनविरुद्ध आक्रमण गर्न निर्देशन दिइएको थियो । बाबा यशीले मुस्ताङ नेपालको भएकोले त्यो आदेशानुसार काम गर्न अस्वीकार गरे ।
सन् १९७४ (वि.सं. २०३१) मा बाबा यशीले मुस्ताङ कब्जा गर्न नमानेपछि ‘सी आई ए’ को निर्देशनमा बाबा यशीलाई कारबाही गर्ने निर्णयसँगै ‘सी आई ए’ बाट उच्च राजनैतिक र सैन्य तालिम प्राप्त वाङ्गदीलाई विद्रोही समूहको प्रमुख बनाइयो र मुस्ताङको केसाङ्गमा विद्रोही खम्पा समूहको मुख्यालय बस्यो भने बाबा यशी आफ्ना केही साथीहरू लिएर आत्मसमर्पण गरी काठमाडौँ आएर बसे । यसरी आउनेमा तिब्बती मूलका मुस्लिमहरू समेत थिए ।
उता वाङ्गदीले मुस्ताङ कब्जा गरेर कागबेनी, ठिनी , छुसाङ्ग , मुक्तिनाथ, चराङ्ग, घिलिङ्ग, साम्दा र मनाङको नार्फु लगायतका भूभागमा विद्रोही खम्पाहरूलाई राखेर तिब्बतमाथि हमला गर्न थाले ।
तिब्बतमा गएर याक र खाने कुरा मात्र चोरेनन्, मुस्ताङमा समेत उपद्रो गरेर आम जनतालाई आतङ्कित पारे, गुम्बाहरूबाट सुनको मूर्ति, सुन, चाँदी र लाखौँ पैसा बटुले, मानिसको घर जलाए र नेपाली भूमि प्रयोग गरेर चिनियाँ सेनामाथि बारम्बार साना ठूला आक्रमणहरू गरे । खम्पाहरूले तिब्बतमा चिनियाँ सेना र तिब्बती आम जनतामाथि बारम्बार हमला गरेर दुख दिन थालेपछि चिनियाँ जनमुक्ति सेनाको सानो टोलीले लामाको भेषमा विद्रोही खम्पा र ‘सी आई ए’ एजेन्टहरूको गोप्य अनुसन्धान गर्यो । उक्त अनुसन्धानले नेपालको मुस्ताङ नै मुख्यगरी खम्पाहरूको आधार इलाका रहेको प्रमाणित गरी पेकिङ (बेइजिङ्ग) मा सन्देश पठाएपछि पेकिङले काठमाडौँलाई नेपाली भूमि मुस्ताङबाट विद्रोही खम्पाहरूले तिब्बतमाथि बारम्बार हमला गरेर तिब्बती आम नागरिकमाथि आतंक मच्चाउनुका साथै १७ बुँदे सहमति विपरीत चीनविरुद्ध गतिविधि गरेकोले आवश्यक कारबाही गर्न सहयोग माग्यो ।
नेपाल सरकारले यसरी नेपाली भूभाग समेत किटान गरी आएको चिनियाँ अनुरोधकै आधारमा काठमाडौँमा आत्मसमर्पण गरी शरण लिएका तिब्बती खम्पा विद्रोही कमान्डर बाबा यशीका खास मान्छेसँग नेपाली सेना (तत्कालीन शाही नेपाली सेना) को कर्णेल सञ्चित शमशेरलाई वास्तविकता बुझ्न गोप्य रूपमा मुस्ताङ पठाइयो र उनले विद्रोही हरूको बारेमा गोप्य सूचनासहित आधार इलाकाहरू रहेको क्षेत्रको टिपोट गरी केन्द्र फर्किए । “दलाई लामाकै निर्देशनमा मुस्ताङ कब्जा गरी सकिएको तर आधिकारिक घोषणा नगरिएको र विद्रोहीहरू करिब १० हजार रहेको” विवरण प्राप्त भएपछि सन् १९७४ (वि.सं. २०३१) साल मा तत्कालीन प्रधान सेनापति सिंहबहादुर बस्नेतले गोप्य अपरेसन सुरु गर्न एक सहायक रथीलाई आदेश दिए ।
पोखराबाट २ कम्पनी नेपाली सेना र अन्य केही प्लाटुनहरू सञ्चार, हातहतियार लगायत युद्ध सामाग्री लिएर सैन्य तालिम गर्ने कारण देखाउँदै गोप्य रूपमा मुस्ताङको जोमसोममा २०३१ साल साउन १ गते पुगे । खम्पा विद्रोहीहरू छार्का र मनाङबाट भागेर जान सक्ने बाबा यशीको भनाइ अनुसार नेपाली सेनाले मनाङ र छार्कामा बलियो बेस खडा गर्यो । मुस्ताङमा खुलस्त भएर गतिविधि गर्ने खम्पा विद्रोहीहरूले नेपाली सेना आएको थाहा पाएन । जोमसोमतर्फबाट घेराबन्दी गर्दै नेपाली सेनाले विद्रोही कमान्डर वाङ्गदीलाई “हातहतियार बुझाएर आत्मसमर्पण नगरे नेपाली सेनाले कारबाही गर्ने” चेतावनीसहित चिठ्ठी पठायो ।
तिब्बततर्फ चिनियाँ सेना र नेपालतर्फ नेपाली सेनाले घेरा हालेको थाहा भएपछि वाङ्गदीले हतारमा साउन ५ गतेभित्रै सबै हातहतियारसहित आत्मसमर्पण गर्ने चिठ्ठी नेपाली सेनालाई पठायो । वाङ्गदीले आफूहरू दुवै देशको सेनाहरूको घेरामा रहेको खबर मनाङको नार्फु हुँदै आसामको मिनी लाह्सा पठायो ।
नेपाली सेनाले विचलित नभई झन् आफ्नो आर्कलाई बलियो बनायो तर ५ गते आत्मसमर्पण गर्ने भनिए पनि ११ गतेसम्म म्याद थप गरिदिन अनुरोधसहित अर्को चिठ्ठी वाङ्गदीले पठाए पछि नेपाली सेना सशंकित बन्यो । ५ गतेसम्म वाङ्गदीले आफ्नू समूह दुश्मनको घेरामा परेको खबर नै आसामको मिनी लाह्सा पुर्याउन नसकेपछि नेपाली सेनासँग आत्मसमर्पणको लागि ११ गतेको भाका मागेका थिए । १० गतेसम्म पनि मिनी लाह्साबाट खबर पुर्याउन नसकेपछि केसाङ्गमा खाडल खनेर हातहतियार तथा केहि सुन, पैसाहरू गाडेर राख्न वाङ्गदीले आफ्ना सिपाहीहरूलाई खटाए । सन्देश आसामको मिनी लाह्सा पुगेसँगै ‘सी आई ए’ ले नेपाली सेना मुस्ताङ छिरेको थाहा पाएपछि वाङ्गदीलाई हातहतियार सहित २-४ जनालाई आत्मसमर्पण गर्न लगाएर सेनाको घेरा लाई चक्मा दिँदै आफ्नू फौजसहित भारत आउन सन्देश पठाए ।
११ गते फेरि अर्को चिठ्ठी नेपाली सेनालाई प्राप्त भयो । उक्त पत्रमा “१६ गते सम्पूर्ण हतियार र विद्रोहीले आत्मसमर्पण गर्ने छौँ, त्यतिन्जेल आक्रमण नगर्दिनु होला” भनिएको थियो । यसरी वाङ्गदीले हातहतियार र पैसाहरू पोका पारी भाग्ने योजना बनाउन थाले । वाङ्गदीले १५ गते बिहानै धेरै खम्पाहरूलाई छुसाङ्गतर्फ लिएर अगाडि बढेका थिए । केसाङ्गमा सीमित खम्पा विद्रोहीहरू थिए तर देखाउनको लागि धेरै डमी विद्रोहीहरू आर्कमा गस्ती गर्दै गरेको जस्तो पारिएको थियो । नेपाली सेनाले २०३१ साल साउन १६ गते राति नै घेराबन्दी गरेर १७ गते बिहानै केसाङ्गमा छापा मार्यो । अत्याधुनिक हात हतियार र सैन्य सामाग्रीसहित केहि विद्रोहीहरूलाई नेपाली सेनाले कब्जा गर्यो तर वाङ्गदी आफ्ना मुख्य सेनाहरूसहित हातहतियार तथा सुन र पैसा लिएर केसाङ्गबाट भागिसकेका थिए ।
यसरी ‘सी आई ए’ ले वाङ्गदीलाई नेपाली सेनाको कारबाही हुनबाट भगाएको केहि समयमै केन्द्र काठमाडौँबाट तत्कालीन युद्ध सहायक रथी भारत केसर सिंहले “वाङ्गदी र उसको मुख्य लडाकु ५०-१०० जना लगायतलाई कारबाही नगर्नु, उनी हाम्रा मित्र हुन्” भन्ने खबर नेपाली सेनालाई पठाए । यस्तो सन्देश प्राप्त गरेको नेपाली सेनाले यो सबै ‘सी आई ए’ को रणनीति रहेको ठानी छुसाङ्ग, घिलिङ्ग, धमि लगायतका क्याम्पहरू धमाधम कब्जा गर्दै गर्दा वाङ्गदी भने मुस्ताङ छोडेर तिब्बत-नेपाल सिमाना पुगिसकेका थिए, उनले बहुसङ्ख्यक विद्रोहीहरूलाई पूर्व किनारा हुँदै सिक्किमतर्फ बढ्न लगाए तर आफूसँग मुख्य लडाकु करिब ५०-६० जना मात्र लिएर पश्चिमतर्फ भागे ।
नेपाली सेनाले मुस्ताङलाई पूर्ण रूपमा विद्रोहीहरूबाट स्वतन्त्र गर्यो तर विद्रोही कमान्डर वाङ्गदी कुन दिशातर्फ भागे भन्ने अनुमान गर्न सकेन । तिब्बत र नेपालको सिमाना हुँदै धेरै विद्रोहीहरू रसुवागढीनजिकबाट ओलाङ्चुङ्गोलातर्फ अगाडि बढेको खबरानुसार पूर्वी पहाडी जिल्ला सङ्खुवासभा र ताप्लेजुङमा उच्च सतर्कता अपनाउन नेपाली सेना ले गोप्य सर्कुलर जारी गर्यो । हातहतियार खच्चडमा लादेर करिब ४०-५० जनाको समूह भाद्र २० गते राति यारी लेकमा पुगेर स्थानीय नेपालीहरूको याक कब्जा गरी खाएर रमाइलो गरेको, स्थानीय महिलाहरूलाई बलात्कार गरेको र २१ गते चौकी कब्जा गरी हतियार कब्जा गरेपछि यस विषयलाई तत्कालीन गोर्खापत्रमा समेत प्रकाशन गरिएको थियो भने पञ्चायतमा यही आक्रमणको कुरा उठाएर गृहमन्त्रीको राजिनामा माग समेत गरियो ।
यस्तो घटना भएपछि नेपाल सरकार र नेपाली सेना सशंकित भयो र तुरुन्तै नेपालगन्जबाट जनरल आदित्य साहलाई अपरेसन सम्हाल्न आदेश दिइयो । अपरेसनको आदेश हुने बित्तिकै नेपाली सेना टिंकर लिपुलेक पुगेर एम्बुस थापेर बसे । यस अपरेसनको कमान्डर जमदार दाङबहादुर चन्द थिए । यसरी भारत प्रवेश गर्ने टिंकर लिपुलेकमा भाद्र ३० गते बिहानै वाङ्गदी र उनको सेना करिब ५०-६० जना ३ दर्जन खच्चडका साथ नेपाली सेनाको घेरामा परे । अगाडिको भागमा रहेका विद्रोहीहरू मारिनुका साथै केहि उच्च पहाड तरेर तिब्बततर्फ भागे, केहि नदी तरेर भागे पनि फर्किफर्की केही लासहरू लान कोसिस गर्दा असफल भए । पछि लासहरूको पहिचान गर्दा वाङ्गदी नेपाली अपरेसनमा मारिएको पाइयो । यसरी नेपाली सेनाले ‘सी आई ए’ को योजनालाई असफल पारी मुलुकमाथि कब्जा गर्ने विदेशीलाई समाप्त गरेको थियो । बाबा यशीसँग आएका मुस्लिम र तिब्बती खम्पाहरू अझै पनि काठमाडौँमा भेट्न सकिन्छ । यसरी इतिहासमा यही युद्धबाट मुस्ताङको नार्फु समेत आधिकारिक रूपमा नेपालको भूमि रहेको नेपाल सरकारलाई थाहा भएपछि नेपाली सेनाले गरेको यही गोप्य अपरेसनलाई अप्रेसन खम्पा तथा अप्रेसन नार्फु भनेर चिनिन्छ । अपरेसन खम्पा अपरेसन खम्पा अपरेसन खम्पा
लेखक परिचय
भोजपुरका तायुछाङ लामा 'किरण' साहित्यका विभिन्न विधामा कलम चलाउछन् ।