डोल्पाको माझफालमा जन्मिएका प्रेमबहादुर बोहरा सामाजिक अभियन्ता हुन् । उनी सन् २००८ देखि सामाजिक काममा संलग्न छन् । शिक्षा नेपालका संस्थापक, एक किताब, होप र समुन्नत कर्णाली अभियानका अभियन्ता उनी कर्णाली समाजका अध्यक्ष समेत हुन् । पछिल्लो समय राजनीतिमा पनि सक्रिय बोहराको पछिल्लो समय कोग्ले: डोल्पाको युवाले चिहाएको संसार नामको संस्मरणात्मक कृति प्रकाशित छ ।
बारम्बार सुनिने तर बिरलै पुगिने, देशको एउटा ठूलो, दुर्गम, विकट तर सुन्दर भूभाग कर्णालीप्रति कर्णालीबाहिरका हामी निरन्तर कथित संवेदनशीलता देखाइरहन्छौँ । तर वास्तविक कर्णाली के हो ? डोल्पाली युवाले चिहाएको संसार कस्तो छ ?
प्रस्तुत छ, यसै सन्दर्भमा शब्दसोपानका लागि राजु झल्लु प्रसादले तयार पार्नुभएको सामाग्री: प्रेमबहादुर बोहरासँग ‘कोग्ले संवाद’
१.‘कर्णाली’को बारेमा लेख्नुभएको छ । कति कर्णाली लेख्नुभयो ? कति कर्णाली लेख्न बाँकी छ ? तपाईँको अनूभूतिमा कर्णालीको सजीव चित्र के हो?
शहरबाट कसैले समस्याले ग्रस्त कर्णाली, त कसैले आहा रमणीय कर्णाली देख्छन् । यी दुवैले जीवन बनेको हुन्छ । कोग्लेमार्फत डोल्पामा जन्मिएको एउटा बालक युवा हुँदासम्मको हुर्किँदाको एउटा जीवन रमाइ, भोगाइ, सिकाइ अर्थात एक युवामार्फत देखिएको कर्णालीको जनजीवनका अनेक आयामहरू कोग्ले पुस्तकमा भेट्न सकिन्छ ।
यो त सुरुवातमात्रै हो । कयौँ अलिखित कथाहरू छन् जुन लेखिने र नलेखिने कुनै निश्चित छैन । मैले केही मात्र भए पनि कथाको खानीबाट थोरै कोट्याउने प्रयास जारी राख्नेछु, आगामी दिनहरूमा ।
२.‘कोग्लो (मकैको च्याख्लाबाट बनाइने खानाको एक परिकार)’ खाएर हुर्कीबढेका कोग्लेहरूबाट पुस्तकको कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? सम्रगमा साहित्य वृत्तमा तपाईँको चर्चा छ, कस्तो महसुस हुँदोरहेछ ? पहिलो किताबबाट कत्तिको आशावादी हुनुहुन्थ्यो ?
सोचेकै भयो । ‘कोग्ले’ शब्द गालीको रुपमा स्थापित थियो भने अहिले त्यसको जरा हल्लिएको महसुस भइरहेको छ । कोग्ले शब्द कहिल्यै सुन्न नपरोस् भनी चाहनेहरूले नै यसको बारेमा चर्चा गर्ने, इज्जतको रूपमा लिने र अझ प्रचार गर्नुपर्छ भन्ने जस्ता प्रतिक्रिया दिएको देखेर म आफैँ छक्क छुँ । यस्तै हुन्छ तर त्यसको लागि केही समय लाग्छ भन्ने सोचेको थिएँ, तर धेरै पर्खिन परेन । हिजो गाउँलेलाई दुःखी बनाउने र पीडा दिने शब्दले आज खुसी दिइरहेको छ । आनन्द पनि ।
आशावादी त भइन्छ नै तर यतिसम्म चाहिँ आशा राखेको थिइन । आफ्नो सृजनालाई कोग्लेहरू र कोग्ले शब्द पहिलोपटक सुन्नेहरू दुवैले मन पराईदिँदा सुरुमा आफैलाई पत्यार लागेन । कतै सपनामा पो यो चर्चा भइरहेको हो कि जस्तो लाग्थ्यो । अहिले म एकातिर उत्साहित छुँ भने अर्कोतिर अब लेख्नुपर्छ भन्ने जिम्मेवारीका साथ अझ राम्रो गर्नुपर्छ भन्ने महसुस गरिरहेको छु ।
३.मकै, कोदो र फापरका परिकारहरू अर्गानिक र सम्भ्रान्त खानाका परिकार बनिरहेको आजका महानगरवासीहरूलाई ‘कोग्ले’ को स्वाद चखाउने इच्छा कसरी प्रकट भयो ? कोग्लेको लेखनगर्भबारे मलाई बडो जान्न मन नि । हेहे..
गाउँलेहरू हीन भावनाले ग्रस्त थिए र अझै छन् । हाम्रो गाउँका हरेक घरपरिवारको घर छ, परिवार छ, जग्गाजमिन छ, गाईवस्तु छन् । भेडाबाख्रा र घोडाभैँसी पनि छन् । तर पनि आफूलाई संसारकै दुःखी र गरिब सोच्छन् ।
हो, समस्या छन् । आधुनिक प्रविधि र विकासले छुन पनि गाह्रो मानिरहेको छ, जसले गर्दा सडक, शिक्षा, स्वास्थ्य र संचारजस्ता पूर्वाधारहरू छैनन् र भएका पनि कमजोर अवस्थामा छन् । यही कारणले हामीलाई बाहिरी संसारसँग प्रतिस्पर्धा त के जोडिनसमेत मुस्किल परेको छ । अर्कोतिर गैरजिम्मेवार राज्य छ, जो देशसँग पनि जोडिने पूर्वाधार विकास गर्न असक्षम छ । नागरिकता त दिन्छ तर नागरिकको रूपमा गणना गर्दैन । शिवायः जनगणना र मतदानका दिनबाहेक अरुबेला कुनै मतलव छैन ।
यति हुँदाहुँदै पनि गाउँलेहरू आफ्नो पौरखमा बाँचेका छन् । आफ्नो उत्पादन गरेका छन्, जुन पौष्टिकताले भरिपुर्ण छन् । नेपालमात्र होइन विश्वले महंगोमा खान खोज्छन् । तर हामी आफै त्यसलाई हेला गर्छौँ । यसको परिणाम त आफ्नै खाना गाली बन्न पुगेको हो । यही हीन भावना हाम्रो बाधक हो । पर्खाल हो जसलाई भत्काउनैपर्छ भन्ने ठम्याई हो मेरो । आफ्नो पहिचानको ख्याल राख्दा कतिधेरै संभावनाका ढोका खुल्छन् भन्ने बुझाईसम्म पुर्याएको र त्यहाँसम्म पुग्दाका जीवनका हजारौँ उत्तरचढावहरूको केही अंश हो, यो पुस्तक ।
४.आफू पनि चामलको लाइन बसेको छु भन्नुहुन्थ्यो, खाद्य संस्थानका बिक्री डिपोमा अनुदानको कुहिएको चामलको कथा पनि हो ‘कोग्ले’ ?
आफ्नो पौष्टिताले भरिपुर्ण र पहिचानलाई बोक्ने खानालाई हेला गर्ने अनि सरकारले जनताको विकासबाट कटाई ढुवानीमा अनुदान दिएको जस्तो गरी पठाएको कुहेको चामललाई इज्जत दिने हाम्रो गाउँको सोँच विरुद्धको कथा हो, कोग्ले । राज्य र राज्यवाट पोषित सीमित व्यक्तिहरूको यो चक्रव्युहलाई तोड्न स्वयम् स्थानियले नै सक्छन् भन्ने हो । यति मात्र नभई कोग्ले, यसअघि नै भने झैँ, यो आफ्नो पहिचान र सामर्थ्यको खोजको यात्राको कथा हो ।
५.वाक्य र सन्दर्भअनुरुप त्यसको अर्थ अनुमान गर्न सकिने हिसाबले स्थानीय शब्दहरूको प्रयोग गर्नुभएको छ, कस्तो राम्रो । कोग्ले तपाईँको बाल्य एवं किशोरवयको कथा त होइन नि ?
देशमा पञ्चायतको अन्त्यसँगै बहुदलीय व्यवस्था लागु भएको समयमा जन्मिएको एउटा बच्चा हुर्कँदै जनयुद्ध, जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्रसम्मको अवस्थामा पुग्दा ऊ युवाअवस्थामा पुग्छ । टेलिफोनसमेत नभएको बेला जन्मिएको युवाले इन्टरनेटको उपभोगसम्म पुग्दाको डोल्पाको चित्र पाउन सकिन्छ । पूर्वाधार, प्रविधिमा समयक्रमले केही परिवर्तन ल्याए पनि आम जनजीवनमा शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, आर्थिक र वातावरणीय जे समस्या र संभावना थिए, ती यथावतै छन् । त्यसबाट पार पाउने डोल्पाबासीको अधिकार हो भने त्यसबाट बाहिर निकाल्ने यो पुस्ताको कर्तव्य पनि । यस पुस्तकमा यीनै कुरामा छोएर एउटा युवाको अनुभव, अनुभूति र प्रयास समेटिएको कोग्लेको कथा हो ।
६.‘धूलोमा कपुरी क लेखेँ’ भन्नुहुन्थ्यो । त्यो ‘कपुरी क’ लाई सम्झिनुहोस् न । त्यस परिवेशतर्फ पनि इशारा हो मेरो ।
धूलोमा ‘क’ लेख्न पाउनु पनि मेरो लागि अहोभाग्यको कुरा हो । त्यसअघि त यति पनि छैन रहेछ । तर अझै पनि अर्थात मैले धूलोमा क लेखेको ३० वर्षपछि पनि अवस्था लगभग उस्तै रहनु भने दुर्भाग्यको कुरा हो । यो कोग्लेहरू वा भनौँ, कर्णालीमा जन्मेकाहरूको दुर्भाग्यको मात्र कुरा होइन । यो त राज्य र राज्यमा आसिनहरूको असक्षमता, अकर्मणयता र नालायकीपनको उदाहरण हो ।
७.‘नरे–मती युग’बारे पनि लेख्नुभएको रहेछ, इतिहासप्रति पनि तपाईँको रूची हो ? त्यस समान्ती युग र आजको गणतन्त्रमा केकति भिन्नता र समानता भेट्नुहुन्छ ?
देशमा गणतन्त्र आएको छ तर डोल्पामा सामन्तीहरूको फलीफाप भइरहेको छ । जतिखेर देशमा सामन्ती युग थियो डोल्पामा के थियो र कस्तो थियो भनि बुझ्न तत्कालिन समयका नेताहरूको बारेमा अध्ययन गर्दा पनि धेरै बुझ्न सकिन्छ । तर अहिले सामन्ती शब्दको अर्थ र यसको अन्तर्य बुझ्दा र अहिले गणतन्त्रमा जुन किसिमले नागरिक शासित हुनु परेको छ, त्यो हेर्दा अर्थ र व्यवहार ठ्याक्कै मिलेको पाउँछु । त्यो हेर्दा र डोल्पाको भविष्यको कल्पना गर्दा चित्र झनै डरलाग्दो देखिन्छ ।
एक वा दुईजनाले हजारौँ नागरिकहरूको पेटमा लात हानिरहेका छन् । लात खाने डर हो वा लातबाट बच्ने लोभले हो, नागरिकहरू पनि तीनैतिर लहसिन चाहेको झैँ लाग्छ । मलाई लाग्छ, तत्कालको लोभ र डरले गर्दा आफ्नो मात्र नभई भावी सन्ततीको भविष्य पनि नागरिकहरूले दाउमा राखिरहेका छन् ।
सामन्ती व्यक्ति भन्दा पनि सोच र प्रवृति हो । सामन्तीले शासन गर्न र हैकम चलाउन त चाहन्छ नै, त्यसको अन्त्यका लागि नागरिकहरू स्वयम् जाग्नु जरुरी छ । पछिल्लो समयको कुरा गर्दा, केही हदसम्म जागरण आएको मान्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र जनजीविकाको सवालहरू चर्को भएर उठिरहेको यो अवस्थाले ती सामन्ती प्रवृतिको जरा हल्लिइरहेको आभाष भइरहेको छ । जरा हल्लेपछि लड्नेछ निश्चित नै छ ।
८.डोल्पामा किताब, उज्यालो र रैथाने खाद्यन्न अभियानको अभियन्ता पनि हुनुहुन्छ, साथसाथै जनता समाजवादी पार्टीको जिल्ला अध्यक्ष पनि । लेखकीय भविष्य एवं राजनीतिक भविष्य दुवै उज्ज्वल देखियो नि ? तपाईँको आगामी योजनाहरू के-कस्ता छन्, थोरै बताउन मिल्छ ?
अभियान गर्नु, राजनीति गर्नु र लेख्नु वा अरु केही गर्नुको अन्तिम उद्देश्य एउटै हो, जीवनमा केही सार्थक परिवर्तन ल्याऊँ जसले आफू, गाउँ, समाज र देश परिवर्तनमा योगदान देओस् । हिजोको मैले र मेरो गाउँले भोगेको पीडा भविष्यमा पनि त्यही र अझ चरमपीडा नबनोस् । अझ मैले चाहेको त, जुन थलोमा म जन्मेँ, त्यो आफैँमा आनन्ददायी जीवन व्यथित गर्नलाई पुर्ण छ । त्यसमा आधुनिक प्रविधि र विकासको लाईन जोडिदिने हो भने, पीडाको होइन, इच्छाइएको जीवन जीउन सकिन्छ । यति भयो भने, त्यसको लाभ धेरैले लिन सक्नेछन्, कोही बासिन्दाको रूपमा त कोही घुमन्ते पाहुनाको रूपमा ।
मेरो आगामी योजना मैले पक्रेको बाटोलाई निरन्तरता दिने नै हो । सोचेको पुरा गर्न साथ दिनेभन्दा बाटो नै भत्काउनेको जमात बढी सक्रिय छन्, त्यसका बावजुद पनि आफ्नो लक्ष्य पुरा गर्न दृढ छु । यसअघिको आफ्नै यात्रा हेर्दा, सोचेको पुरा हुँदै आएको छ ।
९.त्रिपुरासुन्दरी नगरपालिकाले सम्पूर्ण जनप्रतिनिधिलाई काेग्ले किताब बाँडेको रहेछ, किताबको दोस्रो संस्मरण पनि ५ हजार प्रतिमा छापिने कुरा सुने । अझ ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’मा पनि कोग्ले छानिएको छ । यसरी हेर्दा कोग्लेलाई सफल भन्न मिल्ने देखेँ । तर तपाईँलाई प्रश्न, कोग्लेको सफलताको कसी के हो प्रेम जी ?
त्रिपुरासुन्दरी न.पा मात्र होइन जिल्लाका अधिकांश स्थानीयहरूले कोग्ले पुस्तक किनेर विद्यालय र वडाहरूमा बाँड्ने गर्नुभयो । पुस्तक बेस्टसेलरमा आउनुका साथै साहित्य पुरस्कारका लागि समेत छानिएकोमा म थप भावुक र उत्साहित भएको छु । सबैलाई धन्यवाद भन्न चाहन्छु ।
तपाईँ र तपाईँजस्तै धेरै शुभचिन्तक, पाठकहरूले राम्रो छ, प्रेरणादायी छ र सफल छ भनिदिनुभयो त्यो नै मेरो लागि ठुलो कुरा हो । मैले चालेका हरेक पाइलाहरूमा बीना कुनै अपेक्षा र प्रश्न साथ दिने थुप्रै साथीहरू, शुभचिन्तक र पुस्तकप्रेमी पाठकहरूको मप्रतिको माया र डोल्पाप्रतिको चासोले हुनसक्छ ।
१०.पुस्तक विमोचन समारोहमा ‘मैले त सपना नै देखेको थिइनँ’ भन्नुभएको थियो, अब केही सपना बने कि ?
अवश्य छ, राजू जी । बुवाको पुस्ताको भोगाइ नै हाम्रो पनि भोगाइ बन्न पुग्यो । अब हाम्रो दुर्भाग्यपुर्ण र अभावबीचमा गुज्रेको भोगाइ होइन, डोल्पा र गाउँलाई लिएर मैले सोचेको सुन्दर सपना भोलिको पुस्ताको वास्तविकता बन्न पुगोस् । यो मेरो चाहना र त्यतातिरको प्रयास नै मेरो सपना हो । घुम्ने पर्यटनलाई मात्र होइन डोल्पा त्यहीँकै बासीलाई समेत स्वर्गको अनुभव र अनुभूति दिलाउने ।
११.केहि छोटा प्रश्नहरू गरौँ है, लेखन के रहेछ ?
लेखन एक खोज रहेछ । लेख्न चाहेको विषय तय पहिल्यै गर्न सकिए पनि त्यो कसरी र कुन ढंगले बग्छ, त्यो लेख्दै जाँदा थाहा हुनेरहेछ । प्रेमबहादुर बोहरा
१२.तपाईँ डोल्पाली ठिटो तर बोल्दा डोल्पाली टोन कमै आउँछ । डोल्पाली टोन कहाँ, कतिखेर हराउनुभयो ?
टोन हराएको होइन । आफ्नो भाषा, खाना र आफ्नोपनलाई बेइज्जतको रूपमा बुझिनु, र आफ्नोपनको उजागार हुँदा अरुले पनि हेप्नु वा अरुले हेपेको महसुस आफूलाई हुनुुले केही दबिएको मात्र हो । अरुसँग कुरा गर्दा कतै हराएको जस्तो भए पनि गाउँमा जाँदा भने, धेरै हदसम्म प्रष्फुटित हुन्छ नै । प्रेमबहादुर बोहरा प्रेमबहादुर बोहरा प्रेमबहादुर बोहरा
१३.अन्त्यमा, काठमाडौँबाट हेर्दा देखिने कर्णाली र कर्णालीबाट हेर्दा देखिने काठमाडौँको चरित्र, चित्र कस्तो पाउनुहुन्छ ? प्रेमबहादुर बोहरा प्रेमबहादुर बोहरा
कर्णालीबाट हेर्दा काठमाडौँ सबैकुराले भरिपुर्ण र शक्तिशाली लाग्छ भने काठमाडौँबाट हेर्दा कर्णाली दरिद्र र गरिब । तर वास्तविकता भने, फरक छ, काठमाडौँ शक्तिशाली त हो तर त्यो शक्तिले स्वयम् काठमाडौँलाई पनि दरिद्रता, अभाव र प्रदुषण मात्र दिएको छ । र काठमाडौँबाट देखिएको कर्णाली पनि फरक छ, र अझ फरक हुने बाटोमा छ ।
समग्र काठमाडौँभन्दा पनि काठमाडौँमा अवस्थित राज्यबाट पोषितहरूले कर्णालीलाई सधैँ गरिब, दुर्गम र समस्याग्रस्त भनिरह्यो र त्यसको नाममा राज्य वा गैरराज्यबाट राहत आफैँ खाने गर्यो । त्यही जमातले कर्णालीकै केही व्यक्तिहरूलाई टिका लगाइदियो अनि तिनीहरूमार्फत कर्णालीकै खाएर कर्णालीमाथि नै लात हान्न लगायो । यति मात्र नभएको भए, कर्णालीले निरीहता र हीनता महसुस गर्नुपर्दैनथ्यो होला ।
वस्तुगत रुपमा हेर्दा, कर्णालीले आफैँलाई निरीह र हीन भावनाले हेर्नुपर्ने आवश्यकता छैन । आवश्यकता छ त, तीन असुरक्षित सानो तत्काको दम्भमाथि हात बजार्नुपर्ने । यति गर्न सकिए, जे थियो होइन, जे बन्न सक्छ र जे हुनसक्छ त्यो संभव हुन केही बेर लाग्नेछैन । प्रेमबहादुर बोहरा
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।