विषय प्रवेश डा. देवी क्षेत्री दुलाल डा. देवी क्षेत्री दुलाल
पाथीभरा प्रदेश नं.१ अन्तर्गत, ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ नगरपालिकाको शिरोभागस्थित ३७९५ मीटर उचाइमा रहेको छ । पाथीभरा ठाउँको नाम हो, यो डाँडा पाथीभरि अन्न भरेको जस्तै स्वरूपमा छ । परापुर्व कालदेखि यहाँका मान्छेले यो डाँडालाई पाथीभरि अन्न भरे जस्तो डाँडा पाथीभरा डाँडा, थुम्को, चुली आदि भन्न थाले । पछि कृषियुगको मध्यान्तरतिर आइपुग्दा यस डाँडाको चुचुरामा गोठालाहरूले देवीस्थान स्थापना गरे । यहाँ प्रकट भएकी देवी कालीदेवी हो । कालान्तरमा आएर यहाँकी काली देवीलाई पनि स्थानीय मान्छेले पाथीभरा देवी भन्न थाले । आज आएर पाथीभरा देवी एक विस्वप्रसिद्ध शक्तिपीठको रूपमा स्थापित छ । यो हाम्रो गौरवको विषय हो । (अब उपरान्त यस आलेखमा पाथीभराकी काली देवीलाई पाथीभरा देवी नै भनिनेछ ।) ऐतिहासिक किम्बदन्ति अनुसार कृषि युगको मध्यतिर आएर पाथीभरा देवीको उत्पति भएको हो भन्ने देखिन्छ । परम्परागत पशुपालन व्यवसाय मान्छेले जीविकोपार्जनको मुख्य आधार मान्थे । सिजनअनुसार गर्मी मौसममा लेकाली पहाड र पाताल चोकमा भेडा, बाख्रा, गाइ, भैँसी र चौरी लाने र जाडो समयमा औल बेँसी किनारमा गोठ सार्ने त्यसबेलाको चलन रहेको थियो भन्ने इतिहासको अध्ययनबाट थाहा हुन्छ । डा. देवी क्षेत्री दुलाल
उत्पत्ति कथा:
त्यसै क्रममा एकपल्ट पाथीभरा क्षेत्रमा गुरूङ भेडी गोठालाहरूको सबै भेडा र कुकुरहरू हराएछन् । कराएको सुन्ने तर नदेखिने, नभेटिने भएछ । अनि गोठालाहरूले जानअन्जानमा आफूहरूबाट कुनै वनदेवीलाई मानभाउ नपुगेर उनै बनदेवीको छलछलैया भएको ठानेर अदेख अलप वनदेवीलाई धुपध्वाँर गरेर आफ्नो हराएको भेडा र कुकुर पाउँ भनी पुकारा गरेछन् । त्यसो गरेपछि हराएका सबै भेडा र कुकुर आफ्नो गोठचोकमा फर्केर आएछन् । त्यसपछि गोठालाहरू खुसी भएर अदेख अलप वनदेवीलाई धुपध्वाँर, वनफूल, दुध आदि चढाएछन् । त्यसपछि गोठालाहरूले हरेक साल उधौलीउभौलीमा उनै अदेख अलप वनदेवीको नाममा आफ्नो भलो होस् भन्ने मनोकांक्षाका साथ फलफूल धुपबत्ति चढाएर मानमनितो गर्न थालेछन् । त्यसरी भेडा हराएर भेटिएको केही वर्षपछि फेरि तिनै गोठालाहरूको सबै भेडा र कुकुर उसरी नै हराएछन् । आफ्ना भेडा र कुकुर पाऊँ भनेर वनदेवीसँग पुकारा गरेछन् । तर, पहिलेजस्तो भेडा र कुकुर गोठमा आएन रहेछ । भेडा खोज्न पाताल गएका गाठालाहरू दिनैभरि भेडा खोजेर बेलुका गोठ फर्केर जाऊँ भनेर हिड्यो गोठमा नपुग्ने, त्यै पाथीभरा डाँडानिर पहराको ओढारमा पुग्न थालेछन् । आफ्ना भेडा कुकुर कराएको सुन्ने तर नभेट्ने नदेख्ने क्रम सातदिन सातरातसम्म चलेछ । गोठमा उनीहरूका जहान परिवार र लालाबाला गोठमुली हराएकोले शोकमा परेछन् । भेडा खोज्न गएका गुरूङ गोठालाहरू भोक र सुर्ताले लखतरान भएछन् । सातौँ दिनको मध्यराति एकजना गोठालाले आफ्नो भेडा र कुकुर पाथीभराको त्यही पहरामा अल्पेर बसेकी काली देवीले छल गरेर राखेको, उनको बासस्थान यही पहरा भएको, अब उपरान्त उनी मानवहित र सारा चराचर जगतकै हितका लागि प्रकट हुने, उनको नाम कालीदेवी भएको, उधौलीउभौलीमा उनलाई फलफूल, दुध, कालो, सेतो भेडाको बलेग्रा, बलेग्रीको भोग चढाउनुपर्ने र उनी ठूली बैनी भएको र समयान्तरमा विभिन्न स्थानमा माइँली,साइँली बैनीको रूपमा प्रकट हुने, सत्कर्म गर्नेलाई रक्षा र असत्कर्म गर्नेलाई नष्ट गर्ने देवीको शक्ति भएको भनेर आजैको रातदेखि उनीहरूलाई (गोठाला) लाई साक्षी मानेर उत्रेको र अब उपरान्त उनीहरू जहाँ–जहाँ जान्छन् त्यहाँ देवीको कायाकैरन भन्नु पर्ने आदेशसहित ‘अब जाओ म तिमीहरूको भेडा कुकुर तिमीहरूकै गोठमा पठाइदिन्छु’ भनेको सपना देखेछ । डा. देवी क्षेत्री दुलाल
निन्द्राबाट ब्युँझिएपछि आफूले देखेको सपना साथीलाई सुनाएछ । त्यसपछि सपनामा देखेको पाथीभराकी काली देवीलाई पुकारा गरेर गोठ फर्केछन् । गोठमा पुग्दा आफ्ना हराएका सबै भेडा र कुकुर गोठमै फर्किसकेको अवस्थामा भेटेछन् । त्यसपछि गोठालाहरू काली देवीसँग खुसी भएर कालो बलेग्रा र सेतो बलेग्री लगेर पाथीभरको पहरामा काली देवीलाई भोग चढाएछन् । त्यसपछि गोठालाहरू जहाँ–जहाँ पुगे त्यहाँका मान्छेलाई पाथीभरा देवीको कायाकैरन सुनाएछन् । एककान दुईकान हुँदै पाथीभरा देवी सर्वव्यापी भइछन् । हो त्यसरी, त्यसै समयदेखि पाथीभरा देवीको उत्पति भएको हो भन्ने किम्बदन्तिमा औसत मतैक्यता रहीआएको छ । लिम्बू जातिले पाथीभरालाई आफ्नो आराध्यदेव युमाको बासस्थानको रूपमा मानिआएका छन् । लिम्बू भाषामा पाथीभरालाई मुक्कुमलुङ भनिन्छ ।( उत्पति कथाबारे विस्तृतमा लेखकको पूर्व प्रकाशित कृति पाथीभरा कथोपन्यास र नाटक हेर्नुस् ।)
तिर्थ पर्यटनको प्रारम्भ र विकास:
गोठालाहरूले देवीको शक्ति र महिमाबारे जनतालाई सुनाउँदै गएपछि भक्तालुहरू देवीको दर्शन गरेर आफ्नो मनोकांक्षा पुरा गर्ने इरादा लिएर पाथीभरा पुग्न थालेको अनुमान हुन्छ । देवीस्थानमा भक्तालुहरूले चढाएको भेटी र पोलिएको चरूको अङ्गार आदिलाई प्रमाण मान्दा यस्तो अनुमान गर्न सकिन्छ । पहिले देवीको मुल थान अहिलेको थानभन्दा उत्तरतर्फ अलिक तल रहेको पहरामा (जहाँ गोठालाले पत्ता लगाएका थिए) त्यहीँ थियो । भक्तजनलाई देवीको दर्शन गर्न सजिलो होस् भनेर आजभन्दा करिब १४० वर्षपहिले यहाँका स्थानीय अगुवाहरूको पहलमा देवीको मुलथान डाँडाको चुचुरामा सारिएको हो । त्यसपछि भक्तजनलाई देवीको दर्शन गर्न थप सजिलो भएको देखिन्छ । त्यसरी पाथीभरा आउने भक्तजनले देवीको महिमाबारे थप चर्चा गर्न थालेपछि पाथीभरामा भक्तालुहरूको आवागमन बढ्न थालेको हो भन्ने सहज अनुमान गर्न सकिन्छ । त्यसबेला पाथीभरा पुग्ने सहज बाटोघाटो थिएन, गोठालाहरूले बनाएको ससाना गोरेटो बाटोको विकल्प थिएन । पिउने पानी र बासको कुनै प्रबन्ध थिएन । प्राकृतिक रूपमा रहेको खोल्छाखोल्छी र कुवाको पानी पिउनु र ओडार, रुखको ओतमा आश्रय लिएर बास बस्नुको पनि विकल्प थिएन । डा. देवी क्षेत्री दुलाल
त्यस्तो अवस्थाबाट प्रारम्भ भएको पाथीभराको तिर्थ पर्यटन समयक्रमसँगै थप विकसित हुँदै आएको देखिन्छ । तत्कालीन सत्तासिनहरूदेखि प्रशासक र समाजका अगुवाहरूको कानसम्म देवीको महिमा, प्रभाव र चर्चा पुग्न थाल्यो । त्यस तहका मान्छेहरू पनि पाथीभरा पुग्न थाले । पाथीभरा यात्रामा जाने बाटो असहज भएको अनुभूति गर्न थाले र तिनै व्यक्तित्वहरूको आदेश, इच्छा र सक्रियतामा बाटोघाटो बनाइन थाल्यो, पाटीपौवा बनिन थाल्यो, कुवा धारा खनिन थाल्यो । त्यसै क्रममा सबैभन्दा पहिले भालुगौँडामा हाङ्देवा निवासी…घिमिरेले २०१७ सालमा पाटीघर बनाएका थिए । त्यसरी नै सानो फेदीमा ताप्लेजुङका प्रजापति काफ्लेले आफ्नै लगानीमा भक्तजनको सुविधाका लागि २०३३ सालमा अर्को पाटीघर बनाइदिए । त्यसपछि क्रमश: अन्य दानवीर मनवीर व्यक्तिहरूले ठूलोफेदी क्षेत्रमा पाटीपौवा बनाएर पुण्यकार्य गर्न थाले । यस्ता कार्यबाट पाथीभराको तिर्थ पर्यटनमा नयाँ आयाम थपिन थाल्यो । पाथीभरा गएर आफ्नो मनोकांक्षा पुरा भएको अनुभूतिकै आधारमा विकट स्थानमा भएर पनि मान्छेहरू दिनपरदिन पाथीभरा जाने भक्तजनको वृद्धि हुन थाल्यो । विशुद्ध तिर्थ पर्यटनको केन्द्रको रूपमा स्थापित हुन पुग्यो पाथीभरा । धार्मिक आस्थाको धरोहर बन्यो पाथीभरा ।
विकासको अवस्था:
नेपालमा २०५६ सालको राजनीतिक परिवर्तनपछि आएर भने पाथीभरा क्षेत्रको समग्र विकासमा राज्यको ध्यानाकर्षण हुन थाल्यो । पाथीभराको व्यापक प्रचारप्रसार हुन थाल्यो । सरकार प्रमुखदेखि उच्च ओहदाका मान्छेहरूको आगमन हुन थाल्यो । धार्मिक पर्यटकको अलावा गन्तव्य भ्रमण र दृश्यावलोकनका पारखीहरू पनि पाथीभरा पुग्न थाले । यसबाट पाथीभराको महत्ता बढ्न थाल्यो । गैरसरकारी र सरकारी स्तरबाट पाथीभरा क्षेत्रको समग्र विकासका लागि काम गर्ने ध्येयका साथ विकास संस्थाको स्थापना र सञ्चालन हुन थाल्यो । गैरसरकारी संस्थाको रूपमा स्थापित पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति २०५८ र सरकारले बनाएको पाथीभरा क्षेत्र विकास समिति २०४५ अहिले पाथीभरा क्षेत्रको सर्वाङ्गिण विकासका लागि क्रियाशील रहेका छन् । नेपाल सरकारले सदरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार एयरपोर्ट हुँदै काफ्ले पाटीसम्म मोटरबाटो बनाएको छ । यसबाट पाथीभरा भ्रमणमा भक्तजनलाई सजिलो भएको छ ।
पहिले ओडार, रुखको छहारी, गोठ र पाटीमा बसेर पाथीभरा दर्शनमा जानपर्ने अवस्थाको अन्त्य भएको छ । अहिले यस क्षेत्रमा नीजिस्तरमा प्रशस्तै सुविधा सम्पन्न होटल रिजोर्टहरू बनेका छन् । काफ्ले पाटीमा पाथीभरा क्षेत्र विकास समितिले व्यवस्थित पर्यटन सूचना केन्द्र बनाएको छ । काफ्ले पाटीदेखि ठूलोफेदी हुँदै मन्दिर परिसरसम्म पुग्ने ४ कि.मि. फराकिलो पैदल मार्ग बनाएर बाटाको दुवैतिर फलामे पाइपको बार लगाएको छ । यसबाट पर्यटकलाई आवागमनमा सहज भएको छ । पाथीभरा देवी परिसरमा गेट बनेको छ । पाटीघरहरू बनेका छन् । भक्तजनले चढाएका घण्टी, त्रिशुल, पैसा, सुनचाँदी, भेटीघाटी आदिलाई व्यवस्थित गरिएको छ । पशुपंक्षीको छुट्टै बलीस्थान बनाइएको छ । विभिन्न दाता, सेना र पुलिसको सक्रियतामा काफ्ले पाटीदेखि पाथीभरा परिसरबीचमा पर्ने विभिन्न स्थानमा पिउने पानी, विश्रामस्थल, चौतारा बनाएका छन् । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले भक्तजनले चढाएको भेटीघाटी, सुनचाँदी र तामा आदि धातुलाई नियमित रूपमा संकलन गरी आयमा बाँध्ने काम गरिरहेको छ । सङ्कलित तामालाई गालेर यो समितिले २०७६ सालमा ठूलो फेदीमा तामाको एउटा आकर्षक प्रवेशद्वार बनाएको छ । जैविक विविधतायुक्त छ पाथीभरा क्षेत्र, यसको संरक्षण र विकासमा पनि सरोकारवाला निकायबाट काम भइरहेको देखिन्छ । अहिले हामी सूचना प्रविधिको युगमा आइपुगेका छौँ र यसको भरपुर उपयोग पनि गरिरहेका छौँ । यसबाट पाथीभराको महत्ताबारे व्यापक प्रचारप्रसार भइरहेको छ र पाथीभरा जाने तिर्थ पर्यटकको सङ्ख्यामा बढोत्तरी भइरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार वार्षिक १८ लाख पर्यटक पाथीभरा पुगेको देखिन्छ ।
पाथीभरा देवीको सर्वव्यापकता
हुन त हरेक ढुङ्गा,भञ्ज्याङ र थुम्कामा देवी देवताको बासस्थान हो भन्ने मान्यता हाम्रा पुर्खाहरूले राखिआएकै छन् । तेत्तीस कोटी देवता मान्ने चलन छ । तर, अरु देवता एउटामात्र, एकै स्थानमा मात्र हुन्छन्, पाथीभरा देवी भने धेरै स्थानमा प्रकट भइरहेको देखिन्छ । यो आफैँमा अनुपम र अनौठो परिघटना हो । मूल पाथीभरा देवीको उत्पत्ति कथामा नै विभिन्न काल खण्डमा पृथ्वीको विभिन्न स्थानमा अन्य बैनीको रूपमा आफ्नो जन्म वा पुन: प्रकट हुने कुराको थाहा हुन्छ । त्यसरी हेर्दा आदिदेखि आजसम्म नेपाल भारतको विभिन्न स्थानमा पाथीभरा देवीको पुनर्उत्पत्ति या जन्म भइरहेको देखिन्छ । यसरी पछि उत्पत्ति भएको पाथीभरालाई कतै बैनी र कतै शाखा पाथीभराको रूपमा भक्तजनहरूले मान्दै आएको अवस्था छ । ताप्लेजुङको सुकेटार, पैंयुबोटे, भुँडे जङ्गल, याङ्लिजुङ लगायतका स्थानमा विभिन्न समयमा बैनी पाथीभराको उत्पत्ति भएर स्थानीय भक्तजनले देवीलाई मानमनितो गरिरहेको देखिन्छ । त्यसरी नै तेह्रथुम जिल्लाको सङ्क्रान्ति बजार, चुहानडाँडा, म्याङ्लुङ बजार, मेन्छेयाम डाँडा, बसन्तपुर बजारमा पाथीभरा देवीको उत्पत्ति भएको र त्यहाँका स्थानीय जनताले मानमनितो गरिआएका छन् । संखुवासभा जिल्ला मादी नगरपालिकाको थामखर्क, चौकी बजार र देवढुङ्गामा पनि पाथीभरा देवीको उत्पत्ति भएको छ । पछिल्लो समयमा आएर इलाम जिल्लाको कोलबुङ, श्रीअन्तु र बरबोटेमा पनि पाथीभरा देवीको उत्पति भएर भक्तजनले देवीको मानभाउ गरिरहेका छन् ।
यसरी नै झापाको चारआली, मकवानपुरको हेटौँडा बजार, ललितपुरको नल्लु आदि स्थानमा पनि देवीको उत्पत्ति भएको पाइन्छ । भारतको सिक्किम, दार्जिलिङको विभिन्न ठाउँमा पनि पाथीभरा देवीको उत्पति भएर त्यहाँका भक्तजनले देवीलाई मानिआएको देखिन्छ । त्यतिमात्र नभएर अहिले आएर पाथीभराको दर्शनमा ताप्लेजुङको ठूली पाथीभराको दर्शनमा एकपल्ट पुगेका भक्तजनले फर्केर आफ्नो घर पुगेपछि आफ्नै घरको पूजाकोठामा पाथीभरा देवीको थान स्थापना गरेर देवीपूजा गर्ने प्रचलनले व्यापकता पाएको देखिन्छ । यसरी पाथीभरा देवीको सर्वव्याप्ति भइरहेको छ । सरोकारवाला निकायको तथ्याङ्कानुसार पछिल्लो समयमा इलाम कोलबुङस्थित कान्छी पाथीभरामा वार्षिक ४ लाख भक्तजन आएको देखिन्छ । यसरी पाथीभरा देवीको सर्वव्याप्तिको कारण नेपालको तिर्थ पर्यटनमा नयाँ आयाम थपिएको छ ।
स्रष्टाको सृजनामा पाथीभरा:
पाथीभरालाई विषय बनाएर विभिन्न स्रष्टाले कलम चलाएका छन् । साहित्यको विविध विधामा स्रष्टाले पाथीभराको महिमा र प्रभावलाई उल्लेख गरेका छन् । यसैक्रममा सबैभन्दा पहिले रामकुमार श्रेष्ठले “पाथीभरा” शीर्षकमा लोक कथा लेखेको पाइन्छ । उनले आफ्नो कथामा पाथीभरा देवीको उत्पत्तिको विषयलाई संक्षिप्त रूपमा उल्लेख गरेका छन् । त्यसरी प्रारम्भ भएको पाथीभरा साहित्य २०४० को दशकमा आएपछि थप उन्नत र व्यापक बन्दै आएको देखिन्छ । डा. दवी क्षेत्री दुलालले पाथीभराको बहुआयामिक पक्षमा कलम चलाउँदै आएका छन् । “यो समाज यो शताब्दी”, कथा( २०४५ समता लहर, इलाम), “पाथीभरा एक: चर्चा अनेक”, निबन्ध (२०४५ बगर, काठमाडौँ), पाथीभरा देवीको उत्पत्ति, नाटक (२०४६ मधुपर्क,काठमाडौ.), “धार्मिक पर्यटनको केन्द्र पाथीभरा”, आलेख (२०४९ गोर्खापत्र, काठमाडौँ) र पाथीभरा, कथोपन्यास ( २०७२) । पाथीभरा नाटक काठमाडौँलगायत देशका विभिन्न शहरमा सफलतापूर्वक मञ्चन भएको देखिन्छ । डा. देवी क्षेत्री दुलाल
त्यसरी नै राजेश्वर थापा, केन्द्र विक्रम थलङ, रविमान लमजेल, देवीप्रसाद अधिकारी, मोहनचन्द्र दाहाल, देवीप्रसाद निरौला, आनन्द गौतम, रामचन्द्र उपाध्याय, तारानिधि घिमिरे, शान्तिराम नेपाल आदि स्रष्टाले पनि पाथीभरालाई विषय बनाएर साहित्य सृजना गरेका छन् । यस मध्ये थापाको पावन पवित्र मुक्कुमलुङमा, लमजेलको पाथीभराको फेदीबाट खोजपरक निबन्धात्मक कृति हो भने नेपालको पाथीभराबारेको प्राज्ञिक शोधपत्र हो । गीत, भजन र डकुमेन्ट्रीमा पनि पाथीभराबारे शब्द र दृश्यहरू कैद भएका छन् । स्रष्टाका यस्ता सृजनाले पाथीभराको सर्वपक्षीय महत्ता थप उजागर भएको देखिन्छ । डा. देवी क्षेत्री दुलाल
घटना र जनविश्वास:
पाथीभरासँग जोडिएका अपत्यारिला तर सत्य घटनाहरू प्रशस्तै रहेका छन् । उत्पत्तिकै रात देवीले सत्कर्म गर्नेलाई रक्षा र असत्कर्म गर्नेलाई भष्म पार्ने भने झैँ अनेकन घटना घटेका र त्यस्ता घटनालाई मान्छेले विश्वास गरिरहेको देखिन्छ । अपवादबाहेक देवीको शक्ति र महिमा सुनेर हाम्रो देशका राजा महाराजा, प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, नेतालगायत उच्च ओहदाआसिन मान्छेहरू पाथीभराको दर्शनार्थ पुगेको इतिहास छ । देवीको शक्तिकै कारण भक्तहरूले चढाएका बहुमुल्य चिज नहराएको, सडेर नष्ट नभएको भन्ने जनविशवास पनि रहेकै छ । पहिले मान्छेले देवीसँग मागेर पैसा, सुनचाँदी सापट लगेर पछि फिर्ता गर्ने चलन पनि थियो भनिन्छ । त्यसताका पैसा र सुनचाँदी फिर्ता नगर्ने फटाहालाई देवीले चट्याङले हानेर मारेको, काँचो रगत छदाएर फलानो ठाउँको फलानोलाई मारेको आदि प्रशस्त घटनाहरू जनश्रुतिको रूपमा अझै जीवन्त छन् । पछिल्लो समयमा ताप्लेजुङको सिडिओलाई चट्याङले मारेको, घुन्साको हेलिकोप्टर दुर्घटनामा डा. हर्क गुरूङ, मन्त्री गोपाल राई लगायतको निधन भएको र पाथीभरामा मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएर अधिकारी लगायतको ज्यान गएको घटनालाई पनि देवी रिसाएर उनकै शक्तिको कारणले भएको हो भन्ने पनि जनविश्वास रहेको पाइन्छ ।
यस्ता घटना परिघटनाका वैज्ञानिक कारण छदैँछन् तर, मान्छेमा यस्तो विश्वास रहिआएको छ । यीनै र यस्ता घटनाप्रतिको जनविश्वासको कारणले पनि पाथीभरा क्षेत्रका बहुमुल्य सम्पदाको सुरक्षा भएको देखिन्छ । नराम्रो काम गर्ने अपराधीलाई मात्र देवीले नष्ट गर्ने भए डा. गुरूङ र मन्त्री अधिकारीले के त्यस्तो अपराध गरेका थिए ? भन्ने प्रश्न पनि नउठेको होइन । यो छुट्टै छलफलको विषय हो, यहाँ यति नै ।
यसो गरौँ, राम्रो हुन्छ !
हो, पाथीभरा एक: महत्ता र सम्भावना अनेक । भौगोलिक रूपमा दुर्गम भएर पनि प्राकृतिक सौन्दर्यता र धार्मिक महत्वको दृष्टिमा मान्छेका लागि पाथीभरा सधैँ सुगम, सुन्दर र पवित्र स्थल हो । यसै कारण एकपटक पाथीभरा पुगेका मान्छेहरू पटक–पटक पाथीभरा पुग्ने गर्छन् । एकपटक पुगेर फेरि जान नसक्नेहरूले आ–आफ्नै समिपमा नयाँ पाथीभरा स्थापित गरेर आफ्नो मनोकांक्षा पुरा गर्छन् । अझै आफ्नो मनमन्दिरमा पाथीभरा देवीलाई श्रद्धासाथ सजाएर पूज्छन् । यो नै हो पाथीभराको शक्ति, सौन्दर्य, आकर्षण र महत्ता । यात्राजस्तै न रहेछ मान्छेको जिन्दगी पनि ! मेरो आफ्नै पाथीभरा यात्राको अभिलेखलाई हेर्दा– २०५८ साल फगुन २५ गते, २०४५ साल कार्तिक ५ गते, २०४७ साल भदौ १२ गते, २०७६ साल भदौ १५ गते र कार्तिक ७ गते गरी पाँचौँ पल्ट म पाथीभरामा पुगेछु । अझै जाने रहर छ, थाहा छैन कति पल्ट जान्छु ।
अँ, यति भनेपछि मेरो अध्ययनका आधारमा पाथीभराको सर्वाङ्गिण विकास, संरक्षण र संवर्द्धनका लागि निम्न सोच अघि सार्छु:
१. सुकेटार विमानस्थलदेखि काफ्लेपाटीसम्मको निर्माणाधिन मोटरबाटोलाई स्तरोन्नति गरी कालोपत्रे गरौँ । काफ्ले पाटीमा व्यवस्थित ट्याक्सीपार्क बनाऔँ । यो काम सङ्घीय सरकारले गर्न सर्वथा उचित हुन्छ ।
२. यस क्षेत्रमा रहेका पुराना पाटीपौवाको जिर्णोद्धार गरौँ । पाथीभरा तिर्थ पर्यटनको जरा र आधार यिनै पाटी पौवा हुन् है भन्ने इतिहास भावी पुस्तामा हस्तान्तरण गरौँ । यो काम स्थानीय सरकारको लगानीमा सरोकारवाला सरकारी र गैरसरकारी विकास समिति र सङ्घसंस्थाको साझेदारीमा गर्नु प्रभावकारी हुन्छ ।
३. काफ्ले पाटी र ठुलो फेदीमा भक्तजनका लागि भजनकृतन गृह बनाऔँ । यो गृहको नाम रवीन्द्र अधिकारी स्मृतिगृह राखौँ । यसो गर्दा तिर्थ पर्यटकलाई बस्न सहज हुन्छ । सबै भक्तजनले रवीन्द्र अधिकारीलाई स्मरण गर्छन् । यो काम प्रदेश सरकारको लगानीमा गर्न उचित हुन्छ । यो भजनकृतन गृहमा स्थानीय सांस्कृतिक झाँकी, पाथीभरा बारेका वृतचित्र देखाउने व्यवस्था गरौँ । यसो गर्दा पर्यटकलाई ज्ञानबर्द्धक मनोरञ्जन मिल्छ, बस्नलाई सहज हुन्छ, साथै आय आर्जन पनि हुन्छ । यो कामको प्रवर्द्धन र सञ्चालन पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले आपसी संयोजनमा गर्नु राम्रो हुन्छ ।
५. काफ्ले पाटीदेखि पाथीभरा देवीको मुलथान परिसरसम्म बाटो, चौतारा आदि निर्माणमा सिमेन्ट प्रयोग नगरौँ । यस्तो काममा स्थानीय बस्तुको प्रयोग गरौँ । देवीको मूलथानमा वनावटी मुर्ती नराखी मौलिक स्वरूपमै राखौँ ।
४. यस क्षेत्रमा विभिन्न नामका पार्क निर्माण प्रयोजनमा प्राकृतिक रूपमा रहेका बोटविरूवा कटानी फडानी नगरी जैविक विविधताको संरक्षण गरौँ । ठूलो फेदीमा रहेको विशाल लालीगुराँसको रुखलाई संरक्षण गरी त्यहाँ प्राकृतिक लालीगुराँस फोटो स्टुडियो बनाऔँ ।
६. चर्चामा रहेको प्रस्तावित केबुलकार परियोजनालाई कार्यान्वयन नगर्नु राम्रो देखिन्छ । केबुलकार निर्माणमा मौसमको प्रतिकुलता देखिन्छ । यो परियोजना बनिहाले पनि मौसमी प्रतिकुलताको कारण नियमित रूपमा केबुलकार चल्न नसकी परियोजना टाट पल्टिने खतरा एकातिर रहन्छ भने अर्कातिर काफ्ले पाटीदेखि पाथीभरादेवी परिसरसम्मको अनुपम पदमार्गमा क्षति पुग्छ ।
७. साहित्यकार, पत्रकारले आ–आफ्नो ठाउँबाट सकारात्मक सोचका साथ काम गरौँ ।
निचोड
माथि उल्लेखित काम गर्न सके निश्चय नै पाथीभरा क्षेत्रको सर्वाङ्गिण विकास हुन्छ । पाथीभरा तिर्थ पर्यटनको माध्यमबाट जिल्ला र प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा टेवा पुग्छ । धार्मिक आस्था र विश्वासका माध्यमबाट मान्छेमा सद्भाव, माया र एकताको सकारात्मक सन्देश प्रवाह भई समाज नैतिकवान हुन्छ । पाथीभरालाई धार्मिक आस्थाकेन्द्रको रूपमा विश्वभर चिनाउन सकिन्छ । यो आलेख पढिदिने पाठकलाई फूलको माला मिलोस्, कार्यान्वयन गरिदिनेलाई सुनकै माला जुरोस् । यो अध्ययन कार्यमा हरपल सहयोग गर्ने उदय भट्टराई, डोरेन्द्र निरौला, रविमान लमजेल, इन्द्र पौडेल, उमित लिम्बू, सन्तोष चाम्लिङ, योगेश उप्रेती, अमृतबहादुर विष्ट, इन्द्रनारायण भट्टराई, सीता निरौला, मनमणि काफ्ले र लक्ष्मी ढकालको मुखमा कुराउनी मिलोस् । जय पाथीभरा !
लेखक परिचय
राजनीतिशास्त्र (नेपाली प्रेसमा राजनीतिक प्रभाव) मा विद्यावारिधी गरेका दुलाल – चार खोल साप्ताहिक, इलाम (२०५४), अपरेसन साप्ताहिक, पाँचथर (२०५६) , आँखा साप्ताहिक, इलाम (२०५९ देखि २०६४ सम्म), आँखा द्वैमासिककाे सम्पादककाे रुपमा काम गरिसकेका छन् । नेपाल विद्याभूषण, नेपाल सरकार (क) २०६७ क्षेत्रीय प्रतिभा पुरस्कार, नेपाल सरकार (२०७२), बुद्धि घिमिरे वाङ्मय पुरस्कार (२०७३), यमुनादेवी वैजनाथ भट्टराई पत्रकारिता पुरस्कार (२०७४) लगायतका पुरस्कारबाट संम्मानित दुलालका साहस, नाटक (२०५१) , सेतो परेवा, एकाङ्की संग्रह (२०५५) , रङ्गधोजी, उपन्यास (२०६०), विकासको जरा इलाम (२०६६), नेपाली छापामा राजनीतिक प्रभाव (२०६७) लगायत दजनाैँ कृतिहरु प्रकाशन भइसकेका छन् ।
डा. देवी क्षेत्री दुलालज्यूको यो लेख औपनिवेशिक चिन्तनले ग्रसित, अतिक्रमणकारी कलमबाट सुसज्जित देखिन्छ । अहिलेको संचार माध्यमको बिगविगी भएको समयमा मुक्कुमलुङ आन्दोेलनबाट बेखबर पक्कै हुनुहुन्न उहाँ । त्यसैले यो लेखले आन्दोलन अझ तेज गतिमा उठाउनु पर्यो भन्ने खुला चुनौती दिए जस्तो लाग्छ । प्राज्ञिक जगतमा उपल्लो दर्जाको उपाधी लिइसकेको व्यक्तिले यस्तो किसिमको हल्का फुुल्का, एकपक्षीय र औपनिवेशिक चिन्तनबाट कलम चलाउँदा आफ्नै हैसियत र औकातमा प्रश्नचिन्ह खडा हुन्छ भन्ने ख्याल गर्नु राम्रो । यो लेख गोपीकृष्ण अधिकारी र राजेश्वर थापाको जति पनि वजन छैन । मुक्कुमलुङको विषयमा हावादारी र काल्पनिक कुराहरु लेखेर पाथिभरा बनाइएको बिरोध भैरहेको अवस्थामा रैथाने याक्थुङ समुदायको कुरा पनि समावेश भएको भए लेख सन्तुलित हुन्थ्यो कम्तिमा ।
यो लेखले पाथीभरालाई लिम्बु समुदायबाट पुरै अलग गर्ने तर्क सारेछन। यहाँ वरिवरी आर्य समुदायको आएर बसोबासका प्रमाण परापुर्वकाल सम्म पनि जाँदैन। दुइ/अढाई सय अघिमात्र आर्यहरू पुर्वाञ्चलमा प्रवेश गरेका हुन्। यसलाई मुन्धुमले पुकार्ने नामहरू अलग अलग जस्तै सेमुक्तु मुक्तुबुङ/मुक्तुगोक/ मिनुगु मुक्तुगोक … यससंग संम्बन्धी मुन्धुममा फरक कथन छन् पत्र पत्रिकामा लेखहरू प्रसस्त आएका छ। यति हुदा हुदै गुरूङको कहानी र आर्यहरूको धार्मिक छापलाई बढवा दिनु गलत हो।