किशोर सुब्बा लिम्बू किशोर सुब्बा लिम्बू
बिहानको घामसँगै
एक बटुको जाँड
एउटा लाम्पाते चुरूपको जोसमा
ढुङ्गा, माटो, गिट्टि, बालुवा र रडहरूसँगै
जीवनको गीत साट्दै
कहिले च्यापिएको औंला
कहिले पिल्सिएको ढाड
अनि काटिएका घाउबाट
तप्प चुहिएका रगतलाई
बालुवाको बुजो लगाउदै
कहिले मूतको औषधिकै भरमा
बलजफ्ति निको हुन्छन् ।
एकसरो कमिजको जीर्णता
ठाउँ ठाउँमा बाँकी रहेको
स्टकोटको धागोले पनि धानेकै छ
अलि कति भूसा, ढाल्नेको पात
र
एक थान झुलो चक्मक
लाग्छ युद्धदमा सिपाहींको गोली गठ्ठा भन्द बढी माने राख्छ ।
बाख्रा हुल्ने बेलासम्मको दिनचर्यालाई
बाटैको भुन्टिको भट्टि पसलमा बिट मार्छ
माइला दाइ ।
भुन्टिको खाता बाक्लिदै जाँदा कम्ती हम्मे पर्दैन
जाबो एकै बोतललाई पनि
उसै बर घुम्ती र खोल्सीमा एक बल्ढ्याङ त रीत नै हो
टोपी र चप्पल हातमा लिएर राती घर पुग्दा
माइली भाउजु बिरलै जागा हुन्छिन्
गुन्द्रुकको झोलसँगै अभव र खाँचोको प्रतिवेन लिएर
झोँकै झोँकमा नखाएरै सुत्छन माइला दाइ
नगरेको पनि छैन
बिरामी हुने पालो छैन
भुराभुरीलाई आजसम्म उज्यालोमा एक नजर हेर्न भ्याएका पनि छैनन् ।
बर्षैभरि घर बनाउँछन् बपुरो
आफ्नो ओतको भर छैन ।
पोहोर बाढी आयो उसैको बगायो
हुरी आयो उसैको उडायो
खडेरीमा आग्लागीले उसैको खरानी बनायो
अस्ती भूकम्प आयो फेरी उसैको लडायो….
अरूलाई महलमा बसाउँदै आफै बेघर छन्
माइला दाइ।
लेखक परिचय
मानवशास्त्रमा पोर्चुगलबाट विद्यावारिधि गरिरहेका किशोर सुब्बा (लिम्बु) साहित्य सृजनामा पनि उत्तिकै अग्रसर छन् । सामाजिक विज्ञानमा दशभन्दा बढी अनुसन्धान गरीसकेका सुब्बा लोकसाहित्य सङ्कलक पनि हुन । विभिन्न पत्र पत्रिकामा सुब्बाका लेख, रचनाहरू नियमित रूपमा छापिन्छन् । http://kuragraphy.blogspot.com र KURAGRAPHY कुराग्राफी सुब्बाका व्लग र युटुब च्यानल हुन ।
हार्दिक आभार, शब्द सोपान