१९ औं शताब्दीमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले नयाँ अवधारणा अघि सारे । जसले विश्वमा कम्युनिस्ट आन्दोलनको बिजारोपण गर्यो । २१ फेब्रुअरी १८५८ मा ‘कम्युनिस्ट मेनिफेस्टो’ प्रकाशित गरे । त्यहीँबाट मार्क्सवादको उदय भयो । आज दुई सय वर्ष बितिसक्दा पनि उनको सिद्धान्त ज्यूँदो छ । उनको सिद्धान्तलाई उत्कृष्ट मानिन्छ । मेनिफेस्टोमा माकर््सवादको आधारभूत सिद्धान्तहरुलाई वर्णन गरिएको छ । मानव उत्पति र सभ्यतासँगै समाज कसरी नयाँ फेजमा प्रवेश गर्छ र त्यहाँ के कस्तो आर्थिक –सामाजिक चरित्र निर्माण हुन्छ ? त्यसलाई केले ध्वस्त गर्छ र नयाँ चरित्रको उदय हुन्छ भन्ने प्रस्ट उल्लेख छ ।
७ नोभेम्बर सन् १९१७ मा भ्लादिमीर लेनिनको नेतृत्वमा रुसमा अक्टोबर क्रान्ति सम्पन्न भयो । जसले रुसी जार रोमनोभ वंशको तीन सय वर्षको राजतन्त्र अन्त्य गरेर विश्वकै इतिहासमा सर्वहारा वर्गको पहिलो राज्य सोभियत सङ्घको स्थापना गर्यो । अक्टोबर क्रान्तिसँगै लेनिन विचारधार लेनिनवादको रुपमा स्थापित भयो ।
१६ मे सन् १९६६ मा चीनको साँस्कृतिक क्रान्ति सुरु भयो । यो साँस्कृतिक क्रान्तिका प्रवर्तक तात्कालिन चीनको कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङ हुन् । माओको नेतृत्वमा चीनमा साँस्कृतिक क्रान्ति सम्पन्न भयो । यसले चीनको सामाजिक संरचनामा ठूलो फेरबदल ल्यायो । साँस्कृतिक क्रान्तिबाट स्थापित माओको विचारधारालाई माओवाद भनिन्छ । धेरैले माओवादलाई ‘वाद’ स्वीकार्दैनन् र माओ विचारधारा भन्छन् भने उत्तिकैले माओवादका रुपमा अनुशरण गरेका छन् । माओ विचारधारा “राजनीतिक सत्ता बन्दुकको नालबाट निस्कन्छ ” “राजनीति रक्तपातरहित युद्ध हो र युद्ध रक्तपातयुक्त राजनीति हो” यी दुई उक्तिबाट गाइडेड छ ।
वि. सं. २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपालमा ऐतिहासिक जनयुद्धको घोषणा गर्यो । महान जनयुद्धको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) ले गरे । सर्वहारा वर्गको मुक्ति, निरंकुश राजतन्त्रको अन्त्य र सङ्घिय लोकतान्त्रिक गणतन्त्रको सुन्दर व्यवस्था स्थापना एजेण्डाबनाएर जनयुद्धको सुरु गरे। जनयुद्धले तात्कालिन राजनीतिक संसदिय व्यवस्थाको विकल्पमा नयाँ जनवादी नेपाल स्थापना गर्ने लक्ष्य लियो । नेपालमा ठूलो वर्गीय खाडल थियो र छ । जसको जरा जात हो, धर्म हो र त्यो जात व्यवस्थाको जरा उखेल्न जरुर ठानेकोले जनयुद्धको एजेण्डामा यी विषयहरू पनि समावेश गरियो । नेपाली राजनीतिक क्रान्तिको दौरानमा लामो समयदेखि धोका, गद्धारी, सम्झौताबाट निराश भएको नेपाली जनतामा छोटो समयमै आशाको रक्तसञ्चार गर्दै श्रमजीवि जनतताको विश्वास जित्यो र साथ पायो । सर्वहारा वर्गको मुक्तिको खातिर हजारौं युवाहरू जनयुद्धमा सामेल भए । जनयुद्धले नेपाली राजनीतिको आन्दोलन तथा नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ इतिहास रच्यो ।
जनयुद्धको दौरानमा सर्वहारा मुक्तिको खातिर हजारौँले वलिदानी दिए । हजारौँ घाइते भए, अनगिन्ती बेपत्ता छन् । यी योद्धाहरूको त्याग र वलिदानको जगमा आफ्नै जनसेना, जनसत्ता र अपार जनसर्मथन सहित पुरानो राज्यसत्तामाथि करिब विजयको झण्डा फहराउन लागेको जनयुद्धको जहाज अन्तमा राजनीतिक सहमती र सम्झौताको नाममा डुबाइदियो ।
२०६२/६३ को महान जनआन्दोलनसँगै शान्ति सम्झौता गरेर जनयुद्धको नायक प्रचण्डले हतियार बिसाए । उनले हतियार मात्र बिसाएनन् । राज्यसँगको सम्झौतामा आफ्ना सहयोद्धा कमरेडहरुको मर्म र भावना विपरित राज्यलाई आफूसँग भएको जनमुक्ति सेना जिम्मा लगाए र अन्तत संसद्यि राजनीतिको दलदलमा हाम फाले । यसले जनयुद्धका योद्धाहरूको मर्ममा ठूलो चोट पुर्यायो । प्रचण्डमाथिको विश्वास र नेतृत्वमाथि शंकाको बादल लाग्न थाल्यो । समय अगावै जनयुद्ध विसर्जन गर्नु सुप्रीम कमान्डर प्रचण्डको पतनको एउटा खुड्किलो बन्यो ।
जनयुद्धको जगबाट उठेको नेता अर्थात जननायक सुप्रीम कमाण्डर क. प्रचण्ड बाट अहिले पुष्पकमल दाहाल बनेका छन् । उनलाई प्रचण्ड बनाउनमा उनको राजनीतिक सल्लाहकार, नेता, कार्यकर्ताको उतिकै हात छ । जनयुद्धको त्यत्रो संग्राममा बलिदानी दिन हजारौं जनता होमिएका थिए । हजारौं जनताको साथ, त्याग र बलिदानीले जनयुद्ध विजयको झण्डा फहराउँदै थियो तर जनयुद्धको क्लाइमेक्समा पुग्न अगावै जनयुद्ध बिसाउन पुग्यो । यो प्रचण्डको अर्को कमजोरी हुन पुग्यो ।
प्रचण्डपथ : अहङ्कारको उपज
मालेमावाद अर्थात माक्सवाद, लेनिनवाद र माओवाद तात्कालिन माओवादी पार्टीको पथ प्रदर्शक सिद्धान्त थियो । मान्छेहरू नामको भोका हुन्छन् । मान्छे लोभी हुन्छन् । अहंकारी हुन्छन् । प्रचण्ड पनि एउटा मान्छे हो । उभित्र पनि लोभ, अहम थियो । माथि उल्लेखित वाद तथा सिद्धान्तहरू ठूलठूला क्रान्ति र आन्दोलनबाट स्थापित भएका हुन् । प्रचण्डमा पनि यस्तै भोक जाग्न थाल्यो । जसको परिणाम स्वरुप प्रचण्डपथको जन्म भयो ।
जनयुद्धको दौरानमा वि.सं. २०४७ साल माघ २६ देखि फागुन १ सम्म चलेको तात्कालिन नेकपा माओवादी पार्टीको राष्ट्रिय सम्मेलनमा पुष्पकमल दाहाल प्रचण्डले पहिलोपल्ट ‘प्रचण्डपथ’ उच्चारण गरेको पाइन्छ । त्यहीँबाट पार्टीको पथप्रर्दशक सिद्धान्तको रुपमा “मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथ” पारित भयो । यसै अनुरुप पार्टी संगठन अगाडि बढाएको पाइन्छ । वि.सं.२०६४ पौष ३० मा नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको एकताकेन्द्रसँग एकता भयो । यो एकतासँगै प्रचण्डपथको देहावसान भएको पाइन्छ । यस घटनाले प्रचण्डपथको जन्मदाता र हत्यारा दुबै प्रचण्ड नै देखिन्छ । यसरी प्रचण्डपथ अहमको उपज हो भन्न सकिन्छ ।
चुनुवाङ बैठक र प्रचण्डको स्खलन यात्रा
चुनुवाङ बैठकलाई माओवादी आन्दोलन र पार्टी राजनीतिको निकै महत्वपूर्ण मोड मानिन्छ । वि. सं २०६२ असोज १८ देखि २२ सम्म रोल्पाको चुनुवाङमा तात्कालिन नेकपा माओवादी पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बसेको थियो । त्यस बैठकले माओवादी आन्दोलनलाई अर्को मोडमा धकेल्यो । त्यस बैठकबाट पार्टी शान्तिपूर्ण राजनीतिमा फर्कने गरी १२ बुँदे समझदारी बनायो । सो १२ बुँदे समझदारीले माओवाादी आन्दोलनमा ठूलो भुँइचालो ल्यायो । १२ बुँदे समझदारीमा असहमति जनाउदै तुरुन्तै २०६२ फागुन २९ मा नेताहरू रबिन्द्र श्रेष्ठ, मणि थापाले वक्तव्य जारी गरे ।
उक्त बैठकमा राम बहादुर थापा र बाबुराम भट्टराईले रुँदै आफू प्रचण्डमा विलिन भएको घोषणा गरे । जसले प्रचण्डको दम्भ र अहममा घिउ थप्ने काम गरेको देखिन्छ । चुनुवाङको बैठकपछि पार्टी शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्यो । त्यसपछि राज्यलाई हतियार बुझाए । जनमुक्ति सेना बुझाए । जनयुद्धमासँगै लडेका घाइते, बेपत्ता, जनयुद्धका सहयोद्धा कार्यकर्ताहरूलाई विचल्ली पारियो । कार्यकर्ता व्यवस्थापन गर्न सकेनन् । पार्टीभित्र बिस्तारै असन्तुष्टीहरू बढ्दै गयो र विस्तारै पार्टी विभाजनको दिशामा गयो ।
वि.सं. २०६५ को संविधानसभाबाट सबैभन्दा बढी सिट जितेर सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी पार्टी र नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको एकताकेन्द्र एकिकरण भयो । यो एकिकरणसँगै मातृका यादवले पार्टी फुटायो । माओवादी पार्टीमा फुटको पहिरो निरन्तर खसिरह्यो । वि.सं २०६९ मा मोहन वैध विभाजित भयो । वि.सं २०७१ मंसिरमा क. विप्लप बाहिरिए । यी फुटहरुसँगै पार्टी कमजोर बन्दै गयो । जनयुद्धकालिन मुद्धाहरुको मर्म र भावनाको सम्मान हुन सकेन ।
वि. सं २०७२ असोज ३ गते दोश्रो संविधान सभाले नयाँ संविधान जारी गर्यो । उक्त संविधान जारी भएसँगै संविधानमाथि असहमति जनाउँदै डा. बाबुराम भट्टराईले प्रचण्डको साथ छोडे । यो प्रचण्डको लागि निकै ठूलो झड्का थियो । २०७२ को संविधानमा जनयुद्धका मुद्दाहरूको उचित सम्बोधन हुन सकेन । पहिलो संविधान सभाको निर्वाचनमा पहिलो पार्टी बनेको तात्कालिन एकिकृत माओवादी पार्टी दोश्रो संविधान सभाको निर्वाचनमा तेश्रो पार्टीमा झरेको थियो । बिचको समयको पार्टी विभाजन अर्थात फुटले माओवादी आन्दोलनमा ठूलो धक्का पुग्यो । जसले प्रभावशाली प्रचण्ड दिनानुदिन कमजोर हुँदै गए ।
दोश्रो संविधानसभाको निर्वाचनपछि प्रचण्ड सिथिल भइसकेका थिए । जनविश्वासमा आँच आइसकेको थियो । मधेसको मुद्दा, आदिवासिको मुद्दा, जातिय मुद्दा, वर्गीय मुद्दा सबै छुट्दै आइरहेका थिए । जनयुद्धको जगबाट उठेको नेता प्रचण्डलाई पहिले सबैले वाहीवाही गरे । उनका कमजोर पक्षहरू नऔल्याउने र पृष्ठपोषण मात्र गर्ने काम भयो । जसले गर्दा प्रचण्डले आफ्नो धरातल बिर्सिदै गए । प्रचण्डमा आडम्बर बड्दै गयो। उनको दम्भकै कारण बिचमा सहयोद्धाहरुले छोड्दै गए । उनले आफू कति गहिराइमा छु या त सतह छोडेर कति माथि पुगेको छु मापन गर्न नसक्दा उनी दलदलमा भासिदै गए ।
जब प्रचण्ड आजित भए तब २०७५ को संसदीय निर्वाचनमा साझा चुनाव चिन्ह लिएर चुनाव लड्ने र पछि पार्टी एकता गर्ने सहमतिका साथ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको घोषणा भयो । सोही अनुरुप निर्वाचन सम्पन्न भयो र २०७४ मा नेकपा एमाले र माओवादी केल्द्रबिच पार्टी एकता भयो । प्रचण्डले जनयुद्धको मुद्दाहरू छोड्दै आइरहेका त थिए नै तर जनयुद्धको मर्म र भावनालाई खड्ग प्रसाद ओलीको चरणमा राखेर ओलीसँग सती गए तब तात्कालिन माओवादी केन्द्रमा अर्को पहिरो गयो । नेता गोपाल किराती नेकपा माओवादी केन्द्रमै रहे भने नेता तथा विश्लेषक विश्वभक्त दुलाल `आहुती´को नेतृत्वमा वैज्ञानिक समाजवादी पार्टी स्थापना भयो । आफ्ना मुद्दा तथा विचारहरूलाई ओलीको चरणमा सर्मपण गर्नु प्रचण्डको महाभूल थियो । यसरी चरणबद्ध रुपमा प्रचण्ड मुद्दाबाट टाढिदै र सहयोद्धाहरूबाट एक्लिदै गए ।
एमालेसँग पार्टी एकता किन ?
पहिलो, जनयुद्धबाट स्थापित नेता क. प्रचण्ड निकै प्रभावशाली नेताको रुपमा स्थापित भएको भएता पनि त्यो शाख जोगाइरहन सकेन । प्रचण्ड विचार र सिद्धान्तलाई तिलाञ्जली दिसकेर विकल्पहिन भइसकेपछि संसदीय राजनीतिमा टिकीरहने, घुमिरहने मनसायले पार्टी एकता गरे ।
दोस्रो माओवादी शसस्त्र युद्धलाई गाली गरिरहने दक्षिणपन्थीका प्रमुखसँग मिलेपछि आफू लाञ्छनाबाट मुक्त हुने र तथा जनयुद्ध विर्सजनबाट रुस्ट लडाकुबाट सुरक्षित रहन सक्ने गलत आकलनले पार्टी एकता गरे ।
तेश्रो, अग्रगामी एजेण्डाका संवाहक, कमाण्डर र संरक्षक आफू भएकोमा उनको आत्मविश्वास र सबलता नभए पनि जनसंगठन तन्दुरुस्त भएको पार्टी एमालेलाई हात लिएर नेपालमा ठूलो कम्युनिस्ट पार्टीको प्रमूख हुने लालसाले पार्टी एकता गरे ।
चौथो संसदि्य राजनीतिको अभ्यास गरिसकेका प्रचण्डले सत्ताको स्वाद ६५ मै चाखिसकेका थिए । यर्सथ त्यो स्वादको मोहमा डुबेर उनी पुन :सत्तासम्म पुग्न पनि पार्टी एकतालाई खुड्किलो बनाए ।
प्रचण्ड स्खलनका कारणहरू
कालान्तरमा आएर प्रचण्ड वैचारिक र सैद्धान्तिक रुपमा त स्खलित भैसकेका नै थिए । त्यसैले उनी सहयोद्धाहरूबाट एक्लिदै गए । प्रचण्डको पतन सम्बन्धमा क. विप्लवले `महापतन´ किताब नै लेखिसकेका छन् । विप्लवले भने जस्तै महापतन नै त भन्न नमिल्ला तर प्रचण्ड पछिल्लो समयमा वैचारिक, सैद्धान्तिकर रणनीतिक रुपमा कमजोर भएकै हुन् ।
प्रचण्डको स्खलनको प्रमुख कारण दम्भ र घमण्ड नै हो । प्रचण्ड जति हो त्यो भन्दा बढी उनको प्रशंसा र तारिफ गरियो अर्थात् देवत्वकरण गरियो। उनलाई दुर दृष्टि भएका प्रभावशाली नेता कहलाइयो । क्रातिकारी, प्रगतिशील नेता भनिएता पनि अन्तर कुन्तरमा रहेको उनको साँघुरो बिस्तारै पर्दाफास हुँदै गयो । उनले आफ्नो वरिपरिका आसेपासे नेता तथा कार्यकर्ता बाहेक अरूलाई कार्यकर्ता अस्विकार गर्नु नै प्रचण्डको ठूलो कमजोरी हो । दिन दुगुणा रात चौगुणा उनी विचारबाट ओरालो लाग्दै गयो । जसको असर माओवादी आन्दोलनमा परिरहेको थियो । यसको उण्दाहरणको रुपमा २०६५ देखि यता भएको एकता र फुटलाई लिन सकिन्छ । यो समयावधीलाई नियाल्दा जजसले चाकरी गरे उनीहरूलाई अंगाल्ने, च्याप्ने र उनको कमजोरी औल्याउनेलाई लात हान्ने अर्थात बेवास्तागर्ने प्रवृत्तिले गर्दा प्रचण्ड कम्युनिस्ट विचारबाट ओरालो लागे र पार्टी कमजोर बनाउँदै गए ।
उनले लडाइका सहयोद्धाहरूलाई छोड्दै आए र अन्तमा लगभग एक्लै जस्तै हुन पुगे । उनको अहमको कारण आफू बाहेक दोश्रो पुस्तालाई नेतृत्व स्वीकार्न नसक्नु तथा नेतृत्व हस्तान्तरण गर्न नसक्नु उनको स्खलनको अर्का प्रमुख कारण हो ।(यस प्रवृत्तिबाट नेपाली राजनीति टाढा जान सकेको छैन) उनले नेतृत्व हस्तान्तरण गर्न चाहेका र सकेका मात्र भए पनि आज माओवादी आन्दोलनको अस्तित्व रहने थियो ।
आम मान्छेजस्तै प्रचण्ड पनि एक हुन् । उनले सत्ताको स्वाद चाखिसकेपछि पार्टीप्रति जति जिम्मेवार हुन पर्ने हो हुन सकेनन् । उनी सत्ता वरिपरि आफूलाई राख्न चाहन्थे । जसले गर्दा उनी परिवारवाद, नातावाद, कृपावादको जालभित्र कैद हुन पुगे। उनको घेरा विस्तारै वर्ग, जात र परिवारभित्र सीमित रहेको पाइन्छ । जसले प्रचण्ड प्रशंसा भन्दा बढी आलोचित हुनुपरेको सर्वविदितै छ ।
पार्टी, माओवादी आन्दोलन र प्रचण्डको दायित्व
नेकपा एमालेसँगको एकतासँगै प्रचण्डले जनयुद्धको अस्तित्व सकाए र आफै पनि । उनी ओली जस्ता चतुर, खेलाडी, भ्रष्ट नेतासँग लम्पसार परे । एकता पश्चात ६०/४०को नेतृत्व गर्दै प्रचण्ड र ओली अध्यक्ष भए । दुई अध्यक्ष प्रणालीको अभ्यास गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को घोषणा भयो । ६० को नेतृत्वसँगै संसदीय दलको नेता खड्कप्रसाद ओलि लाई स्वीकार गर्दै सरकारको नेतृत्व खड्गप्रसाद ओली लाई सुम्पिए । ओली बहुमतको प्रधानमन्त्री बने । ओलीले बेला बेला प्रचण्डलाई अङ्कुश लगाइरहन्थ्यो । जब सहमतिमा ओलीले आलोपालो सरकार चलाउने र सरकारको नेतृत्व र पार्टीको नेतृत्व दुबै लिने भन्ने अङ्कुस लगायो प्रचण्ड पहिलो पटक त्यही लडेका थिए । खड्ग ओलीजस्तो धुर्त नेताले कुर्सी यसै छोड्ला भन्ने त अकल्पनिय कुरा थियो । जब सम्झौता दुई वर्षको कार्यकाल बित्यो तब प्रचण्डलाई ज्वरो फुट्न थाल्यो । त्यसपछि बिरालोले मुसा खेलाएझैं ओलीको पञ्जाका कुनै समयको नेपाली राजनीतिको बाघ यता र उताको मुसा हुन थाले । बिचबिचमा करेन्ट लगाउँदै छोड्दै गरेका ओलीले २०७७ पौष ४ गते निकै सुन्दर नाटक मञ्चन गरे । जसको झड्काले उछिटिएर पुष्पकमल दाहाल माइतीघरको सडकमा पछारिए भने नेपाल–खनाल हामी पनि छौँ भन्दै टाँसिए भने प्रचण्ड गुटकै राम बहादुर थापा बादल ओलीको हत्केलामा नाच्न थाले । बादलको यो निर्णय पनि प्रचण्डको लागि निकै ठूलो झड्का थियो ।
सत्ता जोगाउन उनले रचेको संसद विघटन नाटकमा अनेक पात्रहरु उभिए । जनताको सेन्टिमेन्ट ओली विरुद्ध किचिए । कोभिडबाट प्रताडित जनताहरू ओलीको प्रतिगमनकारी कदमविरुद्ध सडकमा उत्रिए । आन्दोलनमा पनि दुई वटा कित्ता सर्लकै छुट्टियो । एउटा कित्ता जो सीर्फ संसद् पुर्नस्थापना गरेर सत्तामा पुग्ने दौडमा थिए भने अर्को कित्ता ओली जस्तो चरित्र र यस्ता सबैखाले प्रतिगमनको विरुद्ध लड्ने थिए ।
अन्ततः चैत ४ गते ओलीको इशारामा सर्वोच्च अदालते संसद् पुर्नस्थापना गर्यो । त्यसपछि भने विस्तारै नाटक अघि बढाए । वैशाख २७ गते संसद्हरूबाट विश्वासको ९७ मत लिदै वैशाख ३० मा नाटकलाई क्लाइमेक्समा पुर्याएर प्रचण्डलाई हुत्याइदिए । यतिबेला प्रचण्ड नराम्ररी बजारिएको छ ।
निश्कर्ष
यतिबेला प्रचण्डसँगै माओवादी आन्दोलन विलखबन्दमा परेको छ । प्रचण्ड नेतृत्व भएको हैसियतले माओवादी आन्दोलनलाई उठाउनु उनको दायित्व हुन जान्छ । उनकै आडम्बरको कारण आफ्ना सहकर्मी/सहयोद्धाहरूलाई जहाँ जहाँ छोड्दै आए त्यहाँ फर्कन जरुरी देखिन्छ । आजसम्म आफूले गरेको भूल स्वीकार्दै हदैसम्म लचक भएर छरिएर रहेका सम्पूर्ण माओवादी पार्टीलाई एकिकृत गर्नु अनिवार्य छ । सहयोद्धाहरूको मर्म र भावनाको सम्मान गर्दै प्रचण्डले अभिभावकिय भूमिका निर्वाह गर्नुपर्दछ ।
राजनीतिक आन्दोलनमा एकता र फुट स्वभाविक हुन्छ र मानौला पनि । तर कुन कुन एकता गलत थियो र कुन कुन फुट बचाउनुपर्थ्यो आत्मालोचना गर्दै समीक्षा गर्न जरुरी छ । फुटबाट बाहिरिने नेतृत्वहरू एक्ला एक्लैले पनि जनयुद्धको बाँकी कार्यभार पुरा गर्न सक्ला कि नसक्ला सोच्न जरुरी छ । यसर्थ अब सबै माओवादी विचारधाराका पार्टी तथा समूहहरू ध्रुविकृत भई एक पटक कम्युनिस्ट आन्दोलनको अस्तित्व जोगाउन लाग्नुपर्ने देखिन्छ ।
लेखक परिचय
खोटाङ जिल्लामा जन्मिएकी कवि राई, आदिवासी जनजाति साहित्यकार/लेखक सङ्घका सचिव हुन् ।
सारगर्भित गहण लेख ।