आइतबार राति १० बजे अग्रज कवि एवं लेखिका डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ । २० दिनअघिदेखि कोभिड–१९ बाट संक्रमित उनको निधन चाहिँ हृदयघातका कारण भएको परिवारजनले बताएका छन् । गिरी बितेको तीन वर्षदेखि अल्जाइमर्सबाट समेत् पीडित थिइन् । हृदयघात भएलगत्तै आइतबार राति नै नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको तर चिकित्सकहरूले मृत घोषित गरेका थिए ।
उनी २०२२ सालमा खर्साङबाट प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा भाग लिन काठमाडौँ आएकी थिइन् । सो प्रतियोगितामा उनको कविताले दोस्रो स्थान हासिल गरेको थियो । तत्कालीन राजाबाट छात्रवृत्तिको व्यवस्था मिलाइएपछि उनले त्रिभूवन विश्वविद्यालयमा स्नातकोत्तरको पढाइ सुरु गरिन् । अध्ययनपछि आजीवन त्रिभूवन विश्वविद्यालयमा नै अध्यापन गरिरहिन् । “कारागार”, “शब्दातीत शान्तनु”, “मेरो आविष्कार” उनका प्रसिद्ध कृतिहरू हुन् ।
महाकवि देवकोटापछि अफ्रो एशियाली कवि सम्मेलनमा भाग लिने दोश्रो नेपाली रहेकी उनले कविका रूपमा अरु पनि थुप्रै मुलुकहरूको यात्रा गरेकी थिइन् भने कतिपय राष्ट्र प्रमुखहरूसँग पनि कविकै रूपमा भेटघाट गरेकी थिइन् । उनका श्रीमान् शंकर गिरीले ‘बानिरा फाउण्डेशन’को काम अगाडि बढाइसकेका छन् । त्यसका निम्ति आफ्नो घर छेउकै करोडौँ मूल्य पर्ने साढे सात आना जग्गा छुट्याएर भवन बनाउन थालिसकिएको छ । फाउण्डेसनमा उनीबारे अध्ययन गर्ने सामग्री, उनका कृतिहरूलगायत उनीद्वारा सङ्ग्रहित सबैथोक सुरक्षित राखिने बताइएको छ । बानिरा गिरी