लेखक शैलेन्द्र अधिकारीका निर्वेद (उपन्यास, २०७६), दिन रोएपछि (गजल सङ्ग्रह, २०६४), हिउँमाथिको जून (गजल सङ्ग्रह, २०६६), उलार उपन्यासको शैली: वैज्ञानिक अध्ययन (समालोचना, २०७१) प्रकाशित भएका छन् । अधिकारी लेखनसँगै पेशाले शिक्षक पनि हुन् । उनी नेपाली साहित्य पढाउँछन् । पछिल्लो समय उनको गजल रस नामक किताब बजारमा आएको छ । प्रस्तुत छ, शब्द सोपानका लागि राजु झल्लु प्रसादले तयार पारेका सामाग्री : शैलेन्द्र अधिकारीसँग गजल गफ । शैलेन्द्र अधिकारी शैलेन्द्र अधिकारी
गजल के हो र के होइन रहेछ दाइ ? गजलबारे तपाईँको कथन ? खासगरी नेपाली साहित्यमा गजलको उपस्थिति कुन स्थानमा छ ? शैलेन्द्र अधिकारी
केही स्वघोषित अग्रजहरूले केटाकेटीको विधा भनेर हेपेको गजल सुन्नलाई निकै कर्णप्रिय र लेख्नलाई साह्रै गाह्रो विधा रहेछ । जसले गजल लेख्न सकेन उसैले धेरै गजलको विरोध र आलोचना गरेको देखिन्छ । नेपाली साहित्यमा गजलको स्थान निरूपण गर्ने बेला भइसकेको छैन कि ? गजल प्रशस्त लेखिएका छन् । विश्वविद्यालयमा अध्ययन अध्यापन पनि हुन्छ । तर गजलमा समालोचना समीक्षा अत्यन्तै न्यून हुन्छ । जुन एकदमै दु:खद कुरा हो । नेपाली गजलको अर्को पक्ष बढो निराशाजनक छ । सङ्गीतकारले गजल र त्यसको धरातल नबुझेका हुन् कि गजलकारले लयात्मक चेतबिना गजल लेखेका हुन् । जति गजल सङ्गीतका दृष्टिले अगाडि आउनुपर्थ्यो, त्यति आउन सकेकै छैन ।
साहित्यमा विकृति सृजना हुन नदिन पाठकले पनि खबरदारी गर्नु त्यत्तिकै जरुरी हुन्छ भनिन्छ । तपाईँलाई के लाग्छ, गजलमा विकृतिहरू सृजना भएका छन् । त्यो कसले गरिरहेको छ ? शैलेन्द्र अधिकारी
विकृति केलाई भन्ने ? मलाई त यो विकृति भन्ने कुरा पनि सापेक्ष हुन्छ जस्तो लाग्छ । यो विषयमा नै सिङ्गै बहस हुन सक्छ । संसारमा लेखिएका, छापिएका सबै कृतिहरू सबैले पढ्नुपर्छ भन्ने छैन । आफ्ना रुचि, आवश्यकता, अनुसन्धानको विषय आदिले पाठकले किताबहरू छनौट गर्नुहोला । पाठकका हिसाबले मलाई विकृतियोग्य लागेको कसैलाई सही लागिरहेको पनि हुन सक्छ । त्यसैले यो विषयमा आम धारणाभन्दा मेरो धारणा फरक छ कि ? रह्यो, गजलको कुरा- मलाई गजलमा त्यस्तो उल्लेख्य विकृतिहरू आएका छन् जस्तो लाग्दैन ।
गजलमाथि विचार विमर्शहरू बाक्लो रूपमा हुन थालेका छन् । गजलका कार्यक्रम सञ्चालन गर्ने क्रम बढेको छ । गजल लेखनप्रति आकर्षित हुनेको सङ्ख्या ह्वात्तै बढेको छ तर पनि हाम्रो गजल उर्दू, हिन्दीका गजलहरूसँग प्रतिस्पर्धामा आउनै सकेनन् । किन होला ? कहाँ चुकिरहेका छौँ हामी ? यस्ता महोत्सव एवम् कार्यक्रमहरूले आफ्नै वृत्तका गजलकारहरूलाई मात्रै बटुले भन्ने पनि सुनिन्छ नि ?
मलाई लाग्छ, गजलमाथि विचारविमर्शहरू भएकै छैनन् । फगत केही गजलकारहरूका गजलहरू बारम्बार सुनाइएका छन्, स्थान फेरीफेरी । गजल लेख्नेको सङ्ख्या पनि बढेको छ, जुन निकै राम्रो कुरा हो । हो गजलका कार्यक्रमहरू बढेका छन् । तर ती गरिनैलाई गरिएका कार्यक्रमहरू हुन् । भलै त्यो कुनै साहित्यिक महोत्सव होस् चाहे गजल कार्यक्रम । नगरपालिकाका वा अन्य केही प्रायोजकका लागि गरिएका बासी कार्यक्रमहरू हुन् । उही वक्ता, उही श्रोता उही रचना, उही वाह वाह ।
हामी नेपाली गजल उर्दू, हिन्दीतिर पुगेन भन्छौँ, तर हामीकहाँ न लेखनमा, न सङ्गीतमा न गायनमा त्यस्तो साधना छ । हामी साधना गर्न चाहँदैनौँ । हामी त केवल चर्चा चाहन्छौँ । हामी भोलि बाँच्न चाहिरहेका छैनौँ । केवल आज हल्ला गर्न चाहिरहेका छौँ । हामी समाज अध्ययन गर्दैनौँ, राजनीति अध्ययन गर्दैनौँ, साहित्य हामीले पढेका नै छैनौँ । अनि गजलको विषय के आउँछ हामीसँग ? यो समस्या गजलमा मात्रै होइन हरेक साहित्यिक विधामा देख्छु म त ।
गजल विज्ञहरू र अग्रज गजल स्रष्टाहरूबीच अस्तित्वको लडाइँ शीतयुद्धका रूपमा चर्किरहेको प्रष्टै देखिन्छ । नेपाली गजलको क्षेत्रमा यस चलिरहेको जुँगाको लडाइँमा तपाईँको पक्षधरता कता छ?
यो विज्ञ भन्ने चिज नै अचम्मको छ । मलाई अचम्म लाग्छ कि गजलका पनि विज्ञहरू छन् । उनीहरूले यो विज्ञता कहाँबाट हासिल गरे ? उमेर धेरै हुनु विज्ञता हो ? धेरै गजल लेख्नु विज्ञता हो ? अरूको गजल हुँदै भएन भनेर आलोचना गर्नु वा तपाईँको गजल पो गजल भनेर भन्नु विज्ञता हो ?
अर्को कुरा लेखकको अस्तित्व लेखकले भन्दा पनि उसको सृजनाले निर्माण गर्ने हो । त्यसैले वर्तमानमा अस्तित्वको लडाइँमा लागेर केही फाइदा छैन । वर्तमानको समय त सृजनाको समय हो । राम्रा सृजना गरे त अस्तित्वका लागि लड्नै पर्दैन । पाठकहरूले नै लडिदिइहाल्छन् नि । तर वर्तमानमा यो लडाइँ चलिरहेको कुरा सत्य हो । र यस्ता लडाइँसँग मेरो कुनै मतलब छैन । गजलको बहसका नाममा भएका यी वाहियात कुराहरू हुन् । यो समय गजल सृजनामा ल्याउँदा सबैभन्दा उत्तम देख्छु म ।
कसैले लयको वकालत गरिरहेका छन् । कसैले छन्दको वकालत गरिरहेका छन् । कसैले विचारको वकालत गरिरहेका छन् । गजल यति धेरै विवादित किन ? शास्त्रीय छन्द, फारसी बहर, नेपाली लोकलय, स्वनिर्मित लय, यी सब भनेका के हुन् ? नेपाली गजलमा यी कुराहरू कतिबेला प्रवेश भए दाइ ? यसको इतिहासबारे बोल्ने मुड छ ?
छन्द भनेकै लय हो । केही गजलकारले छन्दलाई आफ्नो बौद्धिकता प्रदर्शनको स्थल बनाए, कोही छन्दबाट बहुत डराए । दुबै कुरा गलत हो । शास्त्रिय छन्द, फारसी बहर, नेपाली लोकलय, स्वनिर्मित लय जे भने पनि गजल लयात्मक हुनुपर्यो । गायकले गाउन मिल्ने हुनुपर्यो । बस् । छन्दका बारेमा बहस गर्नु बेकारको विषय हो । आधारभूत कुरा भनेको गुन्गुनाउन मिल्ने चाहिँ हुनुपर्यो ।
यसको इतिहासतिर जाँदा मोतिराम भट्टले गजल लेखन आरम्भ गरे भन्छौँ हामी । उनले पनि बहरको पूर्ण पालन गरेनन् । त्यसपछिका अन्य स्रष्टाहरू पनि त्यस्तै रहे । पुनर्जागरणको लामो समय पनि गजल पढिने विधामा मात्र सीमित रह्यो । एक किसिमले गजल मुक्तक मात्रै रह्यो भन्दा पनि हुन्छ । साठीको दशकमा अनाममण्डलीले गजलमा लयको चर्चा सुरु गर्यो । त्यसपछि गजलमा शास्त्रीय छन्द, फारसी बहर, नेपाली लोकलय, स्वनिर्मित लय आदिको चर्चा हुन थाल्यो भन्ने लाग्छ मलाई । शैलेन्द्र अधिकारी
स्वतन्त्र गजल कि शास्त्रीय गजल भनिरहेका छौँ तर गजलमा नै देखिएका रुढीवाद, परम्परावादी चिन्तनतर्फ चाहिँ हामीले हेर्नै भ्याएका छैनौँ । लैङ्गिकता, अपाङ्गता, बुढ्यौलीजस्ता कुराहरू पटक्कै आफ्नोपन नदेखाएर गजलको फर्म्याटमा नै कुस्ती चलिरहेको छ । यो कुस्ती खेलका खेलाडी र आयोजकहरूबारे बोल्ने मुड छ दाइ ? समग्रमा नेपाली गजल सेरोफेरोलाई कसरी हेर्नुहुन्छ ?
गजल स्वतन्त्र भए पनि भयो, शास्त्रीय भए पनि भयो । यसमा गजलका आधारभूत कुराहरू रदिफ, काफिया हुनुपर्यो । गुन्गुनाउन मिल्ने हुनुपर्यो । नेपाली गजलमा लैङ्गिकताको विषय अलिअलि उठान भएको देखिन्छ । थुप्रै महिला गजलकारहरूले यो विषयलाई उठान गर्नुभएको छ । तर जति आउनुपथ्र्यो त्यति चाहिँ नआएका साँचो हो । तर गजलमा अपाङ्गता र बुढ्यौली जस्ता विषयले स्थान पाएका छैनन् । गजलमा मात्रै होइन, कविताका अन्य विधामा पनि यी विषयले कम स्थान पाएका छन् भन्ने मलाई लाग्छ ।
अब अहिलेको नेपाली गजलमा बहर हुनैपर्ने एउटा अभियान, बहर निषेध गर्ने अर्को अभियान चलिरहेको छ । यी दुइटै गलत हुन् । ज-जसले यी वाहियात विषय बोकेर अभियानको नाम दिइरहेका छन् उनीहरूले के बुझ्नु जरुरी छ भने ज-जसले जे-जे नियम बनाएपनि कुनैपनि नियमहरू शाश्वत हुन सक्तैनन् । रचना नियमले जिवन्त हुने होइन । रचना त सृजनशक्तिका कारण जिवन्त हुने हो । हामी गुदी नै नभएका ठाउँमा अधिक सुन्दर लेप लगाइरहेका छौँ, जसले लगाए पनि । त्यसैले यस्ता वाहियात अभियान छाडिदिनुस् । लेख्नुस् र फेरि लेख्नुस् । लेखिरहनुस् । यसैले तपाईँलाई अगाडि लिएर जानेछ । अन्यथा तपाईँ केवल भर्याङ हुनुहुनेछ । केवल भर्याङ । शैलेन्द्र अधिकारी
कस्ता गजलहरू लेखिनुपर्छ जस्तो लाग्छ ? आजका गजलले समाजलाई या समाजले गजललाई केकति योगदान गरिरहेको पाउनुहुन्छ ? सँगसँगै नेपाली गजल क्षेत्रको आर्थिक हैसियत कस्तो पाउनुहुन्छ ?
नेपाली गजलले विषयगत विविधता बोकेको छ । सुरा र सुन्दरीका विषयमा मात्रै नेपाली गजल सीमित छैन । र जुन सबैभन्दा नेपाली गजलको सुन्दर पक्ष हो । गजलमा नेपाली समाजको चित्रण आओस् भनने त स्वभाविक लागिहाल्छ । तर परिपक्व सृजना आओस् भन्ने लाग्छ, जुन म एकदमै कम पाउँछु । शैलेन्द्र अधिकारी
नेपाली समाजबाट गजलले प्रशस्तै लेखनको विषय पाएको छ जस्तो लाग्छ । किनकि पछिल्लो समय समाजको आर्थिक, राजनैतिक, सांस्कृतिक परिवर्तन छिटोछिटो भएको छ । आर्थिक हिसाबले भने गजलको क्षेत्र निकै नै पिछडिएको छ । गजलका पुस्तक किनेर पढ्ने प्रचलन अति न्यून छ । आफ्नै पैसाले रचनाकारले किताब निकालेर सित्तैमा बाँड्दै हिँड्नु परेको छ । गजल रेकर्ड गरेर बजारमा ल्याउँदा त्यसको खर्च पनि नउठ्ने समस्या छ । आर्थिक हिसाबले स्तरीय पाठक, श्रोताको पनि खाँचो छ नेपाली गजलमा ।
नेपाली गजलमा युद्धजन्य र घरेलु दुवै अभिघातहरू पाइन्छ भन्नुहुन्थ्यो । त्यो भनेको के हो ? यसले समग्र गजल क्षेत्रलाई के कत्तिको फाइदा वा नोक्सान पुर्याइरहेको छ ?
अभिघात भनेको शारीरिक वा मानसिक आघात हो । चोट हो । यसलाई आन्तरिक वा बाह्य हिंसाको अनेकन स्वरूपमा अध्ययन गर्न सकिन्छ । मैले भनेको नेपाली गजलमा ०५२ देखि ०६२ सम्मका माओवादी युद्धका त्रासद समयमा मान्छेले भोग्नुपरेका युद्धजन्य अभिघात पनि नेपाली गजलमा अभिव्यक्त भएको छ भने अन्य कारणले मान्छे अभिघातित हुनुपर्ने घरेलु अभिघातहरू पनि नेपाली गजलमा अभिव्यक्त भएका छन् भन्ने सङ्केत हो । यसले नेपाली गजललाई फाइदा वा नोक्सान के गर्छ भन्दा पनि नेपाली गजलले विविध विषयलाई आफूभित्र समाहित गरेको छ भन्ने चाहिँ स्पष्ट हुन्छ । जुन कुरा विधागत हिसाबले राम्रो हो ।
दिन रोएपछि, हिउँमाथिको जूनपश्चात गजल रस विमोचन नभई बजारमा गयो । गजल रसबाट तपाईँले के अपेक्षा गर्नुभएको छ ? पाठकले के अपेक्षा राख्ने? गजल रसको लेखन गर्भबारे जान्न मन छ । गजल रस किन लेखियो ?
कतिपय किताबहरू अपेक्षाका कारणले भन्दा पनि जिम्मेवारी बोधका कारणले लेखिँदो रहेछ । गजल रस त्यही जिम्मेवारी बोधको प्रतिफल हो । नेपाली भाषामा प्रशस्तै गजल लेखिए । तर सिद्धान्तको किताब हातमा गन्न सकिने मात्रै लेखिए । गजल समालोचनाको त किताबै लेखिएन भन्दा पनि हुन्छ । गजल लेख्न चाहनेहरूका लागि सन्दर्भ ग्रन्थ खोइ त ? हो यही समस्याले मलाई गजल रस लेख्न प्रेरणा दियो । गजल सिद्धान्त र समालोचनामा एउटा स्तरीय र मानक किताबको खाँचोलाई परिपूर्ति गर्ने ध्येयले मैले यो किताब लेखेको हूँ । यसमा पाठकले गजलका सिद्धान्त, गजलका हरेक सङ्गहरूको सोदाहरण व्याख्या, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्तका आधारमा नेपाली गजलको विवेचना प्राप्त गर्न सक्नुहुनेछ ।
केही रमाइला प्रश्नहरू गरौँ है । आजभोलि पढ्ने र लेख्ने तौरतरिका फेरिएका छन् । उद्देश्यहरू पनि फरक छन् । तपाईँको तरिका कस्तो छ ? के पढ्दै हुनुहुन्छ ? के लेख्दै हुनुहुन्छ ?
भनिन्छ नि, संसार परिवर्तनशील छ भन्ने कुरा बाहेक यो संसारमा सबै कुरा परिवर्तनशील छ । त्यसैले पढ्ने लेख्ने तौरतरिकामा पनि फरकपन आउनु स्वभाविक भइहाल्यो । मलाई लेखपढ गर्न अरूलाई जस्तो एकान्त, प्रकतिको काख, जङ्गल, झरना सङ्गीतको मिठो धुन केही पनि चाहिँदैन । जहाँ मस्तिष्कमा विषय क्लिक हुन्छ, त्यहीँ लेख्छु म । क्याफे, रेष्टुरेन्ट र भट्टी पसलमा सबैभन्दा बढी विषय फुर्छ मलाई त । म आज यति लेख्छु भनेर ढोका थुनेर म लेख्न सक्तिनँ । एक अक्षर फुर्दैन यतिबेला । फेरि मेरो लेखाइ एकदमै योजनाविहीन हुन्छ । कथा होस् या उपन्यास, यसको सुरुवात यस्तो गर्छु, अन्त्य यस्तो गर्छु भनेर कहिल्यै योजना बनाइनँ मैले । लेख्दै गयो जस्तो बन्छ, बन्छ । जहाँ अन्त्य हुन्छ, हुन्छ ।
०७६ सालमा निर्वेद उपन्यास आएपछि म पछिल्लो समय कथा सङ्ग्रहको तयारीमा लागिरहेको छु । अब यो कोभिडको कहर साम्य भएपछि मेरो कथा सङ्ग्रह बजारमा आउनेछ । म पछिल्लो समय कथा र पूर्वीय दर्शनका कृतिहरू बढी पढिरहेको छु । हालसालै म तुलसी दिवसको नेपाली लोककथा, सौरभको असहमति ३ र भारतीय दर्शनहरू पढिरहेको छु ।
पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबै भन्दा मन परेका पुस्तकहरू ? तपाईँको प्रिय पुस्तकहरूको सूची शाश्वत र सनातन छन् ? छन् भने ती कुनकुन हुन् ?
मेरो रुचि र आवश्यकता नै पुस्तक छनौटको आधार हो । साह्रै विश्वास गरेका व्यक्ति र साथीहरूको सिफारिसलाई पनि कहिलेकाहीँ छनौटको आधार बनाउँछु । बजारमा हल्लै गरिएका कृतिहरूका पछि म कहिल्यै लागिनँ र लाग्दिनँ पनि । मलाई पढ्दा मन परेका किताबहरू छन् । तर साह्रै मन परेका किताबहरू..? मनपर्ने किताबहरू पनि समयक्रममा परिवर्तन हुँदै जाँदा रहेछन् । नौदश पढ्दा युधिर थापा, प्रकाश कोबिदका किताब असाध्यै मन पर्थे । तर अहिले पर्दैनन् । समयानुसार, मानसिक परिपक्वता अनुसार पनि यो सूची परिवर्तन हुँदोरहेछ । त्यसैले मेरा प्रिय पुस्तकहरूको सूची शाश्वत र सनातन भने छैन । त्यो परिवर्तन भइरहन्छ । आफैँले लेखेको किताब छ महिनापछि हेर्दा, हो यहाँनेर यो कुरा छुटेछ । यहाँ यो लेख्न पाएको भए गजब हुनेरहेछ भन्ने लागिरहन्छ । त्यसैले म एकदमै असन्तोषी मान्छे हूँ ।
लोकतान्त्रिक नेताहरू साहित्य अनुत्पादक गतिविधि हो भन्दिरा’छन् । साहित्यकारहरू राजनीति अनुत्पादक गतिविधि हो भन्दिरा’छन् । यो कस्तो बेमेल ? सरकार वास्तवमै साहित्यप्रति वेखबर छ भन्दा ठीक रहला ?
हाम्रो देशका नेताहरू साहित्य अनुत्पादक गतिविधि हो भन्लान् । हाम्रा नेताहरूबाट के गतिलो अपेक्षा गर्नु र ? पढ्ने-लेख्ने, विद्वानहरूको आजकल राजनीतिमा स्थान छैन । बलिया-बाङ्गाहरू, डनहरू, ठेकेदारहरूले राजनीतिमा हालीमुहाली चलाइरहेको बेला उनीहरूले यस्तो अभिव्यक्ति दिनु सामान्य नै हो । त्यसैले उनीहरूलाई भोट नआउने र पैसा नआउने सबै क्रियाकलापहरू अनुत्पादक नै लाग्छ । तर साहित्यकारले राजनीति अनुत्पादक गतिविधि हो भन्नुहुँदैन । राजनीति अनुत्पादक गतिविधि कुनै कोणबाट पनि होइन । हाम्रो देशमा राजनीति गर्नेहरू गलत भएका मात्रै हुन् । त्यसैले सक्षम व्यक्तिहरू, खासगरी युवावर्ग राजनीतिमा आउनुपर्छ भन्ने लाग्छ मलाई । पोखरीको डिलमा बसेर पोखरीको फोहोर हेर्दै नित्य नाक खुम्च्याएर पोखरीमै थुक्दैमा त्यो पोखरी सफा हुँदैन । त्यसका लागि त पोखरीभित्रै पसेर सफा गर्ने आँट हुनुपर्यो नि । सफा गर्ने आँट पनि नगर्ने, अनि लगातार पोखरी फोहोर छ मात्रै भनिरहनु पनि सर्वथा उचित होइन भन्ने लाग्छ ।
राज्य साहित्यप्रति धेरै नै बेखवर रहिरहेको छ भन्ने मलाई पनि लाग्छ । आफ्ना आसेपासे र नारालाई साहित्य भनेर लेख्नेलाई जागिर खुवाउन प्रज्ञामा कारिन्दा नियुक्ति गरेपछि हरेक शासकको साहित्यप्रतिको जिम्मेवारी सकियो ।
साहित्यमा राजनीति हुनुपर्छ वा हुनुहुन्न ? भन्ने यस बहसबीच समसामयिक साहित्य लेखन वा साहित्यकारको राजनीतिक दलको पक्षधरताले तपाईँलाई कत्तिको चिन्तित तुल्याउँछ ? या खुसी दिलाउँछ ? साहित्यले राजनीतिको अगाडि घुँडा टेकिसकेको हो ?
हामी सबैले भन्ने आदर्श वाक्य भनेकै साहित्यमा राजनीति हुनुहुन्न भन्ने नै हो । तर यो खासमा कसैले पनि पालन गरेको देखिँदैन । देखिने नदेखिने गरेर हरेक साहित्यकार कुनै न कुनै राजनीतिक दलमा आबद्ध छन् । तिनीहरू कतिले सिधै र कतिले घुमाएर आफ्नै पार्टीका एजेण्डा र नाराहरूलाई स्थान दिन्छन् । शक्तिका कारण समसामयिक चर्चा परिचर्चा पनि उनैले पाएका हुन्छन् । सत्ताको जुठोपूरो खाएर हुर्केका यिनीहरूबाट के उन्नत साहित्यको अपेक्षा गर्नु र ? र, यस्तो देखेर को खुसी हुन्छ र ? तर बिडम्बना साहित्यदेखि विश्वविद्यालयसम्म यस्तै ऐँजेरुले सखाप पारिसकेको अवस्था छ ।
तपाईँले लेख्नुभएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? त्यो रचना उपलब्ध हुन सक्छ ?
मैले सबैभन्दा पहिला त स्कुलमा हुने आन्तरिक प्रतियोगितामा कविता लेखेँ हुँला सायद । खासै सम्झना छैन । २०५७ सालमा कक्षा १० मा पढ्दा पहिलोपटक धादिङ आवाज साप्ताहिक पत्रिकामा “बाबुराम भट्टराईलाई खुला पत्र” नामक लेख लेखेको थिएँ । हामी सँगै पढ्ने साथीहरू पढाइ छाढेर माओवादी युद्धमा गएको घटनाले त्यो बेला छोएको थियो । आफ्ना सन्तानलाई विदेशमा सुरक्षित र महङ्गो स्कुलमा पढाउने र देशमा गरिबका बच्चालाई बन्दुक बोक्न लगाउने कुराको मैले त्यो लेखमा आलोचना गरेको थिएँ । त्यही लेखका कारण मलाई त्योबेला केही समय माओवादीहरूले अपहरण पनि गरेका थिए । त्यो बेला त्यो पत्रिका सुरक्षित राख्न सकिएन । त्यो उपलब्ध हुने सम्भावना अलि कम होला कि ?
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।