रुवाइबारे तपाईँको बुझाइ के छ ? रुनुहुन्छ ? किन पो रोइँदो रहेछ ? के ले रुवाउँदो रहेछ हँ ? साँच्चै रुवाइ के रहेछ ?
कोही किन रुँदो हो ? कसैलाई पनि के कुराले रुहाउँदो हो ? एउटा व्यक्ति कति पटक रुँदो हो, कति चोटि रुँदो हो ? रोइसकेपछी मन हलुका हुन्छ भनिन्छ । रोइरहँदा चाहिँ मन त्यति भारी किन हुँदो हो ?
आँसु के हो ? के आँसु व्यक्तिलाई आफू तरल स्वभावको भएको र बग्नु नियति भएको बोधार्थ कुनै बिम्ब हो ? या आँसु व्यक्तिलाई आफू चट्टान रहेको र पग्लनु आफ्नो स्वाभाविकता भएको बोधार्थ कुनै अलंकार हो ? रुवाई र आँसुबीच के-कस्तो मनोसामाजिक, भावानात्मक एवम वस्तुनिष्ठ नाता-गोता र साइनो-सम्बन्ध एवम् चिनापर्ची हुँदो हो ?
फेरि आँखाको भूमिका ? आँखा आफू भूमिका मात्रै निभाइरहेछ कि उ पनि यहि प्रकृयाको एक हिस्सा हो ? साझेदार हो ? सेयरहोल्डर हो ? आँखाले बाहिरी दृश्य देखाउँछ, बाहिरी स्वरुप चिनाउँछ । विश्वको रुप-रङ, छाँया-प्रतिबिम्ब, टलक-टहक, उल्था-अनुवाद गर्दछ । तर जब आँखा आफूलाई अन्तस्करणदेखि हेर्न खोज्दछ, आफ्नो अन्तर्य बुझ्न खोज्दछ तब आँसुको अगाँलोमा किन लुटपुटिन्छ ? आँसुलाई किन अगँलोमा लपेट्छ ? मनलाई किन निमोठ्छ ? हृदयको फाँटलाई वलेसी बनाउँछ ?..र, यसपछी एक सुखानूभूती र मनचिन्ते देउरालीमा पुर्याई स्थिर, स्वस्थ्य र स्वबोधको मनोकारी लहराबद्ध हरिया-हरिया दुबोका राँसहरूमा बसाइदिन्छ ?
र, मन ? मन रुन्छ भनिन्छ । ..आवाजविहीन रुवाइ, स्वरविहीन रुवाइ । मन साच्चै किन रुँदो हो ? मन मनेरै बसेर सुक्सुकाइरहन्छ, मनेरै रहेर लर्बाइरहन्छ । न मनले आफ्नो सर्वाङ्ग परिचय दिएको छ, न आफ्नो स्वभावगत चरित्र खुलस्त पारेको छ । तर उ बेलाबखत सुक्सुकाइरहन्छ, बेलामौकामा खिल्खिलाइरहन्छ, कहिलेकसो मुर्झाइरहन्छ, पहेँलीरहन्छ । बेसी यो मन रोइदिन्छ, बेसी यो मन थाकिदिन्छ, बेसी यो मन गुमसुम परिदिन्छ । जे होस्, मन रोइदिइरहन्छ,..आवाजविहिन रुवाइ, स्वरविहीन रुवाइ । पृष्ठवंशविहीन (मेरुदण्डहीन) यो मनको यो अपलक अग्लाइ, यो अविच्छिन्न ठडाइँ.. ।
फेरि कहिलेकतै म स्वर निकाली निकाली पनि रुने गर्छु । चिच्याउने गर्छुँ । डाको छोड्ने गर्छु । तर एउटा वास्तविकता नै हो, स्वरसहित म कमै रुन्छु । जन्मदाँ रोएँ हुँला, बेग्लै कुरा । अति साह्रो गाह्रो हुँदा चिच्च्याएँ हुँला, बेग्लै कुरा । तर प्रायःजसो म भक्कानिन्छु । प्रायःजसो गाँठो पर्छु । र, यसरी भक्कानीरहँदा, यसरी गाँठो परिरहँदा म सोच्ने गर्छु, ‘हरे, म क्या विधि रुन्चे ? हरे, म के साह्रो पिन्छे ? यसरी त भएन, यसरी त चल्दैन ।’ यद्यपि यस स्थिति मलाई न्यानो छ, शीतकलीन असारका बिहानहरू झैं । यद्यपि यस माहोल मलाई न्यानो छ ठिहिरोविहीन पुसका साँझहरू झैँ ।
मलाई सोध्न मन हुन्छ, ‘के कमलो हुनेहरू मात्रै रुन्छन् ? के रुवाइ कुनै कमजोरी पनि हो ? के आँसु दु:ख नै हो त ? यार.., रुनु रोग हो कि औषधी ? रुनु सजीवता हो कि निर्जीवता ? रुनु सहजीकरण हो कि अत्याधिक झन्झटिलो झन् झन् ?’ रुनु साहसिक कार्य हो भन्छन, हो र ? आँसु जीवन्तताको पद्चाप हो भन्छन्, हो कि ? मलाई हो हो जस्तो लाग्छ । हुनैपर्छ लाग्छ ।
फेरि सोच्ने गर्छु, हाँस्नेहरू त समुहमा पनि हाँस्न सक्छन, गोलबन्द भई । गललल…गललल… । खित्का मारी मारी..। मुर्छा परी परी.. । खितीती..खितीति.. । तर रुनेहरूको हकमा यो सहजता किन उपलब्ध छैन ? रुनेहरू एकनास, निर्झन, सुनसान र बटुवाविहिन जिन्दगीका तमाम घुम्तिहरूमा, उड्किलोहरूमा, खोँचहरूमा, चुचुरोहरूमा एक्लैएक्लै..एक्लो-एक्लो किन रहन्छन् ? किन आँसुले आफ्नो हृदय भिजाइरहन्छन् ? परेलादेखि बाढी ओराल्छन र मुखको खोपिल्टोमा लगेर विश्रान्ती दिन्छन् ? र, फेरि यसबाट निक्लीभाग्न चाह राख्दैनन्, यस प्रक्रियाबाट दूर जाने किञ्चित् इच्छासम्म गर्दैनन् ?
आँसुले लत्पत् भई लत्पतिएका तमाम ओँठहरू, गालाहरू, आँखाहरू, हृदयहरूलाई कसरी परिभाषित गर्ने ? कुन शब्दले यिनिहरूको स्वभाव चरित्र उतार्ने ?..हाय..कति असजिलो स्थितीबोध यो मेरो ? कति अपजसिलो प्रयाससिद्ध हर्कत यो मेरो ? म कसरी भनौँ, कोही किन रुन्छ ? कोहीलाई के कुराले रुहाउँछ ? कोही हाँसिरहेको व्यक्ती एक्कासी किन भकानिन्छ ? कोही रमाउँदा रमाउँदै किन रोइदिन्छ, कोही हाँस्दाहास्दै किन सुक्सुकाइदिन्छ ? आत्मजनको गुमाइ, साथित्वको अलग्गाइ, प्रेमको प्राणहीन अवस्था, नैराश्यताको निकटम स्थिती..यो सबले मात्रै कहाँ रुहाउँछ र ? कति कुराले पो रुहाउँछ ? केके थोकले पो निथ्रुक्कै पारिदिन्छ ? कतिकती बेला निमोठिदिन्छ ? कस्तो कस्तो गरी पो चिमोटिदिन्छ- आँसुहरूले, बाडुल्कीहरूले, हिक्काहरूले । कहिले रुवाइ कोक्याइरहने पिँडालुजस्तो, कहिले रुवाइ लोभ्याइरहने मायालुजस्तो । ..उफ्, यो रुवाइ गन्थन । उफ्, यो रुवाइ पुराण । उफ्, यो रुवाओ महात्म्ये । तर आह..यो सुकुमार परिस्थिती । आह..यो सुगठीत मनस्थिती । ..तर हाय..! यो विसंगति । हाय..! एक विसंगतवादको कट्टर अनुयायी म ।
तर..तर, फेरि सोची बस्ने गर्छु, के हरेक व्यक्ति रुँदा हुन् ? हरेक जीवजन्तू, हरेक किटपतंग, हरेक वन्स्पती ? हरेक चीजवस्तू एवम सवथोक ? यसप्रकारको रुन्चे भतेरमा सरिक होइरहँदा मलाई यस्तो पनि लाग्ने गर्दछ कि संसारमा नरुनेहरू पनि त होलान् । आँसु नझार्नेहरू पनि रहलान् । साच्चै, नरुनेहरू किन नरुँदा हुन् ? आँसु नखसाल्नेहरू को हुँदा हुन, कस्ता हुँदा हुन् ? कस्ता देखिँदा हुन् ? प्रश्न मात्रै,..यद्यपी मलाई उनीहरूलाई भेट्नु, देख्नु र बुझ्नु छैन । कारण, म रुने व्यक्ती हुन्, रोइरहने प्राणी हूँ । रुवाइ मेरो व्यक्तित्वको एक हिस्सा हो । अझ भन्नैपर्दा, रुनु मलाई भान्छा गर्नु र शौच जानु जत्तिकै व्यवहारिक लाग्दछ । थकाइले चुरचुर हुनु र निन्द्रामा घुरघुर.. घुर्नु जत्तिकै स्वभाविक लाग्दछ ।
मलाई यतिखेर रुवाइबारे लेखिएका, बोलिएका, बताइएको, सुनाइएका, पढाइएका अनेकन् कुराहरूको आङ कन्याउँदै सिद्धान्तनिष्ठ, सूत्रवादी भइटोपल्नु छैन । प्रिय आत्मन टोपबहादुर ज्यूहरू मलाई माफ गर्नुहोस् । मैले यहाँहरूको व्याख्या-ए-उपव्याख्या, चर्चा-ए-परिचर्चा, गफ-ए-गाफका चर्चापीठहरू, बहसमठहरू, विवेचना शिविरतर्फ आउने हिम्मत नै गरिनँ । मनै लागेन । तपाईँहरूको सम्मेलनतर्फ ढाड फर्काइदिएँ, पिठ्योँ फर्काइदिएँ । तपाईँहरूको बातमा मात भेटिनँ, कुराको छेउ-टुप्पो भेटिनँ, हाँगो-जरो खेला पारिनँ । श्रदय टोपबहादुरहरू, आदरणीय लोकसंस्कृतिविदहरू, पूजनीय विदूषकज्यूहरू म माफी चाहन्छु, मलाई रुन दिनुहोस् । मलाई पिलपिलिरहन दिनुहोस् । मलाई बाँच्न दिनुहोस् । तपाईँहरूका सभागोष्ठी, सभागृहहरू तपाईँहरूलाई नै मुवारक । तपाईँहरूका थोत्रा-मोत्रा, एरे-खैरे साध्य-सिद्दान्तहरूलाई लौ त नी लौ.. खुलुत्तै । लौ त नी लौ..नमस्ते.. । कृपया, म देखि पर जानुहोस्, मदेखि पर भाग्नुहोस् । म रुँदा हास्नुस्, मेरा हिक्काहरूमा खित्काइरहनुस्, तर मलाई नछुनुहोस, मलाई नबिटलीदिनुहोसं ।
बरू तपाईँहरू चाहिँ यता आउनुहोस्, म जस्तै व्यक्तिहरूलाई भेट्न जाऔँ हामी । तथाकथित रुन्चे, पिन्चे र आँसुलाई असाध्यै प्रेम गर्ने प्रेमिल मनहरूका कुरा सुनौँ । रोएरै सुखबोध गरिरहेका, आँसु खसालेरै जीवनको सुखासनमा बसिरहेका, परेला भिजाएरै प्रफुल्लताको पालकी ओढीरहेका, सुख्यात आत्मियहरूको सुखान्त, सुविस्तापरक, खुसहालजन्री आरोग्य अनुभूतीहरू सुनौँ । मङ्गलमयी र आन्नददायी अनुकुलतामा आलिँगनबद्ध हौँ । समाधिस्त हौँ । ..आँचल गाँठोमा बाँधिऔँ ।..आँखादार नसामा लठ्ठ हौँ । मद मद हौँ.. । ..चुर चुर हौँ .. ।
————
रुवाइ एक सामान्य मानसिक संवेग हो । म पनि रुन्छु । कुनै कुराले हृदयतः प्रभाव पार्यो भने रोइन्छ । हेर्नुस्, यो विसंगत जीवनमा रुनका लागि अनेक कारणहरू फेला पर्दछन् । कोही पनि रुने कारण खोज्दै हिँड्दैनन् । तर कारणहरू नै मान्छेका जीवनसम्म आउँदा रहेछन् । खासमा रुवाइको प्रमुख र अन्तिम कारण त अज्ञान नै हो । तर म अज्ञानी छु भन्ने बोध हामीलाई कहाँ हुन्छ र ? म पनि यो जगत्को एक आम अज्ञानी हूँ । त्यसैले म पनि आफ्नो अज्ञानताको प्रदर्शन गर्दै बेलाबेलामा रोइरहन्छु ।
मेरो विचारमा रुवाइ थुप्रै मानविय संवेदनाहरू मध्येको एउटा विशिष्ट संवेदना हो । रुन हामी जन्मजातै जानेर आएका हुन्छौँ, तर हुर्कँदै जाने क्रममा हामीलाई हाम्रो परिवार तथा समाजले विभिन्न कारण देखाएर रुनबाट रोक्दै लैजान्छन् । फलस्वरूप हामी रुन बिर्सँदै जान्छौँ, वा भनौँ जबरजस्ती रोक्छौँ ।
म त रुन्छु । रोइरहेको हुन्छु । म रुन्छु भन्न मलाई कुनै सरम लाग्दैन । सबैभन्दा बढी मान्छेलाई आफ्नो प्रियजनको मृत्युले रुवाउॅंछ । म पनि त्यसको अपवाद हुन सक्दिनॅं। केही वर्षअघि एउटा दुर्घटनामा साथी गुमाउँदा घाटको बालुवामा थचक्क बसेर बलिरहेको लाश हेरेर खुब रोएको थिएँ । रुनु त्यो बेला मेरो ऊप्रतिको प्रेम दर्शाउने एउटा माध्यम झैँ लागेको थियो। उसको चितामा जलिरहेको हात देख्दा मनमा “सधैँ मिलाउने हात जलिरहेछ, अब कहिल्यै मिलाउन नमिल्ने गरी !” भन्ने कुरा यसरी ट्रिगर गर्यो कि त्यो बेला मैले मन थाम्नै सकिनँ ।
अझ मलाई कहिलेकाहीँ संगीतले, विशेषगरी सारंगी र भाएलिनको धुनले, पनि रूवाउँछ । म फिल्म हेरेर पनि रोइरहेको हुन्छु। साहित्य पढेर पनि रोइरहेको हुन्छु । केही समय अघि एउटा टर्किस मुभी हेरेर आँशु थाम्नै सकिनँ । केही समय अघि खालिद हुसैनीको ” अ थाउजन्ड स्पलेन्डिड सन्स्” पढ्दा पनि रोएको थिएँ । रुनुमा पनि एक किसिमको आनन्द पो भेट्छु म त। कोही त्यसै रुँदैन । मानिस रुन एउटा प्रक्रियाबाट गुज्रनुपर्छ। कोही पनि एक्कासी रुँदैन । जब केही कुराले गहिरोसँग मनमा छुन्छ, छातीमा कतै गाँठो परेजस्तो हुन्छ, गला अवरुद्ध हुन्छ र अन्त्यमा आँसु खस्छ, तब न मान्छे रुन्छ । रुनु भनेको मानव हुनुको परिचय पनि हो । रुने मान्छेले अमानवीय काम गर्न सक्दैनन् होला भन्ने लाग्छ । त्यसैले रुनबाट आफूलाई रोक्न हुन्न जस्तो लाग्छ । रोएर मान्छे हल्का पनि हुन्छ। कहिलेकाहीँ न्यास्रो लागेर पनि रोइन्छ । त्यसैले पनि रुवाइ एउटा अद्भूत अनुभूति हो, जुन विशेष अवस्थामा मात्रै अनुभूत हुने गर्छ ।
अभिव्यक्तिको एउटा माध्यम रहेछ रुवाइ । संवेदनाको एउटा गहिराइ रहेछ रुवाइ । र, शब्दको सीमितता रहेछ रुवाइ । मलाई आफू रुनु प्रिय लाग्छ, तसर्थ कहिलेकाहीँ अरू रोएको दु:खमा पनि रोइदिन्छु । चाहे रिलमा (फिल्ममा) होस् वा रियलमा । अँ राजु जी, खुसी होस् वा दु:ख, जब कुनै पनि संवेदनात्मक अनुभव (महसुस) प्रस्फुटित हुनका लागि शब्द काफी रहँदैन तब आँसु बन्दो रहेछ । र, मचाहिँ रुँदो रहेछु ।
सुखमा हाँस्नु र दु:खमा रुनु मानवीय स्वभाव नै हो । भलै उमेर अनुसार मान्छेका दु:खका कारण र किसिम बदलिँदै जान्छन् ।
बाल्यकालमा म एकदम कम रोए जस्तो लाग्छ किनकी म सँगसँगै मेरा तीन भाइबैना हुर्कँदै थिए, मैले जे गरे तिनले त्यसकै सिको गर्लान् भनेर खूब सम्हालिएर बिताएँ मैले आफ्नो बालापन, किशोरवय ।
त्यसो त असन्तुष्टिले पनि मान्छे रुन्चे हुन्छ । हाम्रो चाहिँ बाबाममी नै हँसमुख हुनु र उहाँहरूको सुखदु:खसँगै हुर्केकाले सानासाना खुसीमा रमाउने स्वभाव हामीमा पनि सर्यो जस्तो लाग्छ ।
तर यसो भनेर म रुन्न/रोइनँ भन्न मिल्दैन, मेरी हजुरआमा बित्दा मृत्यु कति भयानक छ जानेर महिनौँ रोएँ । अझ
बिहेपछि म धेरै रुन्चे भएँ । मलाई बिदा गर्दा मेरा भाइबैनाहरू, बुबाआमा, र आफन्तहरूको हालत कस्तो थियो भनेर कसैले वर्णन गर्न लाग्यो भने अझै पिलपिलाउँछु ।
पति विदेशिएपछि मजबुरी कति नमीठो हुन्छ जानेर रोएँ । त्यतिले पुगेन भाइ अस्ट्रेलिया उड्यो, वचेराहरू गुँड छोडी उड्दा चरीमा के बित्दो हो, महशुस गरीगरी रोएँ । केहीपछि देश छोडेँ, सम्झनाले रुवाइरहन्छ । उता कोही बिरामी पर्छन् अत्यासले रुवाउँछ । आशा फर्फराउँछ, ऐठन पर्छ आशंकाले रुवाउछ ।
समाचार सुन्यो हेर्यो, देशले अनेक नियती ब्यहोरिरहेछ केही गर्न नसक्नुको लाचारीले रुवाउँछ ।
यस्तै हो मन भरिइरहन्छ, आँखा बगिरहन्छ जुन जरुरी पनि छ । नरुदा मान्छे कुण्ठाग्रस्त हुन्छ जुन व्यक्ति स्वयंको लागि र अरुको लागि नि हानिकारक हुन्छ । त्यसो नहुन दिन बेलाबखत रुनुपर्छ/धित मरुन्जेल रुनुपर्छ । तब न मन चँगा हुन्छ र खुसिसाथ आगतलाई स्वागत गर्न सकिन्छ । संसार बडो सुन्दर छ नि, र जीवन भोग्नलायक ।
यो पाटोमा म रुन्न है भाइ !
धर्तीमा मान्छेले जब जन्म लिन्छ उसको सप्पैभन्दा पहिलो भाषा नै रुवाइ हो । रुनु नै मान्छे हुनुसँग गाँसिएको कुरा हो जस्तो लाग्छ । होला, अन्य केही प्राणीहरूले शारीरिक पीडा हुँदा आँशु झार्छन् तर अहिलेसम्मको बुझाईमा सायद मान्छे मात्र यस्तो प्राणी हो जसलाई भावानाले रुवाउँछ, अनुभूतिले पनि रुवाउँछ । जब अनुभूतिहरू चरम तहमा पुग्छन् रुनु मात्र एक्लो विकल्प भइदिन्छ । डार्विनले रुनुलाई मान्छेकोअस्तित्वको सङ्घर्षसँग नजोडिएको एउटा बेकारको अपवाद भनिदिए । तर मानिस जन्मिँदा यस्तो निरीह र नाजुक जन्मिन्छ कि रुनुनै उसको अस्तित्वरक्षासँग जोडिन पुग्छ ।
अन्य प्राणीहरू मान्छेजस्तो कमजोर जन्मदैनन् । जन्मेको केही क्षणमै उनीहरू यात्रा गर्न सक्छन् । खाना खोजेर खान सक्छन् । बास पहिल्याउन सक्छन् । तर मान्छे १ वर्षसम्म उभिन पनि सक्दैन । उसको यहि निरीह र कमजोरपनाले गर्दा उसमाथि हरपल ध्यान केन्द्रित गर्नुपर्छ । उप्रति हरपल सहानुभूति राखेर उसको रक्षा गर्नुपर्छ । सायद यही कमजोरीकाकारण आफूमाथि ध्यान केन्द्रित गर्न र आफूमाथि करुणा जगाएर आफ्नो अस्तित्व जोगाउन उ रुनुपर्ने हुन्छ ।
कालान्तरमा मान्छे रोइरहन्छ । मान्छे जतिसुकै शारीरिक र मानसिकरुपमा परिपक्क हुँदै गए पनि जिन्दगीभर ऊ बेलाबेला असाहय हुन्छ, विवश हुन्छ, लाचार भइराखेको हुन्छ । रुवाईले आफूलाई र अन्य मानिसलाई आफू आफ्नो बस भन्दा बाहिरको समस्यामा भएको सङ्केत पनि गर्छ । ऊ परिवारसँग रुन्छ, इष्टमित्रसँग रुन्छ, आफूप्रति संवेदना राख्ने कुनै अमुक मान्छेसँग रुन्छ, रोइरहेका मान्छे देखेर झन् रुन्छ । मान्छे आफ्नै रक्षाका खातिर रुन्छ, रुनुपर्ने हुन्छ ।
पछि मान्छे एक्लै रुन्छ । कसैले नसुनोस् भनेर लुकेर रुन्छ । यहाँनिर मान्छेबाट भाग्न रुन्छ कि भाग्न नसकेर रुन्छ । शायद मान्छेवाहिरको कुनै अलौकिक अदृश्य स्वरुपको विश्वासले रुन्छ । रुवाइ मान्छेलाई प्रकृतिले दिएको दया र करुणाको भाषा हो । कोही रोइरहँदा सामान्य मान्छेलाई कठोर बन्न मुस्किल हुन्छ । तर विडम्बना, हामी धेरै भन्दा धेरै असामान्य भैसक्यौँ ।
आफुले केही गर्न नसक्नुको लाचारीमा मैले आफूलाई एक्लै रोइरहेको पाउँछु । कोही प्राणप्रिय दिवङ्गत मान्छेको सम्झनमा अब कहिल्यै नभेट्न-नदेख्न पाउनुको सकसले रुन्छु । उसका अन्तिम क्षणहरू सम्झेर रुन्छु । आफूले उप्रति गरेका व्यवहारहरूको ग्लानीले रुन्छु । कसैको खातिर रुनसक्नुभित्र कत्रो श्रद्धा छ । रोएपछि मन हल्का हुन्छ या हुन्न त्यसप्रति मेरो कुनै मत छैन तर मलाई पीडाको मात मन पर्छ । दु:खको गहिराईमा आफू विह्वल हुँदाको अनुभूतिभित्र कल्पनातीत आनन्द पनि भेट्छु, यसर्थ म रुन्छु । मनभित्रको गाँठो नफुकेर आँखा भरिएर आउँदा मलाई त्यो पल लम्बिरहोस् भन्ने कामना हुन्छ । म एक्लै बसेर रुनुको कारण खोजिबस्छु र कैयौंचोटी अकारण रोइरहेको पाउँछु । त्यो अकारणभित्र रुनुको कुनै रहस्यमय कारण छ कि शायद, म त्यसको अनभिज्ञताले रुन्छु ।
उसो त मैले पीडा र दु:खको बेला मात्रै मान्छे रुन्छ भन्न खोजेको हैन । कुनै अनुभुतिहरू सुखको त्यो चरमतामा पुग्छन् जहाँ फेरि पनि रुनुको विकल्प हुँदैन । कुनै बेला यस्तो अद्भूत रहस्यम संसारमा म पनि त बाँचिरहेछु भन्ने बोधले मात्रै पनि रुवाइदिन्छ । रुवाइ संवेदनशीलता हो । टैगोरको कविताहरू पढिरहँदा म कुनै दिव्य आभाको श्रद्धाले रोएको छु । पासको प्रेम कविता पढेर प्रेमिकालाई सुनाउँदा प्रेमले बीचमै रोइदिएको छु ।
पीडाले रोइबस्दा मुटुमा गाँठो पार्छ तर खुसी र श्रद्धामा आँशु झरिरहँदा पेटभित्र अनौठो काउकुति लाग्छ ।
रुवाइ त मानवजगतको सर्वसम्मत भाषा हो । यही यौटा भाषाले संसारको जुनसुकै कुनामा विह्वल भएर रोइरहेको कुनै पनि मान्छेप्रति करुणा जाग्छ । कम्तीमा ऊ व्याथित छ भन्ने बुझिन्छ । ऊ प्रति सहानुभूति राखिन्छ । स्नेह जाग्छ । सहयोगको भावना आउँछ । कम्तीमा कोही खुसीको उत्कर्षमा छ भन्ने बुझिन्छ, कम्तीमा कोही कृतज्ञ छ भनेर बुझिन्छ । उसलाई देखेर आनन्दित हुन सकिन्छ । सिमाना, संस्कृति, भाषा आदि धेरै पर्खालहरूले हामीलाई खण्डखण्ड पारेपनि आँशुको यही एउटा भाषाले हामीलाई जोड्दछ । आँशुले हामी संवेदनशील छौँ भनेर बुझाउँछ, यही संवेदनशीलतानै मानवता हो ।
कहिलेकाहीँ रुन मन लाग्छ । बाल्यकालमा आफ्नो इच्छा, चाहना पुरा नहुँदा । अहिले, रुनलाई कुनै परिस्थिती आउँदो रहेछ, मनको गथासो कतै पोख्ने ठाउँ नहुँदा, सुनिदिने कोही नभए झैँ लाग्दा, आफ्नो दु:ख आफैँसँग पोख्न पनि रोइँदो रहेछ । रुनको यही करणभन्दा नि परिस्थितिले सिर्जना गरेको अवस्था रहेछ । कहिले अभावमा रुन्छ मान्छे, कहिले दबावमा त कहिले प्रभावमा । रुवाइ भारी मनलाई बिसाउने कोसिस रहेछ । मलाई सबभन्दा आनन्दको क्षण रोइ सकेपछिको क्षण लाग्ने गर्छ । रुनु, साँच्चै दुखी मनलाई सान्तवाना दिने आफ्नै प्रयास हो ।
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।