च्याट गर्ल बाट नेपाली साहित्य आकाशमा उदाएका मिलन संग्रौला पर्पला मार्फत अझ तेजिलो बन्न पुगे । तेह्रथुम आठराइमा जन्मिएका उनी २०५८ सालमा झापा झरे । गोमेन्द्र मल्टिपल कलेज बिर्तामोडमा बीसीए र काठमाडौँको कान्तिपुर सिटी कलेजबाट आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर (MAMCJ) गरेका सङ्ग्रौला हाल गृहजिल्ला झापामै रहेर अध्यापन र लेखनमा क्रियाशील छन् । उनको तेस्रो कृति अर्थात् दोस्रो उपन्यास प्रकाशोन्मुख छ। प्रस्तुत छ, ‘च्याट बोइ’ का रूपमा पाठकमाझ प्रिय बनेका साहित्यकार संग्रौलासँग शब्द सोपानका राजु झल्लु प्रसादले तयार पारेको सामाग्री: मिलन संग्रौलासँग ‘किताबका कुरा’
१.०७० वैशाखमा पहिलो कृतिका रूपमा च्याट गर्ल कथासङ्ग्रह ल्याउनुभयो, पहिलो पुस्तकबाट नै पाठकको भरपूर माया बटुल्नुभयो । त्यस पृष्ठभूमिलाई एकफेर सम्झनुहोस् न ।
२०७० सालमा प्रकाशित च्याट गर्ल कथा सङ्ग्रह किशोरावस्थादेखिकै रहर अनि त्यसबखतको आफ्नो बुझाइको समाज पात्रहरूलाई आख्यानमा उतार्ने हुटहुटीबाट जन्मिएको कृति हो । फर्केर हेर्दा धेरैजसो कथाहरूका आ-आफ्नै सीमा भएपनि त्यस बेलाको परिवेश र किशोर मनोविज्ञानको चित्रणलाई पाठकहरूले मन पराएर अझ राम्रो लेख्ने प्रतिक्रिया र हौसला दिनुभयो । कृतिमा सङ्ग्रहित तेह्र कथाहरूमध्ये शीर्ष कथा “च्याट गर्ल” ले पाठकहरूलाई भावनात्मक रूपमा निकै गहिरो गरी छोएको मैले महसुस गरेको छु ।
२.पर्पला र च्याट गर्लमध्ये कसले तपाईँको बढी माया पाएँ ? यही प्रश्न, पाठकतर्फ पनि ! कुन कृतिलाई बढी रुचाइयो ? तपाईँले आफ्ना कृतिहरूमार्फत भन्न खोजेको अन्तर्य के हो ? ती कति सफल भए ?
निश्चय नै दुवै कृति मेरा लागि प्रिय नै छन् । दुवै कृति लेख्दाताका र प्रकाशनपश्चात आ-आफ्नै विशेष अनुभूतिका साथ मेरो मनमा सजिएका छन् ।
च्याट गर्ल पहिलो कृति भएकाले मलाई यो पर्पलाभन्दा अलिक स्वच्छन्द लाग्छ । किनभने किशोर अवस्थाकै सुरुबाट लेख्न सुरु गरेको यो कृतिमा लेख्ने हुटहुटी र भावना पोख्ने शब्दहरूको तीव्र प्रवाह छ । यसमा वेपर्वाह लेखन छ । यो मेरो मनसँग बढी नजिक छ ।
दोस्रो कृति पर्पला उपन्यास अलिक सोचबद्ध र योजनाबद्ध रूपमा लेखिएको कृति हो । च्याट गर्लमा भन्दा यसमा समयको बढी लगानी रहेको छ । किशोर मनोविज्ञान र त्यसमा पनि नारी पात्रलाई केन्द्रमा राखेर उपन्यास लेखिरहँदाको समय निकै चुनौतीपूर्ण थियो । उपन्यास प्रकाशनपश्चात पाठकहरूबाट पाएको प्रतिक्रियाले मैले यसमार्फत सम्प्रेषण गर्न चाहेको कुरामा आफू सफल भएको महसुस गरेँ ।
३.‘लेखनको क्रममा कथ्य संयोजन एवं प्राविधिक पाटाहरू पनि समानान्तर रूपमा हिँड्छन्’, भनिन्छ । तपाईँको अनुभवले के भन्छ ? कथा र उपन्यासबीच समानता र असमानताहरू के-कस्ता हुँदा रहेछन् ? साँच्चै, कथा के रहेछ ? र, उपन्यास ? लेखनको क्रममा विधागत सहजता पनि हेरिँदो हो, तपाईँको अनुभवमा कथा र उपन्यासमध्ये लेखनको हिसाबले कुन सहज ?
निश्चय नै, आख्यान लेखिरहँदा कथामात्र नभएर त्यसलाई प्रस्तुत गर्ने शैली, शिल्प र लेखन प्रविधिको पनि विशेष महत्व रहेको हुन्छ । कथा र उपन्यासलाई सतही रूपमा बुझ्दा आख्यानका दाजुभाइजस्ता लाग्छन् । एउटा छोटो, अर्को लामो । तर लम्बाइको आयामले मात्र यिनीहरूको विशेषता र भिन्नतालाई बुझ्न सकिन्न । परिवेश र चरित्रका हिसाबले कथा सानो घेरा र सीमित अवधिमा आधारित हुन्छ भने यस मापदण्डमा उपन्यास वृहत् हुन्छ । आकारमा कुनै उपन्यास लामो कथाभन्दा छोटो पनि हुन सक्छ ।
कथा र उपन्यासको लेखनमा मेरो अनुभव के छ भने, कुनै कथाको मर्म, पात्र अनि परिवेशले मलाई सियोको टुप्पोले झैँ तिखो गरी चस्छ घोच्छ र छोटो अवधिपश्चात नै कथा बन्छ र खाटा बस्छ । तर उपन्यास लेखिरहँदा भने फराकिलो आयतनको पत्थरले झैँ उपन्यासको मर्म, पात्र अनि परिवेशले मनलाई थिचिरहन्छन् । तिनीहरूले महिनौँ र वर्षौसम्म मनमस्तिष्कमा अड्डा जमाइरहन्छन् । पाठकको रूपमा पनि मलाई कथा र उपन्यास यसरी नै भिन्न लाग्छ्न् । कथा कमिलालाई एक दानो चिनी झैँ चट्ट लाग्छ भने उपन्यास डुबिरहन मिल्ने चास्नी ।
लेखनमा भने मलाई उपन्यास लेख्दा नै सहज अनुभव हुन्छ, किनभने कथामा झैँ यसलाई चाँडै निचोड दिनुपर्ने दबाब महसुस हुँदैन । मिलन संग्रौला
४.‘कथाका माध्यमबाट पनि र उपन्यासको माध्यमबाट पनि चलिरहेका ट्रेन्डहरू भत्काउने प्रयास गर्नुभयो’ भनेर भनियो । त्यो भनेको कस्तो ? हामीकहाँ कथा एवं उपन्यासतर्फ के-कस्ता ट्रेन्डहरू चलिरहेका छन् ? तपाईँलाई ती ट्रेन्डहरूलाई केलाउने मुड छ ?
ट्रेन्ड भत्काउने या नयाँ सेट गर्ने कुनै उदेश्यका साथ मैले कथा र उपन्यास लेख्न थालेको होइन । आफूलाई जुन विषय, परिवेश र पात्रले छुन सक्यो तिनैलाई टिपेर सामर्थ्यले भ्याएसम्म प्रस्तुत गर्ने जमर्को गरेको हुँ । सायद पहिले साहित्यमा युवा र किशोरका समस्या र भोगाइहरू उपेक्षित हुँदै आएकोमा पछिल्लो दशकबाट युवा लेखकहरूले उठाएको मुद्दाले नयाँ ट्रेन्ड आफैँ बनाउँदै लगेको हुनुपर्छ ।
अनि अहिले चलिरहेको आख्यानको ट्रेन्डलाई केलाउने र विश्लेषण गर्ने जिम्मा भने म समीक्षक र समालोचकहरूमा नै छोड्न चाहन्छु ।
५.अन्तत: तपाईँलाई पनि ‘प्रेमको बारेमै लेख्ने लेखक’ भनेर सम्बोधन गरियो । हामीकहाँ प्रेमको बारेमा लेख्ने लेखकहरूलाई ‘फितलो साहित्य’ लेखनको पक्षधरको रूपमा उभ्याइन्छ । किन यस्तो भइरहेको होला ? नेपाली समाज र नेपाली साहित्य दुवैतर्फको प्रेम भाष्य कस्तो पाउनुहुन्छ ? हामी प्रेम भनेर के कुरालाई भनिरहेका छौँ ? मलाई बडो सोध्न मन लागेको, अपजस पाइन्छ भनेर जान्दाजान्दै प्रेम नै किन लेख्नुभएको (तेस्रो कृतिमा प्रेम नै लेख्दै हुनुहुन्छ भन्ने सुनेँ) ?
पहिलो कृति लेख्दा लेखकलाई जसको निकै आशा हुन्छ भने दोस्रो कृति लेख्दा अपजसको डर । तर अपजसको डरले एउटा लेखकले आफू समाहित भइसकेको विषय छाड्ने कुरो त हुँदैन । लेखन लेखकको स्वतन्त्र अभिव्यक्ति हो । उसलाई जुन विषयमा सहज महसुस हुन्छ, त्यसैमा नै उसले कलम चलाउने हो । पर्पला उपन्यास प्रकाशनपश्चात मलाई धेरैले प्रेम लेखकको रूपमा सम्बोधन गर्नुभयो । कतिले माया दर्शाउँदै कतिले अपजस । अपजस दिनेहरूले उपन्यासमा प्रेमसँगै किशोर मनोविज्ञानका विविध पाटाहरू पनि छन् भन्ने कोणबाट हेर्नुभएन । मलाई भने पाठकहरूको माया र प्रतिक्रियाले अपजसको सारा छायाँलाई मेटाइदिएको भान भयो । अपजस पुस्तक प्रकाशनको सीमित अवधिसम्म आइरह्यो तर माया जीवनभर पाइरहुँला पक्कै ।
हो, मेरो प्रकाशोन्मुख उपन्यास पनि प्रेमकै मूल खम्बामा बाँधिएको छ । तर यो खम्बाको वरिपरि घुमिरहने पात्रहरूले बाँचेको परिवेश र भोगेका सुखदुःखमा तथाकथित सस्तो प्रेम मात्र हुने छैन ।
६.‘लेखकले सामाजिक मुद्दा उठाउनै पर्छन्’ भन्छन् । तपाईँको त्यो प्रयास रह्यो ? या यसरी सोधौँ, एउटा लेखकको कर्तव्य, जिम्मेवारी एवं दायित्व के-के हुन् ?
तपाईँको यो प्रश्नको उत्तरमा मेरा केही प्रतिप्रश्नहरू छन् । पहिले हामी प्रस्ट हुनु पर्यो सामाजिक मुद्दा भनेका के हुन् ? सम्पूर्ण सामाजिक मुद्दाहरूको सूची बनाउँदा युवाहरूका मुद्दा त्यहाँ अँट्छन् कि अट्दैनन् ? के युवाहरू असामाजिक सदस्य हुन् ? युवाहरूले गर्ने प्रेम असामाजिक हो ? या उनीहरूले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक समस्याहरू कुनै मुद्दा भनिन लायक होइनन् ? झन्डै चालीस प्रतिशत हाराहारी जनसंख्याले भोगिरहेको यावत् समस्याहरू छाडेर हामी युवा लेखकहरू राजनीतिक, जातीय या धार्मिक.. कस्तो प्रकारको विशुद्ध प्रेमविहीन मुद्दाको खोजीमा लाग्ने हो खै ?
७.तपाईँ ‘युवाको मनोभावना, युवाको सपना’ भनिरहनुहुन्छ । र, ‘सही रूपमा चाहिँदो यौन शिक्षाको अभावले किशोर–किशोरीहरू निकै समस्यामा परिरहेका छन्’ पनि भनिरहनुहुन्छ । सरोकारवालाहरूले तपाईँका कुरा किन नसुनेका या तपाईँले उठाइरहनुभएको मुद्दाहरूको स्वर किन यति सानो बनिरहेका ? नेपाली समाज र सत्ताको यौन विषयमा कस्तो मनोसामाजिक प्रवृति पाउनुहुन्छ ? यौन नेपाली समाजमा यद्यपि हाउगुजी नै छ, होइन ?
सत्ता या सरोकारवालाहरूको त के कुरा गर्ने खै ? युवाहरूको मनोविज्ञानमा सिर्जनशीलता विकास गर्ने पद्धतिलाई अवलम्बन गर्न छाडेर यौन विकृति र बलात्कार रोक्ने नाममा पोर्न साइट बन्द गर्ने स्तरका नीति निर्माता छन् हामीसँग । प्रेम र यौन प्राकृतिक र जैविक सत्य हुन् । यिनलाई स्वस्फूर्त सिर्जनात्मक तवरमा घटित हुन दिने या दमन गरेर विकृत रूपमा भड्किन दिने ? नेपाली समाजमा यौन अझै पनि हाउगुजी नै छ, त्यसैले विकृत पनि ।
८.‘आधुनिकतासँगै मनोसामाजिक जटिलताहरू भित्रिन्छन्’ भन्नुहुन्थ्यो, लेखक र पाठकका पनि आ-आफ्ना मनोसामाजिक जटिलताहरू होलान् नि है ?
निश्चय नै, अझ हाम्रो जस्तो नेतृत्वमा रहेकाहरू नै मनोसामाजिक जटिलताले जेलिएको ठाउँमा त के भन्ने ? आधुनिकतासँगै मान्छेमान्छेबीचको प्राकृतिक संवाद गौण विषय बनिसकेको छ । मान्छेको दिमाग अनावश्यक सूचनाहरूको डम्पिङ साइट भइसकेको छ । हामीमा शान्त र स्थिर भएर कुनै काम गर्ने बानी हराइसकेको छ । यसले लेखकहरूलाई जे जति जस्तो लेख्नुपर्ने लेख्न दिइरहेको छैन र पाठकलाई पढ्न । मिलन संग्रौला
९.“पर्पला“ नामको चलचित्र घोषणाको प्रसंग उप्काऔँ । बौद्धिक सम्पत्तिको रक्षाका लागि प्रतिलिपि अधिकारको रजिष्ट्रार कार्यालयमा निवेदन दर्ता पनि गर्नुभएको थियो । उता फिल्म निर्माण पक्षले ‘पर्पला एउटा अस्ट्रेलियामा घटेको विभिन्न घटनाहरूलाई समेटेर बनाइएको कथा हो’ भनेका थिए । खास कुरा के हो ? त्यो घटनाले कस्तो रूप लियो ? वास्तवमा भएको के थियो ?
अष्ट्रेलियामा बस्नुहुने केही फिल्मकर्मीहरूले “पर्पला” नाममा चलचित्र बनाउने घोषणा गरेपछि मैले आपत्ति जनाउँदै प्रतिलिपि र ट्रेडमार्कको मुद्दा उठाएको थिएँ । कथा फरक भने पनि एउटा स्थापित कृतिको नाम हुबहु लिएर चलचित्र कसरी बन्न सक्छ भन्ने मेरो जिकिर थियो । त्यसमाथि मैले आफैँ एक निर्माता टिमसँग सल्लाह गरेर “पर्पला” नामको चलचित्रका लागि स्क्रिप्ट लेख्दै थिएँ । । उहाँहरू केही समयलाई पछि सर्नु भएको थियो । केही महिनापछि फेरि एक अनलाइन पोर्टलमा चलचित्र निर्माण पुरा हुन लागेको समाचार आयो । त्यसपश्चात प्रतिलिपि अधिकारले मात्र पुस्तकको शीर्षक सुरक्षा गर्न नसक्ने बुझेर मैले २०७७ फागुनमा उद्योग मन्त्रालयमा गई “पर्पला” नामको ट्रेडमार्क नै दर्ता गर्न आवेदन पेश गरेँ । त्यसै दिनबाट यस नाममा अधिकार सुरक्षाको प्रक्रिया सुरु भइसकेको छ । मैले निर्माण पक्षलाई यसबारे जानकारी पनि गराएँ । सायद उहाँहरू मौन रूपमा चलचित्रको नाम बदल्ने मनस्थितिमा पुग्नुभयो ।
१०.तेस्रो कृति अर्थात् आफ्नो दोस्रो उपन्यासको पुनर्लेखनमा केन्द्रित हुनुहुन्छ भने सुनेँ । तेस्रो कृति ठ्याक्कै के हो ? तेस्रो कृतिबाट तपाईँले के अपेक्षा राख्नुभएको छ ? हामी (पाठक) हरूले के अपेक्षा राख्ने ?
तेस्रो कृति (दोस्रो उपन्यास) पुनर्लेखन गर्दा मलाई एकपटक मेरो पहिलो कृतिको शीर्ष कथा “च्याट गर्ल” लेखेपछिको झैँ आनन्दानुभूति भइरहेको छ । मलाई भित्रैदेखि झङ्कृत पारिरहने पात्र, परिवेश र विषयका कारण यो मैले लेख्नैपर्ने कृति थियो । वास्तवमा लेखनका हिसाबले मात्र यो तेस्रो कृति हो । मनमा भने पर्पला अघि नै यसको बीजारोपण भइसकेको थियो । अहिले त लेखनपश्चातकै आनन्दमा छु । प्रकाशनपछिको अपेक्षा त पछिको कुरा हो । लेखक आफैँ खुसी भएको पुस्तकबाट पाठकहरूले पनि केही न केही खुसी पाउनुहुन्छ पक्कै ।
११.अब अलि रमाइला प्रश्नहरू गर्छु है, आख्यान र गैर-आख्यानमध्ये तपाईँको रुचि कतातर्फ बेसी छ ? आजभोलि के पढ्दै हुनुहुन्छ ?
आजभोलि आख्यानको पठनलाई बिट मारेर गैरआख्यान त्यसमा पनि विशेषगरी जीवहरूको विकास, धर्म र सभ्यताको विकास अनि सूचना प्रविधिसँग सम्बन्धित लेख, रचना र प्रतिवेदनहरूको अध्ययन गर्दै छु । अहिलेको परिप्रेक्ष्यमा अनलाइनमा प्राप्त हुने पिडिएफ, ई-बुक र घरको पुस्तकालयमा पढ्न बाँकी पुस्तकहरू नै मेरो अध्ययनका स्रोत हुन् ।
१२.तेस्रो पटकको प्रयासमा माधवी पढिसक्नुभएछ, मैले तेस्रो पटकमा पनि सकिनँ ! हेहे.. ! तपाईँले माधवीलाई ‘नेपाली साहित्यको सगरमाथा’ भन्नुभएको रहेछ ! यस मानेमा नेपाली साहित्यका कन्चनजङ्घा, ल्होत्से, मकालु, चो ओयू या नाङ्गा पर्वत,.. चाहिँ कुन-कुन होलान् ?
माधवी यस्तो उपन्यास हो, जुन पढिसकेपछि मात्र यसको महत्व बुझिन्छ । जसरी सगरमाथाको चुचुरोमा नपुगी त्यहाँको अनुभूति हुँदैन । यस हिसाबले मैले यसलाई नेपाली आख्यानको सगरमाथा भन्न खोजेको थिएँ । सगरमाथा चढ्न जति जटिल छ, त्यति नै चुचुरोमा पुगेपछि त्यसले दिने आनन्दानुभूति सुखद । पहिलो पेजबाटै पाठकलाई आनन्द दिएर बग्ने सरल र उत्कृष्ट नेपाली उपन्यास धेरै नै छन् । तर सगरमाथाको दाँजोमा ती केबलकारले सरर चुचुरोमा पुर्याइदिने चन्द्रागिरि पहाडजस्ता मात्र हुन् ।
१३.श्रव्यदृश्य र विद्युतीय सामाग्रीका विभिन्न माध्यमले पठनपाठन ध्वस्त बनाइरहेको छ भन्ने गरिन्छ, त्यसो हो ?
श्रव्यदृश्य सामाग्रीको सहज उत्पादन र वितरण अनि प्रत्येक व्यक्तिको पहुँचमा पुगेको प्रविधिले पठन संस्कृतिलाई चुनौती त दिइरहेको छ नै । तर दोष प्रविधि र परिवर्तनलाई दिएर मात्र हामी उम्किन त सक्दैनौ । प्रविधि र नयाँ पुस्ताले चाहेको परिवर्तनसँगैका गुणस्तरीय पुस्तक लेख्ने, प्रकाशन गर्ने र प्रविधिकै प्रयोगबाट पाठकको पहुँचमा पुर्याउने मौका पनि त सँगै छ ।
१४.पुस्तकसँग सम्बन्धित केही रमाइला, अनौठा अनुभवहरू होलान्, ती शेयर गरिदिनुहोस् न है ।
सञ्जीव उप्रेतीको घनचक्कर उपन्यास (पहिलो संस्करण) भर्खरै प्रकाशित भएको बेला हो । किनेर आधा जति पढिसकेको उपन्यास बानेश्वर चोकमा खाजा खाँदा टेबलबाटै हरायो । बाँकी पढ्नैपर्ने हुटहुटीले मैले फेरि पुस्तक किन्नुपर्ने भयो र म भृकुटीमण्डपको फुटपाथमा राखिएका पुस्तकहरूमा घनचक्कर खोज्दै भौतारिएँ । केहीबेरपछि उपन्यास फेला परेर पल्टाउँदा त्यसमा पेजमार्कका लागि पट्इयाएको पानाले त्यहीँ पल्टायो जहाँ मैले हराएको घनचक्कर पुर्याएको थिएँ । म चकित भएँ । त्यो संजोग मात्र थिएन पक्कै । मैले एकैदिन दुइपल्ट दाम हालेर एउटै पुस्तक किनेँ र पढेँ । त्यो घटित भएको घनचक्कर सम्झेर अहिले पनि बेलाबेला हाँसो लाग्छ ।
१५.तपाईँको लेखनको मूल स्रोत के हो ? लेखनतर्फ तपाईँको अभिरुचि कसरी बढ्यो ? तपाईँले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? त्यो रचना उपलब्ध हुन सक्छ ?
लेखनमा रुचि भने पारिवारिक वातावरण बाट नै सुरु भएको हो । हाम्रा पिताजी राजेन्द्र संग्रौला पनि आख्यानकार हुनुहुन्छ । उहाँका सातवटा उपन्यासहरू प्रकाशित छन् । सानैदेखि साहित्यिक माहोल, पुस्तकहरूसँगको सामिप्यता आदिले थाहै नपाई साहित्यतिर तानिएछु ।
लेखनको स्रोत ठ्याक्कै यही नै हुन्छ भनेर भन्न पनि सकिन्न । जीवनको भोगाइ र समाजको अध्ययनको क्रममा मनको अन्तस्करणमा कुन तत्त्वले कहिले छुन्छ यसै भन्न सकिन्न । पहिलो रचना सानै उमेरमा लेखेको आफ्नै गाउँबारेको कविता थियो, अहिले त्यसको एकदुई हरफ मात्र सम्झना छ ।
१६.हामीकहाँ पुस्तक उपहार दिने चलन सुरु भएको छ । साँच्चै दाजु, उपहार भन्ने कुरा दिनेको रोजाइ हो कि पाउनेको, हँ ?
पुस्तक उपहार दिने चलन आउनु पठन संस्कृति र समाजलाई सकारात्मक दिशाबोध गराउन महत्वपूर्ण भूमिका निभाउन सक्छ । पुस्तक उपहार मलाई दिनेकै रोजाई र लिनेको लागि सरप्राइज हुनुपर्छ भन्ने लाग्छ मलाई । लकडाउन अघिसम्म पुस्तक उपहार दिने र लिने दुवै बढि नै थियो । अहिले भने त्यो क्रम केही घटेको छ ।
१७. ‘समीक्षकहरू हतारमा समीक्षा गर्छन् । हावा जता चलेको छ, त्यतै लस्किन्छन्’ भन्नुहुन्थ्यो । अलि साह्रो भएन र, दाजु ? समीक्षा र पाठक प्रतिक्रियामध्ये कुनै एक रोज्नुपर्यो भने ? किन ?
सायद मैले सबै समीक्षकलाई त्यसो भन्न खोजेको पक्कै थिएन । पुस्तक नपढी कित्ताकाट गर्ने र सिर्जनात्मक आलोचना नगर्ने समीक्षकहरूमाथिको टिप्पणी थियो त्यो पक्कै । यदि लेखनलाई मार्गनिर्देशन गर्ने गरीको आलोचना आउँछ भने यसले लेखकलाई नै फाइदा पुर्याउने हो । आलोचनालाई हार्दिकतापूर्वक स्वागत गर्छु म । पाठक प्रतिक्रिया पनि समीक्षाकै एक प्रकार हो । अहिलेका पाठकहरू तारिफका पुलिन्दा मात्र गाँस्दैनन्, आफूलाई राम्रो लागेको लेखकले अझ राम्रो लेखोस् भनेर कमीकमजोरी केलाउँदै सल्लाह सुझाव पनि दिन्छन् ।
१८. मैले त सक्काएँ दाइ, तपाईँको पो केही प्रश्नहरू छन् कि ?
यति धेरै पोखिन पाउने गरी प्रश्नहरू सोधिदिनु भयो । राजु जी, यसका लागि यहाँलाई हार्दिक धन्यवाद र सम्पूर्ण पाठकहरूमा हार्दिक नमन ।
मिलन संग्रौला मिलन संग्रौला मिलन संग्रौला मिलन संग्रौला
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।