व्यक्तिको पहिलो पहिचान भनेको उसको नाम हो । साधारणतया: नेपाली पुरा नामथरमा तीन नामहरू हुने गर्दछन् । पहिलो व्यक्तिको नाम – विर्ख, मध्यनाम (अतिरिक्त) – बहादुर/प्रसाद र बाबुको बंशज थर – लिम्बू (समुदायनाम)= विर्ख बहादुर लिम्बू हुने गर्दछ । नेपालमा बच्चा जन्मेकै दिनदेखि करिब एक बर्षभित्रमा बच्चाको नामकरण संस्सकार गरी धार्मिक गुरुले या घरगाउँका जेठाबाठाले, फुपुचेला/मामाचेला आदिले बच्चाको नामकरण गर्ने गरेको पाइन्छ । नेपालमा नाम र नामकरणसम्बन्धी समाजिक अध्ययनहरूको कमी देखिन्छ । भएका केही अध्ययनहरू सरल रूपमा सार्वजानिक पहुँचमा उपलब्ध पाँइदैनन् । अध्ययनका क्रममा भेटिएका केही सन्दर्भ सामाग्रीहरू र डिजिटल माध्यमलाई प्रयोग गरी केही उत्तरदाताहरूसँग गरेको कुराग्राफीका आधारमा यस आलेखमा नेपाली समाजमा प्रचलित नाम र नामकरणसम्बन्धी तथ्यहरू, जनविश्वासहरू, र नामकरणको गतिशीलता आदिलाई छोटकरीमा प्रस्तुत गर्ने जर्मर्को गर्नेछु ।
नाम र नामकरणसम्बन्धी अध्ययन गर्ने शास्त्रलाई ओनोमास्टिक अथवा ओनोमाटोलोजी भनिन्छ । मान्छेको नाम र नामकरणसम्बन्धी अध्ययनलाई एन्थ्रोपोनिमि अथवा एन्थ्रोपोनोमास्टिक भनिन्छ । नामको अर्थ, उत्पत्ति इतिहास, नामसँग सम्बन्धित विवरणहरू ओनोमास्टिक सफ्टवेरको सहायताले पत्ता लगाउन सकिन्छ ।
नवजात शिशुले नाम पाउने मौलिक अधिकारको रूपमा यूएन कन्भेन्सन अन द राइटस् अफ द चाइल्डमा व्यावस्था गरिको रहेछ । जर्मनीमा बच्चा जन्मेको एक महिनाभित्र, बेलायत र पोर्तुगलमा बच्चा जन्मेको बीस दिनभित्र र नेपालमा बच्चा जन्मेको पैंतिस दिनभित्रमा बच्चाको नाम दर्ता गराइसक्नुपर्ने नियम रहेछ । नेपालको बालबालिकासम्बन्धी ऐन, २०७४ को दफा ५ मा नाम, राष्ट्रियता र पहिचानको अधिकार खुलाइएको रहेछ । यस अर्न्तगत प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहितको नामकरण र जन्मदर्ताको हक, जबरजस्ती करणी वा हाडनाता करणीबाट जन्मिएका बालबालिकाले आमाले चाहेमा आमाको मात्र नाम उल्लेख गरि जन्नदार्ता गर्न पाउने र वाबु वा आमा तत्काल उपलब्ध नभएमा त्यस्ता बालबालिकाको हेरचाह गर्ने नजिकको व्यक्तिको संरक्षकको नाम राख्न पाउने, बाबु आमाको सहमतिमा राखिको थर या बाबुको थर निजको नाम पछाडि प्रयोग गर्न पाउने, आमा, बाबु वा संरक्षकले अनुचित लाभ लिने मनासायले बालबालिकाको पहिचान लुकाउने गरी नाम थर परिवर्तन गर्न हुँदैन भन्ने व्यवस्था गरेको रहेछ ।
मानवशास्त्री इभान प्रिर्डचाड (१९६५)ले नुएर जातिको नामकरणको बारेमा पाट्रोनाइम्स्, माट्रोनाइम्स्, टेकोनाइम्स्, क्ल्यान नेम्स्, अक्स नेम्स्, र डान्स नेम्स् को प्रचलन भएको उल्लेख गरेका छन् । रेनाटो रोसाल्डो (१९८५)का अनुसार वर्थ अर्डर नेम्स्, चाइल्डहुड नेम्स्, फेण्डसिप नेम्स्, निक नेम्स्, टेकोनाइम्स्, र नेक्रोनाइम्सका बारेमा चर्चा गरेका छन् भने मानवशास्त्री जोआउँ दे पिना–कार्बाल (२०१४) “नामहरू र नामकरण” शीर्षकको निबन्धमा संसारका नाम र नामकरणको केही विषेशताहरूका रूपमा उल्लेख गरेका छन् । पहिलो प्रकार्यात्मक विविधताः समय सन्दर्भ अनुसार नामहरू राख्ने गरिन्छ । घरमा बोलाउने नाम, साथीभाइले बोलिचालीमा प्रयोग गर्ने नाम, बिषेश प्रयोजनका लागि व्यक्तिलाई दिइने नाम जस्तै सरल र एउटा बटालियनमा एक जना आर्मीम्यानको नाम आर्कोसँग नजुधाउने, लामो नामलाई दैनिक कार्यव्यापारमा सहजताको लागि छोटकरी नामको प्रयोग, साहित्यिक उपनाम आदि । दोस्रो, सामूहिक नामकरणः जाति थर, समूह, राष्ट्रियता लगायत दोस्रो विश्वयूद्ध ताका कतिपय देशले एकै खालका थर राख्नुपर्ने उदाहरण स्वरूप अष्ट्रियन राज्यले सन् १९३८ जिउस नागरिकहरूलाई पुरुषलार्य इजराइल र महिलालाई साराह राख्न बाध्य गराएको उल्लेख गरेका छन् । कतिपय व्यवहारिक छद्म नामहरू, टेकोनिमस् (फलनाका बा, फलनाका आमा, बरबोटे, डाँडाघरे जस्ता नामलाई पनि यस समूह अर्न्तगत राखेकाछन् । तेस्रो, होनोनाइमी र जन्मक्रमः फुर्वजहरूसँग जोडिएर गरिने नामकरण, कुनै मिथकिय अथवा नामूद राजा आदिसँग जोड्ने, चर्चित व्यक्तिहरूको नाम अनुसरण गर्ने लगायत जन्मत्रको आधारमा जेठो, माइला,े साइलो, नामकरण गर्ने । चौथो, नामकरण र जिवनशैलीः यस अर्न्तगत विविध सामाजिक संस्कारहरूमा अवलम्बन गर्ने नाम, महिलाले विवाहपछि थर परिवर्तन गर्ने, नाम र आत्माको सम्बन्ध जस्ता कुराहरू उल्लेख गरेका छन् ।
लेभी ब्रुल (१९२६) ले राम्रो नामको खोजी गर्ने चलन गैरपश्चिमा प्रचलन भएकोको उल्लेख गरेका छन् । जे. एस. मिल (१८५३) ले नामलाई मिनिङ्गलेस मार्करका रूपमा व्याख्या गरेका छन् । नामले व्यक्तिलाई विहाइण्ड द माक्समा राख्ने कुरामा ब्रुल र मार्सल मोस (१९८४) सहमत देखिन्छन् । डेरिडा (१९९४) ले नाम अरुले दिने र नामसँग व्यक्त्तिको विशेषताको कुनै पनि तालमेल नरहेको भन्ने खालका तर्कहरू पनि पाइन्छन् । नाम दिने मान्छेलाई राम्रो नाम दिनुपर्ने वाध्यता भए पनि नाम प्राप्त गर्ने व्यक्ति भने कुनै पनि प्रकारका नाम प्राप्त गर्न स्वतन्त्र हुन्छ । डेरिडाले ओनोमास्टिक पोलिटिक्सको बारेमा चर्चा गर्दै, मार्जिनल अथवा माइनोरिटिज, नोकर चाकरहरू, अरुलाई तल्लो स्तरको कायम गर्ने काम सत्ता र सत्ताको शक्तिको प्रयोग गर्ने गरेको उल्लेख गरेका छन् ।
भारतीय सदगुरुका अनुसार बालबालिकाको व्यक्तित्व विकास, मनासिक विकासका लागि सुन्दर, आर्कषक र मौलिक नाम हुनु जरुरी बताउँछन् । नराम्रो नाम, खराब अर्थ भएको नामहरूले बच्चालाई मानसिक असर गर्दछ । नाम पाउनु व्यक्तिको मौलिक अधिकार भएता पनि समाज, धर्म, देश, आदिको जनविश्वास, धार्मिक मूल्यमान्यताहरू र देशको कानुनले गरेको व्यावस्था अनुसार कतिपय नामहरू भने कानुनत बन्देज गरिएको पनि गरेको हुने रहेछन् । परम्परागत जनविश्वासले पनि कतिपय नामहरू अशुभ मान्ने, नाम उच्चारण गर्न निषेध गरेको सामाजिक मुल्य मान्यताहरू पनि पाइन्छ । कानुनतः विश्वभरि वा केही निश्चित देशहरूमा मात्र बन्देज गरिएका केही नामहरू जस्तैः न्यूटेला, अकुमा, ओशामाविन लादेन, रोवोकप, मेटालिका, सेक्स फ्रुट, मन्की, निरभाना, पुर्णविराम, इकिया, जिरो जिरो सेभेन, मेस्सी, आदि ।
क. संस्कारगत नामकरण
नेपालमा हिन्दूधर्मालम्बीहरूको राज्यसत्तामा वर्चश्व लामो समय रहे पनि नेपाली समाजमा प्राकृत धर्मपरम्परा, तिब्बतीयन सामाजिक संस्कारहरू, बौद्धधर्म, इसाइ, क्रिश्चियन धर्मालम्बीहरूको सामाजिक अन्तरधुलन रहेकोले सामाजिक संस्कारहरू पनि एकआपसमा घुलमिल भैसकेका छन् । नेपालमा विभिन्न समुदाय, क्षेत्र, जाति, धार्मिक परम्परा अनुसार धार्मिक गुरु, आफन्त या गाउँघरको जेठाबाठाले बालबालिकाको नामकरण गर्ने प्रचलन छ । नेपालमा प्रचलित केही नामकरण संस्कारहरुः
मानवशास्त्री लिन बेनेटको डेन्जरस वाइभ्स एण्ड सेक्रेट सिस्टर्स मा उल्लेख गरे अनुसार: हिन्दू परम्परा अनुसार बच्चा जन्मिएको दिनदेखि दशौँ दिनसम्म सुतक बार्ने गर्दछन् । एघारौँ दिनका दिन, विहान ब्राम्ह्मण पुरोहितद्वारा न्वारन अनुष्ठान गरी नवजात शिशुको जन्म समयलाई विक्रमसंवत अनुसार जोतिषशास्त्रको अध्ययन गरी पुरोहितले नवजात शिशुको नाम जुराइदिन्छन् । न्वारनपछि बच्चाले बाउको थर र गोत्र पाउँछ ।
मानवशास्त्री गोपाल सिंह नेपालीको द नेवारस् अफ नेपाल मा नेवार जातिले पहिलो बच्चाको लागि ६ दिन र अरुका लागि ५ दिन बार्ने गर्दछन् । जोतिषशास्त्र अनुसार बच्चा जन्मिएपछि सुतक चोख्याउने अवधीभर कुनै पनि बेला नाम जुराउन सक्ने रहेछन् । बोलाउने नाम बच्चाको फुपुले राखिदिने प्रचलन रहेछ । साधारणतया: नेवार सामूदायमा जोम्ल्याहा बच्चाको कल्पना नगरिए पनि भैहालेको खण्डमा छोरा–छोरा, या छोरी–छोरी भएको राम्रो मान्ने चलन रहेछ । छोरा–छोरा भएमा भगवानको अवतार मानी रामलक्ष्मण नाम दिने रहेछ । छोरा पहिले र छोरी जन्मिएको जोम्ल्याहा सन्तान भने नराम्रो मान्ने रहेछ । यसरी छोरा पहिले र छोरी जोम्ल्याहा जन्मिए उनीहरू पहिलो जुनीमा लोग्ने स्वास्नी भएको अथवा अघिल्लो जुनीमा सती गएकी स्वास्नीमान्छे पुर्नजन्म भए लोग्नेसँगै जन्मिन्छे भन्ने जनविश्वास रहेछ । त्यसैले यस्ता बच्चाहरू जन्मिएमा उनीहरूले छोरी पहिला जन्मेको भन्ने र गुपचुपमा बच्चाहरूको एकआपसमा मानर्थ विहे गराइदिने प्रचलनका बारेमा पनि उल्लेख गरेका छन् ।
मानवशास्त्री सारा स्नाइडरमेनको रिचुअल्स अफ इथ्निसिटीः थामी आइडेन्टिटीज् विट्वीन नेपाल एण्ड इन्डिया मा न्वारान थामी जातीको परम्परागत संस्कार नभएर हिन्दू संस्कारको सिको गरेको उल्लेख गरेका छन् । थामी जातिको न्वारन गर्न धार्मिक गुरुले बच्चा जन्मेको ३ या ४ दिनमा सम्पन्न गर्ने रहेछ । थामी जातिको न्वारानको दिन बच्चाको वंशका पुर्वजहरूको नाम क्रमसंगै उक्त बंशमा नयाँ सदस्य आएको भनि बच्चाको नाम सार्वजानिक गर्ने चलन रहेछ ।
भाषाविद अमृत योञ्जन तामाङ्गको पर्सनल नेमिङ्ग सिस्टम इन सेर्पा मा शेर्पाहरूमा पाँच प्रकारका व्यक्ति नामकरण प्रचलनमा रहेको उल्लेख गरेका छन् । मिङ्गदोउ, फोमिङ्ग, सिउमिङ्ग, ताप्से र मध्यनाम (बच्चाको लैंगिक पहिचान छुट्याउने नाम) हुन् । सिउमिङ्ग नामकरण प्रणालीमा लामाले बच्चा जन्मिएको ३ देखि ४ दिनभित्रमा नामकरण संस्कार गर्ने गर्दछन् । साधारणतया: शेर्पा समुदायको नामकरण सातबारका नामबाट नामकरण गरिने गरिन्छ जस्तैः आइतबार निमा, सोमबार दावा, मंगलबार मिङ्गमार, बुधबार लाक्पा, विहिबार फुर्वा, शुक्रबार पासाङ्ग, शनिबार पेम्बा आदि । फोमिङ्ग नामकरण प्रणालीमा फो भनेको भ्रुण र मिङ्ग भनेको नाम भएकोले बच्चाको भ्रुण अवस्थामा गरिने नामकरण भनने बुझ्न सकिन्छ । बच्चा भ्रुणावस्थामा हुँदा नै अवातारी लामा अथवा मुख्य लामाले गुम्बामा लिखित रूपमा छिरिङ्ग, डोल्मा, छेवाङ्ग, तासी जास्ता फोमिङ्गहरू आर्शीबादको रूपमा दिने गर्दछन् । सिउमिङ्ग नामकरणमा अशुभ नामहरू दिइने गरिन्छ । पहिलो सन्तानको मृत्यू भएको भए दोस्रो सन्तानलाई सकेसम्म अशुभ नाम दिने गरिन्छ । जस्तैः कामी छिरिङ्ग, कामी रीता, कामी तेम्बा, आङ सार्की, मिङमा सार्की आदि । ताप्से नामकरण प्रणालीमा बच्चा जटिल बिरामी अवस्थाबाट गुज्रिएको भए बच्चाको कपाल भगवानलाई भकाल चढाउने र मुख्य लामाबाट नाम आर्शीबाद लिने चलन पाइन्छ । यसरी पाउने नामहरूमा छेवाङ्ग, नवाङ्ग, थारवा, ओसार, छोकी आदि रहेका छन् । शेर्पा भाषा लैंगिक विभेद बिनाको भाषा भएकोले व्यक्तिको पहिलो नाम सातबारको नामबाट राखिएका नामहरू लैंगिक भेद छुट्याउन सकिदैन । त्यसकारण पुरुषकालागि रिता, दोर्जी, ओङचु, नुरु, तेम्बा, तेञ्जी आदि नामपछि जोडेर निमा रिता, दावा तेम्बा, दावा दोर्जी आदि बनाइन्छ भने महिलाका लागि लाकी, ल्ह्यामू, छोकी, दिकी, फुटी आदि जोडेर निमा लाकी, दावा ल्ह्यामू, दावा छोकी आदि बनाइन्छ ।
मानवशास्त्री सन्तलाल मेचेको एम. फिल. मानवशास्त्र (त्रि.वि.)को थेसिस “सोसियल स्ट्रक्चर एण्ड लाइफ साइकल रिचुअल अमङ्ग दि मेचे पिपुल अफ झापा” मा मेचे जातिको नवजात शिशुको न्वारन ‘दाउ दुवारी हा यात नाइ’ संस्कार गर्ने गर्दछन् । मेचेका अनुसार सन् १९८४ देखि २००० को अवधिमा नेपाली भाषाका नाम राख्ने क्रम ९५.७ प्रतिसतले बढेको रहेछ भने सन् २००१ देखि २०१४ को अवधिमा मेचे भाषामा बालबालिकाको नाम राख्ने क्रम ३३ प्रतिसतले बढेको रहेछ । कति दिनमा र कस्को सक्रियतामा नामकरण संस्कार सम्पन्न हुन्छ भन्ने बारेमा भने मेचेको शोधमा स्पष्ट उल्लेख गरेको देखिदैन ।
भूगोलविद विनय लिम्बूको विद्यावारीधिको थेसिस (यूनिभर्सिटी अफ नर्थ बंगाल) “लिम्बूज अफ दार्जिलिङ्ग हिमालय : आस्पेक्ट्स अफ देयर इकोनोमी, सोसाइटी एण्ड कल्चर इन रिलेसन टु हाविटान्ट” र ब्लगर इक्सा लिम्बूको ब्लग “इक्सालिम्बू ब्लगस्पोट”मा लिम्बूहरूको नवजात शिशु बालिका भए ३ दिनमा र बालक भए ५ दिनमा ‘याङदाङ फोङमा’ (न्वारान) गरिन्छ । यस दिनमा तागेर निङमाफुमाले बच्चको भविष्य लेखिदिने जनविश्वास रहेकोछ । फेदाङवाले अथवा गाउँघरको जेठापाका मानिसहरूले बच्चाको नामकरण गरिदिने गर्दछन् ।
मानवशास्त्री माइकल भिण्डिङको द थकालीज: अ हिमालयन इथनोग्राफी मा थाकालीहरू बच्चा जन्मेको ३ अथवा विजोर दिनमा लामाले तिब्बतीयन पाक्रो अनुसार बच्चाको जन्मबार अनुसारको नाम राखिदिन्छन् । जस्तो शुत्रबार जन्मिएकालाई पासाङ्ग नाम राखिदिने चलन छ । लामाले राखीदिएको नाम बाहेक बच्चाका बाबुआमाले पनि छुट्टै नाम राखिदिने गर्दछन् । यदि बच्चको दाजुदिदी मरेको या बच्चा साह्रै विराम भएर तङ्गरिएको भए बाचका बाबुआमाले कुखुराको भाले र बच्चा लिएर लोहारकोमा जान्छन् । लोहारले कुखुरा भाले काटेर फलाम र तामाको कल्लीहरू बनाएर बच्चालाई लागइदिन्छन् र सकेसम्म नराम्रो नाम राखी दिने गर्दछन् : कामी, सार्की आदि ।पछि बच्चा ठुलो भएपछि कल्ली खोल्नु पुनः लोहारकै मा जाने गर्छन ।
मानवशास्त्री जगबहादुर बुढाको पश्चिम नेपालका तरालि मगरहरूको सामाजिक संस्कार मा तरालि मगरहरू बच्चा जन्मने वित्तिकै सुतक चोख्याउने साङर पोक्केमा साँ संस्कार सम्पन्न गर्ने गर्दछन् । लामाले सुतक चोख्याउने संस्कार गरिसकेपछि खाली कागजमा बच्चाको न्वारानी नाम र बाबुआमाको नाम लेख्ने गर्दछन् ।
कुम बहादुर पुनको अठार मगरात क्षेत्रका मगर जातिमा प्रचलित नवारनी संस्कार मा बच्चा जन्मिएको ३, ४, ७, ९ या ११ बिजोर दिनमा गाउँका जेठापाका महिला जस्ले बज्यूपराङ्गीको पूजा गरी नवारन गर्ने चलन रहेको उल्लेख गरेका छन् । बच्चाको नामकरण भने गाउँको जैसीले जन्मबार, महिना, समयानुसार विक्रमसम्बत अनुसार राशी तथा जन्मचिना बनाई बच्चाको शुभलक्षण हेर्ने प्रचलन रहेको उल्लेख गरेका छन् ।
समाजशास्त्री युवराज लुँइटेलको “भ्रमणशील राउटे एक समाजशास्त्रीय अध्ययन”मा राउटे जातिले नौ दिनको दिनमा न्वारान गरेर नवजात शिशुलाई राउटे समुदायको सदस्यको रूपमा स्वीकार गर्ने गर्दछन् । राउटे समुदायमा जन्मसमयको अभिलेख राख्ने चलन छैन । नवजात शिशुको नाम राउटे जैशीले मष्टो देउतासँग नाम माग्ने गर्दछन् । मष्टोको आदेशानुसार फलानो नाम जुर्यो भनी नामकरण गर्ने गर्दछन् । राउटेहरूको बालिकाको नामको पछाडि थर जोड्दैनन् । “रोटीको टाउको हुन्न, स्वास्नीको जात हुन्न” भन्ने राउटेहरूमा उखान पाइन्छ भनि उल्लेख गरेका छन् ।
मानवशास्त्री बेचन उराँवको उराँव जातिको चिनारी मा उराँव जातिले बच्चा जन्मेको ६ दिनमा छटियारी गर्ने चलन छ । यो दिन नै बच्चाको नामाकरण गरिन्छ । यिनीहरूको बच्चा जन्मेको दिन, महिना, रितु, आमाबुबापट्टिका बाजेबज्यैको नामबाट बच्चाको नामाकरण गरिन्छ जस्तै: यिनीहरूको छोरा भए रैबी, सैनी, सोमरा, मंगरा, बुदहु, सुकरा, बिरसपत्तिया, मछिया, फगुवा, चैत्रु राख्छन् । त्यसैगरी महिलाको नाम रबनी, मंगरी, सुकरी, बुधनी, सोमनी, पूर्नी, आदिको नामबाट राख्ने गरिन्छ । बर्षा रितुमा जन्मँदा झडिया भन्दछन्। तर आजभोलि हिन्दू समाजमा यिनीहरूको घनिष्टता भएकोले यिनीहरू हिन्दू समाजमा भएको नामहरू राख्ने गरेका छन् । इसाई धर्म मान्नेहरू इसाई समाज अनुसार नामहरू राख्ने गर्दछन् ।
उत्तरदाता सरिनका अनुसार, त्रिश्चियन समुदायमा बच्चाको नामकरण घरपरिवार वा समुदायले बच्चाको नाम रोजेर बच्चा जन्मिएकै दिन देखि १ बर्षभित्रमा बच्चाको नामकरण गर्ने गर्दछन् । चर्चमा भेलाभएर बच्चाको बाबुआमालाई बच्चाको जिम्मेवारी प्रति करार गर्ने गर्दछन् । यसरी करार गर्दा चर्चका पास्टरले बाबुआमालाई यो बच्चाको लालानपालन, जिम्मेवारी बहन गर्न मजुर भए नएको करार गराउने गर्दछन् । साधारणतया: बच्चाको नाम बाइवलबाट प्रेरित भएका हुन्छन् । स्थानिय चलन चल्तिका र बाबुआमा तथा आफन्तहरूको रोजाइको नाम पनि दिन सक्छन् ।
उत्तरदाता अब्दुलका अनुसार, मुसलमान समुदायमा नामकरणको छुट्टै संस्कार नभएको बताउनुहुन्छ । बाबुआमा तथा आफन्तले बच्चको नाम रोजेर राख्ने र बच्चा जन्मिएकै दिनदेखि करिब एक बर्षभित्रमा बच्चाको नामकरण भैसक्ने प्रचालन भए पनि आजकल अधिकांश बच्चा अस्पतालमा जन्मिने र बच्चाको जन्मदर्ता गर्नुपर्ने भएकोले बच्चाको नाम जन्मिएको केहीदिन भित्रै राखिदिने गरिन्छ । मुस्लिम बच्चाहरूको नाम प्रायजसो कुरानबाट प्रभावित हुने गर्दछ । जस्तै बालकको नामः युसुफ, अब्बदुल, रफिक…बालिकाको नाम : फातिमा, आश्मा, नज्मा आदि हुने गर्दछ ।
ख. पुरा नाम थर (औपचारिक नाम)
व्यक्तिको पुरा नाम थर भन्नाले औपचारिक रूपमा परिचयपत्र तथा अन्य कार्यालय प्रयोगजनका कागजातहरूमा प्रयोग गरिने नामलाई बुझाउँछ । साधारणतया: नेपाली पुरा नाममा नाम, मध्य नाम (ऐच्छिक) र अत्यमा थर हुने गर्दछ । जस्तैः मोहन बहादुर लिम्बू मा मोहन (नाम), बहादुर (मध्य नाम) र लिम्बू (थर) हुन् । अधिकांश नेपाली समाज पितृसत्तात्मक पारिवारिक संरचनामा आधारित रहेकोले बाबुको थर बच्चाले जन्मसिद्ध पाउने गर्दछ । यसर्थ नामकरणको समयमा मुख्य गरी नाम जुराउनुपर्ने हुन्छ, भने मध्य नाम ऐच्छिक रूपमा जुराउन या नजुराउन पनि सकिन्छ भने थर बाबुको थरबाट स्वतःसिद्ध प्राप्त गर्दछ ।
धर्मिक देवीदेवताका नाम – पारोहाङ्ग, सुम्निमा, राम, सीता, कृष्ण, बलराम, लाक्ष्मी, सरस्वाती, सिर्दार्थ, अहमद, फात्तिमा आदि ।
ऐतिहासिक राजारानी, योद्धाहरूको नाम – यलम्बर, गोपाल, जनक, जानकी, राज्यलक्ष्मी, आदि ।
प्रकृती – सूर्य, चन्द्र, हिमाल, झरना, सितल, यमूना, गंगा, आदि ।
राजनैतिक आस्था र परिवर्तन – क्रान्ति, बलिदान, परिवर्तन, माओ, लेनिन, शान्ती, आदि ।
जन्म समयको आधार – प्रभात, सन्ध्या, सरद, बर्षा, बसन्त, आदि ।
समसामयिक घटनाहरू – परिवर्तन, सफल, जनगणना, आदि ।
जन्मबारको आधारमा – आइत, सोम, मंगल, पासाङ्ग, निमा, दावा, आदि ।
आलाङ्कारिक – प्रवल, प्रज्वल, प्रसिद्धी, सुप्रिया, तेज, अजय, अमर, आदि ।
ग. घरपरिवारमा बोलाउने नाम
व्यक्तिको न्वारनको नाम, औपचारिक नाम बाहेक घरपरिवार आफान्तले गाउँघरमा बोलाउने अलग नाम पनि हुने गर्दछ । यस्ता नामहरू ऐच्छिक हुन, नहुन पनि सक्छ र नहुन पनि सक्छ । कहिलेकाहीँ गाउँघरमा यस्ता नामहरू एति प्रचलित हुन्छ कि औपचारिक नामले व्यक्ति पहिचान गर्नै गाह्रो हुन्छ । साधारणतया: यस्ता नामहरू रङ्ग, बनोट, विशेषता, पुरा नामको छोटकरी रूप, नामको पछाडि ऐकार, उकार, वा इकार जोडेर अथवा जन्मक्रको आधारमा नामकरण गर्ने गरेको पाइन्छ ।
बोलाउने नामः काले/ली, कालु, सानु, गोरे/री, नेप्टे/टी, पोक्चे/ची, भुक्के, भुन्टे/टी, डल्ले/ली, जेठा/ठी कान्छा/छी आदि
छोटकरी नाम : ख.ब.पु., के.पी., वि.पी., के.आइ. आदि
जन्मक्रम नाम : जेठा/ठी, माइला/ली, साँइला/ली, काइँला/ली, अन्तरे/री, जन्तरे/री, पानीमन्तरे/री….लखान्तरे/री…कान्छा/छी ।
घ. विशेष उपनामहरू
कुनै विशेष उद्देश्य, कार्य आदिको लागि व्यक्तिगत पहिचान गुमनाम राखी उपनामहरू राख्ने प्रचलन पाइन्छ । यसको ज्वालन्त उदाहरण भनेको माओवादी द्वन्द्व कालमा माओवादी लडाकु तथा मिसनमा फौजीहरूले, कलाकार, साहित्यकारहरू आदिले आफ्नो पहिचान स्वरूप उपनाम वरण गर्ने गरेको पाइन्छ । नेपाली गजल साहित्यमा श्रष्टाहरूले उपनाम वरण गर्ने चलन अलि बाक्लो उदाहरण पाइन्छन् । जस्तै : पारिजात, प्रचण्ड, बादल, हिमाल, अग्नि, माग्नेबुढा, तक्मेबुढा, काउलीबुढी, फुलेन्देको बाउ, मुन्द्रे, शिशिर, बुलबुल, प्यासी, आदि ।
ङ. बंशज नाम/ थर
नेपाली नामको अन्तिम नामको रूपमा थर आउने गर्दछ । अधिकांश नेपाली समाज पितृसत्तात्मक परिवार संरचनामा आधारित भएकोले बाबुको बंशज अथवा जन्मसिद्ध बाबुको थर, जात, गोत्र, पाछा, योक आदि प्राप्त गर्दछ । आजकल व्यक्तिले चाहेको खण्डमा बाबु र आमाको दुबैको थर लेख्न पाउने या बाबुको थर मात्रै या आमाको थर मात्रै पनि लेख्ने प्रचलन पनि बढ्ढो क्रममा छ । कतिपय जातिहरूको भौगोलिक वितरणको आधारमा भएकोले थर भनेको भरमा व्यक्तिको भोगोलिक अन्दाज गर्न सकिने पनि रहेछ । जस्तै, दुरा, बादी, बम, धामी, जस्ता केही जातिहरूको बसोबास नेपालको पश्चिमी भेगमा र राई, लिम्बू जातिको बसोबास नेपालको पूर्वी भागमा बढी भएकोले उनीहरू पुर्वी नेपालका होलान् भनेर अन्दाज गर्न सकिने रहेछ । जातिभित्रका थरहरूका आधारमा पनि भूगोलको अझ नजिक पुग्न सकिने रहेछ । जस्तै लिम्बु जातिको थरहरू: तुम्बाहाम्फे, निङलेखु — तेह्रथुम जिल्लामा, मादेन, लिबाङ्ग, बोखिम — ताप्लेजुङ्ग जिल्ला, आङदेम्बे, लावती, केरुङ — पाँचथर जिल्ला, नेम्बाङ — इलाम जिल्ला, चेम्जोङ्ग — धनकुटा जिल्लाका स्थानहरूमा बाहुल्य बसोबास रहेको पाइन्छ । । बंशजका प्रझावशाली व्यक्तिको नाम व्यक्ति नामसँग जोडेर लेख्ने गरेको पनि पाइन्छ । जस्तैः जंगवहादुर राणाका सन्तानहरूले आफ्नो नामसँग जबरा जोड्ने गरेको पाइन्छ ।
च. टेकोनिमी अथवा छोराछारीको नामसँग जेडेर चिनाउने नाम
फलानाका बा, फलनाका आमा, फलनाका बाजे, फलनाका बजु भनेर चिनाउने गरिन्छ । यो दोहोरो क्रममा देखिन्छ फलनाका नाति, फलनाका छोरा भन्ने पनि उक्तिकै प्रचलन छ । जस्तै : मानेका आमा, भुण्टेका बा, डल्लीका बाजु, पुन्टेका फुपु, — बिर्खेका नाति, सुवेदारका नाति, प्रधानका छोरा आदि । यस अर्न्तगत कुनै प्राकृतिक, मानव निर्मत वस्तुहरूसँग जोडेर गरिने नामकरणलाई पनि लिन सकिन्छ । जस्तैः बरबोटे, धारापानी, गैरीघरे, डाँडाघरे, भिरभुने, खोलापारी, मानीडाँडे आदि ।
छ. पेसा र सामाजिक पदलाई व्यक्तिनामका रूपमा लिने
व्यक्तिले धारण गरेको सार्वजानिक पद, पेसागत ओहोदा आदिलाई पनि नामको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । जस्तै : रिकुटे, सुबेदार, ठेक्दार, डाक्डर, मुखिया, चौधरी, माननिय, आदि । यस्ता नामहरू कतिपय पुस्तान्तरण पनि भएको पाइन्छ । जस्तैः बाबुबाजे प्रधान, सुवेदार, रिकुटे थिए भने छोरा नातिसम्मलाई पनि प्रधान, सुवेदार, रिकुटे भन्ने गरेको पनि पाइन्छ ।
ज. महिलाहरूको थर परिवर्तन
नेपाली समाज पितृसत्तात्मक परिवारिक संरचनामा आधारित भएकोले साधारणतया: महिलाले विहेपछि श्रीमानको नामथर लेख्ने प्रचलन थियो । यसो हुनुमा पहिलेको समयमा घरमै सुत्केरी हुनु र जन्मदर्ता प्रचलनमा नहुनु, सानैमा विहे हुने, विद्यालयको प्रचलन नभएकोले विहे हुनु अगाडि महिलाको औपचारिक नाम खासै आवश्यक नपर्ने र श्रीमानकै अभिभावकत्वमा नगरिकता बनाउने भएकोले पनि यस्तो हुने संभावना बढी थियो । अझ महिलाको घर र थर श्रीमानकै घरलाई मान्ने सामाजिक विश्वास परम्परा पनि हावी थियो । आजकल धेरै जसो बच्चाको जन्म अस्पतालमा हुने, बच्चाको जन्मदर्ता बनाउनुपर्ने, बालबच्चा स्कुल पढ्ने बेला नै नाम थर लेख्नुपर्ने तथा विहे ढिलो हुने भएकोले विहे हुनु पुर्व नै माहिलाका औपचारिक नाम खुलेको परिचय पत्रहरू बनिसकेको हुन्छ । अर्कोतिर महिला स्वतन्त्रामा केही पौरवी भएकोले महिलाहरू विहे पश्चात थर परिवर्तन गर्ने या नगर्ने स्वतन्त्र वातावरण बन्दै गएको देखिन्छ । कतिपयले यसको मध्यम मार्गको रूपमा माइती थरपछि श्रीमानको थर थप्ने गरेको पनि पाइन्छ ।
झ. मध्यम नाम
साधारणतया: नेपाली नाममा मध्यम नाम ऐच्छिक हुने गर्दछ । देशको पहिलो कानुन मानिने जंगबहादुर राणाले सन् १८४५ मा लागु गरेको मुलकी ऐनमा हिन्दू विश्वास परम्परराका अधिकांश मान्यताहरूलाई राज्यको नियम कानुनका रूपमा स्थापित गरेको देखिन्छ । जात बर्गीकरण तालिका अनुसार भेषभूषा र जीवनशैलीको मुल्यमान्यता विकास भएका थिए । यसले नामकरणमा पनि प्रभाव पारेको रहेछ । मध्यम नाम प्रयोग जाति व्यावस्थाको अप्रत्यक्ष प्रभाव रहेछ । जस्तोः ब्राम्ह्मणहरूको मध्य नामका रूपमा नाथ, प्रसाद, हरि, कृण्ण, राम, पति, देवी, आदि हुने रहेछ । क्षक्रियहरूको जंग, काजी, सिंह, नायक आदि जोडिने रहेछ । सुगौली सन्धीपछि इष्टिइण्डिया कम्पनीले गोर्खा सैनिक भर्ती लिन थालेपछि गोराहरूले भन्ने गरेको बहादुर नेपाली आम नामको मध्य नामको रूपमा जोडिन थालेको रहेछ । नेपाली मध्य नामहरुः नाथ, हरि, राम, पति, प्रसाद, देवि, कुमारी, माया, लता, जंग, काजी, सिंह, नायक, बहादुर, भाइ, जन, आदि ।
बहस
नाम नितान्त व्यक्तिगत पहिचानसँग जोडिएको कुरा भए पनि यसका विविध आयाम र पक्षहरूसँग प्रत्यक्ष र परोक्ष सम्बन्ध रहेको हुन्छ । व्यक्तिको सम्बन्ध रहेको समुदायले अवलम्बन गरेको विश्वास परम्परा, व्यक्तिले भोग चलन गरेको समय, परिस्थिति, बातावरण, भौगोलिक बनावट, आर्थिक, समाजिक, राजनैतिक, शैक्षिक, मनोबैज्ञानिक, सचेतना अदि पक्षहरूले व्यक्तिको नामकरणमा प्रभाव पारेको हुन्छ । जस्तै, राम, ग्याल्जे, पिटर, अब्दुल, सेनेहाङ्ग, रामधनुष आदि नाम भएका मानिसहरू मध्ये राम, हिन्दु विस्वास परम्परा अर्न्तगतको पहाडी क्षेत्रमा बसोबास गर्ने र रामधुनष हिन्दू विश्वास परम्पराको मधेशमा बसोबास गर्ने अनुमान गर्न सकिन्छ । त्यस्तै ग्याल्जे बौद्ध विश्वास परम्पराको, पिटर क्रिश्चियन विश्वास परम्परामा, अब्दुल मुसलमान विश्वास परम्परा र सेनेहाङ्ग किरात विश्वास परम्परामा आधारित परिवारिक पृष्ठभूमिमा आबद्ध छन् भनेर अन्दाज गर्न सकिन्छ । किशोर सुब्बा लिम्बु
नेपाली समाजमा मान्यजनहरूको नाम लिनु नहुने विश्वास परम्परा रहेकोले पनि टेकोनिमीहरू उपयोगी भएको पाइन्छ । आफुभन्दा मान्यजनको नाम लिनु या आफुभन्दा सानोको नाममा एकार, इकार लगाएर बोलाउनुलाई नाम काढ्नु, नाम काढेर बोलाउनु भनेको अपमान, हिंसा, तथा इंगित/लक्षित गर्नु भन्ने बुझिन्छ । जस्तै : धनमान (मान्यजन), धनमाने (सानो) । “त्यसले त नामै काढेर बोलायो”, “त्यसरी नामै चाँहि नकाढेको भए हुने” भन्ने गरेको पाइन्छ । नाम लिन नहुने साइनो विशेषलाई सम्बोधन गर्न टेक्नोनामीहरू सहज हुने गरेको पाइन्छ । टेकोनिमीहरूको फाइदा र बेफाइदा दुवै सुन्न पाइन्छन् । बल (नाम परिवर्तन)सँग गरेको कुराकानीमा उनी भन्छन् : “मेरा बाजे उबेला पल्टनका सुवेदार । गाउँमा बाजेको छुट्टै सानमान थियो । म सानो छदाँ सुवेदारको नाति भनेपछि सबैले मान गर्थे” । कहिलेकाहीँ व्यक्तिको वृत्तिविकासमा टेकोनिमीले निराशा पनि ल्याउने रहेछ । फूलमाया (नाम परिवर्तन) को पीडा यस्तै रहेछ : “श्रीमान गुमाएकी फूलमायाको राजनीतिमा राम्रै सफलता भए पनि उनको श्रीमानको व्यक्तित्व हावी भई फलानाकी श्रीमती, श्रीमानको योगदान भजाएर खाएकी छे भन्ने कटु बचनहरू सहनु पर्छ । किशोर सुब्बा लिम्बु
नेपालमा नाम र नामकरणमा राजनैतिक इतिहासको मुख्य भुमिका रहेकोछ । पृथ्वीनारायण शाहको पालादेखि हालसम्म हिन्दू धर्मलम्बीहरू शासक रहिआएको र उसले मानिल्याएको विश्वास परम्पराहरू, सामाजिक मुल्यमान्यताहरूको हेजेमोनीले अन्य शासित समुदायहरूको विश्वास परम्पराहरू, सामाजिक मुल्यमान्यताहरू आइसोलेसनमा परेका छन् । राज्यले अभिलेख गर्ने कागजात, अभिलेख, प्रकाशन आदिमा प्रयोग गरिने नामलाई औपचारिक मानिने हुँदा, राज्यले विविन्न समय, माध्यबाट के कस्ता नामहरू संकलन र अभिलेखिकरण गरियो भन्ने कुराले विशेष महत्व राख्दछ । नेपाल एकिकरण ताका र त्योपछि राखिएका यस्ता अभिलेखहरूमा राज्यले खस–नेपाली भाषालाई औपचारिक भाषा रूपमा प्रयोग गर्दा कतिपय आदिवासी समूहको भाषामा भाषिक फरकपनका कारण कतिपय स्थानिय नामहरूलाई नेपालीकरण गरी रुपान्तरण गरेको देखिन्छ । यससम्बन्धी एउटा फोल्कलोर रहेछ — उहिले गाउँका एकजाना तामाङ्ग बाजे माल (अड्डा)मा जाँदा नाम के हो भनेछ रे । बाजेले मेमे भनेछन् रे । कर्मचारीले यो के नाम हो भनेर अनाम तामाङ्ग भनेर कागज बनाइ दिएछन् रे । यस्तो घटनाहरू जनगणनामा पनि देख्न पाइन्छ । २०४८को जनगणनाको गणकले नाम थाहा नभएका जतिलाई मानबाहदुर, धनबाहादुर, फूलमाया बनाएर भर्ने गरेको केही घटनाहरू अवोलकन गरेको थिएँ ।
ओनोमास्टिक पोलिटिक्सको सामाजिक प्रभाव स्वरूप मध्यनामका आधारमा पनि हिन्दू जाति व्याबस्थाको सामाजिक प्रभाव हेर्न सकिने रहेछ । एउटा रोचक घटना, एकपटक नाम टिफोट गर्ने क्रममा एक जना ब्राम्ह्मणको नामसँग मध्य नाम बहादुर जोडिएर लोखिएछ । ति व्यक्ति झोंकिदै “ब्राम्मणको नाममा बहादुर झुण्याउने को हो ?” भनेर कड्कीएपछि सोधी खोजी गर्दा ब्राम्ह्मणको नामसँग नाथ, पति, राम, हरि, कृष्ण जस्ता मध्य नाम जोडिने सामाजिक मान्यताका बारेमा जानकारी भयो । सन् १८१६ को सुगौली सन्धी पश्चात नेपाली युवाहरूलाई गोर्खा आर्मिमा भर्ती गरेपछि फौजमा नेपाली देखाएको बहादुरीको प्रशंसा गर्दै दिएको उपनाम बहादुरलाई नेपाली समाजमा मध्यमनामको रूपमा प्रचलनमा रहेको पाइन्छ । जस्तै: श्यामबहादुर, बुद्धबहादुर, आदि । नेपालमा त्यस्ता घटनाहरूको बारेमा जानकारी नभए पनि भारतमा भने दलित जातका मान्छेहरूले आफ्नो नाममा देवी, पति जस्ता उच्च जातका मध्य नाम राखेकोले उच्च जातिले गरेको दमनलाई लिएर भएका आन्दोलनहरूको बारेमा अध्ययनहरू भएको पाइन्छ । सन् ९० को दशकमा पहिचानको विषय बहच चरममा रह्यो । यसको प्रभाव र १९९० देखि नेपालमा पञ्चायतको अन्त्य भै बहुदलिय प्रणाली अवलम्बन गरेपछि विभिन्न जातजाति र समूदायहरूको अध्ययन अनुसन्धान खुल्ला भयो । यसपछिका नामहरूमा मातृभाषाका नामहरूको प्रयोग बढोको सन् २००१ देखि २०१४ को अवधिमा मेचे भाषामा बालबालिकाको नाम राख्ने क्रम ३३ प्रतिशतले बढेको रहेछ ।
साधारणतया: नेपाली परम्परा अनुसार जोम्ल्याहा अथवा जुड्वा बच्चाको कल्पना नगर्ने रहेछ । यस्ता जोम्ल्याहा बच्चाहरूलाई अप्राकृतिक मानिने भएकोले बच्चाहरू एउटै लिङ्गका दुवै बालक या दुबै बालिका भएमा राम्रो र फरक फरक लिङ्गका एउटा बालक र अर्को बालिका भएमा अशुभ मान्ने परम्परा रहेछ । किशोर सुब्बा लिम्बु
बच्चाका ऊभन्दा अगाडिका दाजुदिदीहरू मरेको या बच्चा निज स्वयं गम्भिर बिमारसँग लडिरहेको भए बच्चालाई समाजिक जात परम्परा अनुसारको तल्लो जातको नामकरण गर्ने प्रचलन पाइन्छ । तल्लो जातका मानिसलाई काल तथा रोगव्याधि, खराब आत्माहरूले दुःख दिँदैन भन्ने मान्यता रहेछ । साधारणतया: यस्तो जात खसालेर नामकरण गर्ने संस्कार लोहारले गर्ने रहेछ । संस्कार गरेर बच्चालाई पञ्चरत्ने धातुको रक्षाकल्ली हात खुट्टामा लगाइदिने, आरनदेव, विश्वकर्मदेवको पुजा गरि होत्रेमसान जगाइ पूजा भाकल गरेर बच्चाको रक्षा गरिदिन पुकार गर्ने रहेछन् । बच्चाले लगाएको रक्षाकल्ली १२ बर्षपछि पुनः संस्कार गरी खोल्नुपर्ने रहेछ । यो जात उकास्ने संस्कार नगरी विहे संस्कार, कुल पित्रामा नचल्ने भएकाले विहे सम्पन्न गर्नभन्दा पहिलो अनिवार्य जात उकास्ने संस्कार गर्नुपर्ने रहेछ । किशोर सुब्बा लिम्बु किशोर सुब्बा लिम्बु किशोर सुब्बा लिम्बु किशोर सुब्बा लिम्बु किशोर सुब्बा लिम्बु किशोर सुब्बा लिम्बु किशोर सुब्बा लिम्बु किशोर सुब्बा लिम्बु
लेखक परिचय
मानवशास्त्रमा पोर्चुगलबाट विद्यावारिधि गरिरहेका किशोर सुब्बा (लिम्बु) साहित्य सृजनामा पनि उत्तिकै अग्रसर छन् । सामाजिक विज्ञानमा दशभन्दा बढी अनुसन्धान गरीसकेका सुब्बा लोकसाहित्य सङ्कलक पनि हुन । विभिन्न पत्र पत्रिकामा सुब्बाका लेख, रचनाहरू नियमित रूपमा छापिन्छन् । http://kuragraphy.blogspot.com र KURAGRAPHY कुराग्राफी सुब्बाका व्लग र युटुब च्यानल हुन ।